RSS

स्थानिय निकायका कर्मचारी आन्दोलित

18 Jul

विनोद ढकाल

गोरखा

सेवा सुविधा वृद्धि लगायत बिभिन्न माग राख्दै आन्दोलन गर्दै आएका स्थानिय निकायमा कार्यरत कर्मचारीहरुले जिल्ला विकास समिति चोकमा कोणसभा गरेका छन् । उनीहरुले विहान २ घण्टा स्थानिय निकायको काम ठप्प पारी कोणसभा गरेका हुन् । काणसभामा उनीहरुले आफ्ना मागहरु बारे जानकारी दिनुको साथै सरकारले संबोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताएका थिए । कोणसभालाई स्थानिय निकाय कर्मचारी संघका अध्यक्ष इश्वरी प्रसाद पनेरु र राष्ट्रिय कर्मचारी संगठनका कोषाध्यक्ष रिता अधिकारीले संबोधन गर्नुभएको थियो । कोणसभामा जिल्ला विकास समितिका कर्मचारी, गोरखा नगरपालिकाका कर्मचारी र गाउं विकास समितिका कर्मचारीहरु सहभागी थिए ।

त्यसैगरी स्थानीय निकायमा काम गर्ने विभिन्न ५ वटा संगठनहरुले शुक्रवार चितवनका स्थानीय निकायहरुमा २ घण्टा पेनडाउन गरेका छन् । आफूहरुले पेश गरेका विभिन्न मागहरु पूरा नगरेको भन्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रम स्वरुप उनीहरुले जिल्ला विकास समिति, नगरपालिका तथा सबै गाविस कार्यालयहरुमा विहान १० बजे देखि १२ बजे सम्म पेन डाउन गरेका हुन् ।

सहुलियत दरको रासायनिक मल नपाउंदा किसान मर्कामा

धादिङ

रोपाइंको सकिने बेलामा अनुदानको रासायनिक मल किन्न नपाउंदा धादिङका किसानहरु मर्कामा परेका छन् । सहुलियत दरको रासायनिक मल नपाएपछि किसानहरु बजारबाट महंगो मुल्यमा मल किन्न बाध्य भएका छन् । धादिङ जिल्लाको गजुरीमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेडले क्षेत्र नम्वर १ का लागि १० मेट्रिक टन युरिया, ५ मेट्रिक टन कम्प्लेसर र क्षेत्र नम्वर २ का लागि २५ मेट्रिक टन युरिया, १५ मेट्रिक टन कम्प्लेसर र क्षेत्र नम्वर ३ का लागि युरिया ४० र कम्प्लेसर २५ मेट्रिक टन उपलव्ध गराएपनि किसानले मल किन्न भने पाएका छैनन् ।

कृषि सामाग्री कम्पनीले क्षेत्र नम्वर २ का ३ वटा सहकारी र क्षेत्र नम्वर ३ का ७ वटा सहकारी संस्था मार्फत अनुदानको मल विक्रि वितरणको अनुमती दिइएको छ भने क्षेत्र नम्वर १ बाट कुनैपनि सहकारी संस्था सम्पर्कमा नआएको कम्पनीका गजुरी प्रशाखा प्रमुख रामचन्द्र केसीले बताउनुभयो ।

अनुदानको मल विक्रि गर्ने जिल्लाकै एकमात्र अनुमती प्राप्त सरकारी कार्यालय कृषि सामाग्री कम्पनीले किसानलाई नागरिकताको फोटोकपी लिएर एक वोराको दरले युरिया मल प्रति वोरा ६ सय ९६ रुपैंयामा उपलब्ध गराउंदै आएको छ ।

गोरखाका ६६ गाविस मध्ये ५१ गाविसमा सडक

गोरखा

गएको आर्थिक वर्षभित्र गोरखा जिल्लाको अधिकांश गाउं विकास समितिमा सडक पुगेको छ । जिल्लाको ६६ गाविस मध्ये ५१ वटा गाविसहरुमा सडक सञ्जाल विस्तार भएको छ ।

जिल्लाको क्षेत्र नंबर १ र २ का सबै गाविसहरुमा मोटर बाटो पुगेको छ भने तीन नंबर क्षेत्रको १५ वटा  गाविसमा सडक पुग्न नसकेको ११ किलो छेपेटार वारपाक सडक आयोजना कार्यालयले जनाएको छ । क्षेत्र नंबर १ मा  एउटा नगरपालिका १९ गाविस, दुई नंबर क्षेत्रमा २० र तीन नंबर क्षेत्रमा २७ वटा गाविसहरु रहेका छन् । सबैभन्दा माथिल्लो क्षेत्रमा पर्ने सिर्दिबास, ल्हो, प्रोक, बिही, चुञ्चेत, सामागाउं, छेकम्पार, केरौजा, काशिगाउं, मान्बु, उहिया, गुम्दा, लाप्राक, लापु गाविसमा भने अझै मोटर बाटोले छुन सकेको छैन । भौगोलिक बिकटता र आर्थिक अभावका कारण सो क्षेत्रमा सडक निर्माण हुन नसकेको  कार्यालयले जनाएको छ ।

पृथ्वीराजमार्गको बेनीघाटदेखि तीन नंबर क्षेत्रको मुख्य ब्यापारिक केन्द्र आरुघाट जोड्ने बेनीघाट-आरुघाट- आर्खेत मोटरबाटो निर्माण कार्य पनि गतवर्षदेखि सुरु भएको छ । यो आर्थिक बर्षपनि सो बाटोको लागि तीन करोड पचासलाख रुपियां बिनियोजन भएको छ ।

सडक बिभागले ११ किलो, छेपेटार, भालुस्वांरा, बारपाक सडक योजनाले छेपेटारमा कार्यालय स्थापना गरेपछि जिल्लामा सडक विस्तार भएको कार्यालयका जिल्ला इञ्जिनियर गणेशबहादुर कंडेलले बताउनुभयो । २०६४ सालको असोजमा सडक योजनाको कार्यालय स्थापना भएपछि द्रुत रुपमा काम गरेकोले जिल्लाभरि सडक विस्तार भएको उहांको भनाइ छ । कार्यालयले सडक विस्तार लगायत स्तरबृद्धि गर्ने काम पनि गरिरहेको  जनाएको छ । सडक विस्तार नभएको क्षेत्रमा पनि  विस्तार गर्दै जाने उहांले बताउनुभयो ।

नार हत्याका आरोपीलाइ कडा कारबाहीको माग

मनाङ

मनाङका वासिन्दाले नार हत्याकाण्ड पछि उत्पन्न परिस्थितिलाई ब्यवहारिक रुपमा समाधान गर्न माग गरेका छन् । विगतमा घटेका यस्ता घटनालाई स्थानीय प्रशासन, प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले ब्यवहारिक पक्ष हेरेर दोषीमाथि कार्वाही नगरेको भन्दै नार हत्याकाण्डमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका हुन् ।

हत्यामा सम्लग्न नार संरक्षण व्यवस्थापन समितिका अध्यक्ष, नार गाविसका पूर्व अध्यक्ष लगायत ३८ जनालाई प्रहरीले मुद्धा दायर गर्ने तयारी गरेपछि मनाङीहरुको यस्तो धारणा आएको हो । मनाङमा यार्सागुम्बा संकलन गर्ने समयमा यस्ता घटना घट्दै आएपनि सबैलाई व्यावहारिक रुपमा समाधान गरिदै आएको मनाङीको भनाई छ । वितगमा संवन्धित निकायले कानुनी पक्षलाई वेवास्ता गरेका कारण वर्षेनी यस्ता घटना घटेको उनीहरुले बताएका छन् ।

मनाङ समाज सेवा समितिका पूर्व उपाध्यक्ष टेकबहादुर गुरुङले नार घटना घट्नुमा प्रहरी प्रशासन, एक्पाप र स्थानीय संरक्षण समिति सबै बराबर दोषी भएको वताउनुभयो । संवन्धित निकाय विगतमा घटेका घटनाप्रति सम्वेदनशील भएमा घटना नदोहोरिने उहांको भनाई छ । हुम्डे वेलफेयर सोसाइटीका अध्यक्ष ग्याल्पो गुरुङले पटक पटक जिल्ला प्रशासन, प्रहरी र एक्यापलाई यार्सागुम्बा संकलन गर्ने समयमा विगतमा घटेका घटनाबारे अवगत गराउंदै कानुनको पालना गर्न स्मरण गराएपनि कुनै सुनुवाई नगरेका कारण यस्तो घटना दोहोरिएको वताए ।

प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीले उनीहरुमाथि मुद्वाको तयारी अन्तिम चरणमा पुगेका कारण कानुन अनुसार नै हत्यामा संलग्न माथि कार्वाही हुने वताउनुभएको छ ।

यार्सागुम्बा संकलन गर्ने क्रममा मनाङ बर्षेनी यस्ता घटना घट्दै आएका छन् । २०६० सालमा घ्यारु गाविसको जंगलमा बिनापूर्जी यार्सागुम्बा संकलन गर्न गएका गोरखाली र स्थानीय वासिन्दाको दोहोरो भिडन्त भएको थियो, एक गोरखाली घाइते भएका थिए । २०६४ साल जेष्ठ १२ गते चामे, नार र ताचै वगरछाप गाविसको संयुक्त लेक नाम्क्या खर्कमा बिना पूर्जी यार्सागुम्बा संकलन गर्न गएकालाई नियन्त्रण गर्न खोज्दा नार गाविसका पूर्वअध्यक्ष अध्यक्ष पेम्बा साङ्गे लामाको हत्या भएको थियो ।

बहुमुल्य जडिवुटी यार्सागुम्बा संकलनका लागि मनाङको नार गाविसस्थित नम्क्याखर्कमा पुगेका गोरखा केरौंजाका पांचजनालाई नारका वासिन्दाले गत जेठ २७ गते हत्या गरेका थिए भने दुईजनाको ज्यान जोगाउने क्रममा भीरवाट खसेर मृत्यू भएको थियो ।

१ लाख राहत दिन माग

उता अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाले मनाङको नार घटनामा मारिएका परिवारलाई प्रति परिवार १ लाख राहत उपलब्ध गराउने प्रतिवद्धता पछि पनि उपलब्ध नगराएको भन्दै तमुवान सघर्ष समिति गोरखाले विरोध जनाएको छ । अध्यक्ष धना तमुद्धारा आज जारी विज्ञप्तिमा आयोजनाले १ लाख राहत दिने भनेर २० हजार मात्र उपलब्ध गराएको भन्दै पहिलेको निर्णय बमोजिम सबै परिवारलाई राहत उपलब्ध गराउन आग्रह गरेको छ । समितिले उक्त निर्णयको अबज्ञा गरेमा कडा कदम चाल्ने चेतावनी दिएको छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 18, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: