RSS

‘मह काढ्दै हात चाट्दै गोजीमा पैसा’ किन विदेश जानु ?

20 Jul

-सूर्यचन्द्र बस्नेत, पोखरा –लेखनाथ ।

मह बनाउन फूलको रस खोज्न रनवन चाहार्ने मौरी जस्तै कडा मेहेनती कास्की लेखनाथ अर्घौचोकका ५३ वर्षिय टेकमान गुरुङ्ग वार्षिक पांच लाख रूपैयाको मह, घार र गोला बेच्छन् ।

कास्कीका अग्रणी मौरीपालक किसान टेकमान आफ्नो जीउभरि मौरी बसाउन सक्छन भने महको विक्री मात्र हैन मौरीपालनको तालिमसमेत दिने अग्रणी भएका छन् । घरमा मौरीपालनबारे देशका विभिन्न जिल्लाबाट आउनेहरूको धुइरो लाग्छ । ” मेरो त मुख्य खेती यही हो, वार्षिक पांच लाखको मह, घार र गोला बेच्छु,” टेकमानले भने ।

एउटा दाई वेलायत र अर्को भारतमा लाहुरे हुन गएपछि घर कुर्न बसेका कान्छा छोरा टेकमानले २०२८ सालतिर कृषि केन्द्र लुम्लेमा मौकाले एकदिने तालिम लिन पाए ।

जङ्गल र गाउंघरमा मौरी देख्दा हुरुक्कै हुने उनले कास्कीको धम्पुसको घर बेचेर तीन दशक अघि पोखरा झरे र साथमा ल्याएका थिए गाउकै घर खोपीमा पालेको मौरीको २६ माना मह ।

लेखनाथ आउनासाथ छिमेकीको घरको ढोकामा मौरी घार बसेको देखेपछि टेकमानले मागे । मौरीपालनको विगत कोटयाउादै टेकमानले थपे, ” मङ्सिरमा काढेको घार त फाल्गुनमा सात वटा बनाएं, घार बनाउन सिके, तालिम लिएं र व्यावसायिक उत्पादनतिर हानिएं ।”

टेकमानको मौरीपालनको निरन्तर साधनाले अगुवा मौरीपालक, प्रशिक्षक र किसानहरूको प्रेरणा स्रोत बन्नुका साथै मह बेचेर पनि लाखौ रूपैया कमाउन सकिने उदाहरण प्रस्तुत गरेका छन् । २०४५ सालतिर घारहरू र उत्पादन बढाउन थालेका उनले दशवर्ष अघिबाटै व्यावसायिक गति तीव्र पारे ।

स्थानीय सात घारबाट सुरु गरेका उनीसंग अहिले एपीसेरेना जातका आधुनिक दुइसय घार छन् । घरवरपर खेतबारीमा डेढ सय र चरन क्षेत्र पुग्दैन भनेर गाउंका चार पांच ठाउंमा अरु घार राखेका छन् । ” एकै ठाउंमा राख्दा चरन पुग्दैन, साथीभाइले हेर्न सिक्न पनि हुन्छ भनेर चरनको लागि ठाउं ठाउंमा घारहरू राखेको छु” टेकमानले भने ।

आधुनिक घार उनी आफैं बनाउंछन् । उनी वार्षिक १२० रूपैया पर्ने तीन सय बढी आधुनिक घार, २७ सय रूपैया पर्ने मौरीसहितको २७५ गोलाघार र प्रतिकेजी तीन सय रूपैया पर्ने मह चार सय केजी बेच्छन् । ” शुद्ध अर्गानिक मह हो सबै घरमै विक्री हुन्छ, कतै जान पर्दैन,” टेकमानले भने । ज्याला, सामग्री खर्च कटाएर तीन लाख बढी वार्षिक नाफा हुने उनले सुनाए ।

स्याङ्जा, पर्वत, कास्की, तनहुं, लमजुङ, बाग्लुङबाट मानिसहरू किन्न आउाछन् । मह डुलाएर विक्री गर्दा त्यसको गुण र स्वाद नष्ट हुंदै जाने उनको भनाई छ । किसान समूहलाई काठमाडौंबाट प्राविधिक बोलाएर र आफैपनि तालिम दिन गाउंगाउं डुल्छन् । गण्डकी र धौलागिरीका जिल्लाहरूमा तालिम दिन पुग्ने उनको क्याम्पस पढ्ने छोरीले पनि मौरी पालनको तालिम दिन्छिन् ।

एक घार मौरी पाले त्यसैबाट धेरै कुरा सिक्न सकिने बताउंदै टेकमान गुरुङ गाउंघरमा राम्रो आम्दानीको स्रोत मौरीपालन विस्तार गर्न किसानहरूलाई तालिम दिनुपर्ने कुरामा जोड दिन्छन् । मौमस राम्रो भए टेकमान वर्षमा छ पटकसम्म मह काढ्छन । आधुनिक एउटा घारमा २० र स्थानीय घारमा दश केजीसम्म मह उत्पादन हुन्छ । रानी मौरी राम्रो ग्राफिङ गरेको भए २५ केजीसम्म उत्पादन दिन्छ ।

इसीमोड र त्रिविविले गरेको एक अध्ययन अनुसार कास्कीमा २५ हजार घार पाल्न सकिने चरन क्षमता छ । फलफूलका बोटहरू अझै विस्तार गर्न सके मौरीपालनको लागि कास्की उर्वर ठाउं हो ।

नेपाल मौरी पालन सहकारी संघ कास्कीका कोषाध्यक्ष रहेका टेकमानका अनुसार मुढे, खोपी र आधुनिक गरी कास्कीमा नौ हजार ८५ घार छन् । त्यसमा आधुनिक घारको संख्या सातसय हाराहारी छ । खगे र भीरमौरी भने घट्दो छ ।

सदावहार फूल फूल्ने निरन्तर चरन क्षेत्रको कास्कीमा अभाव छ । कहिले डांडा जङ्गलतिर फूल फूल्छ भने कहिले समथर तिर । चरन घट्दा चिनीको चास्नी खुवाउनुपर्छ । एपीसेरेना जातमा रोगको खासै समस्या भने छैन् ।

वाथ हुंदा मौरीले टोकाउंछन् । विभिन्न रोग निको पार्न बच्चादेखि वृद्ध मह नै खान्छन् । मौरीले टोक्दा पनि रमाईलो लाग्छ । टेकमान भन्छन- ‘मह काढ्दै हात चाट्दै पैसा गोजीमा राख्न पाइन्छ, किन लाहुरे हुनु , किन विदेश जानु र सरकारकै मुख किन ताक्नु ?’

 
१ टिप्पणी

Posted by on जुलाई 20, 2009 in NEWS, SPECIAL

 

One response to “‘मह काढ्दै हात चाट्दै गोजीमा पैसा’ किन विदेश जानु ?

  1. ARjun MAlla

    जुलाई 21, 2009 at 5:55 बिहान

    ‘मह काढ्दै हात चाट्दै पैसा गोजीमा राख्न पाइन्छ, किन लाहुरे हुनु , किन विदेश जानु र सरकारकै मुख किन ताक्नु ?’
    Aba ta Hami Pani Kehi Garun ho sathi haru !

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: