RSS

नेपाल विकास बैंक खारेज

03 जुन

आर्थिक अवस्था अत्यन्त नाजुक भएपछि वित्तीय संस्थाको मुख्य नियामक निकाय नेपाल राष्ट्र बैंकले नेपाल विकास बैंक बन्द गर्ने निर्णय गरेको छ । मंगलबार वसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकबाट वित्तीय अवस्था सुध्रनुसट्टा बिग्रिएको र यसरी नै सञ्चालन हुन दिँदा बचतकर्ता र लगानीकर्ताको हित संरक्षण हुने नदेखिएपछि बैंक खारेज गर्ने प्रक्रियामा जाने निर्णय गरिएको हो ।

राष्ट्र बैंक सञ्चालक समिति बैठकले बुधबार कार्यालय समयअघि विकास बैंकको नगद राष्ट्र बैंकका कर्मचारीमार्फत नियन्त्रणमा लिई छुट्टै खाता खोलेर राख्ने निर्णय गरेको छ । विकास बैंकका विभिन्न वित्तीय संस्थामा रहेका खाता रोक्का गर्ने र अचल सम्पत्ति बिक्री गर्न नदिने निर्णय भएको छ । बचतकर्ताले बुधबारदेखि नगद झिक्न पाउने छैनन् । चल्ती खाता र परिपक्व बचतबाट रकम झिक्न बैंकमा निवेदन दिनुपर्ने छ । यस्तो रकम पाउन राष्ट्रबैंकले स्वीकृत गर्नुपर्छ । केही दिनमा बचतकर्ता हेरेर राष्ट्र बैंकले चल्तीखाता र परिपक्व बचतको रकम फिर्ता दिने/नदिने निर्णय गर्छ ।

नोक्सान अत्याधिक बढेको र संस्था वित्तीय, व्यवस्थापकीय, आन्तरिक नियन्त्रण, संस्थागत सुशासकीय समस्याबाट गुज्रिरहेको आधारमा राष्ट्र बैंक सञ्चालक समितिले झण्डै साढे दुई घन्टा लामो छलफलपछि बैंक खारेज गर्ने प्रक्रियामा जाने निर्णय गरेको हो ।

राष्ट्र बैंकले कुनैपनि वित्तीय संस्था खारेज गर्ने निर्णय गरेको यो पहिलोपटक हो भने खारेज गरिएको वैंक निजी क्षेत्रको लगानीमा स्थापना भएको पहिलो विकास बैंक हो । यो राष्ट्र बैंकवाट वित्तीय संस्थालाई गरिएको अहिलेसम्मकै सवैभन्दा ठूलो कारबाही पनि हो । बैंकमा संस्था र सर्वसाधारणको ३२ करोड रुपैयाँ लगानी र ७२ करोड रुपैयाँ बचत छ । खारेज हुँदा योमध्ये करिब आधामात्र फिर्ता हुन सक्छ । यसमा साधारण सेयर किन्नेले करिब १० करोड रुपैयाँ गुमाउने छन् ।

राष्ट्र बैंक ऐनअनुसार लिक्विडेटरले बैंकको सम्पत्ति बेचबिखन गरी सुरुमा बचतकर्तालाई फिर्ता दिन्छ र बाँकी रहेमात्र सेयर लगानीकर्ताले रकम फिर्ता पाउने छन् ।

राष्ट्र बैंकले यो बैंकलाई २०६४ असोज २४ मा समस्याग्रस्त घोषणा गरेको थियो । यससंगै बैंक सुधारका लागि १० वटा निर्देशन दिएको थियो । खराब कर्जा ९ प्रतिशत सिमाभित्र नल्याएको, निर्देशनअनुरूप सम्पूर्ण गैरबैंकिङ सम्पत्ति बिक्री नगरेको तथा बैंकको हित प्रतिकूल हुने गरी संस्थाको स्वामित्वमा रहेको चितवनस्थित होलिल्यान्ड इन्टरनेसनल स्कुल अन्य समूहलाई बिक्री गरेको आरोप बैंकमाथी लगाईएको थियो ।

गोर्खा हाइड्रो पावर र नेपाल सहकारीमा बैंकले लगानी गरेको सेयर बिक्री गरी रकम फिर्ता नगरेको बैंकलाई आरोप छ । उक्त सहकारीमा राखिएको निक्षेप रकममध्ये ९ करोड रुपैयाँ फिर्ता नगरी राष्ट्रबैंकको निर्देशन उल्लंघन गरेको राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग नीति निर्देशन कार्यान्वयन समितिले गभर्नरलाई दिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार संस्थाको पुंजीकोष अत्याधिक रूपमा ऋणात्मक रहेको र खुद नोक्सानी समेत क्रमशः बढेको छ । यसैले निक्षेप तथा अन्य दायित्व पूरा गर्न नसक्ने अवस्थामा संस्था पुगी भाखा नाघेको तथा मुद्दति बचत पनि फिर्ता गर्न नसकेको तथा यथास्थितिमा वैंक सञ्चालन हुन दिंदा निक्षेपकर्ता र लगानीकर्ताको हितविपरित हुने प्रतिवेदनमा उल्लेख छ । यही आधारमा बैंक बन्दको निर्णय भएको हो ।

निरन्तर घाटामा सञ्चालित यस बैंकको गत फागुनसम्मको सञ्चिती नोक्सानी ६७ करोड ८६ लाख रुपैयां पुगेको थियो । यो बैंकमा सेयरधनीले लगानी गरेभन्दा बढी रकम हो । वैंकको भाखा नाघेको कर्जा झण्डै ३० प्रतिशत छ । राष्ट्र बैंकका निर्देशनको पालना गर्न सञ्चालक समिति सजग र गम्भीर नरहेको तथा संस्थापकले समेत पुंजी थप गर्न सक्रियता र क्रियाशीलता नदेखाएको प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनमा विकास बैंकको इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका निक्षेप लगायतका खाता लिक्विडेटर नियुक्ति नभएसम्म यथावत स्थितीमा रोक्का राख्ने सिफारिस छ । कार्यालयको अत्यावश्यक कार्यमा खर्च गर्ने प्रयोजनका लागि मात्र राष्ट्र बैंकको स्वीकृतिमा निश्चित रकम मात्र उपलव्ध गराउने पनि सिफारिसमा छ ।

नेपाल सहकारी संस्थामा बैंकको ठूलो रकम निक्षेपका रूपमा रहेकाले उक्त सहकारी संस्थाको बिभिन्न बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम रोक्का गर्न सहकारी विभाग तथा डिभिजन सहकारी कार्यालयसंग समन्वय गर्ने पनि सिफारिसमा छ । यसबाहेक बैंक अध्यक्षलगायत दोषीलाई कारबाही गर्नुपर्ने विषय समितिको प्रतिवेदनमा समावेश छ ।

अव कसको कति गुम्छ ?

  • नेपाली सेना कल्याणकारी कोष- करिब १० करोड

  • कर्मचारी संचयकोष- करिब १६ करोड

  • अन्य बचतकर्ता- करिब ९ करोड

  • सर्वसाधारण सेयरधनी- करिब १० करोड

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: