RSS

संवैधानिक निकायको संरचना निर्धारण समितिको छलफलः कसले के भने ?

20 Jul

काठमाडौ  ।

निर्धारित समयभन्दा आधा घण्टा ढिलो गरी शुरु भएको संविधानसभाको आइतवारको बैठकमा संवैधानिक निकायको संरचना निर्धारण समितिको अवधारणपत्र र प्रारम्भिक मस्यौदासम्बन्धी प्रतिवेदन, २०६६ माथिको छलफल प्रारम्भ भयो ।

बैठकको प्रारम्भमै एकीकृत नेकपा माओवादीका नन्द कुमार प्रसाईंले मौजुदा आयोगलाई जनताप्रति बढी उत्तरदायी बनाउंदै नागरिकता र जडीबुटीसम्बन्धी थप आयोग बनाउन अपरिहार्य रहेको बताउनुभयो ।

नेपाली काङ्ग्रेसका गोपालमान श्रेष्ठले सहमति, सहकार्य, सहभागिता र सद्भावपूर्ण व्यवहारले मात्र मुलुकको नयां संविधान निर्माण हुने बताउनुभयो ।

नेकपा एमालेका रवीन्द्रप्रसाद अधिकारीले संविधानसभाको छलफलमा सभासद्को उपस्थिति कम हुंदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहांले आफ्ना कुरा लाद्ने र अरुका विचार नसुन्ने मुडे प्रवृत्तिका कारण जनता निश्चित समयमा संविधान नबन्लाकि भनी चिन्तित रहेको उल्लेख गर्नुभयो ।

नेकपा मालेका राजेन्द्र खेतानले आयोग थुप्रै बनाउनुभन्दा भएका आयोगलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा ध्यान केन्द्रित हुनुपर्ने राय व्यक्त गर्नुभयो ।

नेकपा संयुक्तका चन्द्रदेव जोशीले मौजुदा ११ आयोगलाई सवल र सुदृढीकरण गर्न नसक्दा मुलुकमा भ्रष्टाचारको गतिविधि मौलाउंदै गएको धारणा व्यक्त गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीकी लीला न्याइच्याईले गैरसरकारी संस्थाको सदस्य भएको व्यक्ति पराधीन मानसिकता बोकेको व्यक्ति हुने भएकाले त्यस्ता व्यक्तिलाई आयोगमा लैजान नहुने तर्क राख्नुभयो ।

नेपाली काङ्ग्रेसका नरहरि आचार्यले आयोगलाई यथास्थितिमा नभई वैज्ञानिक र जनताप्रति उत्तरदायीपूर्ण ढङ्गले सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

नेकपा एमालेकी लक्की शेर्पाले आयोगहरूलाई अधिकार सम्पन्न नबनाएसम्म आयोगको कुनै औचित्य नहुने जिकिर गर्नुभयो ।

नेकपा माओवादीकी दुर्गा जयन्ती राईले शिक्षा सेवा आयोग र कृषि सेवा आयोग पनि गठन गर्न माग गर्नु भयो ।

त्यसैगरी, नेपाली काङ्ग्रसकी अम्बिका बस्नेतले महिला आयोगलाई संवैधानिक आयोग बनाउनु पर्नेमा जोड दिनुभयो ।

नेपाली काङ्ग्रेसकै अमृतालाल राजवंशी र नेपाली जनता दलका विश्वनाथ अग्रवालले वातावरण आयोग अत्यावश्यक भएको बताउनुभयो ।

एकीकृत नेकपा माओवादीकी रेणुचन्दले उपेक्षित, दलित र अपाङ्गको हितमा गठित आयोगले सरकारलाई जवाफ दिनु सिवाय कुनै काम नगरेकाले ति आयोगहरूलाई जनताप्रति उत्तरदायी बनाउनपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका तीर्थराम डङ्गोलले आयोगको अध्यक्ष हुन शैक्षिक योग्यता वाध्यात्मक बनाउन नहुने धारण राख्नुभयो ।

एकीकृत नेकपा माओवादीका विनोद पहाडीले सूचना आयोगलाई संवैधानिक आयोग बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमालेका कृष्णप्रसाद सापकोटाले प्रादेशिक तहमा जनताको गुनासो सुन्ने व्यवस्था मिलाउन स्थानीय विकास आयोग गठन हुनुपर्ने बताउनुभयो ।

संविधानसभाको उनान्चासौं बैठकमा आज समितिको अवधारणपत्र र प्रारम्भिक मस्यौदा माथिको छलफलमा सभासद् ईश्वरी न्यौपाने, शान्ता चौधरी, राजकाजी गुरुङ, कुलप्रसाद नेपाल, रामजीप्रसाद शर्मा, शिवराम यादव, सीता गुरुङ, शान्तिदेवी चमार, बादशाह कुर्मी, शान्ति जिरेल, ज्वालाकुमारी शाह, विना ज्ञवाली, सुनिताकुमारी महत्तो र जोगीलाल महतोले पनि बोल्नु भएको थियो ।

संविधानसभाको अर्को बैठक साउन ५ गते सोमबार ११ बजे बस्ने भएको छ ।

व्यवस्थापिका संसदको बैठक

व्यवस्थापिका संसदको आइतवार अपराहृन बसेको बैठकमा एकीकृत नेकपा माओवादीका सांसद वर्षमान पुनले आफ्नो पार्टीले विगतदेखि नेपालमा नागरिक नभएर सैनिक सर्वोच्चता नै कायम रहेको पुष्टि भएको भन्दै हालै नेपाली सेनाले लेखेका दुईवटा चिठ्ठीमा नेपाल सरकार नभई श्री ५ को सरकार भनेर लेखेको फेहरिस्त प्रस्तुत गर्नुभयो ।

उहांले नेपाली सेनाले यसरी पटक-पटक श्री ५ को सरकार भनेर पत्राचार गर्दा समेत सरकार मुकदर्शक भएर बस्नुले सरकार सैनिक सर्वोच्चताको पक्षमै रहेको पुष्टि भएको आरोप लगाउनुभयो । उहांले अहिले सेना समायोजनसम्बन्धी विशेष समितिको पुनःगठन गरिएको समाचारप्रति आपत्ति जनाउंदै सो समितिको अध्यक्षमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभयो ।

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले जाजरकोट र त्यसको आसपासमा फैलिईरहेको झाडापखालाको नियन्त्रणका लागि सरकारबाट प्रभावकारी काम नभईरहेको गुनासो सर्वत्र आईरहेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहांले भारतबाट किसानहरूले मल आयात गर्ने क्रममा भएको झडपमा प्रहरीले अनावश्यक रुपमा बल प्रयोग गर्दा सप्तरीमा एक व्यक्तिको मृत्युभएकोमा दुःख प्रकट गर्दै यसको आवश्यक छानविनका लागि माग गर्नुभयो ।

नेकपा एमालेका यमलाल कंडेलले झाडापखाको प्रकोपको निदानका लागि सरकारले प्रभावकारी काम गर्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहांले एकीकृत नेकपा माओवादीले नागरिक सर्वोच्चताको कुरा गर्ने गरेपनि हिजो झापामा शान्तिपूर्ण सभा भईरहेका बखत सो पार्टीका कार्यकर्ताद्वारा नै ढुङ्गामुढा भएकोतर्फ सो पार्टीले कुनै प्रतिक्रिया नदिएकोप्रति आश्चर्य प्रकट गर्नुभयो ।

तराई मधेस लोकतान्त्रिक पार्टीका हृदयेश त्रिपाठीले देशमा दण्डहीनताका कारण र सरकारको वेवास्ताका कारण समाजिक संवेदनशिलतामा नै ह्रास आईरहेको बताउदै कमैया मुक्तको नौ वर्ष पूराभईसक्दा पनि उनीहरूको खाने बस्ने ठेगान नभएको प्रति सरकार तत्काल गम्भीर बनोस भन्नुभयो ।

एकीकृत नेकपा माओवादीका जनार्दन शर्माले सरकारले नेपाली सेनाको चाकरी गर्न व्यस्त रहेको, मुलुकमा व्याप्त महंगी र झाडापखालाको नियन्त्रणतर्फ सरकारले कुनै कदम चाल्न नसकेको बताउंदै सरकार लाचार भइरहेको र जनताप्रति सरकारको कुनै ध्यान नगएकोमा आक्रोश प्रकट गर्नुभयो । उहांले गाविसस्तरमा समेत स्वास्थ्य केन्द्र स्थापना गर्नेतर्फ सरकारले तत्काल ध्यान नदिएमा विरोध हुने बताउनुभयो ।

नेकपा मालेका तिलक थापामगरले मुगुमा सो पार्टीका जिल्ला सचिवको अज्ञात समूहले हत्या गरेको प्रति आपत्ति प्रकट गर्दै हत्यारा पत्ता लगाई कडा भन्दा कडा कारवाहीको माग गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रतिभा राणाले झाडापखालाका कारण आक्रान्त जनताका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउदै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको टिप्पणी गर्नुभयो ।

नेकपा संयुक्तका कल्पना रानाले जाजरकोट र यसको आसपासमा फैलिएको झाडापखाला हैजा हो या के कारणले नियन्त्रणमा आउन नसकेको हो भन्ने विषयमा स्वास्थ्यमन्त्रीले सदनलाई जानकारी गराउन र महंगीका कारण जनता अकुलव्याकुल भईरहेकाले सरकार यसको नियन्त्रणका लागि संवेदनशिल हुन माग गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापतिले सरकार शान्ति सुरक्षा कायम गर्न असक्षम भएको सिंहदरवारभित्रै नाराजुलुस हुंदा पनि सरकार मौन रहेको भन्दै जाजरकोटको झाडापखालाको तत्काल नियन्त्रणको माग गर्नुभयो ।

सद्भावना पार्टीका अनिलकुमार झा र राष्ट्रिय जनमोर्चाका रश्मीराज नेपालीले मध्य र सुदूर पश्चिमाञ्चलमा फैलिएको झाडापखाला नियन्त्रण गर्न सरकारले पर्याप्त ध्यान नदिएको तथा सप्तरीमा अनाहकमा प्रहरीले एक व्यक्तिको हत्या गरेकाले निष्पक्ष छानविनको माग गर्नुभयो ।

राष्ट्रिय जनशक्ति पार्टीका डा. प्रकाशचन्द्र लोहनीले झाडापखाला फैलनुको यथार्थ कारण पत्ता लगाउन सरकार उदासिन भएको, दिनहुं हेलिकप्टर यसै काममा ओहोरदोहोर गरे पनि रोग नियन्त्रणतर्फ ठोस पाइला चाल्न नसकिएकोले यस सम्बन्धमा यथार्थ विवरण स्वास्थ्य मन्त्रीले सदनमा प्रस्तुत गर्न माग गर्नुभयो ।

दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान र स्वतन्त्र सांसद सदरुल मियां हकले शान्ति सुरक्षाको स्थिति विग्रेको र सप्तरीमा प्रहरीले अत्यधिक बल प्रयोग गरेका कारण एक व्यक्तिको ज्यान गएकोले तत्काल क्षतिपूर्ति र छानविन गर्न माग गर्नुभयो ।

बैठकमा सभामुख सुवास नेम्वाङले मध्य र सुदूर पश्चिमका पहाडी जिल्लामा झाडापखाला फैलिएको र त्यसबाट भएको क्षतिका सम्बन्धमा सांसदहरूले प्रश्न उठाउनु भएकोले सो तर्फ स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गर्नुका साथै सप्तरीको गोलीकाण्ड प्रति गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

बिनियोजन विधेयक प्रस्तुत

व्यवस्थापिका संसदको आजको बैठकमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले विनियोजन विधेयक, २०६६ प्रस्तुत गर्नुभयो ।

उक्त विधेयकमाथि मन्त्रालयगत छलफल यही साउन ९ गतेदेखि हुनेछ । व्यवस्थापिका संसदको अर्को बैठक यही साउन ९ गते शुक्रवार दिनको १ बजे  बस्नेछ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 20, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: