RSS

मुलुकमा पुनः गृहयुद्ध चर्काउने योजना बन्दै छः प्रचण्ड

18 May

माओवादीले राजधानीको खुलामञ्चमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्नु हुँदै अध्यक्ष प्रचण्डले नागरिक सर्वोच्चताको मुद्दा बनाएर परिवर्तन विरोधीहरुले शान्ति प्रक्रिया भंग गरी देशमा गृहयुद्ध निम्त्याएर हतियारको व्यापार गर्न खोजेको बताउनुभयो ।

maoist
माओवादी जनसभाको एक झलक

एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं काम चलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशीको आडमा नयाँ सरकार बनाएर शान्ति प्रक्रिया भाँड्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

 कार्यक्रममा आफू संसारका सबैभन्दा ठुला न्यायमुर्ति जनतासामू कठघरामा उभिएर साविति बयान दिइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले विदेशीहरुको इराशामा चलेका दलहरुले माओवादीलाई युद्धमा फर्काउने कोसिस गरे पनि माओवादी कुनै हालतमा शान्ति प्रक्रियाबाट पछि नहट्ने बताउनुभयो । उहाँले आफूहरु गाउँ र जंगल पस्नुको सट्टा निरंशुकतावादी र विदेशीका दलालहरुलाई हर गाउँ, टोल, सदरमुकाम र राजधानीबाटै समाप्त पार्ने बताउनुभयो।

राष्ट्रपतिको कदम र विदेशी हस्तक्षेप विरुद्ध टुडिखेलमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो- माओवादीलाई फेरि युद्धमा फर्काई श्रीलङ्काका लिट्टेको जस्तो हविगत बनाउने भनिँदैछ, तर हजारौँ, लाखौँ नेपाली जनताले ती षड्यन्त्रकारीलाई घेरामा पारी खरानी बनाउनेछन् ।

प्रधानमन्त्री प्रचण्डले जनयुद्ध सुरुभएदेखि अहिलेसम्म माओवादीले भने अनुरुप नै जनपक्षीय काम हुँदै आएको र आउने दिनमा पनि शान्ति प्रक्रियाले पूर्णता पाउने र नयाँ संविधान बनाउने काममा माओवादीलेनै अगुवाई गर्ने दृढता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले देशमा नागरिक कि सैनिक सर्वोच्चता भन्ने विषयमा इतिहासको एक कालखण्डमा गम्भीर बहस चलेको र आफूले नागरिक सर्वोच्चताको पक्षमा स्पष्ट रुपमा उभिएर सत्ताबाटै बाहिर निस्किएको पनि खुलासा गर्नुभयो ।

लोकतन्त्रलाई जनताको लोकतन्त्रमा परिणत गराउन आफू प्रधानमन्त्री भएदेखि नै लागिपरेको र यो प्रक्रियालाई देख्न नसकेका स्वदेशी यथास्थितिवादी र विदेशी प्रतिक्रियावादीको दबाबलाई निस्तेज पार्न आफूले सत्ताको बलिदान दिएको धारणा पनि उहांले व्यक्त गर्नुभयो ।

नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाभिमानका पक्षमा तथा विदेशी हस्तक्षेपका विरूद्ध देशको निर्वाचित प्रधानमन्त्रीले सत्ताको बलिदान गरेर राजिनामा दिएको इतिहासमा पहिलो घटना भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले माओवादी जन शशक्तिकरण अभियान मार्फत जनताको घर दैलोमा पुगेर देशमा सैनिक सर्वोच्चताको अन्त्य गराई छाड्ने पनि स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो- विदेशी प्रतिक्रियावादीको निर्देशन सहेर र देशमा कायम हुन खोजेको सैनिक सर्वोच्चतालाई स्वीकारेर मलाई प्रधानमन्त्रीको कुर्सी चाहिएन,  मलाई नेपाली जनता र राष्ट्रिय स्वाभिमान नै प्यारो छ, मेरा लागि प्रधानमन्त्रीको कुर्सी दुई पैसा बराबरको हो ।

निर्वाचित सरकारले गरेको निर्णयलाई उल्ट्याउँदै राष्ट्रपतिले जङ्गी अडामा निरङ्कुश र हुकुमी शैलीमा पठाएको चिठी उनको आफ्नो स्वविवेकले नभई विदेशी शक्तिको ‘रिमोट कन्ट्रोल’का कारण भएको पनि उहाँले बताउनुभयो ।

निर्वाचित सरकारलाई षड्यन्त्र गरेर ढलाउन खोज्नेहरू यतिखेर रुँदै, कराउँदै र कायर पाराले नयाँ सरकार बनाउन खोजिरहेको टिप्पणी गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो- उनीहरू अब जनताका अघि कहिल्यै ठाडो शीर गर्न सक्दैनन् तर हामी भने स्वाभिमानका साथ जनतासामु आईपुगेका छौं ।

नयाँ सरकार निर्माणका लागि देशमा ३०१ को घृणित एवम् फोहोरी खेल सुरु भएको आरोप लगाउँदै एमालेले विदेशी प्रतिक्रियावादीद्वारा नेपालको एउटा वामपन्थीको काँधमा बन्दुक राखेर अर्को वामपन्थीलाई सिध्याउन सुरु गरेको षड्यन्त्रपूर्ण खेल बुझ्न नसकेको बताउनुभयो ।

उहाँले बाह्रबुँदे सहमति र त्यसयता समेत राष्ट्रिय सहमतिका लागि भूमिका निर्वाह गरेका नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई हालै आफूले भेटेर यसपटक पनि सहमतिको पहल गर्न आग्रह गरेको तर सो प्रस्तावलाई उहाँले गम्भीरताका साथ नलिएको बताउनुभयो ।

इतिहासका सबैभन्दा ठुला न्यायमुर्ति जनता भएकाले नागरिक सर्वोच्चताका निम्ति माओवादी जति ठुलो बलिदान गर्न पनि तयार रहेको बताउनुभयो । विदेशी प्रभुहरुको निगाहाबाट नभई माओवादीलाई जनताले सरकारमा पठाएको भन्दै राष्ट्रिय अस्तित्वलाई खतरामा पार्ने शक्तिविरुद्ध नयाँ आन्दोलन थालिने चेतावनीसमेत दिनुभयो ।

यसैक्रममा उहाँले भन्नुभयो,  हामी नेपालका तीन करोड जनताको हकहितका निम्ति इमान्दार रहन्छौ, प्रतिवद्ध रहन्छौ लडिराख्छौ, यहाँ कसैको षड्यन्त्र सफल हुनेछैन । हिजो पनि भएन र अब पनि कसैको षड्यन्त्र सफल हुने छैन । उहाँले संविधानसभाको सबभन्दा ठुलो पार्टी हुनुको नाताले हामी संविधान लेख्ने कुराप्रति इमान्दार हुनेछौ, शान्ति प्रक्रियाको एउटा मुख्य हिस्सा हुनुको नाताले हामी शान्ति प्रक्रियाप्रति इमान्दार रहनेछौ र लडिराख्ने छौ भन्दै नेपाली जनताको परिवर्तनको चाहनाको निम्ति लडेको शक्ति हुनुको नाताले परिवर्तनप्रति इमान्दार रहने बताउनुभयो ।

उहाँले आफूलाई प्रधानमन्त्री भएछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपालको ब्युरोक्रेसी सामन्त दलालले भनेको जस्तो छैन भन्ने कुरा थाहा भएको उल्लेख गर्दै यसको ठुलो पंक्ति जनताको पक्षमा छ भन्नुभयो । उहाँले भन्नुभयो, मैले थुप्रै अफिसर्सहरुसँग कुराकानी गरें, मैले थुप्रै अफिसर्सहरुको हृदय छाम्ने कोसिस गरें, म के देख्छु भने त्यहाँ सैनिक अफिसर्सहरुको हृदयमा पनि राष्ट्रिय भावना छ । शान्तिको भावना छ । र, नयाँ संविधान र राजनीतिक स्थिरता बनोस् भन्ने भावना छ । उहाँले ती सबै ब्युरोक्रेसीमा काम गर्ने कर्मचारीहरुका पनि शान्ति राष्ट्र र संविधानको भावना छ त्यस कारण यो देशलाई अफगानिस्तान बनाउने, युगोस्लाभिया बनाउने वा यो देशलाई श्रीलंका बनाउने सपना कसैले देखेको छ भने त्यो भयानक दिवास्वप्न हुने बताउनुभयो । विशाल जनसमुदायको सहभागिता रहेको उक्त कार्यक्रममा वोल्दै उहाँले थप्नुभयो,  म त्यस्ता सपना देख्नेहरुलाई ठन्डा दिमागले सोच्न र नेपालको वस्तुस्थिति र नेपाली जनताको हृदय छामेर हेर्न नेपालका सम्पूर्ण महिला दिदीबहिनीहरु र दाजुभाइको हृदय छामेर हेर्न अनुरोध गर्दछु ।

सेनापतिलाई स्ष्टीकरण सोध्ने वित्तिकै राष्ट्रपतिबाट चालिने कदमका बारेमा आफूले थाहा पाएको उल्लेख गर्दै राष्ट्रपतिले सैनिक मुख्यालयमा पठाएको पत्र अन्यत्रै तयार भएको दावीसमेत गर्नुभयो । उहाँले १२ वर्ष ढुंग्रामा राख्दा पनि कुकुरको पुच्छर बांगाको बांगै रहेजस्तो दलहरुले परिवर्तनलाई अझै आत्मसाथ गर्न नसकेको बताउनुभयो । उहाँले विगतमा पनि पुराना भनिने दलहरु निरंकुशताको तलुवा मुनि बसेको र बस्न चाहेको स्मरण गराउँदै अहिले पनि त्यही सैनिक निरंकुशताको तलुवा चाटेर बसेको बताउनुभयो ।  

उहाँले विदेशको आडमा बनेको नयाँ सरकारले माओवादीलाई उत्तेजित पार्ने र क्यान्टोनमेन्टमा रहेका सेना निकाल्न लगाउने योजना बनाएको दावीसमेत गर्नुभयो । आफूलाई प्राप्त जानकारीअनुसार षड्यन्त्रको योजनाअनुसार माओवादी सेनालाई जसरी पनि क्यान्टोनमेन्टबाट निकालेर नेपाली सेना उतार्ने र पुनः गृहयुद्ध चर्काउने योजना बनेको बताउनुभयो । त्यसो गर्दा गृहयुद्धमा कसैको जित नभएपछि विदेशी सेना ल्याएर नेपाललाई अफगानिस्तान बनाउने योजना रहेको दावीसमेत उहाँले गर्नुभयो ।

माधव नेपाल विदेशीको रिमोट कन्ट्रोलमा प्रधानमन्त्री बन्न लागेकोले माधव नेपाललाई आफूले भनेको स्मरण गर्दै उहांले भन्नुभयो ‘तपाईँ प्रधानमन्त्री नै चाहिएको हो भने आउनुस् हामी बनाइदिन्छौँ । किन विदेशीको रिमोट कन्ट्रोल बन्नुपर्यो ?’ भिडियो प्रकरणपछि माओवादीप्रति शंका फैलिरहेको बेला दाहालले शान्ति प्रक्रियाप्रतिको प्रतिबद्धता दोहोर्याउदै भन्नुभयो ‘माओवादी शान्ति प्रक्रियाबाट कदापि पछि  हट्नेवाला छैन,’ उहांले भन्नुभयो, ‘शान्तिको लडाइ हरेक सदरमुकामबाट लड्नेछ।’ वक्तव्यकै क्रममा शान्ति प्रक्रिया भंग गर्नेलाई नामेट पार्ने चेतावनीपनि उहांले दिनुभयो । ९ महिने कार्यकालको समीक्षा गर्दै उहांले आफुले भिन्नै किसिमले शासन गर्न खोजेको बताउनुभयो । ‘म सुरुदेखि नै भिन्नै किसिमले काम गरेँ’ दाहालले भन्नुभयो -‘चीन जाने निर्णय त्यस्तै थियो।’ प्रधानमन्त्री हुनासाथ दिल्ली जाने परम्पराविरुद्ध आफू बेइजिङ पुगेको पनि उहांले स्मरण गराउनुभयो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: