RSS

पिडितलाई राहत देउ, पीडकलाई कारबाही गर

19 Jul

– विनोद ढकाल –

मनाङमा सामुहिक हत्या भएका केरौंजाबासीको परिवारलाई क्षतिपूर्ति दिन सरकारले उदासिनता देखाएको प्रति गोरखाका अधिकारकर्मीहरुको ध्यानाकर्षण भएको समाचार आएको छ । साथै मारिएकाहरुको शव तदारुकताका खोज्न र हत्यामा संलग्नलाई यथाशिघ्र कारबाही गर्न पनि माग गरिएको छ । बहुमुल्य जडिवुटी यार्सागुम्बा संकलनका लागि मनाङको नार गाविसस्थित नाम्क्याखर्कमा पुगेका गोरखा केरौंजाका सातजनालाई नारका वासिन्दाले गत जेठ २७ गते सामुहिक रुपमा विभत्स हत्या गरेका थिए। सो घटनामा परि ज्यान गुमाउने मध्ये नारको नाम्क्या लेकबाट अहिलेसम्म दुई जनाको मात्र शव भेटिएको छ ।

सो घटनालाई आपराधिक भन्दै मानवअधिकार तथा शान्ति समाज गोरखाका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य स्थानेश्वर दुवाडीले दोषीलाई उम्कन दिन नहुने बताए । ‘यस्तो अवस्थामा पीडकले राहत दिने कानून नभएकाले राज्यले नै पिडितलाई राहत र पीडकलाई कारबाही गर्नुपर्छ’ शान्तिसमाजका केन्द्रीय सदस्य तथा अधिवक्ता दुवाडीले भने ‘सो घटनामा परी ज्यान गुमाएकाहरुको छोराछोरीलाई राज्यले नै पढाउने र उचित राहतको ब्यबस्था गर्नुपर्छ ।’ मानव अधिकार सञ्जालका गोरखा जिल्ला अध्यक्ष ऋषि खनालले पनि यस्तो बिषयमा राज्य संवेदनशील हुनुपर्नेमा जोड दिए । ‘यस्तो बेलामा राज्य उदासीन हुनु हुदैन’ उनले भने ‘मृतकको आश्रीत परिवारलाई राहत र छोराछोरीलाई शिक्षादीक्षाको प्रबन्ध राज्यले नै गरिदिनु पर्छ ।’

‘आइएलओ अभिसन्धी १६९ अनुसार जल, जमीन, जंगल लगायतका स्थानीय स्रोत तथा सम्पत्तिमा आदिबासीको हक अधिकार लाग्ने भएपनि यसको उल्लंघन गर्नेको हत्या गर्नु अपराध हो’ इन्सेक जिल्ला प्रतिनिधि तथा ग्रामीण सुदृढिकरण केन्द्र गोरखाका अध्यक्ष भीमलाल श्रेष्ठ भन्छन् ‘मृत्युदण्डको कानून नभएको देशमा दोषीलाई हत्या गर्नु अपराध हो ।’ अपराधीलाई कानून अनुसार कारबाही गर्नुपर्ने उनको धारणा छ । पीडकलाई कारबाही र पिडितलाई न्याय र राहत दिनुपर्छ श्रेष्ठले भने । 

तमु छोंज धिंका गोरखा जिल्ला अध्यक्ष जगनसिं गुरुङले पनि अपराधी नछुटुन् भनेर स्थानीय प्रशासनलाई झक्झक्याइरहेको बताएका छन् । घटनाको खबर सुन्ने बित्तिकै गोरखाका प्रमुख जिल्ला अधिकारी र तमु छोंज धिं केन्द्रीय समिति मार्फत गृह प्रशासनमा ध्यानाकर्षण गराएको उनी बताउंछन् । ‘अपराधी कुनै पनि हालतमा छुट्नु हुदैन’ गुरुङको भनाइ छ । प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीले उनीहरुमाथि मुद्वाको तयारी अन्तिम चरणमा पुगेका कारण कानुन अनुसार नै हत्यामा संलग्न माथि कार्वाही हुने वताएका छन् ।

उता तमु मुक्ति मोर्चा संयुक्त संघर्ष समिति गोरखाले एक प्रेस बिज्ञप्ति जारी गरी मनाङको नारमा हत्या भएका गोरखा केरौंजाबासीको मुद्दाप्रति राज्य गम्भीर नभएकोमा दुख ब्यक्त गरेको छ । साथै नार क्षेत्रमा सञ्चालित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले हरेक मृतकको परिवारलाई एक लाख रुपियांको दरले राहत दिने भने पनि २० हजार रुपियां मात्र दिएकोमा आपत्ति जनाएको छ । साथै बिज्ञप्तिमा सहमति अनुसारको राहत नदिए आन्दोलन गर्ने जनाएको छ ।

नार हत्या काण्डमा ज्यान गुमाएका केरौंजाका प्रति परिवारलाई जिविस गोरखाले २५ हजार रुपियांका दरले र एक्यापले २० हजार रुपियांका दरले राहत उपलब्ध गराएको गोरखाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीले बताए ।

नार हत्याकाण्डको घटनालाई कानुनी रुपमा समाधान गर्न मनाङका बासिन्दाले पनि माग गरेका छन् । नार हत्याकाण्डमा सम्लग्न नार संरक्षण व्यवस्थापन समितिका अध्यक्ष, नार गाविसका पूर्व अध्यक्ष लगायत ३८ जनालाई प्रहरीले मुद्धा दायर गर्ने तयारी गरेपछि मनाङिहरूको यस्तो धारणा आएको हो । विगतमा पनि यार्सागुम्बा टिप्ने क्रममा यस्तै घटनाहरु हुने गरेको उल्लेख गर्दै मनाङिहरुले यस्ता समस्या पहिले नै स्थायी रुपमा समाधान भएको भए अहिलेको घटना नघट्ने दाबी गरेका छन् । मनाङमा यार्सागुम्बा संकलन गर्ने समयमा गत वर्षहरुमा पनि पटक पटक यस्ता घटना घट्दै आएपनि सबैलाई कानुनी रुपमा समाधान नगरी व्यावहारिक रुपमा समाधान गरिंदै आएकोले अहिले यो दुर्घटना घट्न पुगेको मनाङिहरुको निष्कर्ष छ ।

‘यस्तै घटना नदोहोरियोस भन्दै जिल्ला प्रशासन कार्यालयले यसपटक यार्सागुम्बा संकलनका लागि बाहिरी जिल्लाकालाई रोक लगाएको थियो’ जिल्ला प्रशासन कार्यालयका कर्मचारी गोविन्द शाहीले भने, ‘यार्सागुम्बा संकलन गर्न आएका गोरखा, धादिङ, रसुवा, चितवन, लमजुङ लगायतका मानिसले यार्सागुम्बा टिप्न पाउनु पर्छ भन्दै जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र एक्यापमा घेराउ गरेपछि यार्सागुम्बा संकलन गर्न दिइएको हो ।’ मनाङको धारापानी र थोचे बाहेक अन्य सबै गाविसमा यार्सागुम्बा पाइन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गठन गरेको संरक्षण समितिले अन्य गाविसमा बाहिरबाट आएकालाई समेत यार्सागुम्बा संकलन गर्ने पुर्जी बितरण गर्दै आएपनि नार र फू गाविसमा बाहिरका मानिसलाई यार्सागुम्बा संकलन गर्ने अनुमति दिईएको छैन । एक्यापले मनाङका १३ वटै गाविसमा संरक्षण समिति गठन गरेको छ ।

मनाङ समाज सेवा समितिका पूर्व उपाध्यक्ष टेकबहादुर गुरुङले नारमा घटना घट्नुमा प्रहरी, प्रशासन, एक्पाप र स्थानीय संरक्षण समिति सबै बराबर दोषी भएको वताउंछन् । ‘संवन्धित निकायले विगतमा घटेका घटनाप्रति सम्वेदनशील भएर सोचेको भए यस्ता घटना दोहोरिने थिएन’ उनको भनाई छ । यसैगरि, हुम्डे वेल फेयर सोसाइटीका अध्यक्ष ग्याल्पो गुरुङले पटक पटक जिल्ला प्रशासन, प्रहरी र एक्यापलाई यार्सागुम्बा संकलन गर्ने समयमा विगतमा घटेका घटनाबारे अवगत गराउंदै कडा नीति नियम बनाउन आग्रह गरेपनि कुनै सुनुवाई नगरेका कारण यस्तो घटना दोहोरिएको वताए ।

यार्सागुम्बा संकलन गर्ने क्रममा मनाङमा बर्षेनी यस्ता घटनाहरू घट्दै आएका छन् । २०६० सालमा घ्यारु गाविसको जंगलमा बिनापूर्जी यार्सागुम्बा संकलन गर्न गएका गोरखाली र स्थानीयवासिन्दाको दोहोरो भिडन्तमा एक गोरखाली घाइते भएका थिए । २०६४ साल जेष्ठ १२ गते चामे, नार र ताचै वगरछाप गाविसको संयुक्त लेक नाम्क्या खर्कमा बिना पूर्जी यार्सागुम्बा संकलन गर्न गएकालाई नियन्त्रण गर्न खोज्दा नार गाविसका पूर्वअध्यक्ष पेम्बा साङ्गे लामाको हत्या भएको थियो । हत्याको मुख्य अभियुक्त रामे चेपाङ अझै पक्राउ परेका छैनन् भने अन्य सहायक अभियुक्तहरू १० हजार रुपियांको धरौटीमा छुटेपनि हाल मुद्दा गुजारेर बसेका छन् ।

यि सवै तथ्यहरू केलाएर हेर्दा मनाङ समाज सेवा समितिका पूर्व उपाध्यक्ष टेकबहादुर गुरुङले भनेजस्तै नार घटना घट्नुमा प्रहरी, प्रशासन, एक्पाप र स्थानीय संरक्षण समिति सबै बराबर दोषी देखिन्छन् । मुलुकभरका सवैको आकर्षणको केन्द्रविन्दु वनेको यार्सागुम्वा संकलनमा कडाइ गर्ने भन्ने तर उचित नियम र व्यवस्थापन गर्न नसक्दा राज्य र जनताले अहिलेसम्म धेरै सास्ति र क्षति व्यहोरिसकेका छन् । यसक्रममा नार त एउटा प्रतिनिधी घटनामात्र हो, यस्ता कैयों घटनाहरू अझै गुपचुप रहेका छन् । मुलुकमा अहिले राजनैतिक आवरणभित्र दण्डहीनता मौलाउंदै गइरहेको छ । घटना चाहे जुनसुकै प्रकृतिको होस, दोषिले उन्मुक्ति पाउनु हुंदैन भन्नेकुरा व्यवहारमा भने केवल खोक्रो सिद्धान्त भइसकेको छ । यस घटनामा पनि यो वा त्यो वहानामा कसैले उम्कने अवस्था रह्यो भने यसले भविश्यमा झनै ठुलो अपराधलाइ प्रश्रय दिनेछ । यसर्थ भावि दिनहरूमा पनि त्यस्तो अवस्था नआओस भन्ने हो भने सम्वन्धित निकायहरूले समय छंदै पिडितलाइ तत्काल उचित राहत र क्षतिपुर्तिको व्यवस्था सहित यस घटनाका आरोपी अभियुक्तहरूलाइ कानुन वमोजिम कारवाही गर्नै पर्दछ । ष्पष्ट नितीनियमको अभाव रहिरहने र दण्डहीनता वढिरहने हो भने आगामी दिनहरूमा यस्ता घटनाले झनै विकराल रूप नलेलान् भन्न सकिन्न ।

 
5 टिप्पणीहरु

Posted by on जुलाई 19, 2009 in BLOG, SPECIAL

 

5 responses to “पिडितलाई राहत देउ, पीडकलाई कारबाही गर

  1. मुन्द्रे

    जुलाई 20, 2009 at 10:49 बिहान

    Yo ghatana ko sabai jimma ACCAP le linu parchha. Sthaniya Shrot sadhan ma masti garera Bideshi dalar samet Afu khanchha . Janata lai Murkha Banayeko chha. ACCAP le 1 lakh Haina 10,Lakh tirnu parchha, every mritak paribar lai.

     
  2. नीता पाठक, चितवन

    जुलाई 20, 2009 at 10:57 बिहान

    यो एक्याप भन्ने चिज के हो ? यसले स्थानीय श्रोत साधनमाथी किन मनपरि गरिरहेको छ ? यदि सामाजिक संरक्षणको काम गर्ने हो भने किन ष्पष्ट निती नियम वनाउंदैन ? यस घटनाको सवै क्षतिपुर्ति एक्याप वाटै भराउनुपर्छ । दोषीलाइ पनि हदैसम्मको कारवाही गर्नुपर्छ ।

     
  3. Anjita

    जुलाई 20, 2009 at 1:25 बेलुका

    हत्यारालाइ जसरि पनि सजायं हुनुपर्यो, यो वा त्यो वहानामा छुट्न भएन ।

     
  4. विश्व

    जुलाई 21, 2009 at 5:26 बिहान

    yo aparadh ko naya Charan ho accap ra hatyara haru sabai lai karbhai hunai parchha.

     
  5. chumban

    जुलाई 22, 2009 at 1:12 बेलुका

    Yesta Jaghanya Aparadh haru ma Yo kathaputali sarkar Sadhai Maunata Sadhera Baschha Tesaile Aba hami Afai Na Uthi Samasya ko Samadhan Hudaina. Tesai Pani 1/2 wata Banda Hadtal Nagari Samasya ko samadhan hune Chalan nai chhaina Nepal ma .

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: