RSS

शिक्षकहरु आन्दोलित

21 Jul

विनोद ढकाल / रेडियो गोरखा

शिक्षा मन्त्रालयसंग विगतमा भएका सहमतिहरु कार्यान्वयन गर्न माग गर्दै शिक्षक संघ संगठनहरुले आन्दोलन सुरु गरेका छन् । अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक युनियन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल विद्यालय कर्मचारी संघ लगायत विद्यालयसंग संबन्धित सबै संग संगठनले हिजो जिल्ला शिक्षा कार्यालय गोरखा घेराउ गरेका छन् । उनहरुले आज र भोली पनि धर्ना जारी राख्ने बताएका छन् । सरकारले आफुहरुको माग संबोधन नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् । 

उता नेपाल शिक्षक युनियन चितवनले आज जिल्ला शिक्षा कार्यालय चितवनमा धर्ना दिईरहेको छ । शिक्षामा राजनीतिकरण रोकिनुपर्ने, शिक्षा नीति परिवर्तन गरि अस्थाई शिक्षकलाई स्थाई गरिनुपर्ने, न्युनतम पारिश्रमिकमा कार्यरत बिद्यालयका कर्मचारीको सेवा, सर्त, सुविधा र स्थाईत्वको व्यवस्था गरिनुपर्ने, निजि बिद्यालय र त्यहा कार्यरत बिद्यालय कर्मचारीहरुको समुचित व्यवस्थापन तर्फ गंभिर हुनुपर्ने, संबैधानिक शिक्षक सेवा आयोग बनाई शिक्षा क्षेत्रलाई अन्योल ग्रस्त हुनबाट मुक्त गरिनुपर्ने, सामुदायिक बिद्यालयलाई समुदायमा हस्तान्तरण गर्ने प्रबृत्तिको अन्त्य गरिनुपर्ने लगायतका मागहरु राख्दै शिक्षक युनियन चितवनले आन्दोलन थालेको हो ।

युनियन संबद्ध चितवनका अधिकांश शिक्षकहरु विहान साढे ९ बजे देखि जिल्ला शिक्षा कार्यालय चितवनमा उपस्थित भएर धर्ना दिईरहेका छन् । हिजो भरतपुरमा पत्रकार सम्मेलन गरि युनियनले आन्दोलनको घोषणा गरेको हो । शिक्षक युनियनले राखेका २१ बदे मागहरु कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने युनियनका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताउनुभयो । युनियनले आन्दोलनका कार्यक्रम अन्तर्गत भोलि पनि जिल्ला शिक्षा कार्यालयमा तथा साउन ११ गते नेपाली कांग्रेसको पार्टी कार्यालयमा तथा १२ गते नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिने जनाएको छ ।

सवारी नियम पालना गराउन ट्राफिक र यातायात व्यवसायी सक्रिय

गोरखा

गोरखामा ट्राफीक नियम कडाई गराउन ट्राफिक प्रहरी, ब्यबसायी र यातायात मजदुरहरुले संयुक्त अभियान सञ्चालन गर्ने भएका छन ।

ट्राफिक प्रहरी, अखिल नेपाल यातायात मजदुर संघ र यातायात ब्यबसायी समिती गोरखाका प्रतिनीधीहरुको संयुक्त टोलीले भोलीदेखी नै सडकका विभीन्न ठांउमा बसेर ट्राफिक नियम पालना नगर्ने सवारी साधनलाई कारबाही सुरु गर्ने भएको गोरखाका प्रहरी निरीक्षक गोबीन्द कार्कीले बताउनुभयो ।

ट्राफीक नियमलाई कडाई गर्न ट्राफिक प्रहरीलाई सहयोग पुर्‍याउन यातायात मजदुरहरुलाई पनि संयुक्त टोलीमा खटाउने मजदुर संघका इश्वर केसीले बताउनुभयो । अभियान अन्तर्गत छतमा यात्रा गराउने र गर्ने दुबैलाई कारबाही शुरु गर्ने, ठुलो हर्न बजाउने, हेलमेट नलगाउने लगायतका नियम पालना नगर्नेलाई कारबाही हुने प्रहरीले जनाएको छ ।

गाउंलेले गाउं झिलिमिली बनाए

गोरखा, तनहुं

गोरखाको नाम्जुङ गाउं विकास समिति वडा नंबर २ धुशेनीवासीले आफ्नै पहलमा घरघरमा विजुली वाल्न सफल भएका छन् । गाउालेहरुले १० लाख रकम जुटाएर सहाहयक प्रशारण लाइन र नेपाल विद्युत प्राधिकरण, गाउं विकास समिति र जिल्ला विकास समितिको सहयोगमा मुख्य प्रशारण लाइन खरिद गरेपछि उनीहरुले बत्ति वाल्न पाएका हुन् । एक वर्ष अघि खम्बा गाडिएपनि उनीहरुले पर्याप्त पैसा जुटाउन नसक्दा आर्थिक अभावका कारण वत्तिको लाइन विस्तार गर्न नसक्दा उनीहरु अंध्यारोमा वसिराखेका थिए ।

गाउंमा विजुली वलेपछि विद्यार्थीहरुलाई पढ्मा सुविधा भएका छन् भने गृहिणी र घरेलु ब्यवसाय गर्नेहरुलाई पनि सजिलो भएको स्थानिय शिक्षक बेदप्रसाद अधिकारीले बताउनुभयो ।

यसैगरि तनहुं जिल्लाको कोटदरबार गाउं विकास समितिको बासिन्दाहरुले आफ्नै प्रयासमा गाउं झिलिमिली बनाएका छन् । जिल्लाको दक्षिणी भेगमा पर्ने यो गाविसमा स्थानियवासीको सहभागितामा हाल तीनवटा लघु जलविद्युत परियोजना सञ्चालन भएपछि गाउं झिलिमिली भएको हो ।

नेपाल विद्युत प्राधिकरणले विद्युतीकरणमा कुनै सक्रियता नदेखाएपछि स्थानियवासीले जिल्ला विकास समिति अन्तर्गतको जिल्ला उर्जा तथा वातावरण शाखाको प्राविधिक सहयोग तथा गाउं विकास समितिको आर्थिक सहयोगमा लघु जलविद्युत आयोजनाको निर्माण गरेका थिए । परियोजनाका लागि स्थानिय गाउंबासीले श्रमदान पनि गरेका थिए । लघुजलविद्युत परियोजना सञ्चालन भएपछि गाविसका ६ वटा वडाका प्रत्येक घरमा विजुली पुगेकेा र बांकी तीन वडामा पनि विद्युत पुर्‍याउन लागि पहल भैरहेको गाविस सचिव गुरुदत्त घिमिरेले बताउनुभयो ।

पीडितलाइ राहत 

मनाङ

मनाङको नारमा हत्या गरिएका गोरखा केरौजाका पिडित परिवारलाई मनाङका विभिन्न संस्थाहरुले आज आर्थीक सहयोग गरेका छन ।

मनाङका विभीन्न संघ सस्थांले कुल ३६ हजार ५ सय ५ रुपैया पिडीत परीवारलाई उपलब्ध गराएका हुन । सामुदायिक सेवा केन्द्र मनाङको आयोजनामा भएको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र, चामे आमा समूह चामे युवा क्लव  र  स्यालक्यू लघु जलविद्युत केन्द्र चामेबाट संकलीत सो रकम केरौजा गाविसका निवर्तमान अध्यक्ष सुक वहादुर गुरुङलाई हस्तान्तरण गरिएको हो । सामुदायिक सेवा केन्द्र मनाङका अध्यक्ष राजन कुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा सामुदायिक सेवा केन्द्रका संरक्षक प्रहरी नायव उपरीक्षक नल प्रसाद उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

बन्दीपुरमा पानीको हाहाकार

तनहुं

तनहुंको पुरानो सदरमुकाम तथा पर्यटकीय नगरी बन्दीपुरमा पानीको हाहाकार भएको छ । २ वर्ष अघि निर्माण सम्पन्न भएको स्थानिय खानेपानी आयोजनाले पानी वितरण गर्न छाडेपनि बन्दीपुर गाउं विकास समितिको वडा नंबर ३, ४, ५ र ६ का वासिन्दाले खानेपानी सेवाबाट वञ्चित भएका हुन् । घरमा पानी आउन छोडेपछि बन्दीपुर वासी पानी लिनको लागि डुम्रेबजार आउनुपरेको छ । उनीहरुले प्रतिलिटर १ रुपियांको दरले पानी किन्ने गरेका छन् ।

खानेपानी सेवा वन्द भएपछि स्थानिय मुलहरु पनि सक्न थालेका छन् । विश्व बैङ्क र स्थानिय उपभोक्ताको २ करेाड रुपियां लागतमा निर्माण गरिएको सो आयोजनाको धारा र मुहानको संरक्षण हुन नसक्दा पानी आपुर्ति हुन नसकेको स्थानिय दिपेश वानियांले जानकारी दिनुभएको छ । आयोजना निर्माण गर्ने संस्थाले गलत संरचना बनाएका कारण त्यसको तत्काल पुननिर्माण गरिनुपर्ने र सो का लागि बजेट नभएकोले आयोजना समेत अलपत्र भएको बन्दीपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो ।

२२ लाख रुपियां फ्रिज

लमजुङ

आर्थिक वर्ष ०६५/०६६ का लागी जिल्ला विकास समितिमा आएको रकम यस पटक पनि ठूलो मात्रामा फ्रिज भएको छ । ०६५/०६६ का लागी जिविस अनुदान अन्तर्गत २१ लाख ९१ हजार ३४ रुपैया ३३ पैसा फ्रिज भएको जिल्ला बिकास समिति लमजुङले जनाएको छ ।  जिल्ला विकास समितिका लेखापाल अमृत बगालेका अनुसार ग्रामिण सडक, खानेपानी लगायतका लागि आएको बजेट फ्रिज भएको हो ।

लमजुङबाट यस वर्ष करिव ४ करोड राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यलय लमजुङले जनाएको छ । कार्यलयका अनुसार आर्थिक वर्ष ०६५/०६६ मा ३ करोड ९७ लाख ३६ हजार राजस्व संकलन भएको हो । गत वर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा उल्लेखनीय वृद्धि देखिएका प्रमुख शिवराम महतले जानकारी दिनुभयो । उहांले गत वर्ष ३ करोड ५२ लाख ५१ हजार लमजुङबाट राजस्व संकलन भएकोमा यस वर्ष १२ प्रतिशतले वृद्धि भएको बताउनुभयो । 

फुटवल संघमा पुरानै समिति

लमजुङ

जिल्ला फुटबल संघको अध्यक्षमा विश्व पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ । तेस्रो साधारणसभाबाट उपाध्यक्षमा गोविन्द बस्नेत, कृष्ण विश्वकर्मा, परमेश्वर अधिकारी, महासचिबमा प्रविण कुमार कायस्थ र कोषाध्यक्षमा कृष्णजंग गुरुङ चयन भएका छन् ।

यस्तै सदस्यहरुमा खडग गुरुङ, दिलप्रसाद अधिकारी, चेत बहादुर गुरुङ, सिजन श्रेष्ठ, किशोर कुमार बस्नेत, रमेश के.सी., अजित अधिकारी, रामजी कंडेल र बसन्त थापा छन । साधारणसभाले मुख्य केन्द्रीय प्रतिनिधिमा अध्यक्ष विश्व पौडेललाई तोकेको छ भने प्रतिनिधिमा महासचिब प्रविण कुमार कायस्थ र कोषाध्यक्ष कृष्णजंग गुरुङ रहेका छन ।

प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेलले उद्घाटन गरेको कार्यक्रममा केन्द्रिय प्रतिनिधि एवं तनहूं जिल्ला फुटबल संघका अध्यक्ष रत्न कुमार श्रेष्ठ, नेकपा एमालेका कार्यालय सचिब धनञ्जय दवाडी, नेपाली काग्रेसका सभापती तुलसी नारायण श्रेष्ठ, निर्वाचन अधिकृत कृष्ण बहादुर अधिकारी र जिल्ला खेलकुद विकास समिति लमजुङका अध्यक्ष शुभाष पौडेलले जिल्लाको फुटबल खेलको विकासको लागि एकजुट भएर लाग्नु पर्ने वताउनुभएको थियो ।

लमजुङमा पुगे डेढलाख मतदाता

लमजुङ

लमजुङमा १८ बर्ष उमेर पुगेका मतअधिकार प्राप्त मतदाताको संख्या १ लाख ४५ हजार ७ सय ३६ रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार प्रारम्भिक चरणमा गाविसस्तरमा गरिएको मतदाता नामावली संकलन तथा पछि अद्यावधिक गरिएको तथ्याङ्क अनुसार गतवर्षको भन्दा यसवर्ष ३ हजार ५ सय ९९ घटेको छ । गतवर्ष १ लाख ४९ हजार ३ सय ३५ रहेको थियो ।

हरेक बर्ष हुने मतदाता नामावली अध्यावधिक गरिने प्रक्रिया अनुसार यस बर्ष प्रारम्भिक चरणमा बैशाख २ गतेदेखि २९ गतेसम्म गाविस स्तरबाट नामावली संकलन गरिएको थियो । लमजुङका ६१ गाविसमध्ये सवैभन्दा वढि गाउंशहर गाविसमा ६ हजार १ सय ७६ जना र सवैभन्दा कम धुसेनी गाविसमा १ हजार ४ सय ५८ जना मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सरदमुकाम वेसीशहरमा भने ५ हजार २ सय ७३ जना मतदाता रहेका छन् । विगतमा मतदाता संकलन गर्ने त्रुटी भएको र यस वर्ष त्रुटीरहित रुपमा नामावाली संकलन गरिएकाले पनि विगतको तुलनामा कम हुन गएको जिल्ला निर्वाचन अधिकारी प्रेमलाल लामिछानेले वताउनुभयो । नामावलीमा नाम समावेश गर्न वा त्रृटि सच्याउन छुट भएका व्यक्तिहरुले आगामी मंसिर १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा गई अध्यावधिक गर्न पाउने निर्वाचन उहांले बताउनुभयो ।

गाउंलेले कृषि सडक बनाए

गोरखा

गोरखाको गोरखा नगरपालिका वडा नंबर १० विरिञ्चोकको पानीट्याङ्कीदेखि बडहरे सम्मको कृषि सडक नगरपालिका र स्थानियवासीको पहलमा निर्माण सम्पन्न भएको छ । नगरपलिकाको ३ लाख रुपियां सहयोग र स्थानियवासीको ९८ हजार रुपियांको सहयोगमा सो वाटो निर्माण गरिएको हो । सडक निर्माणका लागि स्थानिय १ सय ३० घरले ७ सय रुपियांको दरले रकम संकलन गरेका थिए । सो सडक निर्माण पुरा भएपछि स्याउली बजारबाट विरिञ्चोकसम्म आइपुग्न ४ किलोमिटर दुरी छोटो पर्न जाने सडक निर्माण समितिका अध्यक्ष कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभएको छ ।   यसैगरि गोरखा नगरपालिकाको वडा नंबर १० को ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समितिको १२ किलो बजार क्षेत्रमा जिल्ला भु संरक्षण कार्यालयको सहयोगमा अम्रिसो रोपिएको छ । समितिको क्षेत्र नंबर ५ मा २० हजार वटा अम्रिसोको वेर्ना र ५० वटा निगालो वांस रोपिएको वन समितिले जनाएको थियो ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 21, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: