RSS

प्रचण्डले संसदलाई गर्नु भएको सम्बोधनको पूर्ण पाठ

23 मे

सभामुख महोदय,

नेपाली राजनीतिको अत्यन्त तरल सम्भावनायुक्त र चुनौतिपूर्ण मोडमा सरकारबाट राजीनामा दिइसकेको एक काम चलाउ प्रधानमन्त्रीका हैसियतले आज यस रोष्ट्रममा माननीय सदस्यहरूका अगाडि उभीएर केही कुरा राख्दैछु । गत करिब १ महिनाको अत्यन्त तीव्र राजनीतिक उतारचढाव अन्यौल र आशंकाको तुवांलो अझै हटिसकेको छैन । अन्तरिम संविधानको मर्म र भावना पुरै मिचिने त होइन समग्र शान्ति प्रक्रिया धरापमा पर्दै वा पारिंदै त छैन यो ऐतिहासिक संविधान सभालाई निरीह संस्था बनाई जनताको अपेक्षाअनुसार संविधान निर्माणको काम अलपत्र पर्ने त होइन देशलाई भीषण द्वन्दमा धकेल्ने र यसको राष्ट्रिय अस्तित्व र अस्मीता समाप्त पार्न दुरवर्ती षडयन्त्रले कहीं कतैबाट काम गरिरहेको त छैन । आज नेपाली जनताका मनमा यी र यस्तै प्रश्नहरू खेलिरहेको तथ्य सजिलै बुझ्न सकिन्छ । यस विशिष्ट क्षणमा म इतिहासका सम्पूर्ण सहिदहरूका साथै महान जनयुद्ध जनआन्दोलन र मधेश आन्दोलन लगायत स्वतन्त्र समृद्ध एवं नयां लोकतान्त्रिक नेपालको सपना साकार पार्न आफनो प्राणोत्सर्ग गर्ने हजारौं ज्ञात-अज्ञात सहिदहरूप्रति श्रद्धा व्यक्त गर्दछु । उनीहरूको परिवारजनप्रति सम्मान प्रकट गर्दछु । त्यसै गरी ती हजारौं वेपत्ता योद्धाहरू जसले नयां नेपालका लागि असीम त्याग र वलिदानको कीर्तिमान कायम गरेका छन् ती सबैप्रति उच्च सम्मान प्रकट गर्दै पीडामा छटपटिएका उनीहरूका परिवारजन प्रति हार्दिक स्नेह र सम्मान व्यक्त गर्दछु ।

नयां नेपाल निर्माणको सन्दर्भमा घाइते अपाङ्ग बन्न पुगेका तमाम योद्धा र उनीहरूका परिवारजनप्रति पनि म यस क्षणमा स्नेह र सम्मान प्रकट गर्न चाहन्छु । सभामुख महोदय एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको सरकारले आफू मातहतको एक कर्मचारी नेपाली सेनाको प्रधान सेनापतिसंग मागेको स्पष्टीकरण र उनीमाथि लिइएको कारबाही प्रकरणले नेपालको लोकतन्त्रको स्थिति नेपालको आत्मनिर्णयको अधिकार यसको राष्ट्रिय स्वतन्त्रताको स्थिति जस्ता अत्यन्त गम्भीर दुरगामी र संवेदनशील प्रश्नहरूलाई सतहमा ल्याएको छ । २००७ साल वरिपरिबाट जनताको सर्वोच्चताका लागि लड्दै आएका राजनीतिक दल नागरिक आन्दोलन र सम्पूर्ण सचेत नेपालीले यतिबेला निधार खुम्च्याएर छातीमा हात राखेर सोच्नुपर्ने भएको छ । २००७ सालको राजनीतिक उपलब्धी ०१७ सालमा कसरी खोसियो निर्दलीय पञ्चायती तानाशाही ३० वर्षम्म कसरी टिक्न सक्यो ? ०४६ सालको ऐतिहासिक जनआन्दोलनले ल्याएको राजनीतिक परिवर्तलाई ज्ञानेन्द्र शाहले कसरी सजिलै अपहरण गरेर निरंकुश शासन लादन सके जनयुद्ध र जनआन्दोलनका शक्ति मिलेर परास्त गरिएको निरंकुश सामन्तीतन्त्र फर्कने कुन-कुन कुनाबाट हुन सक्छ प्रश्न निकै गम्भीर छन् । इतिहासका प्रत्येक मोडमा प्राप्त राजनीतिक उपलब्धीलाई संस्थागत गर्न त्यसकै अनुपातमा सेनामा सुधार र सुदृढीकरण गरी नागरिक सर्वोच्चतलाई दिगो पार्न नसक्नु नै ००७ सालदेखिकै हाम्रो राजनीतिक आन्दोलनको एउटा भयानक र विस्मयकारी कमजोरी रहंदै आएको छ । यो तथ्यलाई आफ्नो जीवनको उत्तरार्द्धमा नेपाली कांग्रेसका नेता एवं विचारक वीपी कोइरालाले देख्नु भएको कुरा हामी सबैलाई थाहा छ ।

सभामुख महोदय

आज फेरि प्रश्न नागरिक सर्वोच्चतालाई दिगो पार्न सेनामा आवश्यक सुधार गर्न वा नागरिक सर्वोच्चतालाई चुनौती दिने एकाध सैनिक अधिकारीका अगाडि घुंडा टेकेर जनताको उपलब्धीलाई खिल्ली उडाउने लोकतन्त्रको यक्ष प्रश्न बन्न गएको छ । कुर्सीको क्षणिक स्वार्थमा निमित्त राष्ट्र र जनतालाई भड्खारोमा हाल्न तयार हुने वा राष्ट्रको स्वतन्त्रता एवं जनताको सर्वोच्चताका लागि कुर्सीको परवाह नगरी दह्रोसंग उभिने यो प्रश्नको जवाफ हाम्रो पार्टी र त्यसको नेतृत्वका हैशियतले मैले कुर्सी त्यागलाई स-गर्व स्वीकार गरेर दिएको छु । म आशा गर्दछु कि यो सम्मानीत सदनले लोकतन्त्र के यो भारी संवेदनशील मुद्दामा सही फैशला लिने छ । यदि तत्काल त्यसो हुन सकेन भने पनि यो मुद्दा आम जनताको मुद्दा हुनेछ र जनता आफ्नो सर्वोच्चताका निमित्त यो मुद्दामा पुरै जीत हाशिल नहुंदासम्म अगाडि बढिरहने छन् । हामी हमेशा राष्ट्र र जनताको साथ हुने छौं । सभामुख महोदय नेपाली लोकतन्त्र र जनताको सर्वोच्चता’bout यति कुरा राखी सकेपछि अब म नेपाली राष्ट्रियताका ’boutमा केही कुरा राख्न आवश्यक ठान्दछु र त्यसको लागि अनुमति चाहन्छु । राष्ट्रियता र लोकतन्त्र अविभाज्य छन र यतिबेला यी प्रश्न विशिष्ट रूपले व्यक्त भइरहेका छन । राष्ट्रियताको चर्चा गर्दा यसको बाहृय र आन्तरिक दुवै पक्षमा ध्यान जान जरूरी छ । राष्ट्रियताको बाहृय पक्षको कुरा गर्दा नेपाली विशिष्टितामा छिमेकी भारत र हाम्रो नेपालको सम्बन्धका अत्यन्त संवेदनशील पक्षहरू आकर्षित हुन्छन् । म सुरूमै स्पष्ट गर्न चाहन्छु हामी हाम्रो छिमेकी र विश्वका सबै राष्ट्रहरूसंग सुमधुर कुटनीतिक सम्बन्धको पक्षमा दृढ छौं । यहां म नेपाल भारत सम्बन्धका बहुआयमिक पक्षहरूका ’boutमा विस्तृत चर्चा गर्न पनि गइरहेको छैन । यहां मैले केमा मात्र ध्यान आकर्षित गर्न चाहेको छु भने अंग्रेज-भारतसंगको सुगौली सन्धीबाट निर्धारित दुई पक्षीय सम्बन्धको परिभाषा र त्यसबाट निर्मित भारतिय र नेपाली शासन सत्ताको मानसिकता शैली र संस्कारमा परिवर्तको कुरा । हामी सुगौली सन्धीबाट अंग्रेज-भारतको अर्धउपनिवेश बन्न पुगेको तथ्यमा विश्वास गर्दछौं । अंग्रेजका विरूद्ध भारतीय जनताको स्वतन्त्रतापछि नेपालको जहांनीया सामन्ती राणा शासनसंग गरिएको सन १९५० को सन्धी हुंदै आजको नेपालको युगान्तकारी परिवर्तन जहां करिब २४० वर्ष पुरानो सामन्ती राजतन्त्रको अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यहांसम्म आइपुग्दा हाम्रा दुई पक्षीय सम्बन्धमा के कति नयां परिभाषा मुल्य मान्यता र संस्कारको विकास गरियो हाम्रो विचारमा यो अत्यन्त महत्वपूर्ण प्रश्न छ । सभामुख महोदय म संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेपछि स्वभाविक रूपमा हिजोका परम्परा र मान्यताबाट केही फरक ढंगले चल्ने कोशिस गरें । ओलम्पिक खेलको समापन समारोहका सन्दर्भमा मेरो पहिलो चिन भ्रमण र त्यसको लगत्तै भएको भारत भ्रमणका सन्दर्भमा मैले पुरै जिम्मेदारी र गम्भीरताका साथ दुवै देशका नेताहरूसाग नेपालमा भएको युगान्तकारी परिवर्तनमा व्यक्त जन-आकांक्षाअनुसार हाम्रा सम्बन्धहरूलाई परिभाषित र विकसित गर्नु पर्ने आवश्यकतालाई अगाडि सारे । भारत भ्रमणका सन्दर्भमा गरिएको दुवै प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा त्यो विचार र भावना व्यक्त भएको तथ्य हामी सबैले देखेकै छौं ।

सभामुख महोदय

तर आज म बडो चिन्ता र गम्भीरताका साथ अनुभूत गरिरहेको छु कि दुई पक्षीय सम्बन्धलाई नयां परिवर्तन अनुसार परिभाषित र विकसित गर्न ऐतिहासिक आवश्यकतामा हामी सफल भइरहेका छैनौ । बरू नेपाल र भारतका शासन सत्तामा हावी रहंदै आएको सानुभाइ र ठुलो दाजुको परम्परागत सम्बन्ध तिरै फर्कने खतरा उत्पन्न भएको महशुस हुन्छ । जुन कुरा किमार्थ नेपाल र भारतका जनताको विकसित चेतना र २१ औं शताब्दिको पहिलो दशकमा दुई देशका बहुआयमिक आवश्यकतासंग मेल खांदैन । अहिले नेपालको सेनापति प्रकरण राष्ट्रपतिको कदम र नयां सरकारको गठनको प्रक्रिया सबैका सन्दर्भमा नेपाली र भारतीय जनताका मनमा हामी अगाडि बढ्दै छौं वा पछि हट्दै छौं भन्ने प्रश्न गम्भीर रूपले उठेको देखिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको प्रधानमन्त्रीका हैसियतले दुई पक्षीय सम्बन्धलाई नयां ढंगले अगाडि बढाउन खोज्ने मेरो प्रयत्न परम्परागत शक्ति शैली र मानसिकतासंग अन्तरविरोधी बन्न गएकोले आजको स्थिति उत्पन्न भइरहेको त होइन यो प्रश्न आफैामा निकै गम्भीर छ । परिवर्तित परिस्थिति र जनताको नयां चेतनाअनुसार दुई पक्षीय सम्बन्धलाई परिभाषित गर्ने र विकसित गर्ने कुरामा गम्भीर भएर मात्र हामीले यो समस्याको दीर्घकालीन समाधान गर्न सक्दछौं । राष्ट्रिय आन्त्मसमर्पणवाद वा संकीर्ण सामन्ती राष्ट्रवाद दुवैले देश र जनताको भलो गर्दैन ।

सभामुख महोदय

नेपालको राष्ट्रियतालाई सुदृढ गर्ने कुरा वस्तुतः र अन्ततः आन्तरिक राष्ट्रियतलाई सुदृढ गर्न कुरा नै हो । आन्तरिक राष्ट्रियता त्यतिबेलासम्म सुदृढ हुन सक्तैन जबसम्म जनता सबैखाले शोषण उत्पीडन भेदभाव र अपमानबाट मुक्त हुंदैनन् । आज हामी देशका सम्पूर्ण उत्पीडित वर्ग जाति क्षेत्र र लिङ्गका जनसमुदायलाई अधिकार सम्पन्न तुल्याउने उद्देश्यका साथ राज्यको अग्रगामी पुनर्संरचना गर्ने प्रक्रियामा छौं । यस सन्दर्भमा आत्मनिर्णयको अधिकारको सिद्धान्तलाई आत्मसात गरी जातिय र क्षेत्रीय स्वायत्तता गणराज्यहरूका संघीय गणतन्त्र विकसित गर्न प्रयत्न भारी ऐतिहासिक महत्वको छ । अधिकार सम्पन्न जनसमुदायले मात्र राष्ट्रियताको वास्तविक अर्थमा जगेर्ना गर्नसक्दछ । संघीयता र स्वयत्तताका लागि नेपाली जनताले जनयुद्ध र जनआन्दोलनमा धेरै रगत बगाइसकेका छन् । तर एकात्मक र केन्द्रीकृत सामन्ती राज्यका पक्षधर प्रतिगामी र यथास्थितिवादी शक्तिहरू भने हमेशा मजदुर-किसान र उत्पीडित जाती क्षेत्र र लिङ्गलाई अधिकार सम्पन्न तुल्याउने र राज्यका सबै अंगमा समावेशी र समानुपातिक प्रतिनिधित्व गराउने कुराको विरोधी रहंदै आएका छन । यो ऐतिहासिक तथ्य पनि सर्वमान्य भइसकेको छ कि नेपालमा मजदुर-किसानदेखि उत्पीडित महिला दलित र मुस्लिमसम्म मधेशीदेखि सम्पूर्णआदिवासी जनजातिसम्म तथा कर्णालीदेखि सेती-महाकालीसम्मका जनतामा नयां जागरण ल्याएर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र तिर डोर्‍याउने काम मुख्यतः एकीकृत नेकपा माओवादी ले गरेको हो । जनताका यो नयां जागरण र चेतनाबाट भयभीत एकात्मक र केन्द्रीकृत सामन्ती राज्यका देशी र विदेशी पृष्ठपोषकहरू यो महान राष्ट्रिय जागरणलाई एकातिर अन्धजातिवादी साम्प्रदायिक र विखण्डनकारी स्वरूप प्रदान गर्न तथा अर्कोतिर ठाडै संघीयताको विरोध गरेर निष्तेज पार्ने षडयन्त्रमा छन् । अहिले कटवाल प्रकरणका सन्दर्भमा जेजति असंवैधानिक अलोकतान्त्रिक र अनैतिक तरिक अपनाएर जन-निर्वाचित र जनादेश प्राप्त प्रमुख राजनीतिक दल र नेतालाई पाखा लगाउने तथा जनताबाट नेतृत्वका लागि अस्वीकृत दल र नेतालाई बलजफती थोपर्ने कोशिस गरिंदै छ, प्रतिक्रान्तिको योभन्दा नाङ्गो रूप अरू के हुन सक्दछ यसभित्र एकीकृत नेकपा माओवादीलाई होइन जनताको संघीय गणतान्त्रिक शासनलाई घेरा हालेर सखाप पार्न नियोजित षडयन्त्रले काम गरिरहेको यथार्थ स्पष्ट देख्न सकिन्छ । वर्गीय जातिय क्षेत्रीय र लैङ्गकि अधिकारका निमित्त आवाज उठाउने जनताको आवाजलाई निष्तेज पार्न सबभन्दा पहिला त्यसको नेतृत्व गर्ने विचार र शक्तिलाई निस्तेज पार्न आवश्यक हुन्छ । अहिले माओवादीका विरूद्ध भइरहेको घेराबन्दी त्यही उद्देश्यमा आधारित रहेको छ । तर प्रतिक्रान्तिकारीहरूका सबै घेराबन्दीहरूलाई तोडेर नेपाली जनता अगाडि बढ्ने छन् र एकीकृत नेकपा माओवादी निरन्तर जनताकै साथमा रहनेछ ।

सभामुख महोदय,

आजको युगको विशेषता र समाज विकासको स्थिति दुवैका कारण नेपालमा राष्ट्रिय पुंजी र राष्ट्रिय पुंजीपतिको होइन बरू दलाल र नोकरशाही पुंजीपतिहरूको विकास भइरहेको छ । यसको परिणाम नेपालको परम्परागत प्रजातन्त्रवादी भनिने राजनीतिक दल र तिनका नेताहरूले राष्ट्रिय पुंजीपति वर्गका हितलाई होइन दलाल र नोकरशाही पुंजीको हितलाई प्रतिनिधित्व गर्दै आएका छन् । राजनीतिमा व्यक्त हुंदा यो कुरा त्यस प्रकारका दल र नेताहरूले स्वयं पुंजीपति वर्गका राजनीतिक नाराका विरूद्ध खडा भएर आफैालाई प्रमाणित गर्दछन् । नेपालमा संविधानसभा गणतन्त्र हुंदै अहिले नागरिक सर्वोच्चताका विरूद्ध खडा भएर त्यही दलाल चरित्रकै प्रदर्शन गरिरहेका छन । कैयौं कमी-कमजोरीका बाबजुद संविधानसभा संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिक सर्वोच्चताको लडाइंको नेतृत्व एकीकृत नेकपा माओवादीले गर्दै आएको छ । अहिले कटवाल प्रकरणमा त्यस प्रकारका दलहरू नागरिक सर्वोच्चताका विरूद्ध देखिनु अन्ततः राष्ट्रिय पुंजीका विरूद्ध दलाल पुंजीको पक्षमा देखिनु मात्र हो । 

सभामुख महोदय,

उपरोक्त केही सैद्धान्तिक र नीतिगत चर्चा गरिसकेपछि अब म तात्कालिन राजनीतिक घटनाक्रमको विकास’bout केही ठोस चर्चा गर्न चाहन्छु । सेना समायोजन र पुनस्र्थापनाको विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत खुल्ला अभिव्यक्ति दिंदै आएका तात्कालिन सेनापति रूकमाङ्गत कटवाल को हुन ? के हुन ? र कसरी हुर्काइएका पात्र हुन भन्ने कुरा स्पष्ट नै छ । राजतन्त्र धर्मनिरपेक्षता लोकतन्त्र र संघीयता’bout उनले कस्तो सोच राख्छन भन्ने कुरा पनि हामी कसैबाट छिपेको छैन । जनआन्दोलनमा उनको भूमिका रायमाझी आयोगको ठहर र राजाको हुकुम प्रमांगीद्वारा उनको उमेर घटाइएको ’boutको मुद्दा सर्वोच्चतामा रहेको तथ्य पनि दिनको घाम जत्तिकै छर्लङ्ग छ । विगतमा यी तमाम तथ्यहरूका बाबजुद मेरो नेतृत्वको सरकारले उनलाई रूपान्तरण गर्न र परिवर्तलाई आत्मसात गर्न लगाउने कुरामा नै जोड थियो । सिंगो नेपाली सेनाका आवश्यकतालाई परिपूर्ति गर्न सिंगो सैन्य पंक्तिसंग हार्दिक सम्बन्धको विकास गर्न पनि सरकारले कुनै कसर बांकी राखेन । तर कटवाल भने सेनापति भन्दा एउटा उग्र राजनीतिज्ञ र कुटनीतिज्ञको जस्तो व्यवहार प्रस्तुत गर्दै तथा एकपछि अर्को गरी सरकारका आदेशहरूको उल्लंघन गर्दै नागरिक सर्वोच्चतालाई चुनौति दिएर अगाडि बढ्न थाले । त्यो स्थितिमा जनताको परिवर्तको आकांक्षाअनुसार नेपाली सेनालाई संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाअनुसार सुधार र सुदृढ गर्दै लानु पर्दछ भन्ने मान्यता राख्ने मेरो नेतृत्वको सरकारलाई उठाउने जनताको सर्वोच्चता र लोकतन्त्रको आधारभुत सिद्धान्तको रक्षाका लागि कुनै ठोस कदम चाल्नु अनिवार्य थियो । त्यस प्रकारको कदम चाल्न कमसेकम सरकारमा भएका राजनीतिक दलहरूको सहमती आवश्यक थियो ।

सभामुख महोदय,

म निकै पीडाका साथ यो सम्मानीत सदनलाई स्पष्ट गर्न चाहान्छु कि कटवाललाई सेनापतिबाट अवकाश दिने प्रयोजनका निमित्त भनेर नै सरकारमा रहेका पांचवटै पार्टीहरूको पूरै सहमतिले स्पष्टीकरण प्रक्रिया सुरू गरिएको थियो । सद्भावनाका नेता राजेन्द्र महतोले मात्र यो निर्णय लिादा दशपटक सोच्न आग्रह गर्नु भएको थियो । हुंदैन भन्ने विरोध कसैको थिएन । सरकारमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको आम-सहमतिले क्याविनेटबाट यो निर्णय भएपछि मैले संक्षिप्त मन्तव्य दिएको थिए । त्यसमा मैले भनेको थिए कि लोकतन्त्र र नागरिक सर्वोच्चताको सुदृढीकरण सेना समायोजन र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सन्दर्भमा यो निर्णय दुरगामी महत्वको रहेको तथा हाम्रो क्याविनेटको यो एकताबद्ध निर्णय ऐतिहासिक हुने कुरा राखेको थिए । त्यो दिन सबै माननीय मन्त्रीजीहरू मेरो हेराई अनुसार महत्वपूर्ण निर्णय लिन सकेकोमा हर्ष र गर्वको अनुभूति गरेर निष्कनु भएको थियो । स्वर्गबाट आकाशवाणी आयो वा कतैबाट रिमोटको कन्ट्रोल भयो वा केही जादु भयो सरकारका केही दलहरू १८० डिग्रिमा फेरिए। कारवाहीसम्म पुग्दा जे भयो हामी सबैका अगाडी छ ।

सभामुख महोदय

यस परिघटनाले वडो निर्मम र मार्मिक रूपले प्रमाणित गरी दिएको छ कि हाम्रा राजनीतिक दल र तिनका नेताहरूको वैचारिक नैतिक र स्वनिर्णयको हैसियत कति कमजोर छ । लोकतन्त्र र नागरिक सर्वोच्चताप्रति प्रतिबद्धता कति खोक्रो र कमजोर छ । यसबाट नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वभिमानको विष्मयकारी रूपले कमजोर स्थितिलाई उजागर गरेको छ । अहिले कतिपय वृत्तबाट माओवादीको एकलौटी निर्णय भनेर आलोचना भइरहंदा त्यसो भन्नेहरूको दृष्टी र नैतिक हैसियत हेर्दा मलाई कहिले असीम पीडा र कहिले हांसो उठ्ने गर्दछ । आत्मसमर्पण गर्ने विश्वासघात गर्ने र नागरिक सर्वोच्चताको खिल्ली उडाउनेको पक्ष-पोषण गर्न कुर्सी त्याग्ने तर राष्ट्रिय अडान नछाड्नेको विरोध यो उल्टो गंगा बगाउने प्रयत्न नेपालमा कहिलेसम्म हुने हो यो पनि प्रश्न निकै गम्भीर छ ।

सभामुख महोदय,

यसरी संविधान र ऐनको व्यवस्था अनुसार राजनीतिक सहमति जुटाएर विधिसम्मत तरिकाले कटवाललाई अवकाश दिएपछि घटनाक्रमले जे जसरी नाटकीय मोड लियो र अन्तमा सम्माननीय राष्ट्रपति महोदयले झण्डै आधारातमा जसरी जङ्गि अड्डामा कटवाललाई पदबहालीको पत्र पठाउनुभयो त्यसले अन्तरिम संविधानको मर्म र भावनालाई ठाडै मिच्ने निरंकुश हुकुमी शासनको झ-झल्को मात्र दिएन अपीतु सिंगो शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियालाई नै धरापमा पार्ने काम गर्‍यो । ज जसले सम्माननीय राष्ट्रपतिलाई यसको निम्ति उकसाए या निर्देशित गरे उनीहरूको उद्देश्य शान्ति र संविधान होइन देशलाई अर्को युद्धमा धकेलेर बरबाद पार्ने मात्र हो भन्ने कुरा बुझ्न धेरै मेहनत गर्नु पर्छ जस्तो मलाई लाग्दैन । यस सन्दर्भमा राष्ट्रपतिको असंवैधानिक कदमलाई उचित ठहर्‍याउन कतिपय वृत्तबाट माओवादीले सत्ता कब्जा गर्दैछ भन्ने मनगढन्ते कथालाई यहां त्यसरी नै धुवांधार प्रचार गरियो जसरी इराकमा हमला गर्नु अघि आम संहारका हतियारको प्रचार विश्वभरि हुने गर्दथ्यो । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जुटिरहेको जनताको अपेक्षाअनुसार समयमै संविधान निर्माण गर्न प्रतिबद्ध मेरो नेतृत्वको सरकारले लिएको विधिसम्मत निर्णयलाई उल्टायाएर राष्ट्रपतिद्वारा द्वैध सत्ता र मुठभेडको स्थिति सृजना गरियो । त्यस प्रकारको मुठभेड रोकी शान्ति र संविधान निर्माणको प्रक्रियालाई ज्यूंदो राख्न राष्ट्रपतिको असंवैधानिक कदमका विरूद्ध संघर्ष गर्न तथा एकीकृत नेकपा माओवादी र यसका नेताहरू कुर्सीमा लोभी होइनन् बरू राष्ट्र र जनताका असली पहरेदार हुन भन्ने यथार्थलाई दह्रोसंग स्थापित गर्न नैतिकताका आधारमा मैले राजीनामा गरें । प्रधानमन्त्री हुंदाजस्तै राजीनामा दिंदा पनि नेपाली जनताले मलाई बधाई दिए हाम्रो पार्टी यसमा समुचित गर्व गर्दै आम जनसमुदायप्रति आभार प्रकट गर्दछ । कतिपयले मेरो राजीनामालाई अल्पमतमा परेपछिको स्वभाविक राजीनामाका रूपमा प्रचार गरिरहेका छन् जुन विल्कुल निराधार र झूठो हो । यथार्थमा त्यतिबेलाको त कुरै छोडौं अहिले पनि सरकार वैधानिक रूपले अल्पमतमा परेको छैन त्यसकारण राजीनामाको प्रश्नै उठ्दैन । स्पष्ट छ मेरो राजीनामा यथार्थमा शान्ति र संविधान निर्माणको प्रक्रिया बिथोलेर प्रतिक्रान्ति सम्पन्न गर्न चाहने प्रतिक्रान्तिकारीहरूका विरूद्ध अस्त्र हो । पछिल्लो घटनाक्रमले यो कुरालाई पुष्टि गरिसकेको छ ।

सभामुख महोदय

अहिले नागरिक सर्वोच्चताको गला रेटेर सैनिक सर्वोच्चता अन्तर्गत बहुमतको सरकार बनाउने जुन कसरत भइरहेको छ र बहुमत पुर्‍याउन हिजो राजतन्त्रकालकै किनबेचको जुन फोहोरी खेलको पुनरावृत्ति गरिएको छ यसबाट नयां सरकार प्रतिगामी र आत्म समर्पणवादी कठपुतली सरकार बन्ने त होइन भन्ने प्रश्न स्वाभिमानी नेपाली जनताको मनमा उब्जिसकेको छ । हाम्रो पार्टीले सरकार गठनको यो नौटंकीको भर्त्सना गर्दै राष्ट्रपतिको असंवैधानिक आदेश फिर्ता गरेर नागरिक सर्वोच्चता स्थापित नहुंदासम्म सदन र सडक दुवै क्षेत्रबाट शान्तिपूर्ण प्रतिवाद गरिरहनेछ । यसै प्रयोजनका लागि यस सम्मानित सदनमा एक संकल्प पस्ताव दर्ता गरिएको छ । विधि सम्मत तरिकाले त्यसमाथि बहस गरी यस सम्मानित सदनले नागरिक सर्वोच्चताका पक्षमा ऐतिहासिक फैशला दिनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।

सभामुख महोदय

मैले आफ्नो राजीनामा पत्रमा भनेका निम्न यथार्थ प्रतिबद्धता म यहां पुनः दोहोर्‍याउन चाहान्छु । संविधानसभा निर्वाचनमा आम नेपाली जनताको अपार माया र समर्थन पाएर हाम्रो पार्टी एकीकृत नेकपा माओवादीले प्रत्यक्ष निर्वाचन प्रणालीमा स्पष्ट वहुमत र समानुपातिक निर्वाचन प्रणालीमा सवभन्दा ठूलो दलको हैसियत प्राप्त गर्‍यो । यो हामीले चुनावका दौरानमा अघि सारेको ‘नयां नेपालका निम्ति नयां विचार र नयां नेतृत्व’ भन्ने नाराको स्पष्ट जनअनुमोदन थियो । परन्तु निर्वाचन परिणाम निस्केको चार महिनासम्म विभिन्न वहानामा माओवादी नेतृत्वमा सरकार वनाउन दिइएन । अन्त्यमा लोकलाजले बाध्य भएर मात्र गत भदौको पहिलो हप्तामा मेरो नेतृत्वमा गणतन्त्र नेपालको पहिलो निर्वाचित सरकार गठन गर्न मार्ग प्रशस्त भयो । त्यसपछि सरकार संचालन गर्न हाम्रो आफ्नै कतिपय अनुभवजन्य कमीकमजोरीका कारणले पनि हामीले तपाईंहरूले चाहे जस्ता सवै कामहरू वेलैमा गर्न सकेनौं होला । हामी जानअन्जानमा भएका आफ्ना कमीकमजोरीहरूलाई कुनै पनि वहानामा ढाकछोप गर्ने पक्षमा छैनौं । जनतावाट सिक्ने र जनताका स्वस्थ आलोचनाहरूलाई गम्भीरतापूर्वक लिने हाम्रो घोषित वैचारिक प्रतिवद्धता नै हो । परन्तु हामीले सरकारमा रहेर देश र जनताका पक्षमा गर्न खोजेका थुप्रै राम्रा कामहरूलाई हुन नदिन कतिपयले सरकार बाहिरवाट र कतिपयले सरकारभित्रैबाट निरन्तर वाधा उत्पन्न गरिरहे । उदाहरणको निम्ति हामीले सरकार गठन भए लगत्तै प्रस्तुत गरेको नीति तथा कार्यक्रम र वार्षिक वजेटका जनमुखी कायक्रमहरूलाई अनेक वहाना वनाएर कार्यान्वयन हुन दिइएन । स्थानीय निकायहरूको गठन हुन नदिएर गाउं गाउंमा पठाइएको अरबौंको वजेट खर्च हुन सकेन । सानातिना निहुंमा हप्तौंसम्म वन्द हड्ताल र सदन अवरूद्ध गर्ने काम भइरहृयो । फलस्वरूप कतिपय अत्यन्त जरूरी र सार्वजनिक तथा राष्ट्रिय महत्वका विधेयकहरू पारित हुन सकेनन् भने अरबौंको विकास वजेट खर्च हुन सकेन र जनताले तत्काल पाउनु पर्ने राहत समेत प्राप्त गर्नसकेनन । फेरि पनि संक्रमणकालको विशिष्ठ अवस्था र संयुक्त सरकार संचालनको वाध्यता भनेर हामीले धैर्य गर्दै गर्‍र्यौ । तर यो जनअनुमोदन प्राप्त सरकारलाई विभिन्न ढंगले घेरावन्दी गर्ने अग्रगमनकारी एजेण्डा लागू हुन नदिने र असफल पार्न प्रयत्न विभिन्न प्रतिगामी र यथास्थितिवादी कोणबाट भैरहयो । यो सरकारले चालू शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र समयमै जनसंविधान निर्माण गर्न जनतालाई आर्थिक-सामाजिक परिवर्तनको प्रत्याभूति गराउने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न कुरालाई हमेशा उच्च प्राथमिकता दिंदै आएको छ । त्यसरी नै वहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र संघीय शासन प्रणाली विधिको शासन मानव अधिकार प्रेस स्वतन्त्रता आदि मूल्य मान्यताहरूलाई दह्रोसंग आत्मसात गर्दै आइरहेको छ र ती प्रतिको प्रतिवद्धता हमेशा कायम राख्नेछ ।

देशको विशिष्ठ ऐतिहासिक संक्रमणकाल वृहत शान्ति सम्झौता र अन्तरिम संविधानको मर्म र भावना अनुरूप हामीले राष्ट्रिय सहमतिको राजनीतिलाई विशेष जोड दिंदै आएका छौं । सरकारभित्र र बाहिरका राजनीतिक दलहरूसंग सहमति कायम गर्ने प्रयत्न गर्दागर्दै कतिपय अवस्थामा हामीलाई सामान्य निर्णय गर्न पनि महिनौं लाग्ने गरेको छ । त्यसैले एउटै कुरामा कसैले हामीलाई अधिनायकवादी र कसैले निर्णय विहीन भनेर लगाउने गरेको आरोपलाई पनि हामीले चूपचाप सहंदै आएका छौं । फेरि पनि शान्ति प्रक्रिया लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रिय एकता तथा स्वाधीनता प्रतिको हाम्रो विश्वास र प्रतिवद्धतामा कत्ति पनि कमी आएको छैन र जुनसुकै उत्तेजनाले पनि हामीलाई त्यसवाट विचलित गराउन नसक्ने अठोट म पुनः एकपटक दोहोर्‍याउन चाहन्छु ।

सभामुख महोदय,

शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउन र संविधान-निर्माण प्रक्रियालाई समयमा पुरा गर्न १२ बुंदे समझदारीभन्दा अझ उच्च स्तरको राष्ट्रिय सहमति निर्माण गर्न अवाश्यक छ । विद्यमान भ्रम अन्योल र आशंकाको स्थितिको अन्त्य गर्न र त्यस प्रकारको राष्ट्रिय सहमति निर्माण गर्न सबै जिम्मेवार राजनीतिक दल र नागरिक आन्दोलनका प्रतिनिधिहरू गम्भीर गृह कार्यमा जुट्न आवश्यक छ । जसरी पनि बहुमत पुर्‍याएर सरकार बनाउने खेलले नेपाल र नेपाली जनताको ऐतिहासिक कार्यभार पुरा हुने छैन । अतः बृहत राष्ट्रिय सहमति कायम गरी राष्ट्र र जनताको आवश्यकता र आकांक्षा अनुसार शान्ति र संविधान निर्माण प्रक्रियामा एकजुट हुन सबैसंग अपिल गर्दै करिब ९ महिना लामो एकीकृत नेकपा माओवादीको सरकारलाई सहयोग र समर्थन गर्ने देशभित्र र बाहिरका सबै मित्र र आम जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै विदा हुन्छु । धन्यवाद ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: