RSS

Monthly Archives: मे 2009

एमालेमा पहिरो, माओवादीमा ओइरो

नागरिक सर्वोच्चता कायम गर्न एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको सरकारले राजीनामा दिएपछि विदेशी दलाल र प्रतिक्रियावादीका साथै नेपाली कांग्रेसको बुई चढेर एमाले सत्ताको बागडोर सम्हाल्न पुगेपछि उक्त पार्टी तहस नहस हुने भएको छ । एमाले पार्टीभित्रकै राष्ट्रवादी र नागरिक सर्वोच्चताका पक्षधर स्वाभिमानी कार्यकर्ताहरू पार्टीदेशी, विदेशी प्रक्रियावादीहरूको चङ्गुलमा फसेको बताउंदै सच्चा कम्युनिस्ट एकीकृत नेकपा माओवादी मात्र भएको ठहर गर्दै माओवादीमा प्रवेश गर्नथालेपछि एमालेमा ठूलो पहिरो जाने क्रम सुरु भएको छ भने एकीकृत नेकपा माओवादीमा सच्चा राष्ट्रवादी र नागरिक सर्वोच्चताका पक्षधर नेता तथा कार्यकर्ताको ओइरो नै लाग्न थालेको छ । यसैक्रममा एमाले निकट अनेरास्ववियु परित्याग गरी अखिल क्रान्तिकारीमा प्रवेश गर्नेको संख्यापनि वढेको वताइएको छ ।

 प्रेस विज्ञप्ति

इतिहासमा पतनको बाटो रोजेको एमाले जनताको अधिकारको निम्ति भन्दा पनि सरकार बनाउने र गिराउने खेलमा लाग्दै राजाको अवशेषको रुपमा रहेको प्रधानसेनापति रुक्माङगत कटुवाललाई जोगाउने कदम सम्म आईपुग्दा पतनको अन्तिम संघारमा उभिन पुगेको छ । यो स्थितिमा सत्ताका लागि होईन जनताको अधिकारका लागि लड्ने एउटामात्र पार्टी एकिकृत नेकपा माओवादी पुष्टि भएकोले आजकै मितिबाट एमाले पार्टी र यस निकट विद्यार्थी संगठन अनेरास्ववियु परित्याग गरी एनेकपा माओवादी पार्टी र यस निकट अखिल क्रान्तिकारीमा प्रवेश गरेको घोषणा गर्दछौं ।
 १.    उमेश गुप्ता          -केन्द्रीय सदस्य, अनेरास्ववियु
२.    मनिषा दनुवार        -अञ्चल सदस्य, अनेरास्ववियु
३.    निता दनुवार         -जिल्ला कोषाध्यक्ष, अनेरास्ववियु
४.    प्रभाकर गुप्ता         -जिल्ला सदस्य तथा विरगञ्ज नगर इन्चार्ज, अनेरास्ववियु 
५.    अजितकुमार शाह      -जिल्ला सदस्य तथा क्षेत्रीय इन्चार्ज, अनेरास्ववियु     
६.    राजेश गुप्ता          -जिल्ला सदस्य, अनेरास्ववियु
७.    रोषण अधिकारी       -जिल्ला संयोजक, सांस्कृतिक विभाग, अनेरास्ववियु
८.    राकेश केसी         -स्ववियु सदस्य, ठाकुरराम बहुमुखी क्याम्पस, विरगञ्ज
९.    रबी राउत           -नगर उपाध्यक्ष, अनेरास्ववियु
१०.   मुन्ना शाह           -नगर उपाध्यक्ष, अनेरास्ववियु
 यसैविच एमालेले कम्युनिस्टको नाममा प्रतिक्रियावादीको सेवा गरेको ठहर गर्दै एमालेका वरिष्ठ अर्थशास्त्री तथा तत्कालीन प्रतिनिधिसभा सदस्य डा. डिल्लीराज खनालले एमाले परित्याग गरी एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुभएको छ । आफू नेकपा एमालेको कार्यदिशाबाट पटक्कै सन्तुष्ट नभएको र एमाले कम्युनिस्ट आचरण त्यागिसकेकाले एमाले परित्याग गर्नुपरेको बताउनुभएको छ । नागरिक सर्वोच्चताविरुद्ध प्रतिक्रियावादी र यथास्थितिवादीहरूसाग सांठगांठ गरी सरकार बनाएकोले उसलाईकम्युनिस्ट भन्ने कुनै अधिकार नभएको उहांको धारणा थियो । यसै क्रममा डा. डिल्लीराज खनाललाई माओवादीका अध्यक्ष एवं गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले गत बिहीबार आयोजित एक कार्यक्रममा अविर र माला लगाई पार्टीमा प्रवेश गराउनुभएको थियो । डा. डिल्लीराज खनालले बदलिंदो परिवेशअनुरूप एमालेले कार्यगर्न नसकेको बताउंदै वर्तमान समयमा एकीकृत नेकपा माओवादी मात्र देश र जनताप्रति प्रतिबद्ध भएकोले आफू एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुपरेको प्रेस विज्ञप्ति मार्फत् जनाउनुभएको छ ।

 उहांले जारी गर्नुभएको प्रेस विज्ञप्ति यसप्रकार छ-

सफल दोस्रो ऐतिहासिक जनआन्दोलन पश्चात् मुलुकमा ठूलो परिवर्तन भएको छ र सायदै समकालीन इतिहासमा यस्ता परिवर्तनहरू यति छिटो भएका उदाहरणहरू होलान् । मुलुकबाट राजतन्त्र समाप्त भएको छ । ज्यादै समावेशी प्रकृतिको संविधानसभाको निर्माण भईमुलुक नयां संविधान बनाउने प्रक्रियामा अघि बढिरहेको छ । हामी सच्चा लोकतन्त्रको स्थापना गर्ने लक्ष्य सहित एकात्मक शासन प्रणालीको अन्त्य र संघीय प्रणालीको स्थापनाका लागि छलफल र गृहकार्यमा व्यस्त छौं । यी युगान्तकारी परिवर्तनका लागि जनविद्रोह हुंदै शान्तिपूर्ण जनआन्दोलनमा निर्णायक भूमिका खेलेको तत्कालिक नेकपा -माओवादीलाई संविधानसभामा अत्यधिक मत दिई अगुवाईको भूमिका निर्वाह गर्ने जनताले अभिमत दिएका छन्। यसैको परिणामस्वरूप संविधानसभा निर्वाचनको केही समयपछि उसैको नेतृत्वमा सरकार सञ्चालन, तमाम मुलुकका राजनीतिक र अन्य मुद्दामा सम्बोधन, शान्तिप्रक्रियाको सुदृढीकरण र संविधान निर्माण कार्य सम्पन्न हुंदै आएको थियो । तर, विगत केही समयदेखिका पछिल्ला सिर्जित राजनीतिक घटनाक्रमहरूका कारण उसको नेतृत्वको सरकारले परित्याग गर्नुपर्ने अवस्था निर्माण भयो । त्यसबाट सदियौंदेखिको संरचनागत र सामाजिक द्वन्द्व हुने हो कि भन्ने खतरा बढेको छ । यो बेला मुलुकको वामशक्तिको रूपमा स्थापित नेकपा -एमाले सरकारबाट हटी राष्ट्रपतिलाई असंवैधानिक कदम चाल्न उक्साउने कार्यमा संलग्न हुने तथा मुलुकका यथास्थितिवादी शक्तिहरूसंग सांठगांठ गर्दै सरकारकै नेतृत्व गर्ने कार्य गर्दैछ । यो कम्युनिस्ट आदर्श र पार्टीको आठौं महाधिवेशनबाट पारित राजनीतिक प्रस्तावको विपरीत भएको पुष्टि हुन गएको छ । उसका कदमहरू दोस्रो ऐतिहासिक जनआन्दोलनको मर्म र भावना तथा संविधानसभामा जनताका अभिमतद्वारा नागरिक सर्वोच्चता सुदृढ गर्ने भावना विपरीत छ । यसका गतिविधिहरू राष्ट्रिय स्वाधीनता र राष्ट्रिय सम्मानप्रतिको प्रतिबद्धता विपरीत देखिन पुगेका छन्। यसको स्थितिमा नेकपा एमालेमै बसेर काम गर्नु कम्युनिस्ट आदर्श र मान्यताविपरीत हुने निष्कर्ष निकाली म नेकपा एमाले पार्टी परित्याग गर्ने टुङ्गोमा पुगेको छु ।
 म ८-९ कक्षामा पढ्दादेखि नै पुष्पलाल समूहमा संगठित भईवामआन्दोलनमा सक्रिय हुंदै आएको थिएं । अर्घाखांचीमा २०२८/२९ सालतिर सामन्ती शोषणका विरुद्धको अभियानमा लाग्दा थुनुवामा समेत परेको थिएं । २०३२ सालको विद्यार्थीआन्दोलनमा मेरो सक्रिय सहभागिता रहिआएको थियो । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो ठाउंबाट सक्दो भूमिका खेलेको थिएा । २०४६ सालको परिवर्तनपछि २०४७ सालमा माले र त्यसपछि नेकपा एमालेको संगठित सदस्य भई अविछिन्नरूपमा पार्टीका विभिन्न जिम्मा लिई सक्रियताका साथ काम गरिरहेको थिएं । नेकपा एमालेको पांचौं महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको कार्यक्रमको आर्थिक पक्ष निर्माणदेखि पार्टीको आर्थिक फांटमा महत्वपूर्ण भूमिका खेल्दै आएको थिएं। २०५१ सालमा बनेको एमालेको अल्पमतको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्य भईबजेट र कार्यक्रम निर्माणमा अहम भुमिका खेलेको थिएं । २०५६ सालको निर्वाचनमा एमालेको तर्फबाट प्रतिनिधिसभाको सदस्यसमेत निर्वाचित भएको थिएं । पार्टीको संगठित सदस्य लिएयता अविछिन्नरूपमा आर्थिक फांटसंग सम्बन्धित विभागहरूमा रही पार्टीको काम गर्दैआएको थिएं । नेपाल बुद्धिजीवी परिषद्को संस्थापक उपाध्यक्ष हुंदै सल्लाहकारको भूमिका निर्वाह गर्दैआएको थिएं । वाम बुद्धिजीवीहरूबाट एमाले क्रमशः दक्षिणपन्थि भासमा जांदैछ भन्ने टिकाटिप्पणी हुंदै आएको थियो । म स्वयम आठौं महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनबाट एमालेप्रति झस्केको थिएं । मैले उक्त महाधिवेशनको समूहगत छलफलमा राजनीतिक प्रतिवेदनमा विभिन्न विषयमा फरक मत र दृष्टिकोणसमेत प्रस्तुत गरेको थिएं । उक्त राजनीतिक प्रतिवेदन आफैंमा अस्पष्ट र विरोधाभाषपूर्ण छ । राजनीतिक प्रतिवेदनको पेज १८९ मा ‘यतिबेला सामन्ती, प्रतिगामी तथा यथास्थितिवादी शक्तिहरू नै नेपाली जनताका प्रधान शत्रु वा निशाना हुन् भनियको छ । तर, त्यही प्रतिवेदनको पेज २२८ र २२९ मा भनिएको छ- “यतिबेला अर्धसामन्ती अर्थतन्त्र विस्तारै विघटनतिर जांदैछ…. । अहिलेको संक्रमणकालमा नेपाली समाज अर्धपुंजीवादी चरित्र लिएर अगाडि बढ्दैछ…. । अर्थतन्त्रको अर्धसामन्ती चरित्र विघटनतिर जाने अवस्थामा समाजमा सामन्तीवर्गसाग प्रधान अन्तरविरोध कसरी हुन सक्दछ ? त्यस्तै प्रतिवेदनको धेरै ठाउामा जनताको प्रधान अन्तर विरोध दलाल नोकरशाही पुंजीवादसंग समेत रहेको कुरा गरिएको छ । अर्धपुंजीवादी अवस्था र दलाल नोकरशाही पुंजीवाद के एउटै हुन् ? अझ सिङ्गो दस्तावेजमा दलाल, नोकरशाही पुाजीवाद’bout स्पष्ट गर्नेर त्यसलाई कसरी समाप्त गरिनेछ भन्ने चर्चासमेत छैन । यसरी अहिले दक्षिणपन्थी र यथास्थितिवादी शक्तिहरूसंग सांठगांठ गरी सरकारको नेतृत्व गर्ने जुन कार्य नेकपा एमालेबाट भएको छ । त्यो राजनीतिक प्रतिवेदनमा उल्लेखित प्रधान अन्तर विरोधसम्बन्धी उसको ठहर विपरीत छ । अब एमालेका लागि यथास्थितिवादी शक्ति को हो भनेर प्रश्न गर्नुपर्ने अवस्था खडा भएको छ ।
 यो जगजाहेर छ कि हिजो नेकपा माओवादीले अघि सारेको कार्यनीतिसंग मेरो पूरै असहमति रहिआएको थियो । तर, १२ बुंदे सम्झौता र तत्पश्चात शान्तिपूर्ण जनआन्दोलनमा उसको निर्णायक भूमिका लगत्तै बृहत् शान्तिसम्झौता र त्यसप्रतिको प्रतिबद्धता तथा कानुनको शासन, लोकतान्त्रिक विधि र प्रक्रियामा समर्पित हुंदै मुलुकमा रहेको शोषण, उत्पीडन र पछौटेपनका मूल कारक तत्वहरूको सम्बोधन मार्फत् नेपाली समाजलाई अग्रगमनतर्फ लैजान ऊ जसरी अघि बढिरहेको छ, त्यसबाट वाम विचारमा आस्था राख्नेहरूको ऊप्रति अरू आकर्षण बढेर गएको छ । नागरिक सर्वोच्चता र राष्ट्रियताको सन्दर्भमा कसैसंग सम्झौता नगर्ने बरु सरकारबाटै हट्नेसम्मको जुन विशिष्ट ऐतिहासिक उदाहरण नेपाली जनताको सामु उसले पेस गरेको छ, ऊ राष्ट्र र जनताप्रति कति समर्पित छ भन्ने थप रूपमा पुष्टि भएको छ । यसबाट एकीकृत नेकपा माओवादीप्रतिको मेरो सम्मान र आस्था बढेको छ । त्यसैले म आज नेकपा एमाले पार्टी परित्याग गर्दै एकीकृत नेकपा माओवादीमा समाहित हुने घोषणा गर्दछु ।
 नेपाली समाजमा रहेको सदियौंदेखिको संरचनागत र सामाजिक द्वन्द्वको सम्बोधन परिवर्तनकामी प्रगतिशील बाटोबाट मात्र सम्भव छ । त्यसको अगुवाईमा एकीकृत नेकपा -माओवादीले गरेको छ भन्ने कुरा उसका विचार र कदमहरूले पुष्टि गरेका छन्। आज देशमा जे-जस्ता राजनीतिक मुद्दामा केन्द्रित भएर संविधानसभामार्फत् सम्बोधन हुंदैछन् ती अधिकांश माग, आन्दोलन र जनविद्रोहको रूपमा उसैबाट अघि सारिएका हुन्। यसै कारणले पनि अबको नयां ढङ्गको सामाजिक, आर्थिक रूपान्तरणको आन्दोलनको अगुवाई गर्ने जिम्मा नेपाली जनताले उसैलाई दिएका छन् । तर, आज कथित सर्वसत्तावादको नाममा जनतालाई भ्रमित गर्दै नेपाली समाजलाई जसरी पनि यथास्थितिमै राखी राख्ने वा पछाडि धकेल्ने षड्यन्त्र विभिन्न शक्तिहरूबाट भइरहेको छ । यस्तो षड्यन्त्रलाई चिर्दै अगाडि बढ्न एकीकृत नेकपा माओवादी पार्टीलाई बलियो र सुदृढ बढाउन आवश्यक छ । उसैको नेतृत्व र अगुवाईमा एकीकृत वाम आन्दोलन अघि बढाउन जरुरी छ । त्यसैले म बिना सर्त एकीकृत नेकपा -माओवादी पार्टीमा समाहित भइरहेको बेला तमाम वाम बुद्धिजीवीहरूलाई इतिहासले दिएको विशिष्ट कार्यभार पूरा गर्दै लोककल्याणमा आधारित समृद्ध नेपालको द्रूत निर्माणमा योगदान पुर्‍याउने गरी एकीकृत नेकपा माओवादी पार्टीलाई बलियो बनाउने कार्यमा सहयोग पुर्‍याउन हार्दिक अपिल समेत गर्दछु ।

 अन्तर्वार्ताdilli khanal

डा. डिल्लीराज खनाल, पूर्वएमाले नेता,
हालः विद्रोह गरी एनेकपा माओवादीमा प्रवेश

 ०     तपाईंले किन एमाले सरकारमा गएकै बेला पार्टीबाट विद्रोह गर्नुभयो ?

 मेरो निकटका मित्र माधवकुमार नेपाल नै प्रधानमन्त्री भएको बेला मलाई एमाले पार्टीबाट विद्रोह गरौं भन्ने लागेर विद्रोह गरेको हुं । मलाई एमालेले लिएको विचार र बाटो मन परेन, त्यसकारण उक्त पार्टीबाट विद्रोह गरी एकीकृत माओवादीमा प्रवेश गरेको हुं ।

 ०     तपाईंले एमालेबाट विद्रोह गर्नुको मुख्य कारण के हो ?

 मैले विद्रोह गर्नुको मुख्य गरी दुईवटा कारण छन्। एउटा आठौं महाधिवेशनमा सारिएको राजनीतिक प्रतिवेदनप्रति मेरो आपत्ति छ र अहिलेको कटवाल प्रकरणमा एमालेले नागरिक सर्वोच्चता लत्याएको कारणले नै मैले विद्रोह गरेको हुं । यथास्थितिवादी को हुन भनेर एमालेले सोच्ने बेला आएको छ । हामीले एमालेलाई यथास्थितिवादी को हो भनेर उल्टो प्रश्न गर्नुपर्नेभएको छ । यथास्थितिवादी र दक्षिणपन्थी शक्तिसंग घांटी जोडेर सरकारमा जाने जुन काम एमालेले गर्‍यो, त्यसले आठौं महाधिवेशनको मर्मलाई कुठाराघात गरेको छ । महाधिवेशनको मर्म विपरीत अहिले सरकारमा जाने काम एमालेले गरेको छ । त्यसकारण पनि मैले विद्रोह गरेको हुं। अर्कोतिर मुलुकमा अहिले जेजति राजनीतिक परिवर्तनहरू भएका छन्, त्यो सबै एकीकृत नेकपा माओवादीले उठाएको मुद्दा हो । गणतन्त्रको कुरा, संघीयताको कुरा, सामाजिक, आर्थिक रूपान्तरणको कुरामा एकीकृत माओवादीले ठोस कार्ययोजना अगाडि सारेको छ भन्ने मलाईलागेर यस पार्टीमा प्रवेश गरेको हुं। मैले यो मुलुकलाई शोषण, उत्पीडनबाट उन्मुक्ति दिनको निम्ति सच्चा मानेमा छोटो अवधिमा संघीय नेपाल निर्माण गर्नको निम्ति माओवादीको नेतृत्वमा मात्रै सम्भव छ भन्ने कुराको निचोड निकालेर म एकीकृत नेकपा माओवादीमा प्रवेश गरेको हुं।

०     तपाईं जननेता मदन भण्डारीको हितैषी मित्र पनि हुनुहुन्छ, उहांसंगै बसेर धेरै समय काम पनि गर्नु भयो । अब एमालेको भविष्य कस्तो देख्नु हुन्छ ?

मैले मदन भण्डारीसंग बसेर उहांले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको आर्थिक कार्यक्रमलाई समृद्ध गर्ने काम गरेको हुं । म उहांको आर्थिक सल्लाहकार पनि थिएं । अहिले एमालेले जनताको बहुदलीय जनवादलाई विश्रृंखलित पार्न खोजेको छ । जुन ढङ्गले एमाले अहिले अगाडि बढ्दैछ, त्यसले पार्टीभित्रका बुद्धिजीवीदेखि लिएर आम जुझारु कार्यकर्ताहरू त्यस पार्टीभित्र बसेर एमालेले मुलुकमा परिवर्तन ल्याउंछ भन्ने आशा, भरोसा गर्ने अवस्था छैन, विस्तारै क्षीण हुंदै गएको छ । एमालेले नयां सम्भावनाहरूलाई उजागर गर्न सक्दैन । नेपालमा एकीकृत वाम आन्दोलनको खांचो छ । त्यो एकीकृत वाम आन्दोलनको नेतृत्व गर्ने शक्ति भनेकै एकीकृत नेकपा माओवादी मात्र हो ।

 ०     संविधानसभा निर्वाचनमा हार्दा महासचिव पदबाट राजीनामा दिने अहिले फेरि प्रधानमन्त्री बन्ने माधव नेपालको कार्यप्रति तपाईं के भन्नुहुन्छ ?

 २०४७ सालमा संविधान बनाएको अनुभव माधव नेपालसंग छ भनेर माओवादीकै विशेष पहलमा उहांलाई संविधान निर्माण समितिको अध्यक्ष बनाइयो । तर, त्यसलाई उहांले बेठीक ढङ्गले उपयोग गर्नुभयो । आफ्नो नितान्त व्यक्तिगत स्वार्थको निम्ति उहांले त्यसलाई उपयोग गर्नुभयो ।

 ०     वर्तमान सरकारको भविष्य कस्तो देख्नुभएको छ ?

 सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीलाई माइनस गरेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, नयां संविधान निर्माण गर्ने अवस्था हुनै सक्दैन । अघिल्लो सरकारले गरेका निर्णयलाई सच्याउने नाममा जुन उल्ट्याउने कार्य वर्तमान गठबन्धन सरकारबाट भइरहेको छ, यसले मुलुकलाई पछाडि धकेल्ने प्रयत्न गरिंदैछ भन्ने मलाई लाग्छ । माओवादीलाई पन्छाएर जुन अगाडि जाने प्रयास गरिएको छ, यो धेरै दिन टिक्दैन ।  अहिलेको बटम लाइन भनेकै राष्ट्रपतिको असंवैधानिक कदम, सच्याउने र नयां ढङ्गले नयां १२ बुंदे सहमति गरेर अगाडि बढ्ने हो । एकीकृत नेकपा माओवादीको नेतृत्वमा सबै राजनीतिक दलहरू सहमति र सहकार्यबाट अगाडि बढ्नुको विकल्प छैन । यो सरकार धेरै दिन टिक्छ भन्ने मलाईलाग्दैन । 

०     एमालेलाई अहिले सरकारमा जाँदा ठूलो घाटा पुर्‍याउँछ भन्ने छ नि ?

 मैले विद्रोह गरेपछि मलाई मेरो गृहजिल्लाका साथीहरूबाट फोन आइरहेको छ । उहांहरू पहिले एमालेमै रहियो यहीं रहिरहनुपर्छ भन्ने मानसिकताले मात्र त्यो पार्टीभित्र बसिराख्नु भएको छ । उहांहरू एउटा ठाउं पाउने बित्तिकै र हामी एकीकृत नेकपा माओवादीमा बसेर काम गर्न सक्छौं भन्ने अवस्था निर्माण हुने बित्तिकै एमालेमा ठूलो पहिरो आउने स्थिति छ । एमालेको अहिलेको कार्यशैलीले गर्दा त्यसभित्रका जुझारु कार्यकर्ताहरू विद्रोह गर्ने तयारीमा छन् । एमालेको पक्षमा लाग्नको निम्ति उसको राजनीतिक विचार समाप्त भइसकेको छ ।

०     एमाले भित्र भित्रै फुटको संघारमा पुगेको छ भनिन्छ नि ? के त्यस्तो स्थिति छ ?

हो, एमाले फुटको संघारमा पुगेको छ । त्यसभित्र अहिले राजनीतिक अन्तरविरोध उत्सर्गमा पुगेको छ । सभासद्हरूभित्र पनि राष्ट्रपतिको कदमलाईअसंवैधानिक भन्नेहरू धेरै छन्। यसै विषयमा स्वयम पार्टीका उपाध्यक्ष वामदेव गौतमले नोट अफ डिसेन्ट लेख्नुभयो । यो अस्वभाविक गठबन्धनले गर्दापनि एमाले पार्टीभित्र फुट आउने सम्भावना बढेर गएको छ ।  नीतिगत कारण र अहिले जुन रूपमा अस्वभाविक कारणले प्रधानमन्त्री बन्ने कार्यभयो, यसले एमालेमा ठूलो अन्तरविरोध सिर्जना गरेको छ ।

०     नागरिक सर्वोच्चताको पक्षमा रहंदै माओवादीले सरकार छाड्यो तर एमाले नागरिक सर्वोच्चतालाई लत्याउंदै सरकारमा गएको छ, यसले शान्तिप्रक्रियालाईकस्तो असर पार्ला ?

 मलाई लाग्छ, सेनालाई लोकतान्त्रिकरण नगरी नागरिक सर्वोच्चता स्थापित गर्नर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्न सकिंदैन । अरू पार्टीहरूले गरेको गल्तीलाई नसच्याउने हो भने मुलुकमा थप मुठभेडको स्थिति सिर्जना हुन्छ ।

 ०     तपाईं राष्ट्रिय योजना आयोगको पूर्वसदस्य पनि हुनुहुन्छ, के मुलुकमा एकीकृत नेकपा माओवादीले सारेको एजेन्डाबाट जनताले शान्तिको अनुभूति गर्न सक्लान् ?

 जनयुद्धको पृष्ठभूमिमा शान्तिपूर्ण जनआन्दोलन भयो । त्यसपछि जुन लोकतान्त्रिक विधिबाट एकीकृत नेकपा माओवादी अगाडि बढिरहेको छ । त्यसैले मलाई लाग्छ कि सच्चा लोकतान्त्रिक परिपाटी स्थापना गर्न र अहिलेको मुलुकको मुद्दाहरूलाई सम्बोधन गर्दै अगाडि जाने शक्ति भनेकै एकीकृत नेकपा माओवादी हो । माओवादीको योजना र एजेन्डालाई अगाडि बढाएर लैजाने हो भने दिगो शान्ति स्थापना हुन्छ । तर, दिगो शान्ति भन्ने बित्तिकै निरपेक्ष हुने भन्ने हुनै सक्दैन । मानिसहरू गरिबीमा बांचिरहने, शोषण भइरहने खालको शान्ति अब यहां सम्भव छैन ।

 ०     वर्तमान अवस्थामा अरू पार्टीहरूभन्दा एकीकृत माओवादी नै सही छ भनेर माओवादीमा प्रवेश गर्नु भयो । माओवादी ठीक छ भन्ने आधारहरू के-के छन् ?

 म माओवादीले सञ्चालन गरेको जनयुद्धको कार्यनीतिसंग पूर्णरूपमा सहमत थिइन । ऐतिहासिक जनआन्दोलनमा उसले खेलेको भूमिका र त्यसपछिको प्रयोग शान्तिसम्झौता र लोकतान्त्रिक व्यवस्थाप्रति उसको प्रतिबद्धताबाट म प्रभावित भएं । सामन्ती राजतन्त्रको अन्त्य, गणतन्त्रको घोषणा, संघीयताको सबै नारा एकीकृत नेकपा माओवादीकै पहलमा संस्थागत भएको हो । अग्रगमनको पक्षपाती अरू कोही छ भने एकीकृत नेकपा माओवादी मात्र छ भन्ने मलाई लाग्यो । कुर्सी त्यागेर पनि नागरिक सर्वोच्चताको लागि राष्ट्रिय स्वाधीनताको लागि अविचलित रूपमा लागेको देखेर म प्रभावित भएं । माओवादीले जुन उदाहरण प्रस्तुत गर्‍यो, त्यसले पनि मलाई प्रभावित गर्‍यो ।  माओवादीभित्र रहेका जुझारु कार्यकर्ताले मलाई आकर्षित पारे । एमालेको गलत नीति, विचार र माओवादीको सही विचारको संयोजनबाट नै म माओवादीमा प्रवेश गरें ।

 ०     नेकपा एमालेभित्रका राष्ट्रवादी र नागरिक सर्वोच्चताका पक्षधरहरूलाईतपाईंके भन्न चाहनुहुन्छ ?

 नेपालमा सम्पूर्णवामपन्थीहरू मिलेर वामपन्थी एकता हुन जरुरी छ । त्यसबाट मात्र हामी मुलुकलाई रूपान्तरण गर्न सक्छौं । मुलुकमा सदियौंदेखि थाती राखेका मुद्दाहरूलाई सम्बोधन गरेर अगाडि बढ्न एकीकृत नेकपा माओवादीको शक्तिलाई सुदृढ बनाउन जरुरी छ । एमालेभित्र रहेका क्रान्तिकारी राष्ट्रभक्त युवाहरूलाई पुनर्विचार गर्न अनुरोध गर्दछु । पार्टीगत रूपमा र व्यक्तिगत रूपमा म संग सम्बन्धित सम्पूर्ण मेरा शुभेच्छुकहरूलाई पनि पुरानो विचार छोडेर आउन आहृवान गर्दछु । यहां तपाईंहरूलाई सम्मान गरिन्छ भन्ने कुराको विश्वास दिलाउन चाहन्छु ।

 ०     अन्त्यमा आमजनसमुदायलाई के भन्न चाहनुहुन्छ ?

 मुलुक अहिले सकारात्मक दिशातर्फ अग्रसर भएको छ । यद्यपि यहां केही अवरोध भएका छन्, प्रगतिशील र परिवर्तनकारी शक्तिलाई केही समय भने पनि रोक्न सकिन्छ कि भनेर केही शक्ति लागेका छन् तर, त्यो क्षणिक हो । एकीकृत नेकपा माओवादीको झन्डामुनि गोलबद्ध भएर हामी अगाडि बढ्दा नेपाली जनताको भविष्य राष्ट्रको भविष्य सुरक्षित छ भन्ने मलाई लाग्छ ।
 
3 टिप्पणीहरु

Posted by on मे 31, 2009 in HOME

 

मदन भण्डारीको हत्या आफ्नै कारणः नेपाल

हत्याको वास्तविकता रहस्यमै बेला एमाले बरिष्ठ नेता तथा प्रधानमन्त्री माधबकुमार नेपालले मदन भण्डारि आफ्नै कारण मारिएका दावी गर्नुभएको पुष्टि भएको छ ।
‘माधब नेपालले भने, मदन भण्डारी उनकै कारण मारिए’ शीर्षक दिएर एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र माधब नेपालबीच भएको सम्वादको हवाला दिँदै आज प्रकाशित जनदिशा दैनिकले समाचार छापेको छ । Read the rest of this entry »
 
2 टिप्पणीहरु

Posted by on मे 30, 2009 in NEWS

 

अदालतलाई पनि टेर्दैनन् कटवाल

salute_may29नागरिक सर्वोच्चतालाई खुलमखुला चुनौती दिएका तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालले सर्वोच्च अदालतलाई समेत नटेर्ने छनक देखाएका छन् । सर्वोच्चले उमेर विवादसम्बधी मुद्दामा तत्काल सिटरोल पठाउन कटवाल तथा जंगी अड्डालाई पटक पटक ताकेता गरेपनि दुवैले मानेका छैनन् । अदालतले यही जेठ १२ गते मंगलबारभित्र सिटरोल उपलब्ध गराउन वैशाख २९ गते आदेश गरेको थियो । सैन्य प्रवक्ता रमिन्द्र क्षेत्रीले सिटरोल पठाउने तयारी भइरहेको बताए पनि प्राड विभाग प्रमुख बीएकुमार शर्माले माथिबाट आदेश नआइ सिटरोल बुझाउन त के हेर्न समेत नमिल्ने बताएर अदालतलाई ठाडै चुनौती दिएका छन् ।
एकीकृत नेकपा -माओवादीको नेतृत्वमा रहेको सरकारले दिएको आदेशलाई बारम्बार अवज्ञा गर्दै आएका कटवालले अदालतको समेत आदेश अवज्ञा गरी आफूलाई सर्वशक्तिमान देखाउन लागेको विश्लेषकहरूको टिप्पणी छ । हुकुम प्रमाङगीबाट उमेर सच्याएका कटवाल उमेरहदकै कारण अवकाश भइसक्नु पर्ने थियो तर कानुन र नियम नलाग्ने भएपछि जे गर्दा पनि हुंदोरहेछ, एक कानुन व्यवसायीले भने । मुलुमभित्र कांग्रेस र एमाले तथा विदेशमा भारत र अमेरिकाको आर्शिवाद पाएका कटवालले अदालतलाई टेर्दैनन् भन्ने कुरा पहिल्यै थाहा थियो । नागरिक सर्वोच्चतालाई चुनौती दिनेले अदालतलाई चुनौती दिनु कुन ठूलो कुरा भयो ? माओवादी स्रोतले भन्यो, अब त उनलाई अदालतको अवहेलनासम्बन्धी मुद्दा पनि चलाउनु पर्दछ । माओवादी नेतृत्वले बर्खास्त गरेका कटवाललाई पुनः काममै फर्कन राष्ट्रपतिले दिएको असंवैधानिक आदेशकै कारण यो स्थितिको सिर्जना भएको हो भन्नेमा नागरिकहरू विश्वस्त छन् । नागरिक सर्वोच्चता तथा कानुनी राज्यविरुद्ध उभिने कटवाललाई कांग्रेस, एमालेलगायतका दलहरूले अझै काखी च्याप्छन् कि कारबाही गरेर देखाउछन् त्यो भने हेर्न बांकी छ । तर अहिलेसम्म बसेको मन्त्रिपरिषद्को बैठकले कटवाललाई कुनै कारबाही नगर्ने निश्चय गरेको छ । २२ दलको बैठकले समेत सेनापतिलाई कारबाही नगर्न सरकारलाई भनेको थियो । यसले देशलाई क्रमशः सैनिकीकरणतर्फ लैजाने निश्चित भएको बताइन्छ । 
 
१ टिप्पणी

Posted by on मे 29, 2009 in HOME

 

खनाल माओवादीमा पसेपछि एमालेमा खैलाबैला

माओवादीमा प्रवेश गरेका खनाल दम्पति

माओवादीमा प्रवेश गरेका खनाल दम्पति

एमाले नेतृत्वको सरकार बनेको एक साता पनि नबित्दै एमालेका एक नेताले आफ्नी पत्नीसहित उक्त पार्टी परित्याग गरेका छन् । 

 एमाले नेता एवं पूर्व सांसद डा. डिल्लीराज खनालले एमाले परित्याग गरी एकीकृत माओवादीमा प्रवेश गरेका हुन् ।  डा. खनालले एमालेका आर्थिक विभागमा बसेर काम गर्दै आएका थिए । उनी राष्ट्रिय योजना आयोगका पूर्व सदस्य पनि हुन् । उनकी पत्नी मीना खनाल पनि माओवादी प्रवेश गरेकी छिन् ।   
राजधानीमा बिहिबार आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले डा. खनाल दम्पत्तिलाई अबीर र माला लगाएर आफ्नो पार्टीमा स्वागत गरेका थिए । आठौं महाधिवेशनले दिएको मार्गदर्शन विपरीत पार्टी लागेकाले त्यसप्रति चित्त नबुझेर आफूले एमाले परित्याग गरेको स्पष्टोक्ति डा. खनालले दिएका छन् ।  
अर्थविद् समेत रहेका डा. खनालले एक्कासी पार्टी परित्याग गरी माओवादीमा पसेपछि अहिले एमालेमा खैलाबैला मच्चिएको जानकारि छ ।
 

माओवादी तेस्रो जनआन्दोलनको तयारीमाः बाबुराम

माओवादी वरिष्ठ नेता डा. बावुराम भट्टराईले माओवादीले अब सदन र सडकबाट अर्को आन्दोलन गरेर सरकारलाई पछार्ने चेतावनी दिनुभएको छ ।
नवनिर्वाचित सरकारले पूर्णता नपाउदै उनले सदन र सडकबाट तेस्रो जनआन्दोलन गरेर जनसंविधानमार्फत जनताको गणतन्त्र स्थापना गर्ने दावी गर्नुभयो ।
प्रथम गणतन्त्र दिवसको अवसरमा माओवादी वरिष्ठ नेता डा. भट्टराईले राजधानीमा माओवादीले शुक्रबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अहिले किनबेचको आधारमा गठन भएको सरकारले जनताका आकांक्षा पूरा गर्न नसक्ने आरोप पनि लगाउनुभयो ।
उहांले सरकारका हरेक निर्णय विदेशीको हातमा पुग्ने बताउदै आफु सरकारबाट बाहिरिएपछि मात्र यो कुरा थाहा भएको खुलाशा गर्नुभयो । नेता भट्टराईले अहिलेको कठपुतलीको सरकारले गणतन्त्रलाई हासिल गर्न पर्दा कसैले पछाडिबाट सरकारलाइ नचाई रहेको आरोप लगाउदै हालको गणतन्त्र कुनै पनि बेला खोसिन सक्ने जिकीर गर्नुभयो ।  उहांले नेपाली कांग्रेस र एमालेको गठबन्धनले राजतन्त्र पुनःस्थापित गर्नकै लागी भनेर नारायणहिटीमा स्थापना गर्ने भनेको स्मारक रत्नपार्कमा निर्माण गर्न लागेको आरोप लगाउनुभयो । सो कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवलीले सबै वामपन्थी तथा लोकतन्त्रवादी शक्तिहरु मिलेर गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो ।
 

माओवादी जनमुक्ति सेनामा हेरफेर

माओवादी सरकारबाट बाहिरिएलगत्तै जनमुक्ति सेनाले विभिन्न सात ठाउँका अस्थायी शिविरमा बस्दै आएका डिभिजन कमान्डरहरुको हेरफेर गरेको छ।
विशेष समिति मातहतमा आइसकेको जनसेनाको यसै साता सम्पन्न जनरल स्टाफको बैठकले कमान्डरहरुको सरुवाका साथै पाँचजना बिग्रेड कमान्डरलाई डिभिजन सहकमान्डरमा बढुवासमेत गरेको हो। जनरल स्टाफको बैठकमा मुख्य कमान्डर नन्दकिशोर पुन डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल र सातै डिभिजनका कमाण्डर रहनुभएको थियो ।
अब पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षादस्ताको नेतृत्व यसअघि पहिलो डिभिजन कमाण्डर तथा माओवादी केन्द्रीय सदस्य सन्तु दराईले गर्नुहुने भएको छ । दराईले जनमुक्ति सेना हेडक्वार्टर सहित यो जिम्मेवारी सम्हाल्ने निर्णय भएको हो । यसअघि यो जिम्मेवारी डिभिजन सहकमान्डर वीरेन्द्र बिएमले गर्नुभएको थियो ।

पार्टि अध्यक्षको सुरक्षा दस्ता फेरिएको यो तेस्रोपटक हो । पहिलोचोटी उहां काठमाडौं छिर्दा राजधानीमा रहेको जनमुक्ति सेनाको टास्कफोर्सले सुरक्षाको जिम्मेवारी लिएको थियो । त्यसपछि बिएमकै नेतृत्वमा रहेको सुरक्षादस्ता रहेको थियो भने अहिले यसमा पुनः फेरवदल गरिएको हो । अब बिएमले जनमुक्ति सेनाको लजिस्टिक विभाग र मुख्यालयको जिम्मेवारी सम्हाल्नुहुने भएको छ भने जनमुक्ति सेनाको प्रतिष्ठान र जनमुक्ति सेना खेलकुद क्लबको जिम्मेवारी रुकुमका दलजित बिकले सम्हाल्ने निर्णय भएको जनाइएको छ ।

शान्तिप्रक्रियामा आएपछि डिभिजन कमान्डरहरुको हेरफेर भएको यो पहिलोपटक हो। यसलाई जनमुक्ति सेनाले ‘नियमित प्रक्रिया’ बताउँदै माओवादी सरकारबाट बाहिरिएको बेला हेरफेर हुनुलाई ‘संयोग’ मात्र बताएको छ।

“एक दुई वर्षको बीचमा भइरहन्छ । यो त नियमित प्रकि्रया हो” पाँचौं डिभिजनमा सरुवा भएका डिभिजन कमान्डर कालीबहादुर खाममगरको प्रतिक्रिया थियो, “शान्तिप्रक्रियापछि पहिलोपटक हेरफेर भएको हो ।” शान्तिसम्झौतायता २०६३ मंसिर ५ देखि जनमुक्ति सेना कैलाली मसुरिया सूर्खेत दशरथपुर रोल्पा दहवन नवलपरासी झ्याल्टुङडाँडा चितवन शक्तिखोर सिन्धुली दुधौली र इलाम चुलाचुलीका मुख्य शिविर तथा २१ सहायक शिविरमा बस्दै आएका छन् ।

पछिल्लो प्रमाणीकरणअनुसार जनमुक्ति सेनाको संख्या १९ हजार ६ सय ४ रहेको छ ।
ब्रिगेड कमान्डरबाट डिभिजन सहकमान्डरमा बढुवा हुनेहरु बाँके घर भएका छैंटौं डिभिजनबाट सन्तोष कालीकोट घर भएका सातौं डिभिजनका कुबेर सातौं डिभिजनकै बाँकेका सिंहराज पाँचौं डिभिजनबाट महान र राजबहादुर बुढामगर छन् । अब सहकमान्डरहरुको संख्या १४ पुगेको छ ।

बढुवा भएपछि पहिलो र दोस्रा डिभिजनबाहेक पाँचवटा डिभिजनमा दुई-दुई डिभिजन सहकमान्डर रहनेछन् । पहिलो डिभिजन कमान्डरमा यम बहाहदुर अधिकारीले रहनुभएको छ । अधिकारी यसअघि नवलपरासीको झ्याल्टुङडाँडास्थित चौथो डिभिजनका कमान्डर हुनुहुन्थ्यो । उहां जनयुद्धकालमा सेनालाई दिउँसै एम्बुस थापिएको कृष्णभीर घटनाका योजनाकार र कमान्डर समेत हुनुहुन्थ्यो ।

यसअघि दोस्रो डिभिजन सहकमान्डर प्रमोदलाइ अहिले पहिलो डिभिजनका सहकमान्डर तथा दोस्रो डिभिजन कमान्डरको जिम्मेवारीमा सुकबहादुर रोका तथा उहांका सहकमान्डर पदमबहादुर लामा रहनुहुने भएको छ । उहां यसअघि तेस्रो डिभिजन सहकमान्डर हुनुहुन्थ्यो ।

यसअघि सिन्धुलीको दुधौलीस्थित दोस्रो डिभिजन कमान्डर धनबहादुर मास्कीमगर तेस्रो डिभिजन कमान्डर तथा उहांका दुई सहकमान्डरमा उयदबहादुर लाउने र कुबेर रहनुहुने भएको छ ।
कालीकोट घर भएका कुबेर यसैपालि बढुवा हुनुभएको छ । यसअघि उहां सातौं डिभिजनमा ब्रिगेड कमाण्डर समेत रहनुभएको थियो ।

चौथो डिभिजन कमान्डरमा यसअघि सूर्खेतको दशरथपुरमा रहेको छैंटौं डिजिभन कमान्डर तेजबहादुर ओली । तथा उहांका दुई सहकमान्डरमा यसअघि पहिलो डिभिजन सहकमान्डर रहेका पावेल र भर्खरै बढुवा हुनुभएका महान सहकमान्डर हुनुहुने छ ।

पाँचौं डिभिजन कमान्डरमा यसअघि शक्तिखोरस्थित तेस्रो डिभिजन कमान्डर रहेका मगर कालीबहादुर खाममगर हुनुहुन्छ । उहांका सहकमान्डरमा रामलाल रोकामगर र राजबहादुर बुढामगर रहनुहुने छ ।

छैंटौं डिभिजन कमान्डरमा यसअघि कैलाली मसुरियामा रहेको सातौं डिभिजन कमान्डर महेन्द्रबहादुर शाही हुनुहुने छ । कालिकोटका शाहीका विवेक र सन्तोष दुई सहकमान्डर रहनुहुने छ । विवेक यसअघि पाँचौं डिभिजनका सहकमान्डर तथा सन्तोष यसअघि छैंटौं डिभिजनमा ब्रिगेड कमान्डर हुनुहुन्थ्यो ।

सातौं डिभिजन सहकमान्डरमा यसअघिका सातौं डिभिजन सहकमान्डर जीवनले कार्यवाहकको जिम्मेवारी लिने तथा उहां कार्यवाहक भएपछि सहकमान्डमा बाँकेका नेपबहादुर चौधरी रहनुभएको छ ।

 

प्रधानमन्त्री माधव नेपालको सम्बोधनको पूर्ण पाठ

makune sambodhanआदरणीय दिदीवहिनी तथा दाजुभाइहरू,
हामीले शान्त, समृद्ध, लोकतान्त्रिक र न्यायपूर्ण नेपालको सपना देख्यौँ र त्यसको प्राप्तिका लागि सम्पूर्ण नेपाली एक भएर निरङ्कुशतन्त्र विरुद्ध सङ्घर्षमा रगत बगायौँ । हामीहरूमध्ये अनगिन्तीले यस पवित्र उद्देश्यका लागि आफूलाई बलिदान गर्‍यौं, कैयौं हामीहरू आन्दोलनको मैदानमा घाइते भयौं । यस क्रममा हराएका हाम्रा कैयौं प्रियजनहरू कहाँ हुनुहुन्छ- हामी अझै पनि बेखबर छौं । लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीका रूपमा यहाँहरूलाई सम्बोधन गरिरहँदा मेरो मानसपटलमा ती आदरणीय योद्धाहरूको आदर्श प्रतिविम्वित भइरहेको छ । म आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । घाइते योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछु । वेपत्ता, विस्थापित र द्वन्द्वपीडित परिवारका अकल्पनीय पीडामा आफूलाई पनि सामेल गराउँछु ।
म आफ्नो पहिलो सम्बोधन नेपाली जनताद्वारा निर्वाचित सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका-संसद्भित्र गर्न चाहन्थेँ । तर, सरकारले पूर्णता नपाइसकेको र अन्य दलहरूसँग नीति तथा कार्यक्रमलगायतका विषयहरूमा अझै छलफल चलिरहेको अवस्थालाई ध्यानमा राख्दै नेपाली जनता समक्ष आफ्ना विचारहरू राख्न चाहेको हुँ ।
सङ्घर्षका लामा, कठीन र ऐतिहासिक चरणहरू पार गर्दै नेपाल नयाँ युगमा प्रवेश गरेको छ । सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । हिंसा र प्रतिहिंसाको पीडापूर्ण शृङ्खला अन्त्य गर्दै हामी शान्तिको मार्गमा अघि बढेका छौं । पहिलो चोटी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता आफ्नो संविधान आफैले निर्माण गर्न संविधानसभा गठन गर्न सफल भएका छौँ । हामीले गठन गरेको संविधानसभा समावेशीकरणका दृष्टिले अनुपम छ । महिला, आदिवासी-जनजाति, मधेसी, थारु, दलित, मुस्लिम, पछाडि पारिएका क्षेत्रका जनतालगायत नेपाली जनताले विगतमा गरेका आन्दोलनमा विभेदकारी राज्यसंरचनाको अन्त्य गर्दै सङ्घीय, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने इच्छा प्रकट भएको छ । विगतका सरकारले विभिन्न पक्षसँग गरेका सहमति र सम्झौतालाई मैले नयाँ नेपाल निर्माणको आधारका रूपमा लिएको छु । म जोड दिएर भन्न चाहन्छु- अहिलेसम्म हामीले जे जति उपलव्धिहरू प्राप्त गरेका छौँ, यो तपाई हाम्रो साझा मिहिनेतको प्रतिफल हो । भविष्यप्रतिको हाम्रो आशाको आधार पनि यही नै हो ।
न्यायप्रेमी जनसमुदाय,
नयाँ युग निर्माणका निम्ति कीर्तिमानी योगदान गर्नुहुने तपाईहरू सबैलाई म हार्दिक अभिनन्दन गर्दछु ।
ऐतिहासिक जनआन्दोलनको सफलतापश्चात् हामीले नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएका थियौँ । सङ्क्रमणको अत्यन्त जटिल र असहज मोडमा शान्ति स्थापना, संविधानसभा निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । म उहाँप्रति हार्दिक आभार प्रकट गर्दछु ।
सविधानसभाबाट गणतन्त्रको कार्यान्वयन गरिएपछि त्यसको संस्थागत विकासका लागि महत्वपूर्ण आधारशीला निर्माण गर्नु अर्को चुनौतीपूर्ण काम थियो । राष्ट्रपतिको निर्वाचनपछि जीत-हारको असहज परिस्थितिका बीचमा पनि मेरो दलले संविधानसभाको जनादेशलाई हृदयङ्गम गर्दै नेकपा (माओवादी) लाई नेतृत्वको जिम्मेवारी दिन पहल गरेको थियो । निवर्तमान प्रधानमन्त्री तथा एकीकृत नेकपा(माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झन्डै नौ महिना उक्त जिम्मेवारी निर्वाह गर्नुभयो । म उहाँलाई पनि धन्यवाद दिन चाहन्छु । मेरो नेतृत्वको सरकारले पूर्ववर्ती सरकारका सकारात्मक कामहरूलाई उत्तराधिकारमा लिँदै अगाडि बढ्नेछ ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवज्यूले राष्ट्रिय एकता, अखण्डता र संविधानको संरक्षणका लागि अभिभावकीय भूमिका खेलिरहनुभएको छ । म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
मुलुकले गम्भीर चुनौती सामना गरिरहेको यस घडीमा प्रधानमन्त्रीको जिम्मेवारी बहन गर्नका लागि ममाथि विश्वास सुम्पिनु हुने सबै राजनीतिक दलका नेताहरू, राजनीतिक दलहरू र माननीय सभासद्हरूप्रति म कृतज्ञ छु । मलाई थाहा छ- नयाँ सरकारको आगामी बाटो सहज छैन । तर, जब म विगतमा परस्पर निषेधकारी सम्बन्ध रहेका हामीले दिगो शान्तिको खोजीमा ज्यान हत्केलामा राखेर तय गरेको मुलुकभित्र र बाहिरका कष्टपूर्ण यात्रा सम्झिन्छु, लोकतन्त्र स्थापनाका निम्ति संयुक्त शान्तिपूर्ण आन्दोलनमा हामी सबै एक भएको कुरा सम्झिन्छु र टुट्न लागेका वार्ता र समझदारीको धागोलाई जोड्न सफल भएका अनेकौं पलहरू सम्झिन्छु । मलाई लाग्छ, आजका चुनौतीका पहाडहरू तिनका तुलनामा निकै होचा छन् । मेरो दृढ विश्वास छ- जस्तोसुकै प्रतिकूलतालाई पनि अनुकूलतामा बदल्दै हामी युगले सुम्पेका ऐतिहासिक अभिभाराहरू पूरा गर्न सफल हुनेछौँ ।
संविधान निर्माण यतिबेला हामी सबैको सर्वाधिक महत्वको अभिभारा हो । जनताले राम्रो मात्र होइन, ‘हाम्रो’ पनि भन्न पाउने गरी एक बर्षभित्र संविधान निर्माण गर्नु चुनौतीपूर्ण अवश्य छ । तर, असम्भव छैन । राज्यको सङ्घीय र समावेशी संरचना, शासकीय स्वरूप, राज्यका सामाजिक-आर्थिक-सांस्कृतिक चरित्र जस्ता महत्वपूर्ण विषयमा रहेका विविध मान्यताबाट सहमतिका आधार पहिल्याउन सरकारले कुनै कसर राख्ने छैन । सहमति, सहकार्य र सहयात्राका विगतका दिनहरूका अनुभवका आधारमा हामी पुनः एकतावद्ध भएर अघि बढ्न समर्थ हुनेछौँ । राजनीतिक विवादका वीचमा पनि विना कुनै अवरोध हामीले संविधान निर्माणको कामलाई निरन्तरता दिन सकेका छौँ । आगामी दिनमा पनि संविधानसभा सदस्य र राजनीतिक दलहरूका तर्फबाट यसरी नै संविधान निर्माणको काममा सकारात्मक योगदान रहने कुरामा म विश्वस्त छु । म यहाँहरू सबैलाई आश्वस्त तुल्याउन चाहन्छु- हामी निर्धारित समयभित्रै नयाँ संविधान निर्माण गर्नेछौँ ।
बाह्र बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता हुँदै अगाडि बढेको शान्ति प्रक्रियाले महत्वपूर्ण सफलता प्राप्त गरेको छ । तर पनि, यसलाई पूर्णता दिन अझै धेरै गर्न बाँकी छ । पछिल्ला दिनमा देखा परेका असमझदारीले नेपालको शान्ति प्रक्रियालाई खल्बलाउने पो हो कि भन्ने आशङ्का पैदा भएको छ । सङ्क्रमणकाल लम्बिदै जाँदा नेपाली जनताले अकल्पनीय पीडाको अनुभूति गर्नु परिरहेको छ । तर, म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु- नेपाली आकाशमा देखा परेका काला बादल छिट्टै हटेर जानेछन् । नेपाली सेनाले लोकतान्त्रिक परिवर्तन र गणतन्त्रलाई आत्मसात गरी खेलेको सकारात्मक भूमिकाको म प्रशंसा गर्दछु । शान्ति प्रक्रियाको प्रत्येक चरणमा नेपाली सेनाको संवेदनशीलताप्रति सरकार सचेत रहनेछ । सेना समायोजन विशेष समिति मातहत रहेका माओवादी सेनाका लडाकुका संवेदनशीलतालाई आत्मसात गर्दै रेखदेख, पुनस्र्थापना र समायोजन मार्फत् उनीहरूको भविष्यलाई सुनिश्चित गर्ने दायित्व सरकारले गम्भीरतापूर्वक बहन गर्नेछ ।
हिंसा र प्रतिहिंसाले सिर्जना गरेका घाउहरू पुर्दै समाजमा नयाँ स्तरको एकता र मेलमिलाप निर्माण गरिनेछ । विस्थापित र द्वन्द्वको पीडा भोगिरहनुभएका आदरणीय जनसमुदायहरू ∕ ढुक्क हुनुहोस्, राज्यले तपाईंहरूलाई न्याय दिनेछ ।
राजनीतिक उद्देश्यका निम्ति हिंसाको प्रयोग र अपराधको राजनीतिकरण हाम्रा सामु गम्भीर चुनौती बनेको छ । मध्यतराई र पूर्वी पहाडी भेकमा देखिएका हिंसात्मक गतिविधिले त्यहाँकै जनजीवन कष्टप्रद वनेको छ । जसको हितका लागि हिंसाको सहारा लिइएको दावी गरिएको छ, उनीहरू नै पीडित रहेको तथ्यलाई मनन गर्न म सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछु । जनताको शान्तिपूर्ण आन्दोलनबाट बिराट राजनीतिक परिवर्तन गर्न सफल निकट अतीतको स्मरण गराउँदै म सबै पक्षलाई अनुरोध गर्न चाहन्छु- आˆना माग पूर्तिका लागि हिंसाको सहारा लिनु बिल्कुलै उचित छैन । वार्ताबाटै समस्याको समाधान खोज्न सकिन्छ । सरकार यसका लागि हदैसम्म लचिलो भएर प्रस्तुत हुनेछ । तर, नागरिक सुरक्षाका प्रश्नमा सरकारले कुनै अनुचित सम्झौता गर्ने छैन ।
विगतमा राज्यले विभिन्न समूहहरुसँग गरेका सहमति र समझदारीहरुलाई दलहरुबीच समन्वय गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।
आदरणीय जनसमुदाय,
इतिहासले हामीलाई विभेदकारी र केन्द्रीकृत राज्यसंरचना दिएको छ । हामी यसलाई रूपान्तरण गर्न लागेका छौँ । त्यसैले सबै खाले वर्गीय, जातीय, लैङ्िगक, क्षेत्रीय र सांस्कृतिक विभेदको अन्त्य र सामाजिक न्यायले युक्त, समावेशी, सङ्घीय र लोकतान्त्रिक नेपालको निर्माण यतिबेला हाम्रो मुख्य कार्यसूची बनेको छ । राज्यको अग्रगामी पुनर्संरचनाको अर्थ समाजको विविधतालाई राज्यमा प्रतिबिम्बित गर्नु हो, नेपालको नयाँ र लोकतान्त्रिक परिभाषा निर्माण गर्नु हो । तर, आफ्नो पहिचान स्थापना गर्न खोज्दा अरूको पहिचानलाई नामेट या अवमूल्यन गर्नु उचित हुँदैन । त्यसैले मेरो विनम्र आग्रह छ- समग्र राष्ट्रको हितलाई ध्यानमा राखेर पहिचान, पहुँच र प्रतिनिधित्वको विषयलाई नयाँ नेपाल निर्माणको आधारका रूपमा स्थापित गरौैँ । हाम्रो सामाजिक-सांस्कृतिक विविधतालाई सम्मान र संरक्षण गर्दै राष्ट्रिय एकतालाई अझ बलियो पारौँ र उन्नत नेपालको निर्माण गरौँ ।
नेपाली जनताको महानता, सौर्य र त्यागका लागि ‘धन्यवाद’ भनेर मात्र पुग्दैन भन्ने मैले राम्रोसँग बुझेको छु । गणतन्त्र र शान्ति प्रक्रियाको लाभांश जनताको घरआँगनसम्म पुग्न सकेन भने यसप्रति जनताको अपनत्व स्थापित हुन सक्दैन र जनताले आफ्नो ठान्न नसकेको राजनीतिक प्रणाली वा प्रक्रिया दीर्घजीवी हुनसक्दैन भन्ने तथ्यप्रति पनि म सजग छु । राजनीतिक परिवर्तनपछिको समयमा देखिएको अराजकता, असुरक्षा, वढ्दो दण्डहीनता, छाडा र अनियन्त्रित वजारका कारणले आम नेपाली जनताले निकै ठूलो कष्टको सामना गर्नु परिरहेको तथ्यप्रति मेरो गम्भीर ध्यान गएको छ । त्यसैले म आश्वस्त पार्न चाहन्छु- सरकारले जनतालाई अनुभूत हुने गरी राहत र सुधारका तात्कालिक कार्यक्रम अगाडि बढाउनेछ । हामीसँग सामाजिक आर्थिक रूपान्तरणका कार्यक्रमहरू छन्, जसलाई कार्यान्वयन गर्न सरकार गम्भीरतापूर्वक लाग्नेछ । श्रमजीवी, सीमान्तीकृत र विपन्न वर्गको हित र सामाजिक सुरक्षाका लागि सरकारले प्रभावकारी अभियान सञ्चालन गर्नेछ ।
युवाहरू बेरोजगारीबाट आक्रान्त छन् । सुकुम्वासीहरू घरवारविहीन हुनुको पीडामा छन् । मुक्त घोषणा गरिए पनि कमैयाहरूको पुनःस्थापना हुन सकेको छैन । दलितहरूमाथि अहिले पनि अमानवीय व्यवहार कायमै छ । महिला हिंसामा कमी आएको छैन । बाढी-पहिरो पीडितहरुले उचित राहत पाउन सकेका छैनन् । शारीरिक रुपमा अपाङ्ग नागरिकहरुका पनि उस्तै समस्या छन् । यीलगायतका ज्वलन्त सामाजिक समस्याहरूप्रति म पूर्ण रूपमा संवेदनशील र सचेत छु । यी समस्या समाधान गर्नेतर्फ मैले पर्याप्त ध्यान केन्दि्रत गर्नेछु ।
लोकतन्त्रमा राजनीति भनेको प्रतिष्पर्धा र पहलकदमीवाट नेतृत्व लिने कुरा हो । यो विवाद, सम्वाद र सहमतिका आधारमा सहकार्यको दिशामा अघि वढ्ने प्रक्रिया पनि हो । यही प्रक्रियाबाट नै राजनीतिक दलहरूका बीचमा उच्चस्तरको समझदारी निर्माण गर्न सकिन्छ । सहकार्य र एकताबाट मात्रै चुनौतीका पहाडहरूलाई छिचोल्दै गन्तव्यमा पुग्न सकिन्छ । यही मान्यतामा उभिएर मेरो दलले विगतदेखि नै आफूलाई राष्ट्रिय सहमतिका पक्षमा र कुनै पनि रूपको धु्रवीकरणका विपक्षमा उभ्याउँदै आएको हो । आज त्यस मान्यताको सहीपना झन् टड्कारो गरी पुष्टि भएको छ । त्यसैले राष्ट्रिय सहमति नयाँ सरकारको पहिलो प्राथमिकता हुनेछ । यसको कार्यसम्पादनको मुख्य आधार पनि यही हुनेछ । म एकीकृत नेकपा (माओवादी) लगायतका दलहरूलाई परिस्थितिजन्य परिघटनाका रूपमा देखा परेका असमझदारी र तिक्तताबाट माथि उठेर राष्ट्रिय सहमतिका आधार निर्माण गर्न नयाँ अग्रसरताका साथ अघि बढ्न हार्दिक अपिल गर्दछु । यसका लागि सरकार आफ्नो तर्फबाट आवश्यक सबै प्रक्रिया र कामहरू अघि बढाउन तत्पर रहने कुरामा विश्वास दिलाउँछु ।
लोकतन्त्र, कसैका लागि ‘प्रयोग’ वा ‘उपयोग’ गरेर कुनै पनि प्रकारको अधिनायकवादी शासन शैलीमा फड्को मार्ने खुड्किलो होइन । लोकको चाहना र इच्छा अनुसार राजनीतिक दल र नेताहरूले आफूलाई रूपान्तरण गर्दै र देशको नेतृत्व गर्न योग्य सावित गर्दै लैजाने अवसर एवम् विधि हो- लोकतन्त्र । एक बन्दुकका विरुद्ध अर्को बन्दुकको प्रयोग, हिंसाका विरुद्ध प्रतिहिंसा, सैनिक बर्दीमा होस् वा सादा पोशाकमा थोपरिने कुनै पनि प्रकारको अधिनायकवाद लोकतन्त्र वा नागरिक सर्वोच्चता हुन सक्दैन । न त कार्यकारीको स्वेच्छाचारिता नै नागरिक सर्वोच्चता हुनसक्छ । लोकतन्त्र त विधिद्वारा निर्देशित तथा ‘नियन्त्रण र सन्तुलनमा’ आधारित प्रणाली हो । यसको आफूलाई पायक पर्ने व्याख्या हुन सक्दैन । सामाजिक रूपान्तरण शान्तिपूर्ण ढङ्गले सम्भव छ भन्ने मान्यताको प्रतिनिधिका हैसियतले म यो विश्वास दिलाउन चाहन्छु- नयाँ सरकारको स्थापनाको आधार नागरिक सर्वोच्चता नै हो । यो सरकार नागरिक सर्वोच्चताको प्रतीक हो, जसको निर्माण जनताद्वारा निर्वाचित व्यवस्थापिका-संसद्बाट भएको छ । नागरिक सर्वोच्चताप्रति यो सरकारको प्रतिबद्धता अटल रहनेछ ।
नेपाल राष्ट्र कहिल्यै पराधीन रहेन । तर, नेपालको सत्ताकेन्द्रमा द्वन्द्व चर्केका बेला वा आन्तरिक राजनीतिक शक्तिहरू विभाजित भएको बेला हाम्रो स्वतन्त्र अस्मिता, निर्णय क्षमता र अधिकारलाई कुण्ठित पार्न खोजिएको इतिहास छ । पूर्खाहरूले हामीलाई सिकाएका छन्- ‘आˆनो थैलीको मुख बलियो गरी बाँध, अरूलाई दोष नदेऊ ।’ यही शिक्षालाई आत्मसात गर्दै हामी एकजुट भएर आफ्नो देशको सुरक्षा, स्वार्थ र स्वाभिमानको रक्षा गर्न सक्छौं । राष्ट्रवाद र विदेशी हस्तक्षेपको विषयलाई पनि आफ्नो निहित स्वार्थमा आधारित वनाएर व्याख्या गर्नु हुँदैन, अनि यसलाई हामीले राजनीतिक दाउपेचको विषय बनाउनै हुँदैन । नेपालको राष्ट्रिय हित, सार्वभौमसत्ता, स्वतन्त्र अस्मिता, भौगोलिक अखण्डता, र स्वाभिमानमा ठेस लाग्ने कुनै पनि काम वर्तमान सरकारले गर्नेछैन । राष्ट्रिय हितको संरक्षण र सम्बर्द्धन मेरो पहिलो दायित्व हुनेछ । राष्ट्रिय हितका प्रत्येक विषयमा एकताबद्ध हुन सबै राजनीतिक दललाई म हार्दिक अनुरोध गर्दछु ।
नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति र समृद्धिका लागि मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायको निरन्तर साथ र ऐक्यवद्धताबाट हामी लाभान्वित हुँदै आएका छौं । म नेपाली जनताको तर्फबाट उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । हामी छिमेकी मुलुकहरू र अन्तर्राष्ट्रिय समुदायसँग मित्रवत्, हार्दिक र सम्मानपूर्ण सम्बन्धलाई अझ विकसित गर्न चाहन्छौँ ।
अहिले तपाईंहरूका सामु गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्रीका रूपमा खडा भएको म माधवकुमार नेपाल, तपाईहरू जस्तै एक नेपाली नागरिक हुँ । मेरो पनि अरूको जस्तै सफलतामा खुशी साटासाट गर्ने र दुःखका बेला आँशु बहाई आफूलाई हल्का बनाउने मन छ । आम नेपाली नेताजस्तै मेरो भागमा पनि कहिले विजयश्री र कहिले पराजय परेको छ । जुनसुकै अवस्थामा पनि राष्ट्र र जनताले आवश्यक ठानेको समयमा मेरो सामथ्र्यको अधिकतम लगानी गर्दै आएको तथ्य यहाँहरूलाई अवगतै छ । म न विषवृक्ष हुँ, न त कल्पवृक्ष नै । तर, म त्यस्तो एउटा वृक्ष बन्न चाहन्छु, जसले नेपाली जनतालाई सकेसम्म मीठो फल दिन प्रयत्न गर्नेछ, नसके बाटो हिँड्ने बटुवालाई छहारीसम्म अवश्य दिनेछ । मेरा निम्ति राजनीति कहिल्यै पनि छलकपट, षडयन्त्र या दाउपेचको बिषय रहेन । राजनीतिमा दोहोरो मापदण्डलाई मैले सधैँ घृणा गरेको छु । राजनीतिलाई जहिले पनि राष्ट्र र जनताको सर्वोत्तम हित गर्ने एउटा महत्वपूर्ण माध्यमका रूपमा मैले लिँदै आएको छु । एउटा खुल्ला किताबको पाना जस्तै तपाईँहरूका सामु उभिएको यो माधवकुमार नेपाल प्रधानमन्त्रीका रूपमा आˆनो क्षमताको पल्लै छेउसम्म हाम्रो प्यारो राष्ट्र नेपाल, हामी जनता र हाम्रो उज्ज्वल भविष्य र साझा समृद्धिका लागि समर्पित हुनेछ ।
दिदीबहिनी तथा दाजुभाइहरू
म पुनः जोड दिएर भन्न चाहन्छु- शान्ति प्रक्रिया अहिले पनि अधुरै छ । त्यसमा अनेकौँ प्रकारका जटिलता देखा परेका छन् । हामीले संयुक्त रूपमा यहाँसम्म ल्याइपुर्‍याएको शान्ति प्रक्रियालाई मिलेरै टुङ्गोमा पुर्‍याउनुपर्छ । बाह्रवुदे सहमतिदेखि हामीले आरम्भ गरेको सहमति,, सहकार्य र एकताको यात्रालाई विश्राम लगाउने समय यो होइन । म एकीकृत नेकपा -माओवादी) का मित्रहरूलाई टाढा होइन, सँगै बसेर एक-अर्काका कुरा सुन्न र बुझ्न आह्वान गर्दछु । सँगै बसेर कुरा गर्ने हो भने कटुतालाई पनि हार्दिकतामा परिणत गर्न सकिन्छ । हिजो मेरो दल राष्ट्रपति निर्वाचनका सन्दर्भमा पाएको धोकाका वावजुद राष्ट्र र जनताप्रतिको दायित्ववोधलाई आत्मसात गर्दै एकीकृत नेकपा -माओवादी) को नेतृत्वमा सरकार गठन गर्न सहयोगी बनेको हो र सरकारमा सहभागी पनि भएको हो । अहिले परिस्थितिजन्य कारणले एकीकृत नेकपा -माओवादी) का अध्यक्षले प्रधानमन्त्रीवाट राजीनामा दिनुपरे पनि सहमति र सहकार्यको यात्रालाई विराम लगाउनुपर्ने अवस्था होइन । तसर्थ, म नेपालको शान्ति प्रक्रिया अघि वढाउन एकीकृत नेकपा -माओवादी) लाई वर्तमान सरकारमा सामेल भएर सहयोग गर्न आग्रह गर्दछु ।
अन्त्यमा, सपना नदेख्ने कुनै पनि राष्ट्र, संस्था वा नेताले प्रगति गर्न सक्दैन । मेरो पनि एउटा सपना छ- लोकतान्त्रिक, शान्त, समतामूलक र समृद्ध नेपाल बनाउने । यो सपना तपाई हामी सबैको साझा सपना हो । यो सपना पूरा गर्न पार गर्नुपर्ने लामो यात्रा’bout म सचेत छु । मेरो आग्रह छ- आउनुहोस्, लोकतान्त्रिक, शान्त, समतामूलक र समृद्ध नेपाल निर्माणको यो साझा सपना हामी सबै मिलेरै साकार पारौँ ।धन्यवाद ।

 
१ टिप्पणी

Posted by on मे 27, 2009 in HOME