RSS

यस्तो छ नाकाबासीको पीडाको दर्दनाक कथा

15 Jun

अजयदीप शर्मा / स्थलगत अवलोकनबाट फर्केर

नाका क्षेत्रमा हुने प्रचण्ड गर्मीसंगै डढिरहेका छन् उनीहरुका जीवनका सपनाहरु पनि । आफ्नै भूमिमा बसे पनि पराईले तोकेको स्केलमा चामल ल्याई भोक टार्नुपर्ने बाध्यता । यही देशको नागरिक भएर पनि बिरानो भएर बांच्नुपर्ने यो विवशता हाम्रै जिल्लाको एउटा दर्दनाक पीडाको कथा बनेर उभिएको छ । त्यहांका बासिन्दाहरुका कष्टका खहरेहरु अहिले मात्रै उजागर भएर आएका छन् । बषौंदेखि ती जीवनहरुले पीडाका ज्वालाहरु निल्दै आफ्नो देशको सीमानाको रक्षा गरेर बसेका छन् । सलाम छ ती बासिन्दाहरुलाई जसले चरम उत्पीडन खेपेर पनि आफ्नो भूमिलाई बचाइ राख्न सफल भएका छन् । ती सीमानाका पहरेदारहरुको मात्र एउटा भनाई छ- ‘कहां छ हाम्रो राज्य ? हामीलाई नागरिकको अनुभूति गराएर गौरवका साथ बांच्न दिइयोस ।’

आफ्नै गाविस पनि टाढाको मुलुकजस्तो बनेका ती क्षेत्रहरु देशमा के भइरहेको छ बर्षौदेखि बेखबर बनेका छन् । उजाड मरुभूमिजस्ता ती नाका क्षेत्रहरुमा पानी र स्वास्थ्यको अभाव मात्र होइन्, भोकमरीको पीडासमेत खेप्नु परिरहेको छ । बर्षौदेखि गरिबी र अभावको पीडा खेप्दा पनि बेखबर भएर सुतिरहेको छ हाम्रो सरकार र स्थानीय निकाय । सीमाबासीका चेलीहरु दैनिक भारतीयबाट लुटिदा र बेपत्ता पारिदा समेत हाम्रा परराष्ट्रमन्त्रीले अतिक्रमण नभएको कुरा फलाक्दै राष्ट्रियता सुरक्षित रहेको झुटो हल्ला खबर देशबासीलाई सुनाउन व्यस्त हुनुहुन्छ ।

गत शुक्रबार मात्र एकीकृत नेकपा माओवादीको नेतृत्वमा केन्द्रको र जिल्लाको एउटा सर्वदलीय टोली एवं व्यवस्थापिका संसदीय समिति अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिको एउटा टोलीका साथै पत्रकारहरुको टोलीले दाङको राजपुर, बेला र कोइलाबासमा पर्ने २२ वटा नाकाको अवलोकन गरेर फर्किएको छ । चार दिनको हिडाईमा हामी आफैले त्यहांको  सबै समस्याको अनुभूत गरेर फर्किएका छौं । राज्यको अनुपस्थितिले थुपारेका समस्याहरु त छंदैछन् त्यो भन्दा बढी भारतीय पक्षले गरेको ज्यादती र पीडाका घाउहरु हामी पत्रकारहरुलाई नै सुन्न सकस पर्‍यो । यस्तोसम्म कि बरुवा नाकाकी जुखी सुनारी आमाले आफ्नी जवान छोरीको अस्मिता बचाउन ड्युटी नै गरेर बस्नुपर्ने बाध्यात्मक अवस्था कारुणिक शब्दहरुबाटै अभिव्यक्त गरिन् । हाम्रो लगातार चार दिनसम्मको हिडाई र अवलोकनबाट त्यहांको जीवनको प्रत्यक्ष र सजीव अनुभूति बोकेर फर्केका छौं ।

‘विवाह भएपछि इज्जत लुटिने डरबाट जोगिनका लागि मैले १५ बर्षमै विवाह गरेकी हुं ।’ कोइलावास-३ खबरीनाका निवासी उर्मिला बुढाले यस्तो कुरा बताइरहंदा सोही ठाउंकी मनमाया गुरुङले छोरीलाई अस्पताल लैजांदा बाटोमा ५ जना भारतीय गुण्डाहरुले छोरीमाथि गरेको अभद्र व्यवहार हेर्दै बस्नु परेको पीडा आाशु झार्दै पोखिरहेकी थिइन् । गत बर्ष मात्रै सोही ठाउंकी मनपुरा बुढा भारतबाट उपचार गरेर फर्किदै गर्दा बाटोमा भारतीय गुण्डाहरुबाट समातिएर जबर्जस्त बलात्कार गर्न खोज्दा उनीले आफूलाई एड्स लागेको नाटक गरी जोगिन सफल भएकी थिइन् । त्यस्तै, बरुवा नाकाबाट मात्रै हराएका ५ जना चेलीहरु अझैसम्म पनि बेपत्ता छन् । गणपति विकका दुई छोरी १६ वर्षीया लुटी विक र १८ वर्षीया पुन्या विक डेढ बर्षअघि देखि हराएको अझैसम्म पनि पत्ता लाग्न सकेको छैन । त्यस्तै, सोही गाउंबाट हराएका सुशिला विक, गौरी सुनार कहां छन् अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन ।

‘हामीले बाख्रा र कुखुरा पैसाको लागि नभई भारतको एसएसबी पुलिसको लागि पालि दिनुपर्छ । उसको दिल खुसी नगराए हामी इन्डियासमेत जान पाउंदैनौ । उसले तोकिदिएको परिमाणमा मात्र चामल ल्याएर भात खान्छौं ।’- सुकौली नाकाकी कमिनिया घर्तीले यी कुराहरु बताइरहदा पटौलीका टिकाराम पुनलाई भारतबाट आएका खसी चोरहरुले ०५८ सालमा घरमा सुतिरहेको बेला निकाली रुखैमा झुण्ड्याएर मारी ३० वटा बाख्रा लुटेर लगेको घटना गाउंलेहरुले सुनाउंदै थिए । ‘उसले तोके अनुसारको चामल ल्याएर जीवन धान्नुपर्छ उसले भने दिनदिनै हाम्रो गाउामा पसेर हातपात, लुटपात गर्ने घटनाहरु सामान्य जस्तो हुन थालेको बरुवानाकाका अमृत विक बताउाछन् । आफ्नो घर दुई पटकसम्म एसएसबीले जलाइदिएको उनी स्वयं बताउंछन् । भारतको सामान नेपाल किन लैजान्छस् भनी ४० बोरा सिमेन्ट र जस्ता पाता उनीहरुले एकहप्ता अघि लगिदिएको अमृतले बताए । ‘मेरो घर एकपटक ०५८ र अर्कोपटक ०६२ सालमा गरी दुईपटक जलाई दिएकाले अहिलेसम्म घर बनाउन सकेको छैन ।’- उनले भने । विसखवरी नाकाका ४ घरपरिवारहरु भारतीय एसएसवीको ज्यादतीका कारण चारबर्षअघि नै विस्थापित भएर सिम्ला गएको अझैसम्म फर्किएका छैनन् ।

त्यहांका बासिन्दाहरुको समस्याहरुलाई सरसर्ती मात्र हेर्ने हो भने २२ नाकाहरुमध्ये कोइलाबासमा मात्रै एउटा स्वास्थ्य चौकी रहेको छ । शिक्षाको कुरा गर्ने हो भने प्रायः प्राथमिक विद्यालयमा एकजना शिक्षकको मात्र दरबन्दी रहेको छ । एकजना शिक्षक भएका विद्यालयमा कार्यालयको कामले सदरमुकाम आउनुपर्‍यो भने स्कूल नै बन्द गर्नुपर्ने अवस्थाको सिर्जना हुने नाकाबासी बताउंछन् । यो समस्या विशेष गरी खबरीनाकाको प्राविमा देखिएको छ ।

सबै नाकामा विद्यालय नहुनु र एउटा नाकाबाट अर्को नाकामा रहेको विद्यालयसम्म पुग्नलाई ३ घण्टा भन्दा बढी जंगलको बाटो हिड्नुपर्ने विद्यार्थीहरुको बाध्यता छ । त्यसमा पनि छोरीहरु असुरक्षित हुने भएपछि अविभावकहरुले उनीहरुलाई स्कूल पठाउन नमानेको स्थिति हामीले देख्यौं । नाका क्षेत्रमा पानी नहुंदा काकाकूलको स्थितिको अनुभूत त अनुगमन टोलीले नै गर्‍यो । त्यहांका बासिन्दा खोलामा रसाएको पानीबाटै जीवन गुजारिरहेका छन् । भारतीयहरुले आफ्नो गाउंबाट गाईभैंसी चराउन नेपालकै भू-भागमा ल्याएर नेपालीहरुको अन्नबालीमा चराइदिने गरेको विसखबरीमा हामीले प्रत्यक्ष नै देख्यौं । भारतको एसएसवी हतियारसहित नेपाल पस्ने र त्यहांका बासिन्दालाई धम्क्याएर पकाएको भात समेत जबर्जस्ती खाइदिने साथै तिमीहरु भारतको भूमिमा छौ भनेर सर्वसाधारणमाथि शासन गरिरहेको पाइयो । पटौली नाकाका विरबहादुर विकको घरमा केही दिन अघि भारतीय एसएसवीका जवानहरुले पकाएको आटो खाएर उनको बुहारी सर्मिला विकलाई यस्तो ठाउंमा पनि बस्ने हो जाऊं हाम्रो क्याम्पमा भनी घरभित्रबाट तानेर लैजादै गर्दा आफूले खोसेर ल्याएको विरबहादुर नै बताउंछन् ।

राजपुर गाविस-९ अन्तर्गत पर्ने रौनियापुर गाउंका बासिन्दाहरु अहिले भारतीय भूमिमा रहेको पाइयो । उनीहरु आफूलाई ‘हामी नेपाली हौं हाम्रो नेपाली नागरिकता छ भनिरहेका छन् तर उनीहरु बस्ने त्यो भूमि कसरी भारतीय भयो र उनीहरुलाई कसले, किन भारतीय बनायो अहिलेसम्म केही थाहा हुन सकेको छैन ।

सीमाक्षेत्रको कुरा नै गर्ने हो भने ठाउंठाउंमा भारतीय सीमा सुरक्षा बलद्वारा यो हाम्रो जमिन हो भन्दै नेपाली गाउंहरुमा आफ्नो स्तम्भ गाडेको पाइयो भने दशगजा क्षेत्रको ३० मिटरभित्रै तीन फिट गहिरा खाल्डाहरु कोइलाबासदेखि भौवा नाकासम्म खनेको देखियो । खबरीनाकामा पहिरोको कारण हराएको ४८ नं. को एउटा पिलरको अहिले खोजतलास नै हुन सकेको छैन भने कोइलाबासमा भेटिएको ढुंगाको एउटा स्तम्भमा कोइलाबास १ किमि लेखिएको छ । उक्त स्तम्भ भारतीय भूमिबाट कोइलाबास पुग्न ३ किमिको दूरी पार गर्नुपर्छ । त्यो ढुङ्गाको प्रमाणलाई आधार बनाउने हो नेपालको भूमि कोइलाबासदेखि २ किलोमिटर तल पर्न जान्छ । त्यो एउटा गम्भीर अनुसन्धानको विषय बन्न गएको छ ।

विस्थापितहरुलाई सुरक्षाकासाथै आधारभूत आवश्यकताको पूर्ति नगरी सीमाक्षेत्रमै पठाएमा विकराल रुप लिने स्थिति देखिन्छ । प्रशासनले गहिराइपूर्वक समस्याको पहिचान गरी सीमा क्षेत्रका जनतालाई राज्यको उपस्थिति भएको अनुभूति गराउन सकेमात्र समस्याले स्थायी समाधान पाउन सक्नेछ ।

—   नौलो जनउभार साप्ताहीक

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: