RSS

विस्थापित नाकाबासीमाथि दमन, नाकाबासीद्वारा विरोध प्रदर्शन

13 Jul

डिल्ली मल्ल/दाङ

पुनर्बासको माग गर्दै आन्दोलनमा उत्रिएका विस्थापित नाकाबासीहरुलाई शुक्रबार प्रहरीले निर्मम दमन गरेपछि शनिबार पीडित नाकाबासीले देउखुरीमा विरोध प्रदर्शन गर्नुका साथै सतबरियाको वनघुस्रीस्थित राष्ट्रिय वनमा टहरा बनाएर बस्न थालेका छन् । भारतीय ज्यादतीका कारण नाकाबाट विस्थापित भई पुनर्बासका लागि विगत डेढ महिनादेखि आन्दोलनमा उत्रिएका नाकाबासीले तत्काल पुनर्बासको व्यवस्था गर्न माग गर्दै राष्ट्रिय वनमा बस्न थालेका हुन् ।

शुक्रबार प्रहरी प्रशासनले गरेको दमनका विरुद्धमा शनिबार लमहीदेखि नाराजुलुस र पुनर्बासको माग गर्दै वृहत विरोध र्‍याली निकालिएको थियो । विरोध र्‍यालीपछि वनघुस्रीमै आयोजित कोणसभामा बोल्दै नाका सुकुम्बासी व्यवस्थापन संघर्ष समितिका अध्यक्ष रोशन पुनले राज्यले नाकाबासीहरुलाई पुनर्बासको माग पूरा नगर्दासम्म ज्यानै गए पनि आन्दोलनबाट पछि नहट्ने बताएका थिए । भारतीय ज्यादती अति भएपछि आफूहरु राज्यसंग गुहार माग्न आएको बताउादै उनले राज्यले उल्टै भारतीय ज्यादतीलाई नै माथ गर्ने गरी दमनमा उत्रिएकोमा आक्रोश व्यक्त गरे । विरोधसभामा बोल्दै थारु राष्ट्रिय मुक्तिमोर्चा, नेपाल दाङका अध्यक्ष रामबहादुर दहित, अखिल नेपाल सुकुम्बासी संघ दाङका अध्यक्ष विमला परियार, अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गणेश चौधरीले नाकाबासीमाथि प्रहरी प्रशासनले गरेको निर्मम दमन र धरपकडको कडा निन्दा गर्दै तत्काल उनीहरुका माग पूरा गरी राज्यको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिएका थिए ।

शुक्रबारको झडपपछि तितरवितर बनेका अधिकांश नाकाबासीहरु सम्पर्कमा आइसकेको र राष्ट्रिय वनमै टहरा बनाएर बस्न थालेको नाका सुकुम्बासी संघर्ष समितिका अध्यक्ष रोशन पुनले जानकारी दिनुभयो । उसो त शनिबार अबेरसम्म पनि वनघुस्रीस्थित राष्ट्रिय वनमै प्रहरी तैनाथ गरिएको छ । नाकाबासीहरु पनि सोही ठाउंमा बसेका छन् । उता प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले नाकाबासीहरुको समस्या शान्तिपूर्वक समाधान गर्न लागिपर्ने बताएका छन् ।

सरकारले आफ्ना मागहरुप्रति कुनै सुनुवाई नगरेको भन्दै शुक्रबार वनघुस्रीस्थित राष्ट्रिय वनमा बस्न गएका नाकाबासीलाई प्रहरीले सोही दिन सांझ करिब ५ बजेतिर लाठीचार्ज, हवाई फायरका साथै अश्रुाग्यांस समेत प्रहार गरी तितरवितर पारेको थियो । सो क्रममा एकछिन दोहोरो झडप पनि भएको थियो । झडपको क्रममा प्रहरीको कुटाइबाट राजपुर गाविसको कल्याणपुर नाकाका कृष्ण परियार र भौवा नाकाका सत्तर परियार र कल्याणपुरकै १२ वर्षीय प्रसाद पुन गम्भीर घाइते भएका छन् भने प्रहरीतर्फ पनि ६ जना सामान्य घाइते भएका थिए । सो क्रममा समाचार संकलन गर्न गएका पत्रकार कृष्णप्रसाद शर्मालाई परिचय पत्र देखाउदा देखाउदै प्रहरी र कर्रि सामुदायिक वनका उपभोक्ताहरुले आक्रमण गरी घाइते बनाएका छन् । क्रान्तिकारी पत्रकार संघ, नेपाल दाङका जिल्ला सदस्यसमेत रहनुभएका शर्मामाथि पत्रकार न सत्रकार भन्दै कुटपीट गर्नुका साथै मोटरसाइकल समेत तोडफोड गरिएको पीडित शर्माले बताउनुभयो ।

प्रहरीले घटनास्थलबाट नाकाबासी श्यामलाल रोका, चन्द्रप्रकाश खड्कालगायत ५ जनालाई कुटपीट गर्दै नियन्त्रणमा लिएको छ भने झडप भएपछि घटनास्थल पुगेका स्थानीय माओवादी जिल्ला सदस्यहरु संगम, प्रकाश राई लगायत ४ जनालाई पनि गिरप्तार गरेको छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 13, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: