RSS

आप्पा १९ औं पटक विश्वको सर्वोच्च शिखरमा

21 May
 सगरमाथा चुचुरोमा अाप्पा

 सगरमाथा चुचुरोमा अप्पा

नेपाली पर्वतारोही आप्पा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको १९औं पटक सफल आरोहण गरी विश्व किर्तिमान कायम गरेका छन् । शेर्पाले आज बिहान ८.३० बजे सगरमाथाको आरोहण गरेका हुन् । यसअघिको आफ्नै किर्तिमानसमेत भंग गरेका छन् ।निकै थाकेको र लरबराएको आप्पा शेर्पाको स्वर इको एभरेष्ट एक्सपिडिसन्सका बेस क्याम्प म्यानेजर दावा स्टेभन शेर्पाले बिहीबार विहान ८ बजे  तिर सञ्चार उपकरणमार्फत सुने, ‘म चुचुरोमा आइपुगें। यतिखेर म आरोहीहरुले चढाएका धार्मिक झण्डाहरु देख्दैछु । मैले देउताहरुलाई खुशि पारें र ‘भूम्पा’ लाई चुचुरोमा चढाएँ”। 

 

सगरमाथा चढ्दा बाटोमा पर्ने हिलारी स्टेपमा धेरै आरोहीहरु भेटिएकाले चुचुरोमा पुग्ने आफ्नो टिमको सबैभन्दा अन्तिम व्यक्ति आफू नै भएको आप्पाले जानकारी दिए। आप्पालाई तेङबोचेका रिम्पोछेले सगरमाथाको टाकुरमा चढाउन ४०० थरिका जडिबुटी, धार्मिक र आध्यात्मिक महत्वका बस्तुहरु मिलाइएको ‘भुम्पा’ दिएर पठाएका थिए।
आरोही शेर्पाले सर्वोच्च शिखर सगरमाथा चुचुरोमा बिहीबार बिहान १९ औं पटक पाइला टेक्दै आफ्नै एक वर्ष अगाडिको विश्व रेकर्ड तोडेका  हुन्।
ठीक एक वर्ष अगाडि जेठ ६ गते उनले १८ औं पटक सगरमाथा आरोहण गरी आफ्नो नाममा विश्व किर्तिमान राखेका थिए।

शिखरमा  आधा घन्टा बिताएपछि उनले  ‘यहाँ धेरै चिसो छ, अब म तल झर्दैछु’  भन्दै  सञ्चार उपकरणमार्फत आप्पाले एक्सिडिसन्सका म्यानेजरलाई जानकारी दिएका थिए। आप्पाले सगरमाथाको चुचुरोमा ‘जलवायु परिवर्तन रोक, हिमालयलाई बाँच्न देउ’ सन्देश लेखिएको ब्यानर समेत फहराए।

आप्पाले सन् १९९० मा सगरमाथाको पहिलोपटक आरोहरण गरेका थिए। इको एभरेस्ट एक्सपिडिसन्स-२००९ टोलीका आरोही आप्पाले जलवायु परिवर्तनबाट पर्ने असरका बारेमा जनचेतना फैलाउन यसपटक सगरमाथा आरोहण गरेका हुन्।

आप्पाले सन् १९९० देखि १९९६ र २००१ बाहेक हरेक वर्ष लगातार सगरमाथा चढ्दै आएका छन् । उनले सन् १९९२ मा दुइपटक सगरमाथा चढेका थिए ।

चार कक्षासम्म अध्ययन गरेका आप्पाको घर सोलुखुम्बु नाम्चे गाविसको थामे हो।

आप्पा अहिले अमेरिकाको उटाह राज्यको ड्रापरमा ३ वर्षदेखि सपरिवार बस्दै आएका छन् ।  उनका दुई छोरा र एक छोरी अमेरिकामा अध्ययन गर्दैछन्। जेठा छोराले बिए अध्ययनरत छन् भने, कान्छो छोराले १२ र छोरी १० कक्षामा पढ्दैछन्।

यस वसन्तयाम अघिसम्ममा तीन हजार ९९६ जनाले सगरमाथाको शिखर टेकिसकेका छन्।

आप्पाको सगरमाथा यात्रा :
पहिलो – मे १०, १९९०
दोस्रो  – मे ८, १९९१
तेस्रो – मे १२, १९९२
चौथो – अक्टोबर ७, १९९२
पाँचौं – मे १०, १९९३
छैटौं – अक्टोबर १०, १९९४
सातौं – मे १५, १९९५
आठौं – अप्रिल २६, १९९७
नवौं – मे २०, १९९८
दशौं – मे २६, १९९९
एघारौं – मे २४, २०००
बाह्रौं – मे १६, २००२
तेह्रौं – मे २६, २००३
चौधौं – मे १७, २००४
पन्ध्रौं – मे ३१, २००५
सोह्रौं – मे १९, २००६
सत्रौं – मे १६, २००७
अठारौं – मे २२, २००८
उन्नाइसौं – मे २१, २००९

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: