RSS

परदेशमा रहेका नेपालीहरुलाई स्वदेशको खबर

16 Jul

– धनप्रसाद सुवेदी ‘श्रमीक’

अरब खाडीको तातो हावामा होस् अथवा मलेसिया, कोरिया, हङकङ तथा अरू-अरू देशमा पसिना बगाउन र सस्तोमै श्रम बेच्न विवश नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सबैमा हार्दिक अभिवादन। ०६६ सालको असार महिना मानो खाएर मुरी उब्जाउने यो बेला, पूर्वी नेपाल किरांत प्रदेशको बासिन्दा म काठमाडौंमा जागिरे जीवन बिताइरहेको छु र काठमाडौं कीर्तिपुरको एउटा जीर्ण घरको भुइंतलाको एउटा कोठामा बसेर स्वदेशको खबर लेख्दैछु। तपाईंहरूलाई फुर्सद भएको बेला पढिदिनु हुनेछ भन्ने आशा र विश्वास छ।

विदेशी भूमिमा पसिना बगाउनु पक्कै सजिलो छैन होला। विदेशी भूमि, विदेशी नीति, विदेशी संस्कृति यस्ता सबै परिस्थितिमा तल्लोस्तरको, जोखिमपूर्ण काम गर्नुपर्दा तपाईंहरू कति पीडित हुनुहोला। साथीहरू, अरबको तातो बालुवामा फूल रोपिरहंदा तपाईंहरूलाई स्वदेशका सुन्दर, हरियाली जङ्गल र नेपालको र्ऊवराभूमिको ज्यादै सम्झना आउादो होला हगि ? विदेशमा पराधीन भएर परचक्रीको आज्ञा अनि आदेशमा काम गर्नुपर्दा तपाईंहरू अत्यन्तै पीडित हुनुहोला। यस्तो बेला स्वदेशमै रोजगारी गरिरहेका आफ्ना समकालीन साथीहरूप्रति तपाईंलाई कताकता ईर्श्या पनि जाग्दो होला।

तर, साथीहरू अब स्वदेशभित्र पनि उस्तै पराधीनता भइसक्यो। अब विदेशमा तपाईंहरू परचक्रीका आदेशमा काम गर्नुहुन्छ, स्वदेशमा हामीहरू पनि विदेशीका दलालहरूका आदेशमा काम गर्न विवश बन्दैछौं। साथीहरू,  यसबेला विदेशमा रहने तपाईंहरू भन्दा बढ्ता पीडा हामीले भोगिरहेका छौं। त्यही पीडा तपाईहरूलाई सुनाउन यो चिठ्ठी लेखेको हुं मैले। विदेशमा जोतिएर, हेपिएर, अपमानित हुदै खाइ नखाई तपाइंहरूले जोडेको कमाइबाट स्वदेशको कूल अर्थतन्त्रको १२-१३ प्रतिशत हिस्सा धानेको खबरले तपाइहरूको पीडा निश्चय नै हलुको हुंदो हो। तर मित्रहरू, तपाइंहरूको त्यो कमाइबाट तिरिएको करमा जनताद्वारा तिरस्कृत प्रतिगामी र यथास्थितिवादी नेता भनाउंदाहरू विदेशीको कठपुतली बनेर प्रधानमन्त्री र मन्त्री बनेर रमाइरहको खबर सुन्दा तपाइंहरू कति पीडित हनुभएको होला यसबेला ? तपाइंले विदेशी भूमिमा पसिना पोखेर निर्माण गरिदिएको देशको अर्थतन्त्रलाई ‘उल्फाको धन’ मान्दै पचासो हरूवाहरू मन्त्रीको पगरी गुथेर चिल्ला गाडी र महलमा रमाइरहंदा तपाइंहरू असाध्यै मर्माहत हुनुभएको होला। तपाइं हामीले चुनेर पठाएका नेताहरूलाई विदेशीका इसारामा सरकारबाट हटाएर हामीले नालायक र अयोग्य ठानेकाहरू हाम्रो देशको सत्तामा बसेर स्वदेशको अस्मितामाथि खेलवाड गरिरहंदा हाम्रो मुटु यतिबेला निकै दुखेको छ।

साथीहरू, तपाइंहरू विदेशमा हुनुहुन्छ। त्यहां तपाईहरूलाई आफ्नो शिर ठाडो गरेर हिंड्ने अवस्था छ, छैन मलाई थाहा छैन । तर यहां हामी आफ्नै देशका सडक र गल्लीहरूमा शिर ठाडो पारेर हिंड्न नपाउने अवस्था सिर्जना हुंदैछ । नेपाली भूमिमा छिमेकि भारतका सेना पुलिस विना अनुमति पस्छन्, हाम्रो भूमिबाट हामीलाई नै लखेट्छन् । हाम्रा अन्नपात र धनदौलत लुट्छन्, त्यतिमात्र हो र ?  हाम्रा दिदीबहिनी र छोरीचेलीको अस्मिता समेत लुट्छन् हाम्रै सामु । यो भन्दा दर्दनाक पीडा के हुन सक्छ ? यस्तो बेला हाम्रो देशको राष्ट्रपति तिनै विदेशी प्रभुको इशारामा सैनिक सर्वोच्चता लादेर शितलनिवासमा निर्लज्ज बसिरहेछन् । वालुवाटारमा तिनै विदेशीको कठपुतली वनेर माधव नेपाल प्रधानमन्त्रीको कुर्सीमा ढसमस्स बसेका छन् । सम्झनुहोस् त साथीहरू, यतिबेला हामीहरू कस्तो बेचैन अवस्थामा बांचिरहका छों होला ? तपाइंहरूले पनि त यो सबै थाहा पाइराख्नु भएको छ नि । तपाईहरूलाई चाहिं कस्तो भइरहेछ ? साथीहरू, एक्काइसौं शताब्दीको यो दुनियांमा दस वर्ष जनयुद्ध र १९ दिन ऐतिहासिक जनआन्दोलन गर्ने महान् नेपाली जनतालाई बेबकुफ र मुर्ख ठान्दै स्वदेशी र विदेशी प्रतिक्रियावादीहरूले यतिबेला हामी नेपालीको नागरिक सर्वोच्चतामाथि खेलवाड गरेका छन् । दसदस वर्षसम्म नेपाली क्रान्तिको नेतृत्व गर्ने नेपाली शोषित-पीडित जनताको एकमात्र भरोसाको केन्द्र एकीकृत नेकपा माओवादीलाई घेरामा पारेर स्वाधीन र समुन्नत गणतन्त्रात्मक नयां नेपाल बनाउने अग्रगामी यात्रालाई रोक्ने कुचेष्टामा स्वदेशी तथा विदेशी प्रतिक्रियावादीहरू भयङ्कर षडयन्त्र गरिरहेका छन् यतिबेला । साथीहरू, हरियो घांसमा लुकेको विषालु सर्प बनेर जनतालाई झुक्काएर टोक्ने नेकपा-एमाले नामको समूह पुनः फंडा उचालिरहेको छ । राजतन्त्रको पछिल्लो प्रतिनिधि रुक्माङ्गत कटवाल नामको पात्रलाई अगाडि सारेर नेपाली काङ्ग्रेस नामको भारतीय दलालले नेपाली राष्ट्रियता र नेपाली जनताको नागरिक सर्वोच्चताको हकमाथि एकैसाथ प्रहार गरिरहेको छ। अहिले अन्तरिम संविधानलाई कागजको खोस्टो समान बनाइएको छ । १५ हजार जनताको सहादतबाट स्थापित संविधानसभालाई बेकम्मा बनाइएको छ । राष्ट्रपतिको कुर्सीमा आसिन रामवरण यादवलाई गोटी बनाएर देशद्रोही प्रतिगामीहरूले नागरिक सर्वोच्चतामाथि ठाडो हस्तक्षेप गरे । यसबारेमा संविधानसभामा छलफलसम्म गर्न नपाइने जस्तो अत्यन्त निकृष्ट कार्यलाई स्वागत गरेर यो देशका तथाकथित बुद्धिजीवी, कानुनविद र ठूला मिडियाहरूले आफ्नो सक्कली चरित्रको पर्दाफास गरेका छन् । यो भन्दा विडम्बना अरू के हुन सक्छ, होइन र ? यी सबै खबर तपाईंहरूले थाहा पाइसक्नु भयो नि। साथीहरू, नेपाली जनताले आफ्ना शत्रुलाई राम्ररी चिन्ने मौका पाएका छन् अहिले । यहांका पार्टीहरू यहांका तथाकथित बुद्धिजीवी र मिडिया हाउसहरू, सबै जनताका शत्रु र मित्रहरू दुवैको पहिचान भइसकेको छ यतिबेला । यसर्थ, अब चांडै नेपाली जनताहरू नागरिक सर्वोच्चता र राष्ट्रियताका लागि एउटा निर्णायक विद्रोह गर्दैछन् । यो सुखद खबर चाहिं तपाईंहरूले थाहा पाउनुभएको छ/छैन कुन्नि ? यही खबर तपाईंहरूलाई पठाउंदै छु । त्यताको खबर पनि पाउं है ?

–  JANADISHA DAILY.

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 16, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: