RSS

संसदीय अनुगमन टोलीले के देख्यो ?

15 Jun

दाङको लमहीमा दुबै टोलीको तर्फबाट आयोजना गरिएको संयुक्त पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै टोली नेता अमिक शेरचनः

आदरणीय पत्रकार मित्रहरु,
यस जिल्लाका आदरणीय नेतागण साथीहरु, सहयोद्धा सभासद् मित्रहरु र कर्मचारी बन्धुहरु सबैलाई मेरो अभिवादन छ । तपाईंहरुकै नजरबाट तपाईंहरुले नै हाम्रो आँखा र कानमा पुर्‍याइदिएपछि हामी यहाँ आएका हौं। यहाँ आइसकेपछि शायद तपाईंहरु पनि धेरै विषयहरुमा बेखबर हुनुहुन्छ जस्तो हामीलाई लागेको छ ।

त्यहाँका जनता यहाँ आउनु भो र त्यसपछि तपाईंहरुको नजर त्यहाँ पुग्यो । तर, वास्तविक ठाउँहरुबारे यहाँहरु विज्ञ हुनुहुन्छ र थाहा पाइसक्नु भएको छ भन्ने मलाई लाग्दैन। तपाईंहरुको त नजर लागेन लागेन त्यहाँ सिङ्गो राज्य नै अनुपस्थित छ । राज्यको अनुपस्थिति त्यतिबेला हुन्छ, जतिबेला एउटा नागरिकले पाउने न्यूनतम सुविधाबाट पनि वञ्चित छन् त्यहाँका सबै जनता । न त्यहाँ स्वास्थ्य चौकी छ, न विद्यालयमा दरवन्दीहरु छन् । न पिउने पानीको व्यवस्था छ, न सुरक्षा निकायको उपस्थिति छ। न सिंचाईको व्यवस्था छ न त सडक छ केही पनि छैन । विजुलीको कुरा त धेरै परको कुरा भयो  ।

त्यो स्थितिमा एकातिर राज्यको तर्फबाट स्वयं त्यस्तो पीडा छ भन्देखि अर्कोतिर त्योभन्दा धेरै गुणाले भारतीय पक्षबाट भएको पीडा छ । भारतीय पक्षबाट भएको कुरालाई त पीडै नभनौं त्यो त अपराध भन्ने कि – त्यसको नामै दिन म सक्तिन । त्यो खालको स्थिति भोगेर त्यहाँका जनता बाँचेका छन् ।

तपाईं हामीलाई हाम्रै छेउमा आफ्नो बहिनी, छोरी या श्रीमतीलाई कसैले एक दुई पटक आँखा टलटल पारेर हेर्‍यो भने कस्तो हुन्छ ? तपाईं आफै अनुमान गर्नुस् । कुनै परपुरुषले निक्कै आँखा गाडेर हेर्दा त हामीले सहन सक्तैनौं भने त्यहाँका दिदीबहिनीहरु, त्यहाँका आमाछोरीहरु त सम्भवतः उहाँको इज्जतमाथि भारतीय पक्षबाट धावा नभएको तपाईंले कम पाउनुहुन्छ । त्यहाँका ७०, ७५, ८० वर्षम्मका वृद्धवृद्धासँग हामीले कुराकानी गर्‍यौं । जो हामीसँग गएको एबीसी टेलिभिजनको क्यामेराभित्र पनि कैद छ । पीडामा पीडित भएकाहरुको कुरा सुन्दाखेरी दुई ठाउँमा मेरो आँसु पनि झर्‍यो । लोग्नेमान्छेले त बढाएर पनि कुरा गर्‍यो होला भन्न सकिन्थ्यो तर महिलाहरुले रुँदै जसले आफ्नो इज्जतमाथि खेलवाड भो भन्छ, त्यो कुनै नेपाली महिलाले भन्दैन । त्यो हदसम्मको पीडा दुबै पक्षबाट भएको छ ।

एउटा त त्यहाँको भारतीय अपराधिक तत्वबाट भएको छ । त्यो पीडाको सूचना दिँदाखेरी भारतीय पक्षले पटक्कै कुरै नसुन्ने, हेर्दै नहेर्ने । अर्कोतिर भारतीय सुरक्षा निकायहरुकै पक्षबाट पनि त्यसप्रकारका घटनाहरु घट्ने गरेको सूचना हामीले पायौं ।

अब त्यहाँ अर्कोतिर हामीले तपाईंहरुलाई यतिमात्रै के भन्न सक्छौं भन्दाखेरी यो सीमा अतिक्रमण भएको छैन भन्ने सूचना यहाँबाट गएको थियो । र, परराष्ट्रमन्त्रीले पनि त्यस्तै बोलेका थिए । आखिरीमा गएर सीमा अतिक्रमण भएको रहेछ कि रहेनछ भनेर सोद्धाखेरी हामी के मात्रै अहिले भन्न सक्छौं भने सीमा अतिक्रमण चाहिँ भा’को छ तर कुन हदसम्मको ?  के हो ?  भन्ने कुरा यहाँ अहिले भन्न सक्तैनौं । सक्तैनौं भन्या चाहन्नौं । त्यसको लागि केही डकुमेण्टको आवश्यकता छ । त्यसको अध्ययन नगरेसम्म यसको आधिकारिकरुपले भन्ने कुरो भएन । हामी आधिकारिकरुपले आ’का हौं । त्यसो भएको हुनाले त्यो भन्न सकिने कुरा भएन । दोस्रो कुरो अतिक्रमण भएको छ भनेर कहाँनेर भन्छु भने जो अन्तर्राष्ट्रिय कन्भेन्सन सन्धिसम्झौतामा समेत उल्लेख भएका विषय, दुई वटा देशको बीचमा भएका सन्धिसम्झौताको पालना त्यहाँ भएको छैन । त्यो दुईवटा कुराले प्रष्ट के देखाउँछ भन्नुहुन्छ भने एउटा त हाम्रो नेपालको अहिले भइरहेको जुन सीमास्तम्भ छ, त्यो सीमास्तम्भ हो या के हो – त्यहाँ स्तम्भ छ । त्यो सीमास्तम्भै हो भनौं भने त्यहाँ जंगे पिलर छँदैछैन । जंगे पिलर खोजेर हेर्न आ’को । जंगे पिलर कतै पनि छैन । जुन पिलर छ, त्यो पनि नयाँ खालको छ, अनौठो खालको छ । जो मैले पूर्वदेखि पश्चिमसम्मको कैयौं निरीक्षण गर्दाखेरी देखिएको जंगे पिलरको पालादेखि देखेको पिलर र अहिले पछि पञ्चायतकालमा निर्माण गरिएका पिलरहरु हेर्दाखेरी तिनीहरुभन्दा फरक आकारको छ । तथापि फरक आकारको भए तापनि जुन पिलर हामीले देख्यौं, त्यो पिलर जहाँ थियो त्यहीं छ । जहाँजहाँ हो, त्यहीं छ । त्यो सारिएको, हटाएको अथवा त्यस्तो स्थिति हामीले देखेनौं । र, त्यो पिलरको भित्र, अहिले भइरहेको पिलरभन्दा पनि भित्र आएर हाम्रा नेपालभित्रका रुखहरुको बोक्रा ताछ्दै त्यसमा सांकेतिक चिन्ह (एरो) लेख्ने कामहरु त्यहाँका सीमा सुरक्षाबल, एसएसबी ग्रुप र त्यहाँको सुरक्षा निकायहरुबाटै काम भएको रहेछ । त्यो काम किन भयो ?

दोस्रो कुरा, नेपालको कुनै पनि बोर्डरमा अहिलेसम्म नदेखेको हामीले त्यहाँ आएर देख्यौं । त्यो के भने धेरै साथीहरुले त्यसलाई ट्रेञ्च पनि भन्नु भो । ट्रेञ्चको अर्थ अलि फरक हुन्छ । त्यो लर्डाईंको निम्ति बनाएको हुन्छ। धेरै तल छ/सात फिटभन्दा कम उचाईं हुँदैन । शायद त्यसलाई त्यो नभनौं । उनीहरुले ‘हाम्रो देशको सुरक्षाको लागि गरेको’ भन्दारहेछन् । तोस खनिएको छ । त्यो तोस के आधारमा खनियो – सन्धिले के भन्छ भन्दाखेरी कुनै पनि दुईवटा देशको बीचमा कुनै नयाँ संरचना निर्माण गर्नुपर्‍यो भने दुई देशबीचको सहमतिले मात्रै गर्न सकिनेछ भन्ने छ । अर्को कुरा, तीस मिटरभन्दा तल र माथि केही पनि गर्न पाइँदैन । नयाँ ठूलाठूला आयोजनाहरु निर्माण गर्न पाइँदैन । त्यो त एकदमै गलत हो, जो अहिले सीमा भनिएको छ, त्यो सीमा हो होइन – म अहिले व्यक्त गर्न चाहन्न । जहाँ सीमा भनिएको छ, त्यही ठाउँमा त्यही ठाउँमा आएर पूरै पूर्वदेखि पश्चिमसम्म, कोइलाबासदेखि भौवानाकासम्म त्यो खालको संरचनाहरु निर्माण गरेको छ । त्यसले सिधै सिधै सम्झौताको उल्लंघन र सम्झौता पालना गरेको कुरा स्पष्ट हुन्छ । त्यो एकप्रकारको पूरै अतिक्रमण हो । अर्को एउटा कहाँ देखियो भने सानो मनौरा भन्ने स्थानमा नेपालको सम्पूर्ण आवादीजति भारततिर पारेर अलिमाथि कुना साइडमा घर रहेछ । घरमै आएर घरमा कपडा सुकाउनको निम्ति गाडेको त्यो खाँबो गाडेर तेर्साएको बलोमा तान बनाएको हुन्छ, हो त्यही खाँबोमा ताछेर त्यसैमा एरो दिएको छ । त्यसले के देखाउँछ भने ‘अब यो नचलाउनू । खबरदार ! यो चलाइस् भने -’ भनेर भनेछ । त्यसपछि त्यहाँ एउटा आँपको बोट छ, आँपको बोट पनि राखेको छ । त्यो त सिधै सिधै नेपालभित्रको अतिक्रमण हो ।

अर्को अतिक्रमण खिर्कीनाकामा नयाँ सीमाना (पोल) ल्याएर डेढ वर्षघि गाडेको रहेछ । ‘यो पोल फाल्न पाउँदैनौ । यो हटायौं भने तिमीहरुलाई खबरदार’ भनेर त्यहाँ गाड्न आ’को रैछ । हामीले त्यो पोल कहाँनेर छ भन्यौं । हामीले फाल्दियौं भने । छैन केही खेती खत्तम छ । एकजना महिलाले त्यो खाल्डो देखाउनु भो । अर्को ठाउँको जंगलमा पनि त्यस्तै गर्न खोजेको रहेछ । हामीले खोज्यौं तर भेटाउन सकेनौं । यी गतिविधिले त्यहाँ अतिक्रमण भएकै छैन भनेर भन्ने पक्षमा छैनौं । जिल्लाका राजनीतिक दलहरु, यहाँको प्रशासनहरुले अतिक्रमण बिल्कुलै भएकै छैन भन्ने कुराहरु नठान्नुस् । हाम्रो विशेष आग्रह छ ।

उतातिर, कोइलाबासदेखि खङ्ग्रासम्मको स्थिति अनि खङ्ग्रादेखि भौवासम्मको स्थिति फरक फरक होला भनेर यहाँबाट जाँदाखेरी मैले सोचेको थिएँ । किनकि यता त अलि सुविधा छ भन्नुहुन्थ्यो साथीहरुले । अलि फरक होला भनेको बिल्कूल छैन । एउटै समस्या, एउटै पीडा, एउटै व्यथा । त्यो कुनै एउटा क्षेत्रको मात्रै समस्या होइन, सिङ्गै कोइलाबासदेखि भौवासम्मको २२ वटै नाकाभित्रको घटना । तुलनात्मकरुपमा पूर्वमा भन्दा पश्चिममा बढी आतंकित भएको, बढी अन्याय भएको, बढी बलात्कारका मुद्दाहरु भएको र बरुवा भनने नाकामा एउटै घरबाट चार/चारजना छोरीहरु बेपत्ता भएका छन् । पश्चिममा पनि त्यही खालको रहेछ । हुँदाहुँदा एकजना महिलाको कस्तोसम्मको स्थिति आएको रहेछ भने लोग्नेलाई बाँधेर स्वास्नीलाई लिएर गएछ । स्वास्नीलाई तीन दिनपछि फर्काइदिएछ । तीनदिनपछि फर्केपछि लोग्नेले स्वास्नीलाई स्वीकार गर्न मानेनछन् । ‘अब तिमी अर्कोको भइहाल्यौ, म तिमीलाई स्वीकार गर्दैन’ भनेपछि ती महिलाले आफै आत्महत्या गरेर मरेछन् । त्यो हदसम्मको मुद्दा त्यहाँ देखियो ।

अर्को कुरा, कोइलाबासमा जहाँनेर बोर्डर भनिएको छ, कोइलाबास भनेको १८७५ को सन्धिले एउटा केही भूभागहरु थप गरेको छ । थप गरेको हुनाले अझ परसम्म जानुपर्ने । यताको भन्दा पनि अझ दक्षिणतिर घुसेर गएको हुनुपर्ने नक्शामा । त्यो अहिले देखिदैन । अहिलेको नयाँ नक्कली नक्शा भन्छु म । सब नक्कली नक्शा बनाइएको भन्छु म सिधैसिधै । यो नक्कली नक्शामा ती कुराहरु छैनन् । १८१६ मा तत्कालीन इष्टइण्डिया कम्पनी र तत्कालीन नेपाल सरकारको बीचमा जुन युद्ध भयो, त्यो युद्ध भएपछि हामीले पहिलेको नेपालको भूभाग पूर्वमा टिष्टा, जो बंगालको समुन्द्रमार्गसम्म जोडिएको थियो । पश्चिममा किल्ला काँगडा -सतलज नदी, उत्तरमा तिब्बत र दक्षिणमा गंगाको मैदानसम्म हाम्रो विशाल नेपाल थियो । त्यो मैदानको आधाभन्दा बढी भूभाग तत्कालीन इष्टइण्डिया कम्पनी -ब्रिटिश सरकारको पालामा कब्जा गरेर लग्यो । कब्जा गरेपछि भएको १८१६ को सुगौली सन्धिपछि निर्धारण गरेको पहिलो सन्धि भनेको के हो त भन्दाखेरी त्यसले पूर्वमा दार्जीलिङ, सिक्किमहरु सबै भारतमा पर्ने गरेर मेचीदेखि पश्चिममा राप्तीसम्म, राप्तीदेखि पारिको भूभाग पनि उसको कब्जामा राख्ने गरेर पहिलो सन्धिमा उल्लेख छ राप्तीनदीसम्म । त्यसपछि १८१९ मा फेरि अर्को सन्धि गरेर त्यसलाई सिमाङ्कन गर्ने कामहरु भएको छ । त्यहीबेलादेखि जंगे पिलर स्थापना हुने क्रम सुरु भयो । त्यो जंगे पिलर राख्न सुरु भएको स्थितिमा त्यहाँदेखि यहाँ राप्तीसम्म जंगे पिलरको स्थापना गरिएको हो । सिमाङ्कन गरेर बनाइएको छ । तर यो एरियामा कतै पनि जंगे पिलर भेटिएन, जुन जंगे पिलरको एउटै आकार छ । जतिजति पूर्वमा छन् ती सबै एउटै छन् । त्यो जंगे पिलर हामीले निरीक्षण गर्दाखेरी पश्चिमतिर कहीं पनि पाएनौं । कोइलाबासदेखि भौवासम्म एउटै खालको, चारपाटे भएको, ठूलो भएको, आकार पनि विचित्र भएको देख्यौं ।
अर्को, १८६० मा लखनौंको विद्रोहपछि नेपालीले ठूलो सहयोग गरेको कारणले राप्तीदेखि महाकालीसम्म नयाँ मुलुकसम्बन्धी सन्धि भयो । नयाँ मुलुक फिर्ता गर्‍यो तत्कालीन ब्रिटिश सरकारले । त्यो फिर्ता गर्दाखेरी फेरि नक्शाङ्कन भयो । १८७५ मा फेरि पूरै नयाँ नक्शाङ्कन गर्ने गरेर सिमाङ्कन गरेर निर्धारित भएको छ, जसलाई अरु म भन्दैन । एउटामात्रै जिल्ला उदाहरण दिन चाहन्छु, बर्दिया जिल्लाको निशानगाड भन्ने आज पनि नाम त्यही छ- निशानगाड । नयाँ मुलुक बनिसकेपछि हाम्रो नेपालमा फिर्ता आइसकेपछि अंग्रेससँग सीमाना छुट्याउँदाखेरी निशाना गाडेको हुनाले निशानगाड भनिएको हो त्यसलाई । त्यो निशाना त्यही थियो, तर त्यो अहिले त्यहाँबाट १० किलोमिटर भित्र छ । त्यो लगायत जति पनि कुराहरु भए, ती सन्धिहरु यो एरियामा कहींकतै पालना भएको देखिएन ।

अर्को महत्वपूर्ण र विशेषखालको कुरा के देखियो भने जुन पिलर हामीले भेटाएका छौं, जुन सीमास्तम्भ हामीले भेटाएका छौं, त्यो स्तम्भ चारपाटे छ । सुनचुर्कीले जडान गरेको छ । इँटाबाट निर्माण भएको छ । अब भारततिर फर्केकोमा खोपी छ । जंगे पिलरमा पनि सबै त्यही थियो । पिलर बनाउँदै गयो, बीचमा खोपी राख्यो, खोपीमै कति नम्बर पिलर हो, कुन सालमा कुन सन्धिअनुसार भएको हो, नेपाल कता, भारत कता भनेर सीमास्तम्भमा उल्लेख गर्ने चलन थियो । त्यसलाई पानी पर्दाखेरी नमेटियोस् भनेर भित्र खोपी बनाएपछि पानी बाहिरबाटै झर्ने भो । त्यस किसिमले बनाइएको थियो पिलर । त्यही खालको खोपी हामीले यहाँ पनि फेला पार्‍यौं तर भारततिर मात्र । नेपालतिर खोपी छैन, भारततिर खोपी छ । यसले के बताउँछ भने यसको दुईवटा अर्थ हुन्छ । एउटा अर्थ हो- भारततिर फर्केको खोपी भारतको लागि मात्रै बनाइएको होइन । यदि सीमा बनाइएको हो भने दुबैतिर खोपी हुनुपर्छ । भारततिर जे छ, नेपालतिर पनि त्यही हुनुपर्छ । जे आकार नेपालतिर छ, त्यही आकार भारततिर हुनुपर्छ । त्यहाँ भिन्न आकार छ । भारततिर खोपी छ, नेपालतिर खोपी छैन । त्यसको दोस्रो अर्थ के हो भने त्यो सीमास्तम्भ होइन भन्ने कुरा केले प्रष्ट पार्छ भने त्यो नेपालको तर्फाट नेपालकै भूभागमा बनेको हो । त्यो खोपीमा नेपाल भनी लेखिएको छ । यता पनि पिलर, उता पनि पिलर । कुन पिलर सीमा पिलर हो भनेर भ्रम पर्ने हुन्छ । त्यसकारण सीमा पिलर एक ठाउँ, सहायक पिलर अर्को । दुई ठाउँ हुन्छ रिफरेन्स पिलर, जसलाई साँकेतिक पिलर भनिन्छ । त्यो सांकेतिक पिलरको रुपमा राखिँदाखेरी त्यहाँ नेपालतिरको साँकेतिक पिलरको खोपीमा ‘नेपाल’ भनेर लेखिने, भारततिरको पिलरको खोपीमा ‘भारत’ भनेर लेखिने । यद्यपि नेपालतिर फर्केको खोपी बनाएको हुन्छ भारतले पनि । त्यहाँ पनि ‘भारत’ भनेर लेखिने । अब जहाँनेर सीमा पिलर बीचमा छ, कति दूरीमा छ भन्ने छुट्याउन बीचको पिलर हुन्छ । त्यो पिलरमा भारततिर ‘भारत’ लेख्यो, नेपालतिरको खोपीमा ‘नेपाल’ । त्यसमा यति नम्बर, यति दूरी सबै कुराको उल्लेख हुन्छ । अहिलेसम्मको सीमास्तम्भ पूर्वमा मैले आजभन्दा बीस/तीस वर्षअगाडि नै जब महेशपुर अतिक्रमण भयो, त्यो बेलादेखिको मेरो अन्वेषणले ती चीजहरु यहाँ फेला परेन । त्यसले के बताउँछ भने यो जुन स्तम्भ छ, यो स्तम्भ सीमास्तम्भ हो या होइन – त्यो कुरा यहाँ हामीले आधिकारिकरुपले भन्न चाहन्न । त्यसलाई काठमाडौं गएर मात्रै अन्तिम निकर्ष निकाल्ने छौं ।

अर्को कुरा, भारतबाट यतिबेला पूरै नाकावन्दी छ । त्यो एक डेढ वर्षेखि नै त्यसो गर्दै आएको भन्ने कुरा छ । खासगरी १०/१५ वर्षता विशेषगरी बहुदल आएदेखि यता भन्नेछ मोटामोटी । बहुदल आएयता यताबाट महिलाहरु राशनपानी लिन गए भने उनीहरुको इज्जतमाथि त्यहीं धावा बोलिहाल्ने । लोग्नेमान्छे एक्लैदुक्लै गए भने उनीहरुलाई समाएर राख्ने कि लुटेर राख्दिनेजस्ता कामहरु लगातार हुँदै आएको भन्ने कुरा उहाँहरुको छ । र, अहिले त पूरै नाकावन्दी गरेको छ । यो नाकाबन्दीको क्रममा राशन घटाउँदै घटाउँदै लगेर अहिले केही नाकाहरुमा दुई नम्बरीभन्दा बढी लैजान नपाउने र ल्याएमा खोसिदिने, अझै पूर्वमा कहीं एक नम्बरी, कहीं कति ? यस्तै खालको स्थिति रहेछ । खाद्यान्न आपूर्तिको एकदमै अभाव छ । यस्तो स्थितिमा अब हामीले गर्ने के ?  अब राज्यले गर्ने के ?  नागरिक समाजले गर्ने के – हामी सबै राजनीतिक दलहरुले गर्ने के – हाम्रो अगाडि गम्भीर प्रश्न खडा भएको छ ।
अहिले यो समस्या हल गर्नका निम्ति सबभन्दा पहिले त त्यहाँको जनताले राज्य हाम्रो अगाडि छ भन्ने अनुभूति कम्तिमा पनि हुनुपर्छ । त्यसका लागि न्यूनतम पनि अहिले तात्कालिक योजनाहरु बनाउनुपर्‍यो । अल्पकालीन योजना र दीर्घकालीन योजना दुईटा योजना नबनाएसम्म त्यहाँको जनता विश्वस्त भएर फर्कनुस् भन्ने अवस्थामा हामी आफै छैनौं । त्यहाँको पीडा देख्दाखेरी, स्थिति देख्दाखेरी त्यहाँ आजकै अवस्थामा आजै फर्कनुस् भन्नुको अर्थ त सिधैसिधै गएर मृत्युको खाडलमा गएर बस्नुस् भनेर अमानवीय काम गरेको र्ठहर्छ । त्यसकारण सबभन्दा पहिला अल्पकालीन योजना बनाउनु पर्‍यो । ती अल्पकालीन योजनामा न्यूनतम राशनको आवश्यक व्यवस्था गर्ने स्थिति हुनुपर्‍यो, दोस्रो, तत्काल सुरक्षा निकायको उपस्थितिलाई अझ राम्रोसँग व्यवस्थित तरिकाले राख्नसक्नु पर्‍यो । सीमा सुरक्षाको निम्ति सशस्त्र प्रहरी बल अनिवार्यरुपमा राख्ने बनाउनु पर्‍यो, त्यहाँको जनतालाई अहिले नै स्वास्थ्य, शिक्षा, शिक्षाको दरवन्दी, अस्थायी स्वास्थ्य चौकीको स्थापना गर्नुपर्‍यो । यद्यपि तत्कालीनरुपमा राज्यले तत्काल काम गर्न नसक्ला । तर, योजनामा पर्छ भन्ने कुराको ग्यारेण्टी हुनुपर्‍यो । यही आगामी आर्थिक वर्षै त्यहाँको भौतिक निर्माणका प्रश्नहरुलाई ग्यारेण्टी गर्ने कुरा सरकारले गर्नुपर्छ । यी कुराहरु दीर्घकालीन र अल्पकालीन कुराहरु भए भने मात्रै उहाँहरुलाई यसो गर्नुस् भन्न सकिन्छ अन्यथा हामीले यही अवस्थामा त्यहाँ पुर्‍याउने कुरा हुन्न, जानुस भन्न सकिने स्थिति हामी देख्दैनौं । त्यस्तो स्थितिमा उहाँहरुलाई कुनै वैकल्पिक ठाउँमा स्थायी बसोबासको लागि सरकारले व्यवस्था गर्न सक्नुपर्छ । यदि यो राज्यले तत्कालै गर्नुपर्ने न्यूनतम काम गर्न चाहेन भने अथवा आनाकानी गर्‍यो भने, सत्तामोहको वरिपरिमात्रै घुमिरहने राजनीतिक दलको काम भयो भने स्थिति के त भन्दाखेरी उहाँहरु जानसक्नु हुन्न । उहाँहरु सम्पूर्ण परिवार बाख्रा, गोठ सबै लिएर उहाँहरु यहाँ आउन तयार हुनुहुन्छ । बूढाबूढी, साना केटाकेटी सबैको कुरा हो यो । यो एक ठाउँको कुरा होइन । कोइलाबासदेखि भौवासम्मका हरेक जनताको भावना त्यही छ । “हामीलाई यही व्यवस्था गरिदिनुस्, यही बस्छौं, हामी पुस्तौंदेखि यहीं जन्मियौं, यहीं हुर्कियौं, हामी यहीं बस्छौं तर सरकारले यसो गर्दैन भने हामी सबै उठेर उतै जान्छौं । हामी यहाँ कसरी बस्ने – हामी दिनदिनै ज्यान खतरामा पारेर कति दिन बस्ने – कि बलात्कृत भएर बस भन्नुस् तपाईंहरु । नेपालबाट आएका मान्छे पहिलोपटक देख्दैछौं ।” यो जनताको बोली हो । त्यहाँका महिलाको पीडाको बोली हो । यो स्थितिबाट त्यहाँको जनतालाई मुक्त गर्नका लागि स्थायी बसोबासको वैकल्पिक व्यवस्था गरिनुपर्‍यो, त्यसो गर्नुबित्तिकै हाम्रो ठूलो भूभाग चाहिँ इण्डियाले चाहेजसरी उसको अनुकूल हुन्छ र सबै गुम्छ ।

त्यो क्षेत्रमा आजसम्म राजाको कार्यकालमा राजा पनि त्यहींका जनता भएका रहेछन् । प्रधानमन्त्रीदेखि लिएर मन्त्री पनि त्यहीँका जनता भएका रहेछन् । राष्ट्रिय पञ्चायतका सदस्यदेखि, अहिलेका सांसददेखि सभासद् पनि त्यहींका जनता भएका रहेछन् । प्रहरी पनि त्यहीँका जनता भएका रहेछन् । सीडिओ पनि त्यहींका जनता, सेना पनि त्यहींका जनता, सबै त्यहींका जनता भएर कमसेकम त्यति भूभाग पनि बचाएर राखेका रहेछन् । त्यसको लागि त्यहाँका जनताप्रति हामीले गर्व गर्ने कि नगर्ने – त्यहाँका जनताले राष्ट्रको निम्ति यत्रो बलिदान गरेको कुरालाई ओझेलमा पार्ने – यो कुरो कसैले पनि बिर्सनु हुन्न । यो कुरालाई ध्यान दिएर त्यहाँको जनता वास्तवमा भन्ने हो भने पहरेदार भएर राष्ट्रको रक्षा गरिरहेका छन् । त्यहाँका जनता अति भएपछि मात्रै वाध्यात्मक अवस्थामा उहाँहरु खानैसमेत बन्द भएपछि उठेर हिड्नुपरेको स्थिति रहेछ । त्यसकारण, उहाँहरुको पहिलो आकांक्षा छ- त्यहीं पुनर्स्थापित हुने, त्यहीं फर्किने । तर, त्यसका लागि सरकारले आवश्यक पूर्वाधारहरु तत्काल तयार गर्नुपर्छ । यदि गर्दैन भने हामी सबै आउँछौं र हामीलाई कहाँ राख्नुपर्ने हो – केन्द्रिकृतरुपमा योजना बनाएर हामीलाई बसोबास गराइयोस् भन्ने यी दुई माग छ । हामीले यही सिफारिस लगेर सरकारकोमा जाने छौं । सरकारले गर्ने काम हो । सरकारको जिम्माको कुरो हो । हामीले त आयौं, हेर्‍यौं, अध्ययन गर्‍यौं । अध्ययन गरेर हामीले लाने प्रतिवेदन हो ।

यसको लागि पूर्वबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिका सभापति पद्मलाल विश्वकर्माको नेतृत्वमा सभासद्हरु, प्रशासन तथा पत्रकारहरु सबै सम्मिलित भएको एउटा टोली थियो । त्यसले ९ वटा नाकाको अध्ययन गर्‍यो । जसमा सोही क्षेत्रबाट निर्वाचित सभासद्समेतको टोली खङ्ग्रासम्म आयो र अर्को मसहित सभासद्हरु तथा राजनीतिक दलका नेताहरु सम्मिलित र्सवदलीय टोली, जसमा पत्रकारहरु, नागरिक समाज, दाङ जिल्लाका सबै राजनीतिक दलहरु थियौं । तर, टोलीमा नेपाली कांग्रेस गएको थिएन । उहाँहरु किन जानु भएन – त्यो गम्भीर चासोको विषय बनेको छ । यहाँबाट जानुभएन तर काठमाडौंबाट भने आउनु भएको हो । पूर्वबाट नेपाली कांग्रेसका सभासद् कुमार र्राई, जो एक प्रकारले उमेर पाको पनि हुनुहुन्छ । उहाँ हिड्न नसक्ने हुनु भो । तैपनि उहाँले टोलीसँग धेरै सहकार्य गरेर जानु भो । हामीलाई हौसला पनि भो । सुरक्षानिकायसहित ३५ जनाको टोली कुसुमबाट भौवा गयौं । बीचमा टे्रक्टर फेला पार्‍यौं । त्यसपछि पूरै पैदलैपैदल गयौं । बाटो कहीं छैन । झयाङबाट हिड्ने, हातले समाएर उक्लने । कहीं राम्रो गोरेटो बाटो भेटियो । त्यस्तो, स्थितिबाट पूर्वतिर लाग्यौं । पूर्वमा पनि स्थिति त्यही रहेछ । कहीं राम्रो बाटो छैन ।  पूरै घामैघाम घामैघाम भएर आयौं । हामीले सीमाविज्ञ लिएर गएका थियौं । पुण्य वली हाम्रो टोलीमा हुनुहुन्थ्यो । उहाँ बीचमा आइसकेपछि सुनपटिया भन्ने ठाउँमा आइसकेपछि बेहोस हुनु भो । घामले अति भयो । पानी नभएर मुख पूरै सुकेको छ । पिउने पानी कतै पनि छैन । पिउने पानीको त विचित्रै अभाव छ । तीनचार घण्टा हिंडेर पानी ल्याउनुपर्ने स्थिति छ । कहीं त धमिलो पानी । त्यो स्थितिबाट त्यहाँका जनताको अवस्था गुज्रेको रहेछ । पूर्वबाट आएको टोलीमा पनि केही सभासद्हरु कोइलाबासबाटै तीनजना सभासदहरु फर्किनु भएको रहेछ । हाम्रो टोली पनि हिजो खङ्ग्राबाटै यतातिर आयौं र केही सभासद्हरु र अरु इण्डियाबाट कृष्णनगरमा जानु भयो । राति आठ बजे पुग्नु भएको रहेछ । राति आठ बजे त हामी पैदलै यही पनि आइपुगेका थियौं ।
समग्रमा भन्दाखेरी दुईवटा टोली पूर्व र पश्चिमबाट आयौं । तुलनात्मकरुपमा फरक फरक कुरा होला भन्ने ठानेका थियौं । तर केही फरक रहेनछ । एउटै खालको पीडा, एउटै खालको वेदना । त्यसमा कुनै दायाँबायाँ कुनै केही छैन । हामीले ज्वाइन्ट मिटिङ गरेर फैसला गर्‍यौं र अब त्यहाँबाट पूर्वको टोली पश्चिम र पश्चिमको टोली पूर्व जानुपर्ने महसुस गरेनौं ।

सबैभन्दा पहिलो प्राथमिक अग्राधिकार यहाँको योजनाहरुमा त्यो क्षेत्रलाई दिनुपर्‍यो । त्यो दिशामा हामी हिड्न सक्यौं भने केही सुधार हुन्छ । समस्या समाधान हुन्छ । नत्रभने हाम्रो राष्ट्रियता, हाम्रो भूभाग जति गुम्दै गएको छ र ठूलो भूभाग त्यहाँ गुम्नेछ । उतातिरको जंगलमा एउटा छेस्को पनि केही भएको छैन तर यतातिरका ठूलाठूला रुख काट्दै लाँदै, काट्दै गरेको हामीले भेटायौं । नेपालको भूभागमा केही रहनेवाला छैन । त्यसकारण जिल्लाको विशेष त्यहाँ जाओस् । जिल्लाबाट माथि जाओस् । जिल्लाले ध्यान दिएर माथि कराउने हो । माथि गएर हामीलाई पनि भन्नुस् । हामी पनि माथि गएर कराउने हो । अन्तमा गएर सरकारको कुरा हो यो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: