RSS

नागरिक आन्दोलनको उद्घोष

28 Apr

नागरिक आन्दोलनका अगुवा डा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीबीच मतभिन्नता बढेकोले नागरिक आन्दोलन कमजोर भएको टिप्पणी सवैतिरवाट भइरहेका वेला दुवैले संयुक्त विज्ञप्ति जारि गरेका छन् । प्रस्तुत छ उनीहरुको वक्तव्य …..

डा देवेन्द्रराज पाण्डे/कृष्ण पहाडी

नागरिक आन्दोलनको आरम्भ नेपाली राजनीतिको गम्भीर सङ्कटकालमा भएको हो । वीरेन्द्र परिवारको वंश विनाशपछि सैन्यबलको आडमा आफ्ना निरंकुश आकाङ्क्षा पूरा गर्न ज्ञानेन्द्र शाहले शासनको वागडोर अफ्ना हातमा लिएका थिए । निकट अतीतसम्म सरकार र प्रतिपक्षमा रहेका दल जनतामा अलोकपि्रय त थिए नै, तिनमा निरंकुशतन्त्रको प्रतिकार गर्ने इच्छाशक्ति पनि कमजोर थियो । नागरिक आन्दोलनको जन्म यही राजनीतिक रिक्ततामा भएको हो ।नागरिक आन्दोलनको लक्ष्य राजतन्त्रको अन्त्य थियो । त्यसैले यस आन्दोलनले राजनीतिक दलहरू र तिनका भगिनी सङ्गठनहरू, पेसागत सङ्गठनहरू र बृहत्तर नागरिक समाजको उत्साहपूर्ण समर्थन प्राप्त गर्‍यो । नागरिक आन्दोलनको लोकपि्रयताबाट प्रभावित कतिपय नागरिकहरूबाट यस आन्दोलनलाई वैकल्पिक राजनीतिक धारको रूपमा सङ्गठित गर्न जबर्जस्त आग्रह र दबाबहरू नआएका होइनन् । तर नागरिक आन्दोलनको स्वरूप, सम्भावना र सीमाबारे हामी आन्दोलनकर्मीहरू सजग थियौं । यो एउटा सहजकारी र दबाबकारी आन्दोलन हो । बर्बर क्रियाकलापमार्फत आफ्नो अवसानतर्फ लम्किरहेको राजतन्त्रलाई इतिहासको रङ्गमञ्चबाट सदाका लागि विदा गर्न राजनीतिक दलहरू र आम नागरिकबीच समन्वयकारी सेतुको काम गर्नु नागरिक आन्दोलनको घोषित अभीष्ट थियो । उसो त नागरिकहरूमा रहेको राजनीतिप्रतिको उदासीनतालाई तोड्नु र तिनलाई आन्दोलित हुन प्रेरित गर्नु पनि यसको अभीष्ट थियो । पृथक राजनीतिक दर्शन र संस्कृतिमा हुर्किएका र युद्धमा आमने-सामने खडा भएका राजनीतिक दलहरूलाई राजतन्त्रको अन्त्य गर्दै शान्तिपूर्ण प्रतिस्पर्धाको लोकतान्त्रिक अभ्यासमा संलग्न हुन प्रेरित गर्नु पनि यसको अभीष्ट थियो । यी अभीष्टहरू पूरा गर्न नागरिक आन्दोलनको भूमिका प्रभावकारी नै रहयो भन्ने हामीलाई लाग्छ ।

नागरिक आन्दोलन लोकतन्त्र र शान्तिको जगमाथि नागरिक सर्वोच्चताको आग्रह गर्ने जागरुक नागरिकहरूको विवेकको आदेशबाट निर्देशित आन्दोलन हो । यसको औपचारिक सङ्गठन, औपचारिक विधान, औपचारिक नेतृत्व, औपचारिक सदस्यता, औपचारिक कार्यालय र गणपूरक सङ्ख्यामा आधारित कार्यविधि छैन । यो औपचारिक निम्ता पाएर सामेल भइने आन्दोलन पनि होइन । सचेत नागरिक स्वविवेक, स्वेच्छा र स्वअग्रसरता यसमा सामेल हुन्छ । यसका दुई ढोका सदैव खुला रहन्छन् । आ-आफ्नो रोजाइअनुसार भित्र आउने आइरहन्छन्, बाहिर जाने गइरहन्छन् । भित्र आउन औपचारिक सदस्यता लिनु पर्दैन, बाहिर जान अनुमति लिनु पर्दैन । तथापि यसका केही निश्चित मान्यताहरू भने अवश्य छन् । नागरिक आन्दोलनकर्मी नागरिक आन्दोलनको एजेन्डामा नागरिक आन्दोलनकै ध्वजामुनि उभिन्छ । ऊ अन्य कुनै संस्थाको एजेन्डा वा ध्वजा लिएर उभिँदैन । नागरिक आन्दोलनका अगुवाहरू लाभ प्राप्त हुने पदमा जाँदैनन् । गएमा ती नागरिक आन्दोलनका अभियन्ता रहँदैनन् । नागरिक आन्दोलन प्रत्यक्ष वा परोक्ष रूपमा आफ्नो इच्छा वा स्वार्थ थोपर्न चाहने कुनै पनि व्यक्ति, सङ्घ-संस्था वा निकायहरूबाट आर्थिक सहयोग लिँदैन । यो पूर्णरूपमा नागरिक सहयोगमाथि निर्भर रहन्छ । हामीलाई लाग्छ, नागरिक आन्दोलन लोकपि्रय बन्नुका मुख्य कारण हाम्रा यिनै मान्यताहरू हुन् ।

संविधानसभाको चुनावपछि हामीलाई लागेको थियो, बाह्रबुँदे सहमतिबाट सहकार्यमा प्रवेश गरेका दलहरू अब गणतन्त्रलाई संस्थागत गर्दैै, सेना समायोजन-पुनःस्थापन गर्दै र सङ्घीय संरचना तथा शासकीय स्वरूपको निर्धारण गर्दै संविधान लेखनकार्यमा अघि बढ्नेछन् । तर संविधानसभाको चुनाव भएको एक वर्ष बितिसक्दा पनि यी चारवटै विषयमा प्रमुख दलहरूबीच मतैक्य हुनु त कता हो कता, गम्भीर संवाद पनि भएको छैन । यसैगरी आमजनताको जीवनयापनसँग प्रत्यक्ष जोडिएका बेरोजगारी, अभाव, महँगी, हिंसा, असुरक्षा, भेदभावजस्ता प्रश्नहरूको सम्बोधन र उपचार गर्ने परिस्थिति र प्रतिबद्धतासमेत न्युन हुँदै गएकोले पनि हाम्रो चिन्ता बढ्दो छ । सबै दल आ-आफ्नै आग्रहका डम्फु बजाउँदै हिँडिरहेका छन् । संविधान लेखन प्रक्रिया तपसिलका विवादहरूको छायामा पर्नु हामी नागरिक आन्दोलनकर्मीहरूका लागि गम्भीर चिन्ताको विषय बनेको छ ।

माओवादी नेतृत्वको सरकार लोकतान्त्रिक विधिको पर्वाह नगरी, जटिल र समवेदनशील विषयहरूमा पर्याप्त गृहकार्य नगरी र सम्भावित परिणतिको आँकलन नगरी निर्णय वा आदेश जारी गर्ने अनि सरकार बाहिरका दलहरूद्वारा सोको विरोधमा संसद अवरुद्ध गर्ने कार्यबाट शान्ति प्रक्रियामा गतिरोध उत्पन्न भएको छ र संविधान लेखनकार्यको उपेक्षा भएको छ । सरकारद्वारा गरिएका प्रायःजसो निर्णयहरूको प्रकृति यस्तै छ । अपरिपक्व निर्णय गर्नु र विरोधको घेरामा परेपछि निर्णय फिर्ता लिनु सरकारको हास्यास्पद संस्कृति नै बनेको छ । एकातिर सरकार निर्णय प्रक्रियामा लोकतान्त्रिक विधिको सम्मान नगर्ने, अर्कातिर प्रतिपक्षी दलहरू यस्ता निर्णयहरूको विरोधका लागि विरोधमात्र गर्नेयी दुवै प्रवृत्तिमा दूरदर्शिता र दायित्वबोधको न्युनता छ । प्रधानसेनापति कटवालको स्पष्टीकरण प्रकरणमा यी दुई प्रवृत्तिबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । स्पष्टीकरणका लागि जुन समय रोजियो, त्यसमा विवाद हुनसक्छ । तर रायमाझी आयोगद्वारा सप्रमाण दोषी ठहर्‍याइएका, जनादेश प्राप्त सरकारका आदेशहरूको अवज्ञा गर्न उद्यत, माओवादी लडाकुलाई नेपाली सेनामा समाहित गर्नै हुँदैन भनी सार्वजनिक वक्तव्य दिएर बृहत शान्ति सम्झौताको मर्ममाथि प्रहार गर्ने र सरकारसँग प्रतिपक्षी राजनीतिक नेताको जस्तो व्यवहार गर्ने प्रधानसेनापतिसँग स्पष्टीकरण मागिनु र स्पष्टीकरण चित्त नबुझे उनलाई सेवामुक्त गर्नु लोकतान्त्रिक विधि र नागरिक सर्वोच्चताको सम्मान हो । उसो त यो खराबलाई दण्ड र असललाई प्रोत्साहन दिने अभ्यास एवं सबक पनि हो । तर सरकारको यो कदमविरुद्ध कतिपय दलहरू पश्चगामीहरूसँग कुम जोडेर राष्ट्रपतिलाई गुहार्न पुगे । यस सिलसिलामा आलङ्कारिक प्रकृतिको राष्ट्रपतीय संस्थालाई कार्यकारी शक्तिकेन्द्रको रूपमा उभ्याउने चेष्टासमेत भएको देखियो । यसरी सिङ्गो राष्ट्रको अभिभावकीय भूमिका निर्वाह गर्ने राष्ट्रपतीय संस्थाको प्रतिष्ठा र विश्वसनीयतालाई शङ्काको घेरामा पार्न पुगियो ।

राजनीतिक दलहरूबीच ध्रुवीकरण र द्वन्द्व बढ्दै जाने क्रममा हिंसा-प्रतिहिंसाले झनै डरलाग्दो गरी टाउको उठाएको यथार्थ हाम्रासामु छ । सरकारमा सम्बद्ध दुई ठूला दलका युवाहरू स्वयम् हिंसा-प्रतिहिंसाको दोहोरीमा मुछिएका छन् । प्रचण्ड थैवको हत्याको रूपमा प्रकट भएको बुटवल घटना त हिंसा-प्रतिहिंसाको पछिल्लो प्रकरणमात्र हो । पूर्वी तराईमा अपहरणकारीको आशङ्काकै भरमा भयाक्रान्त भीडको हातबाट सातजनाको हत्या भइसकेको छ । सरकारको नेतृत्व गर्ने दलका युवाहरूबाट विश्वविद्यालयका उपकुलपतिलाई मोसो दल्ने हदसम्मको उच्छृङ्खल व्यवहार हुनु अमर्यादा र हिंसाको पराकाष्ठा हो । यस्ता अनेकन हत्या प्रकरण र उच्छृङ्खल क्रियाकलापमा संलग्न दोषीहरूलाई उन्मुक्ति दिँदै राज्य हिंसा-प्रतिहिंसा र अमर्यादाको अकर्मण्य दर्शकझैं बनेको छ । सरकार विधि नमिलाई निर्णय गर्छ र बहाना बनाइदिन्छ, कतिपय दलहरू संसद घेर्छन् र शान्ति प्रक्रियाको बाटो छेक्छन्, असन्तुष्ट नागरिकहरू तोडफोड गर्छन् र सडक जाम गर्छन् । सदनदेखि सडकसम्म, सहरदेखि गाउँसम्म अराजकता व्याप्त छ । यो सार्वत्रिक अराजकताले मुलुकलाई कता लैजाने हो, यसमा नागरिक आन्दोलन चिन्तित छ ।

यस पृष्ठभूमिमा नागरिक आन्दोलन नयाँ चरणको अभियानमा डट्न कृतसङ्कल्पित छ । नागरिक आन्दोलन सबै जिम्मेवार पक्षहरूसँग आग्रह गर्छ ः

स्पष्टीकरण मागिएका प्रधानसेनापति रुक्माङ्गद कटवाललाई नागरिक सर्वोच्चता प्रतिविम्बित गर्दै पदमुक्त गर्ने निर्णय गर्न सरकार स्वतन्त्र छ । साथै ऐतिहासिक जनआन्दोलनको दमनमा कुनै पनि भूमिका निर्वाह गर्ने कुनै पनि व्यक्तिलाई भविष्यमा कुनै पनि पदमा नियुक्ति नगरोस् ।

सरकारको नेतृत्व गर्ने दल विधि मिचेर निर्णय गर्ने कार्य बन्द गर र अग्रगमनको सर्तमा अहंमहत्त्वका विषयमा सहमतीय संस्कृतिको विकास गर ।

गठबन्धन सरकारका दुई ठूला दल आ-आफ्नो सङ्गठनका युवाहरूबीच भइरहेका हिंसा-प्रतिहिंसाका घटनाहरू बन्द गराऊ र दण्डहीनताको अन्त्य गर्न पहिले आफैंभित्र कदम चाल ।

अस्थायी शिविरका माओवादी लडाकुहरूलाई सैनिक अनुशासनअनुरूप मर्यादित बनाऊ ।

गठबन्धन सरकारका साझेदारहरू आ-आफ्नो पदीय दायित्वबोध गर र एकसाथ सरकार पक्ष र प्रतिपक्षको दोहोरो चाल चल्न बन्द गर ।

प्रमुख प्रतिपक्ष केवल सरकारी निर्णयहरूमाथि आवेशपूर्ण प्रतिक्रियामात्र गर्ने कार्य बन्द गर र संविधान लेखनकार्यमा जिम्मेवार दलका रूपमा प्रस्तुत होऊ ।

असहमतिका विषय संवादद्वारा हल गर । व्यवस्थापिका-संसद अवरुद्ध गर्ने कार्य बन्द गर ।

सैनिकीकरणका अनिष्ट लक्षणहरूलाई विधिसम्मत नीतिले निर्मूल पार ।

जनवादीकरणको उन्मादी अभियान र सरकार गिराउने चलखेल दुवै बन्द गर ।

असन्तुष्ट समुदाय चक्काजाम र तोडफोडका क्रियापलाप बन्द गर । सरकार संवादको माध्यमले तिनका जायज आकाङ्क्षालाई सम्बोधन गर्न अग्रसर होऊ ।

संविधान लेखन प्रक्रियामा सबै पक्ष केन्दि्रत होऊ ।

राष्ट्रिय सम्प्रभुता र स्वाभिमानको सवालमा सबै एक होऊ ।

जनआन्दोलनको भावनाअनुसार सामाजिक रूपान्तरण र नागरिकहरूको जीविकासँग सम्बन्धित समस्या समाधान गर्न सरकार तत्काल अग्रसर होऊ ।

यी नाराहरूलाई कार्यरूप दिन अब नागरिक आन्दोलन मिडिया, सडक र देश दौडाहामा क्रियाशील रहनेछ । देशका विभिन्न भागको स्थलगत अध्ययनपछि जेठ १५ गते हामी सडकमै गणतन्त्र दिवस मनाउनेछौं । हाम्रा नाराहरूमा सहमत हुने सबै जागरुक तथा जिम्मेवार नागरिकहरूलाई क्रियात्मक ऐक्यबद्धताको लागि नागरिक आन्दोलन हार्दिक आह्वान गर्छ ।

 

 
टिप्पणी छोड्नुहोस्

Posted by on अप्रील 28, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: