RSS

एनेकपा माओवादीको केन्द्रीय समिति बैठकमा लिइएका निर्णय तथा पारित प्रस्तावहरु

03 Aug

               एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

                    प्रेस-विज्ञप्ति

 हालै हाम्रो महान् तथा गौरवशाली पार्टी एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को केन्द्रीय समितिको बैठक आदरणीय अध्यक्ष क.प्रचण्डको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा अत्यन्तै शानदार एवम् भव्यतापूर्वक सम्पन्न भयो । यो बैठकमा लिइएका निर्णय तथा पारित प्रस्तावहरुबारे यो प्रेस-विज्ञप्ति मार्फत् निम्न अनुसार सार्वजनिक गरिएको छ :

१- सिंगो क्रान्ति, महान् जनयुद्ध र जनआन्दोलनका ज्ञात तथा अज्ञात सम्पूर्ण अमर शहीदहरुप्रति एक मिनट मौन धारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।

२- अध्यक्ष क.प्रचण्डद्वारा प्रस्तुत वर्तमान परिस्थिति र सर्वहारावर्गको ऐतिहासिक कार्यभार शीर्षक राजनीतिक तथा सांगठनिक प्रस्ताव निकै खुला, हार्दिक र सौहार्दपूर्ण वातावरणमा व्यापक छलफल तथा बहस गरी सर्वसम्मत रुपमा पारित गरियो । सो प्रस्तावका मूल विषयहरु निम्न अनुसार रहेका छन्ः

– क) प्रस्तावमा सर्वप्रथम अन्तर्राष्ट्रिय परिस्थितिको मूल्यांकन गरिएको छ । तदनुसार साम्राज्यवादी विश्वव्यवस्थाको केन्द्रका रुपमा रहेको संयुक्त राज्य अमेरिकामा विस्फोटित  बन्दै गएको चरम वित्तीय संकट र त्यसबाट पार पाउनका लागि उनीहरुले थोपर्न सक्ने भीषण युद्धविभीषिकामाथि ध्यान दिंदै विश्वका तमाम न्याय, समानता, शान्ति र स्वतन्त्रताका पक्षधर शक्तिहरु यस प्रकारको  संकट र युद्धविभीषिकाका विरुद्ध एकजुट बन्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

 – ख) प्रस्तावमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको विश्लेषण गर्दै तथा विश्वमा वस्तुगत परिस्थितिको तुलनामा कम्युनिष्ट आन्दोलनको आत्मगत अवस्था कमजोर रहे पनि अहिले पनि विश्वमा क्रान्ति नै मूल प्रवृत्ति रहेको कुरामाथि ध्यान दिंदै क्रान्तिलाई प्रभावकारी ढंगले अगाडि बढाउनका लागि विश्वभरिका क्रान्तिकारी मालेमावादी पार्टीहरुसंग आवश्यक सम्बन्ध कायम राख्ने कुरामा समेत जोड दिइएको छ ।

– ग) प्रस्तावमा राष्ट्रिय राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भएको, संविधानसभाको निर्वाचन मार्फत् नेकपा (माओवादी)ले अग्रता हासिल गरी सरकारको नेतृत्व गर्दै शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउने प्रक्रियामा अगाडि बढेको र नयाँ संविधानको निर्माण गर्ने प्रकृयालाई प्रभावकारी ढंगले आगाडि बढाउँदै लगिएको सन्दर्भमा त्यसका विरुद्ध वैदेशिक प्रतिक्रियावादको नाङ्गो हस्तक्षेपमा घोर दक्षिणपन्थी तत्वहरुको कठपुतली सरकार कायम गरिएको कुरा उल्लेख गरिएको छ । साथै, साम्राज्यवादी-विस्तारवादी शक्तिहरुसंग नेपाल राष्ट्र र जनताको आधारभूत अन्तर्विरोध तीब्र बन्दै जान थालेको कुराको उल्लेख गर्दै तत्काल दलाल, नोकरशाही पुँजीपति र सामन्तवर्गसंगको नेपाली जनताको अन्तर्विरोध प्रधान बन्न गएको कुरा दर्शाइएको छ । 

– घ) प्रस्तावमा माक्र्सवाद-लेनिनवाद-माओवाद/विचारलाई पथप्रदर्शक सिद्धान्त मान्ने, सामन्तवाद, साम्राज्यवादका विरुद्ध नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादको राजनीतिक कार्यदिशा तथा उद्देश्यसंग सहमत हुने विभिन्न क्रान्तिकारी कम्युनिष्ट पार्टी तथा समूहसंगको पार्टी एकता प्रकृयाको उल्लेख गर्दै त्यसको उच्च मूल्याङ्ककन गरिएको छ ।

– ङ) प्रस्तावमा पछिल्लो शान्तिप्रक्रियादेखि वर्तमानसम्म पार्टीमा देखापर्दै आएका समस्या, तिनका कारण र कमजोरीहरुबारे उल्लेख गर्दै तिनको मूल्याङ्कन तथा समाधान प्रस्तुत गर्ने काम भएको छ ।

– च) प्रस्तावमा पार्टीको तात्कालिक कार्ययोजनाको रुपरेखा निम्न अनुसार प्रस्तुत गरिएको छ :

जनआन्दोलन र संयुक्त मोर्चाबारे

1.  नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधीनता, शान्ति र नयाँ संविधान एवम् माओवादीको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार गठन लगायतका विषयहरुलाई लिई जनआन्दोलनलाई प्रभावकारी ढंगले अगाडि बढाउने ।

2.  जनपरिचालन र जनआन्दोलनलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाउनका लागि प्रथम, पार्टीको नेतृत्वमा विभिन्न जातीय तथा क्षेत्रीय मोर्चा र विशिष्ट व्यक्तित्व सहितको संयुक्त मोर्चा र द्वितीय, पार्टीको पहलमा सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त र नागरिक सर्वोच्चताका पक्षधर अन्य पार्टी, संघसंस्था तथा व्यक्तित्वहरुसंग बृहत्तर संयुक्त मोर्चाको निर्माण गर्ने ।

3.  संयुक्त मोर्चामार्फत जनआन्दोलन तथा अन्तरिम संविधानको भावना र मर्म अनुरुप जातीय तथा क्षेत्रीय स्वायत्त प्रदेश स्थापनाको घोषणा र स्थानीय निकाय गठनका कामलाई प्रभावकारी ढंगले अगाडि बढाउने ।

 नयाँ संविधानवारे

1.        जनताको संघीय गणतन्त्रमा आधारित सामन्तवाद, साम्राज्यवाद विरोधी संविधान बनाउने । यो संविधानमा राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानसहित देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई रक्षा र सुदृढ गर्न सक्ने तथा मजदुर, किसानलगायत  देशका सम्पूर्ण उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका जनसमुदायको अधिकार सुनिश्चित गर्न सक्ने संविधान निर्माण गर्ने ।

2.    संविधानले स्वायत्त प्रदेशलाई पर्याप्त जनवादी अधिकार प्रदान गर्ने कुरालाई सुनिश्चित गर्दै नेपालको संवेदनशील भू-राजनीतिक स्थिति, जनसंख्याको वितरणको विशिष्ट स्थिति र समाजवाद उन्मुख हुनुपर्ने प्रमुख आवश्यकतालाई ध्यानदिई केन्द्रमा पनि समुचित रुपले बलियो कार्यकारी अंग निर्माण गर्ने प्रश्नलाई गंभीरतापूर्वक लिई जनवादी केन्द्रीयताको पद्धतिलाई सुदृढ गर्ने । संविधानमा नेपाली विशेषतासहितको संघीयता तथा स्वायत्त प्रदेश र केन्द्र दुवैमा मजदुर, किसान लगायत उत्पीडित वर्गको प्रतिनिधित्व र नेतृत्वमा प्रथामिकता पाउने कुरा सुनिश्चित गर्ने । स्वायत्त प्रदेशहरुको नेतृत्वका हकमा पहिलो निर्वाचनमा अग्राधिकार सुनिश्चित गर्ने तर त्यस पछि प्राथमिकतामा लैजाने नीति लिने ।

3.   राष्ट्रपतिको निर्वाचन जनताको प्रत्यक्ष मतदानद्वारा हुनु पर्ने निर्णय लिइएको छ ।

३- संगठन र संघर्षका प्रश्नमा निम्न अनुसारका निर्णयहरु लिइएका छन् :

1.  संगठनात्मक प्रस्तावमा पार्टीको विधान संशोधन गरिएको छ । खासगरी बदलिंदो परिस्थितिलाई ध्यानमा राखी पार्टीमा जनवादी केन्द्रीयता, सामूहिक निर्णय र एकीकृत सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति लगायतका विषयलाई अझ व्यवस्थित र सुदृढ बनाउनका लागि अध्यक्ष कमरेडको नेतृत्वमा बहुपदीय व्यवस्था तय गरिएको छ । जस अनुसार उपाध्यक्षहरुमा क्रमशः क.मोहन वैद्य (किरण), क.डा.बाबुराम भट्टराई, क.नारायण काजी श्रेष्ठ (प्रकाश), महासचिवमा क.राम ब.थापा (बादल), सचिवद्वयमा क.चन्द्र प्र.गजुरेल र क.पोष्ट ब.बोगटीलाई सर्वसहमतिले चयन गरिएको छ र एवम् प्रकारले पदाधिकारीहरुको कार्यविभाजन पनि गरिएको छ ।

2.  सचिवालयको पदावली परिवर्तन गरी स्थायी समिति नामाकरण गरिएको छ ।

3.  हालै पार्टीका नेता तथा कार्यकर्ताहरुको आर्थिक आचरण सम्बन्धमा छानविन गर्न उच्च स्तरीय छानबिन आयोग उपाध्यक्ष क.मोहन वैद्य (किरण) को अध्यक्षतामा गठन गरिएको छ । यस आयोगको कार्यअवधि ३ महिना तोकिएको छ ।

4.   मिथिला, भोजपुरा र अबध राज्यलाई मिलाएर मधेश राज्य समन्वय समितिको गठन गरिएको छ ।

5.   क.कृष्णदास श्रेष्ठको अध्यक्षतामा गठित केन्द्रीय सल्लाहाकार समितिमा केही सदस्यहरु थप गरिएको छ ।

6.   पार्टीका नेता तथा कार्यकर्ताहरुको सर्वहारावर्गीय जीवन शैलीमा आइरहेको ह्रासोन्मुख स्थितिलाई ध्यानमा राखी १५ बुँदे आचार संहिता पारित गरिएको छ ।

7.  राणाशासन विरोधी आन्दोलनमा शहादत प्राप्त ललितपुरका हरि बहादुर खड्कीलाई सहिद घोषणा गर्नुका साथै पूर्व बंगला सर्वहारा पार्टीका तात्कालीन महासचिव तथा रिमका सदस्य समेत रहिसक्नु भएका बंगलादेशका क.अरुणको हालै असमायिक निधन भएकोमा वहांप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरियो ।

8.  हालै भारतको लालगढमा गरिएको फौजी दमन र श्रीलंकाको तमिल जातिको मुक्ति आन्दोलनका विरुद्ध गरिएको दमनको विरोध गरिएको छ । त्यसैगरी नेपालका सीमावर्ती क्षेत्रहरुमा गरिएको सीमा अतिक्रमणको विरोध गरिएको छ । त्यसैगरी सरकारले संविधानको भावना र दलीय सहमतिका विपरीत स्थानीय निकाय सम्बन्धी संयन्त्र बनाएकोमा त्यसको विरोध गर्दै अविलम्ब दलीय सहमति र समानुपातिक प्रतिनिधित्वको आधारमा स्थानीय अन्तरिम निकाय गठन गर्न जोड दिने लगायत ५ बुँदे सम-सामयिक प्रस्तावहरु पारित गरियो ।

9.  नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधीनता, राष्ट्रपतिको अवैधानिक कदम, महंगी लगायतका जनजीविकाका प्रश्न, स्वायत्त गणराज्यहरुको स्थापना, स्थानीय निकायहरुको गठन, माओवादी नेतृत्वमा राष्ट्रिय संयुक्त सरकारको गठन लगायतका विषयहरुलाई लिएर सशक्त जनआन्दोलन उठाउने निर्णय गरिएको छ । यस सम्बन्धी ठोस कार्ययोजना छिट्टै गठन हुने संयुक्त मोर्चा मार्फत् सार्वजनिक गरिनेछ ।

जाजरकोट, रुकुम लगायतमा फैलिएको महामारी नियन्त्रण सहयोगार्थ स्थायी समिति सदस्य क.गिरिराज मणि पोख्रेलको नेतृत्वमा त्यस क्षेत्रमा सभासदहरु सहितको एउटा जनस्वास्थ्य अभियान टोली गठन गरिएको छ ।

अन्तमा, असाधारण परिस्थितिमा सम्पन्न केन्द्रीय समितिको यो वैठक एकता-संघर्ष र रुपान्तरणका बीचबाट पार्टीलाई नयाँ आधारमा एकताबद्ध तुल्याउन र नयाँ उचाइमा आधारित यो प्रस्ताव पारित गर्न असाधारण रुपमा शानदार ढंगले समृद्व बन्न गएको कुराको उल्लेख सहितको सारगर्भित मन्तव्य प्रस्तुत गर्दै अध्यक्ष क. प्रचण्डद्वारा बैठकको समापन गरियो । 

हाम्रा नाराहरु :

·      मार्क्सवाद-लेनिनवाद-माओवाद / विचार  जिन्दावाद !!

·     महान् सर्वहारा अन्तराष्ट्रियवाद जिन्दावाद !!

·     विश्व साम्राज्यवाद तथा विस्तारवाद मूर्दावाद !!

·     नयाँ जनवादी क्रान्ति जिन्दावाद !!

·     जनताको संघीय गणतन्त्रको स्थापना गरौं !!

·     राष्ट्रिय स्वाधीनताको रक्षा गरौं !!

·     राष्ट्रघाती प्रतिक्रान्तिकारी षडयन्त्रको भण्डाफोर गरौं !!

·     सम्पूर्ण वामपन्थी देशभक्त र गणतन्त्रवादीहरु एकजुट होऔं !!

·     एकिकृत नेकपा (माओवाद) जिन्दावाद !!

·     महान् शहिदहरु लाल सलाम !!

 

मितिः- १८ श्रावण २०६६         

                                               …………………………..

                                                      प्रचण्ड

                                                      अध्यक्ष

                                           एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)      

                                                      केन्द्रीय समिति

                                       प्रेस-विज्ञप्ति -२

हाम्रो गौरवशाली पार्टी, एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को केन्द्रीय समितिको पूर्ण बैठक, सफलतापूर्वक सम्पन्न भएको कुरा हामी सहर्ष जानकारी गराउन चाहन्छौं । देशको राजनीति महान् सम्भावना र गम्भीर चुनौतिको उत्सर्ग र उन्मुख भइरहेको संगीन स्थितिमा सञ्चालन भएको यो बैठकलाई सम्पूर्ण पार्टी पंक्ति, समर्थक र आमनेपाली जनताले गम्भीर सकरात्मक चासोका साथ, देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरुले पनि गम्भीरताका साथ आ-आफ्नो कोणबाट हेरिरहेका र यो बैठकलाई बाहिरबाट प्रभावित गर्ने प्रयत्न समेत गरिरहेका थिए । महान् पार्टीलाई विभाजित गर्ने र फुटाउने हरेक कसरतलाई पराजित गर्दै, आन्तरिक जनवादको शानदार प्रयोगद्वारा  वैचारिक, राजनीतिक छलफल र अन्तरसंघर्षलाई व्यवस्थित रुपले अघि बढाउंदै, यो बैठक विचार, राजनीति, संगठन र भावी कार्ययोजनाको उच्चस्तरको संश्लेषण गर्न सफल भएको छ । अन्तमा, यो ऐतिहासिक बैठकले निम्नअनुसारका प्रस्तावहरु पारित गरेको छ :

१.    केही महिनादेखि पश्चिमका जाजरकोटलगायतका ११ जिल्लामा फैलिएको झाडावान्ताको महामरीले २०० जनाभन्दा बढी व्यक्तिहरुको ज्यान लिइसकेको छ र अझै त्यो घातक महामारी नियन्त्रणमा आउन सकेको छैन । हाम्रो पार्टीको आफ्नै पहल र पार्टीले दिएको दबाबकै कारण यो कठपुतली सरकारले पीडितको उपचार र घातक महामारी नियन्त्रणको जेजति काम भएको छ, त्यो नगण्य छ । देशमा महामारी फैलिएकै मौकामा स्वास्थ्यमन्त्री विदेश भ्रमणमा जानु, मन्त्री र डाक्टरहरु हेलिकप्टरमा जानु तथा औषधी खच्चरमा पठाउनु, स्वास्थ्यकर्मी र औषधी सदरमुकामबाट प्रभावित क्षेत्रमा नलैजानु, रोग नियन्त्रण आइसकेको घोषणा गरिसकेपछि पनि लगातार मृत्युका घटना भइरहनु, खटिएका उपचारकर्मी नै आफूलाई रोग सर्ला भन्ने डरले भाग्नुजस्ता घटनाहरुले यो कठपुतली सरकारको गैरजिम्मेवारीपूर्ण र नालायकीपनको पुष्टि गरेका छन् । हामी यसको भर्त्सना गर्दछौं । राज्यका सबै सधान, स्रोत परिचालन, अविलम्ब रोगीहरुको उपचार, महामारीको नियन्त्रण, खाद्यन्नको व्यवस्था र प्रत्येक मृतकको एक लाखका दरले परिवारलाई राहात प्रदान गर्न यो सरकारसाग हामी जोडदार माग गर्दछौं । यसका साथै राष्ट्रिय विपदको यो घटनामा हामी हाम्रो पार्टी, जबस मोर्चा, समर्थक र आम जनसमुदायलाई पनि आ-आफ्नो ठाउंबाट अविलम्ब सहयोमा जुट्नपनि अपील गर्दछौं ।

२.    आज हाम्रो देशको सार्वभौम सत्ता र अखण्डतामाथि गम्भीर खतरा भइरहेको छ । स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरु शान्ति प्रक्रिया भांड्ने, नयां संविधान बन्न नदिने, सेना समायोजन हुन नदिने र देशलाई गृहयुद्धमा धकेल्ने काममा सुनियोजित ढंगले लागेका छन् । यो कठपुतली सरकारका रक्षामन्त्रीले यस महिनाको ५-११  गते गरेको भारतको सरकारी भ्रमणका बेलामा भारतबाट हतियार भित्र्याउन गरेको सहमति यसैको एउटा कडी हो । एकातिर, रक्षामन्त्री र अन्य मन्त्रीहरु हतियार आयात गर्ने सहमति भएको कुरा सार्वजनिक गरिरहेका छन् भने अर्कोतिर प्रधानमन्त्री यस्तो सहमति नभएको भनी सदन र नेपाली जनतालाई ढांटी रहेका छन् । कुनै पनि किसिमको हतिार भित्र्याउने, कनै पनि सहमतिलाई खारेज गरी हतियार नभित्र्याउन यो सरकारलाई चेतावनी दिन चाहन्छौं । यदि त्यसो गरिएन भने त्यसबाट उत्पन्न सबै परिणामको जिम्मेवार यही सरकार हुने कुरा पनि हामी जानकारी गराउन चाहन्छौं ।

३.    हाम्रो पार्टीका नेता र कार्यकर्तामाथि सांघातिक हमला र हत्याका श्रृंखला निकै बढेर गएका छन् । यसका पछाडि स्वदेशी तथा विदेशी प्रतिक्रयावादी शक्तिहरुको हात रहेको पुष्टि भएको छ । यही श्रावण १० गते रौतहट जिल्लाको चांदी खोला नजिकै हाम्रो पार्टीका राज्य समितका सदस्य र YCL केन्द्रीय सदस्य लक्ष्मण राय यादव क. हिमालको हत्या यसको सजिव प्रमाण हो । हत्याराहरुलाई अविलम्व कारबाही गर्न, क. लक्ष्मण राय यादवलाई तुरुन्तै शहिद घोषण गर्न र शहिदका परिवारलाई अविलम्ब क्षतिपूर्ति रकम उपलब्ध गराउन हामी जोडदार माग गर्दछौं । यी मागहरु पुरा नगरिएमा हामी संघर्षमा उत्रन बाध्य हुने कुरा समेत जानकारी गराउन चाहन्छौं । यस प्रकारका हमला र हत्याका हर्कत नगर्न हामी चेतावनी पनि दिन चाहन्छौं ।

४.    कठपुतली सरकारको गलत आर्थिक नीति र सरकारका माथिल्लो निकायमा रहेका व्यक्तिहरुो कालाबजारी र कमिशनखोरहरु संगको सांठगांठका कारण यतिबेर इतिहासमै नभएको चर्को मूल्यवृद्धि जनताले व्यहोर्नु परिरहेको छ । नयां बजेट प्रस्तुत गरेपछि मात्र कतिपय दैनिक उपभोग्य वस्तुहरुमा ३० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । यो मुल्य वृद्धिको असर समग्र आर्थिक जीवनमा विस्तार हुंदै गएको छ । यो आकाशिएको मूल्य वृद्धि तुरुन्त नियन्त्रण गर्न हामी जोडदार माग गर्दछौं ।

५.    अमेरिकी साम्राज्यवादले थुपारेका असीमीत परमाणु हतियारको सामना गर्ने नाममा र आफ्नो साम्राज्यवादी उद्देश्य समेत पुरा गर्नका लागि अन्य शक्तिशाली राष्ट्रहरु समेत परमाणु हतियारको होडमा सामेल भएका छन् र यतिखेर विश्वभरि नै हतियारको विभीषिकाको सन्त्रास फैलाइरहेका छन् । यसै निहुंमा अमेरिकी साम्राज्यवादले उत्तरकोरिया माथि लागु गरेकेा नाकाबन्दी अन्यायपूर्ण र भेदभावपूर्ण छ । यो नाकाबन्दी तुरुन्त हटाउन हामी जोडदार माग गर्दछौं र अन्तर्राष्ट्रिय रुपमा नै यसको निमित्त दबाब सृष्टि गर्न हामी सबैलाई आहृवान गर्न चाहन्छौं । हामी कुनैपनि राष्ट्रसंग परमाणू हतियार हुनु हुंदैन र भएका सबै हतियार नष्ट गरिनुपर्छ भन्ने पक्षमा छौं ।

     

मिति : २०६६ साउन १६ गते

                                                            पुष्पकमल दाहाल ‘प्रचण्ड’

                                                                     अध्यक्ष

                                                     नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

                                                                  केन्द्रीय समिति

 

                                         १५ बुँदे आचार संहिता

एकीकृत ने.क.पा.(माओवादी)को केन्द्रिय तदर्थ समितिका सदस्यहरूले पालना गर्नुपर्ने आचारसंहिता :

१. के.स.का सबै सदस्यहरू क्रान्तिको स्वार्थप्रति एकनिष्ठ पूर्णकालीन पेशेवर क्रान्तिकारी हुनुपर्दछ ।

२. केन्द्रीय सदस्यहरू पार्टीले खटाएअनुसार जहिले पनि र जहाँ पनि विनाशर्त काम गर्न तयार रहनुपर्दछ । पार्टीमा आफ्नो कामको रुचीको फाँट राख्न सकिनेछ । तर व्यक्तिगत सुविधालाई केन्द्रमा राखेर जिम्मेवारी माग गर्न पाइनेछैन ।

३. केन्द्रीय सदस्यहरू पार्टीको निर्णय र योजनामा बाहेक कुनै पनि आर्थिक उपार्जनका काममा संलग्न रहनु हुँदैन ।

४. सबै केन्द्रीय सदस्यहरूले आर्थिक मितव्ययिता अपनाउनुपर्दछ । आय/व्ययको विवरण पार्टी समक्ष पारदर्शी गर्ने र प्रत्येक तीन महिनामा सोको विवरण केन्द्रीय कार्यालयलाई बुझाउनु पर्नेछ ।

५. के.स.का सदस्यहरू पार्टीको विशेष योजना अन्तर्गत निर्णय गरिएको अवस्थामा बाहेक आइ.एन.जी.ओ. र एन.जी.ओ.मा संलग्न हुनुहुँदैन । 

६. कुनै पनि केन्द्रीय सदस्य जाती, वर्ण वा रंगको आधारमा छुवाछुत वा त्यसप्रकारको कुनै पनि भेदभावको कार्यमा संलग्न हुनुहुँदैन । त्यसलाई अपराधको रूपमा लिई पार्टी कार्वाहीको विषय बनाइनेछ ।

७. केन्द्रीय सदस्यहरूले एकाघरको परिवारको आर्थिक स्थिति र कारोवार पार्टी समक्ष पारदर्शी ढंगले राख्नुपर्दछ ।

८. केन्द्रीय सदस्यहरूले आफ्नो कार्यक्षेत्रमा नै मुकाम कायम गर्नुपर्दछ । कार्यक्षेत्रबाहेक अन्यत्र डेरा लिन पाइनेछैन ।

९. केन्द्रीय सदस्यहरूबाट भ्रष्टाचार, तस्करी, पार्टीको नाममा आफ्ना लागि गोप्य आर्थिक चन्दा संकलन गरिएको पाइएमा त्यसलाई अत्यन्त गम्भीर अपराधको रूपमा लिई कडा कार्वाहीको प्रक्रियामा लगिनेछ ।

१०. केन्द्रीय सदस्यहरूले सर्वहाराकरण र सांस्कृतिक रूपान्तरणको समग्र पक्षलाई आत्मसात गर्दै त्यसअनुकूल आफूलाई रूपान्तरण गर्दै लैजानुपर्दछ र त्यसक्रममा निजी सम्पति पार्टीकरण गरी भौतिक सर्वहाराकरण समेत गर्नुपर्दछ । सबै केन्द्रीय सदस्यहरूले आफ्नो सम्पत्ति पार्टीलाई बुझाउनुपर्दछ ।

११. केन्द्रीय सदस्यले पार्टीको खर्चमा विदेश र महंगा निजी एवं आवासिय विद्यालयहरूमा छोराछोरीलाई पढाउन पाइने छैन ।

१२. स्थायी समितिका सदस्यहरूले गाडी प्रयोग गर्न पाउने छन् । राज्य कार्यालयहरूमा कार्यालयको उपयोगको लागि एउटा गाडी राखिनेछ । के.स.हरूले आवश्यक परेको खण्डमा मोटरसाइकल प्रयोग गर्न सक्नेछन् ।

१३. स्थायी समितिका सदस्यहरूले १ जना ड्राइभर र अन्य २ जना सहयोगी राख्न पाउने छन् । पी.बी.एम.हरूले १ जना सहयोगी राख्न पाउनेछन् । सुरक्षा स्थितिलगायतका विशेष कारणबस अन्य कसैलाई गाडी वा सहयोगी अत्यन्त आवश्यक भएमा केन्द्रीय कार्यालयको अनुमतिमा गर्न सकिनेछ ।

१४. केन्द्रीय सदस्यका एकाघरका परिवारका सदस्यहरू पार्टी वा पार्टीसँग सम्बन्धित कुनै न कुनै संगठनमा आबद्ध भई क्रियाशील हुनुपर्दछ ।

१५. केन्द्रीय पदाधिकारीहरूले २ महिनामा १ दिन र अन्य सबै के.स.स.हरूले महिनाको १ दिन शारिरीक श्रममा भाग लिनेछन् ।

  ‘एकीकृत जनस्वास्थ्य अभियान’को पांच वुंदे कार्यक्रम

एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रीय समितिले गरेको निर्णय अनुरुप मध्यपहाडी र सूदूर पश्चिम नेपालका जाजरकोट, रुकुम, डोल्पा, डडेल्धुरा, सुर्खेत, दैलेख लगायत विभिन्न जिल्लामा देखापरेको झाडापखाला र हैजा नियन्त्रण गर्न ‘एकीकृत जनस्वास्थ्य अभियान’ सञ्चालन गर्न आज सिंहदरबारमा बसेको बैठकले गरेका निम्न निर्णयहरु सार्वजनिक गरिएको छ ।

१) जाजरकोट, रुकुम, डोल्पा, दैलेख, कालीकोट र सुर्खेतमा पहिलो चरणमा सांसद्को नेतृत्वमा १० वटा टोलीहरु यथाशिघ्र पठाइने छ । यस टोलीमा स्वास्थ्यकर्मी का साथै स्वयंसेवकहरु सामेल गरिनेछ । अन्य जिल्लामा दोस्रो चरणमा पठाइने छ ।

२) टोलीले जिल्लामा गएर जिल्ला प्रशासन, जनस्वास्थ्य कार्यालय, राजनैतिक दलहरु र नागरिक समाजसंग समन्वय गरी प्राथमिक स्वास्थ्य, खानेपानी, खाद्य सामाग्री र जनचेतनाको एकीकृत अभियान सञ्चालन गर्नेछ ।

३) जाजरकोट र रुकुमको विग्रंदो अवस्थालाई दृष्टिगत गरी पोलिट्व्यूरो सदस्य क. प्रभाकरलाई त्यहां पठाइने छ ।

४) सुर्खेत र दिपायलमा रहेका क्षेत्रीय स्वाथ्य निर्देशनालयहरुसंग समन्वय गर्ने जिम्मा क्रमशः क. मंगल विश्वकर्मा र क. धर्मेन्द्र वास्तोलालाई दिइएको छ ।

५) सरकारी र गैरसरकारी क्षेत्रका विभिन्न संघ संस्थासाग संयोजन गर्न क. गिरिराजमणि पोखरेल, क. दिनानाथ शर्मा, क. प्रभाकर, क, लोकेन्द्र विष्ट, खड्गबहादुर विश्वकर्मा र लेखराज भट्ट रहेको टोली गठन गरिएको छ ।

६) यो अभियानलाई सहयोग गर्न सम्पूर्ण सरकारी गैरसरकारी संघसंस्थालाई हार्दिक अनुरोध गर्दछौं ।

 

गिरिराजमणि पोखरेल

संयोजक

एकीकृत जनस्वास्थ्य अभियान

एकीकृत नेकपा (माओवादी) केन्द्रीय समिति ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: