RSS

चोरि शिकारि नियन्त्रण गर्न संरक्षण सेना वनाइनुपर्ने

25 May

चोरि सिकारीका कारण निरन्तर संख्या घट्दै गैरहेको गैडा संरक्षणका लागि संरक्षण सेना निर्माण गर्नु पर्ने तथा संरक्षणका मुद्धालाई संबिधानमै ब्यवस्था गर्नु पर्ने लगायत पाँच बुदे घोषणापत्र जारी गर्दै हिजो देखि पुर्बी चितवनको चित्रसारीमा शुरु भएको ईको राष्ट्रीय सम्मेलन आज सम्पन्न भएको छ ।जैविक विविधता संरक्षणका मुद्धालाई संबिधानमा उल्लेख गराउन संरक्षणका क्षेत्रमा कृयाशिल संघ संस्थाहरुको समन्वय गरि अवधारण तयार गर्ने समेत घोषणा पत्रमा उल्लेख छ ।

बढ्दो चोरी सिकारी न्यूनीकरणको विषयमा छलफल गर्न संरक्षणमा सक्रिय २२ जिल्लाका ६०० भन्दा बढी विद्यार्थी तथा शिक्षक सहभागि सम्मेलनमा जलवायुमा भएको परिवर्तनले पारेको प्रभाव र यसको न्युनिकरण लगायतका बिषयमा पनि छलफल भएको थियो । ९ समुहमा बिभाजित भएर गरिएको छलफललाई पाँच बुदे घोषणा पत्रमा समावेश गरिएको छ ।

गरिबी अशिक्षा र बेरोजगारीका कारण बन्य जन्तुको अवैध चोरि शिकारी बढेको ठहर गर्दै सम्मेलनले निकुञ्ज तथा आरक्ष आसपासका क्षेत्रको आसपासमा बस्ने समुदायको आय आर्जन बढाउने खालका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएको छ ।

ईको क्लबको माध्यमबाट बिद्यालयमा संचालित बातावरण संरक्षण शिक्षाको अभियानलाई दिगो र संस्थागत गराउन स्थानिय र राष्ट्रीय स्तरमा नेटवर्क निमार्ण गरि संरक्षणकार्यलाई प्रभावकारी बनाउनु पर्नेमा समेत घोषणा पत्रले जोड दिएको छ ।

सम्मेलनको मध्यवर्तिक्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष यमबहादुर परियारले हिजो उद्घाटन गर्नु भएको हो ।      वातावरणसम्बन्धी काम गर्दैआएका वातावरण शिक्षक मंच चितवन ,वातावरण संरक्षण  चितवन,वातावरण संरक्षण शिक्षक समाज कसरा सेक्टर,विश्व वन्यजन्तु कोष ,सेन्स नेपाल, इको समाज नवलपरासी र चित्रसारी माविको संयूक्त आयोजनामा सो सम्मेलन सम्पन्न भएको हो ।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर आयोजना गरिएको सो सम्मेलनमा जलवायु परिवर्तले पारेको असर,वन्यजन्तु संरक्षणमा देखीएको जटिलता,यसको समाधानको उपाय,वायु प्रदुषण,जैविक विविधताको संरक्षण लगायतका विषयमा समेत गम्भिर छलफल भएको जानकारी दिइएको छ ।ईको सम्मेलनले फागुन २ गतेलाई ईको राष्ट्रीय दिवस मनाउने निर्णय समेत गरेको छ ।

 

पोखराका तालहरूको अस्तित्व संकटमा

 पोखरा उपत्यकामा रहेका तालहरुको अस्तित्व संकटमा पर्दै गएको छ । प्राकृतिक प्रकोप तथा मानविय अतिक्रमणका कारण तालहरु संकटमा परेका हुन । लेखनाथ नगरपालिका पर्ने सातवटा ताल मध्ये रुपा र बेगनास बाहेकका गुदे, खाष्टे, मैदी, दिपाङ, न्यूरेनी तथा पोखरा नगरमा पर्ने कमल पोखरी गरी ६ वटा ताल लोप हुने अवस्थामा पुगिसकेका छन् ।

ताल सम्पदा संरक्षण र विकासमा सरकारको स्पष्ट नीति र कार्यक्रम नहुनु तथा मानविय अतिक्रमणले तालहरु संकटमा परेको ताल संरक्षण समितिका सदस्य प्राध्यापक रामजी लामिछानेले बताउनुभयो । तालहरु पहाडी खोचंहरुमा रहेकाले भु-स्खलन तथा बाढी पहिरोबाट बगेर आउने माटो ढुंङ्का एवं जौविक सामाग्रीहरु सिधै तालमा थिग्रींदा ताल पुरिदै गएका छन् ।

तालको संरक्षणको लागि अहिलेसम्म फेवाताल र बेगनास तालमा मात्र बांध बाधिएको छ भने अन्यमा बांध पनि छैन । १ सय ३५ रोपनी देखि एक हजार रोपनी सम्म क्षेत्रफल भएका ती तालहरुमा बांध नहुदां तालको पानी खोलेर खेती गर्ने चलन बढ्नाले पनि ताल लोप हुन लागेको स्थानियवासीले बताएका छन् । 

लामिछानेका अनुसार पोखरा उपत्यकाका ९ वटा तालको कुल क्षेत्रफल २५ हजार ३० रोपनी रहेकोमा ४ हजार २ सय ७० रोपनी मानविय अतिक्रमणमा परेका छन् ।        

पोखराको मुख्य आकर्षण फेवाताल प्राकृतिक र मानवित अतिक्रमणबाट बर्षेनी पुरिदै र साघुंरिदै गएको छ । हालै गरिएको ताल सिमाङकन अनुसार फेवातालको पानीले ढाकेको क्षेत्रफल ९ हजार ९ सय ५५ रोपनी रहेको छ भने सिमसार भुमि ६ सय ५२ रोपनी र अतिक्रमित भई खेती गरिएको २ हजार १ सय १ रोपनी रहेको छ । फेवाताललाई जलकुम्भी र प्रदुषणबाट जोगाउन अर्को चुनौति भएपनि त्यसलाई नियन्त्रण गर्न बर्षेनी लाखौ रुपमा खर्च गरेपनि ठोस रुपमा काम हुन नसकेको स्थानियवासीले बताएका छन् ।

 

अन्य समाचारहरूः 

हिजोदेखि पोखराको फेवातालमा बेपत्ता भएका एक दम्पती अझै फेला परेका छैनन् । डुंगा शयरका लागि फेवातालमा गएका पोखरा-१ बगरका बिरदास श्रेष्ठ र उनकी श्रीमती मेनुका श्रेष्ठको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।

शनिबार बिहान ८ देखि ११ बजेसम्मका लागि डुंगा भाडामा लिएका, उनीहरु साढे १२बजेसम्म पनि नआएपछि डुंगा व्यवसायीले खोजी गर्दा खपौदिमा डुंगा मात्र फेलापरेको थियो । डुंगामा लेडिज व्याग, मोवाईल र मेनुकाको परिचय पत्र फेलापरेको प्रहरीले बताएको छ ।

उनीहरु परिवारको सम्पर्कमा नरहेको र सामान डुंगामा फेला परेकोले डुबेर बेपत्ता भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

…………………………………………..    

पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबुखैरेनी ५ ढावटारमा भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गएपछि स्थानिय महिलाहरुले अवरुद्ध पारेको सडक खुलेको छ  । घटनामा मृत्यु भएकी एक मंगोलियन अनुहारकी महिलाको शव प्रहरीले विना जानकारी पोष्टमार्टम गर्न लगेको भन्दै स्थानिय महिलाहरुले बाटो अवरुद्ध पारेका थिए । प्रहरीले मृतकको पोष्टमार्टम गर्न दमौली अस्पताल लगेको र पछि फिर्ता गर्ने प्रतिवद्धता जनाएपछि बाटो खुलेको सहकर्मी अमर कंडेलले जानकारी दिनुभएको छ ।

घटनामा परी ७ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनालाई उपचारका लागी भरतपुर लगिएको छ भने ३ जनाको आंबुखैरेनीमा उपचार भैरहेको छ । गोरखा च्याङलीकी बेदीमाया नेपाली, तनहु ब्यास नगरपालीकाका कृष्ण शाही, काठमाण्डौ स्युचाटारका आइतबहादुर राना र नाम खुल्न नसकेका एकजनाको भरतपुर मेडीकल कलेजमा उपचार भैरहेको छ ।

 त्यस्तै दुर्घटनामा घाइते भएका सुर्खेतका दमारी लम्साल, ढिकुरपोखरी कास्कीका लकराम अधीकारी र विवेक अधीकारीको भने आबुखैरेनीमा नै उपचार भैरहेको छ ।

पोखराबाट काठमाण्डौतर्फ जादै गरेको ना २ ख ७७१० नम्बरको बस ना १ ख २३८४ नम्बरको रोकीराखेको ट्रकमा ठक्कर खांदा दुर्घटना भएको हो ।

………………………………………………………..

नौं बुंदे माग राख्दै आन्दोलनमा उत्रेका नेपाल विद्यालय कर्मचारी यूनियन कास्कीले आज कास्कीका सम्पुर्ण विद्यालयमा पठन पाठन ठप्प पारेका छन् ।  

आफना माग पुरा नभएको भन्दै विद्यालय कर्मचारीहरुले सरकारी विद्यालय अनिश्चित कालका लागि बन्दको आव्हान गरेका हुन् ।

विद्यालय कर्मचारी यूनियनले कर्मचारीहरुको शिक्षक सरह सेवा सुबिधा पाउनुपर्ने, सरकारले बढाए अनुसारको तलब पाउनुपर्ने, श्रम शोषणको अन्त्य हुनुपर्ने, पेन्सन र भत्ताको ब्यबस्था हुनुपर्ने लगायतका नौं बुंदे माग अघि सारेको छ ।

……………………………………..

नेकपा एमाले जिल्ला कमीटि गोरखाले आफ्ना महासचिव इश्वर पोखरेल र अन्य एमाले कार्यकर्ता माथि रामेछापमा माओवादी कार्यकर्ताले गरेको दुर्ब्यबहारको विरोधमा आज गोरखा सदरमुकाममा प्रदर्शन गरेको छ ।

पार्टि कार्यालय हरमटारीबाट सुरु भएको विरोध र्‍याली वसपार्कमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई संबोधन गर्ने एमाले नेताहरुले माओवादीले आफ्नो आचरण सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

कोणसभालाई नेकपा एमालेका पुर्व सल्लाहकार समितिका सदस्य ओजराज भट्टराई, जिल्ला उपसचिव विकल कुमार श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको छ ।

सभासलाई संबोधन गर्दै उपसचिव श्रेष्ठले एमालेको नेतृत्वमा गठन भएको सरकार राष्ट्रिय सहमतिको सरकार हुने विश्वास ब्यक्त गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन एमाले सक्षम रहेको पनि बताउनुभयो ।

 रामेछापमा महासचिव  ईश्वर पोखरेल लगायतका नेता कार्यकर्तामाथि माओवादीले आक्रमण गरेको विरोधमा नेकपा एमाले तनहुंले पनि दमैालीमा विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रर्दशन पछि आयोजित सभामा बोल्दै नेकपा एमालेका जिल्लास्तरीय नेताहरुले माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पनि उनीहरुको व्यवहारमा परिवर्तन नआएको भन्दै आपत्ती जनाएका थिए ।  साथै उनीहरुले रामेछापको घटनामा संलग्नमाथि कडा कारवाहीको माग गरेका थिए  ।

…………………………………….

चेपाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल मकैसीं गाउं कमिटीको भेला आज सम्पन्न भएको छ । भेलाले जेठ १६ गते हुने मोर्चाको जिल्ला सम्मेलन भब्यताका साथ सम्पन्न गर्न गाउंगाउंमा प्रचार प्रसार र संगठन विस्तार गर्ने निर्णय गरेको छ । भेलालाई एकिकृत नेकपा माओवादी इलाका नंबर ३ का सेक्रेटरी ज्योति लगायतले मन्तब्य राख्नुभएको थियो । भेलाले लाल बहादुर चेपाङको अध्यक्षतामा १५ सदस्यीय गाउं कमिटी पनि गठन गरेको छ ।

…………………………………………………..

गोरखाका कुसुण्डा परिवारका दुई जना विद्यार्थीहरुलाई स्मल हेभन बोर्डिङ स्कुल काठमाडौका  प्रिन्सीपल श्याम श्रेष्ठले सम्पुर्ण पढाइ खर्च ब्यहोर्ने हुनुभएको छ । श्रेष्ठले गोरखा नगरपालिका विरेञ्चोकको रत्नराज्य लक्ष्मी माध्यामिक विद्यालयको कक्षा ४ मा अध्ययनरत कुसुण्डा परिवारका अनिता र अशोकलाई प्रतिब्याक्ति मासिक ४०० रुपियाका दरले एकमुष्ट ५ हजार रुपियां छात्रवृत्ति प्रदान गर्नुभएको छ ।

श्रेष्ठले सो छात्रवृत्ति विद्यालयमा हिजो अभिभावक र विद्यार्थीको रोहवरमा विद्यालय ब्यवस्थापन समितिका सदस्य किशोरजंग थापा र शिक्षक प्रतिनिधि दत्तप्रसाद घिमिरे मार्फत कुसुण्डा विद्यार्थीहरुलाई हस्तान्तरण गर्नुभएको हो ।

खर्च अभावका कारण पढाइमा समस्या भोग्दै आएका कुसुण्डा विद्यार्थीहरुको विषयमा सञ्चार माध्यामहरुमा समाचार प्रकाशन प्रशारण भएपछि श्रेष्ठले पढाइ खर्च प्रदान गर्ने बताउनुभएको थियो । उहांले कुसुण्डा परिवारका ती विद्यार्थीहरुलाइ उनीहरुले चाहेको जुनसुकै तहसम्म अध्ययन गर्ने खर्च उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

आर्थिक अभावका कारण घरमा दैनिक छाक टार्न पनि समस्या हुने कुसुण्डा परिवारका विद्यार्थीहरुले छात्रवृत्ति पाएपछि आफुहरुको पढाइ सहज हुने बताएका छन् । सरकारले लोपोन्मुख जातिमा राखेको कुसुण्डा विद्यार्थीहरुलाई विद्यालयले भने हालसम्म कुनै प्रकारको छात्रवृत्ति उपलब्ध गराएको छैन ।

……………………………………………….

गोरखाली लोकताराको उपाधि पवन गुरुङले हात पार्नुभएको छ । स्वाँरा गाउँ विकास समिति वडा नंबर १ का पवन गुरुङले हिजो भएको अन्तिम प्रतियोगितामा गोकुल भट्ट र विजय गोर्खालीलाई पछि पार्दै उपाधि जित्नुभएको हो । गोरखाली लोकतारा गुरुङले काठमाडौमा हुने राष्ट्रिय लोकतारा प्रतियोगितामा भाग लिन पाउने हुनुभएको छ ।
त्यसैगरी हलेसी संगीत पाठशाला काठमाडौमा ६ महिना निशुल्क संगीत प्रशिक्षण र लोकगीतको एल्बममा एउटा गीत गाउन पाउनुहुने भएको छ । गुरुङलाई गोरखा नृत्य प्रशिक्षण केन्द्रले ६ महिना निशुल्क नृत्य प्रशिक्षण गराउने भएको छ भने अमरज्योति एजुकेशनल इन्ष्टीच्युटले ३ महिनाको लागि अंग्रेजी भाषा प्रशक्षिण गराउने भएको छ ।
त्यसैगरी गुरुङलाई काठमाडौ टप टेलर्स गोरखाले एक जोर सुट पाइन्ट पुरस्कार दिने घोषणा गरेको छ । प्रतियोगीताका दोश्रो भएका गोकुल भट्ट र तेश्रो भएका विजय गोर्खालीलाई पनि पुरस्कारको ब्यवस्था रहेको छ । हलेसी संगीत पाठशाला राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान र पृथ्वी सांस्कृतिक परिवार गोरखाले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगीतामा गुरुङ सहित विजय गोर्खाली, रिता थापामगर, ज्ञानेन्द्र नेपाली, गोकुल भट्ट उत्कृष्ट ५ मा छनोट भएका थिय ।

                                    गोरखावाट विनोद ढकालको सहयोगमा

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: