RSS

जनैको महत्व

05 Aug

यज्ञोपवीत (जनै) आर्य संस्कृतिको चिन्ह हो, यो विद्याको चिन्ह र यज्ञको वेशभूषा हो । मर्यादा पुरूषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण, कैलाशपति शिव, चतुर्मुख ब्रहृमाजी, महाराजा जनक, माता पार्वती, वाचक्नवी गार्गी, सीता, माता दुर्गा, माता रूक्मिणी, माता सरस्वती, देवी कुन्ति सतिसाध्वी द्रौपदी आदि सबै नरनारीहरू जनै धारण गर्दथे । यद्यपि आजकाल नारिले यो जनै धारण गर्ने परम्परालाई विस्थापीत गरियो जुन न्यायसंगत छैन साथै वैदीक परम्परा विपरित पनि छ ।

कुनै पनि राष्ट्रको राष्ट्रिय झण्डा हुन्छ त्यसमा आफ्नो राष्ट्रियता झल्कने एक विशिष्ट चिन्ह हुन्छ, एक विशेष अभिप्राय हुन्छ र त्यस झण्डाको मर्यादा तथा रक्षाका निम्ति त्यस देशका नागरिकहरुले आफ्नो प्राणको समेत आहुति दिन्छन् । त्यसैगरी जनैको पनि एक गहीरो रहस्य छ, एक विशिष्ट अभिप्राय र मर्यादा तथा एक पावन सन्देश छ । यसमा तीन दण्ड अर्थात् तीन डोरा, नौ सूक्ष्म तन्तु र पांच शिखा वा गांठा हुन्छन् जसलाई पञ्चशिखा भनिन्छ ।

तीन मात्र डोरा किन ?

एउटा जनैमा तीन धागा – डोरा वा सूत्र हुन्छन् । हामी कहां तीन संख्याको ठूलो महत्व छ । सत्व, रज र तम तीनगुण, पृथ्वी-अन्तरिक्ष र द्यूलोक गरी तीन लोक गार्हपत्य, आहवनीय र दक्षिण तीन अग्नि ईश्वर, जीवात्मा र प्रकृति आदि सत्ता पनि तीन छन् अतः जनैमा तीन डोरा हुनु सुसंगत छ । 

जनै ब्रहृमचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रममा रहंदामात्र धारण गरिन्छ । चतुर्थ आश्रम संन्यास आश्रममा पुगेपछि  यसलाई उतारेर विसर्जन गरिन्छ । यस अभिप्रायले पनि जनैमा तीन धागा अथवा सूत्र हुन्छन् ।

जनैका तीन दण्ड (डोरा, सूत्र) ले मन, बचन र कर्मको एकताको शिक्षा दिन्छन् । जे मनमा छ त्यही वचनमा हुनुपर्छ र सोही अनुसार कर्ममा पनि उतार्नुपर्दछ । जब मन, वचन र कर्म एक हुन जान्छन् मनुष्य महात्मा बन्दछ, अन्यथा त्यो दुरात्मा बन्दछ ।

तीन दण्ड सूत्रको एक अर्को पनि रहस्य छ  त्यो यो हो कि कार्यदण्ड, वाग्दण्ड र मनोदण्ड अर्थात् शरीर, वाणी र मनलाई संयममा राख्नु । कार्यसंयमद्वारा ब्रहृमचर्य पालन, गुरूजनहरूको आदर सत्कार, अहिंसा र तप आदि । वाणी संयमद्वारा सत्य, हितकारी र मधुर भाषण र स्वाध्याय गर्नु । मन संयमद्वारा मनका विकारहरू दूर गरी त्यसलाई शुद्ध र पवित्र संकल्पले मुक्त बनाउनु एवं सार्थक चिन्तन गर्नु । जनैधारीका लागि शरीर, वाणी र मनको यो संयम अत्यावश्यक छ ।

तीन धागामा एक अर्को रहस्य पनि लुकेको छ यो संसार त्रिगुणात्मक छ सत्व, रज र तम तीन पोयाले समस्त प्राणी बांधिएका छन् । जनैका तीन धागाले यसैको स्मरण गराउंदछन्  कि हामीले यस संसारबाट निस्कनु छ, मुक्त हुनु छ । संन्यासी संसारको माया, मोह र ममताबाट निक्लेर जान्छ । यस कारण ‘संन्यास आश्रममा’ जनै फुकालिन्छ ।

     गायत्री मन्त्र                     

( यसमन्त्रलाई महामन्त्र, गुरूमन्त्र र सावित्री मन्त्र पनि भनिन्छ )

ओ३म् भूर्भुवः स्वः । तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात् ।।

अर्थः  

भूः       = सत्यस्वरूप ! प्राण ! सकल जगत्को जीवनको आधार, प्राणभन्दा पनि प्रिय ! स्वयंभू !

भुवः      = सर्वज्ञ ! अपान ! अशेष दुःखहरूबाट रहित ! सम्पूर्ण जीवजगतको दुःख दूर गर्ने !

स्वः       = आनन्द ! व्यान !  नाना विध जगत्मा व्यापक भएर सबैलाई धारण गर्ने, सबैका आनन्द साधन तथा आनन्ददाता

सवितुः    = सर्वजगत् उत्पादक, सर्वेश्वर्य प्रदाता, सकल संसारका शाषक, समग्र शुभ प्रेरणा दिने ।

देवस्य     = सर्व-सुखप्रदाता, कमनीय, दिव्य गुणयुक्त

वरेण्यम्    = स्वीकार गर्न योग्य, अतिश्रेष्ठ , वरणीय

तत्        = त्यस जगत्प्रसिद्ध

भर्गः       = शुद्धस्वरूप, पवित्रकारक, चैतन्यमय पापनाशक तेजलाई

धीमहि     = हामी धारण गरौं तथा ध्यान गरौं

यः           = जो

नः           = हाम्रा

धियः        = बुद्धिहरूलाई

प्रचोदयात्  = शुभ प्रेरणा गरून्, अर्थात नराम्रा कर्महरूबाट हटाएर उत्तम कर्ममा प्रवृत्त गरून् ।

 

सत्व, रज, तम, (प्रोटोन, इलेक्ट्रोन र न्यूट्रोन) यी तीन गुणहरूले यो संकेत गर्दछन् कि यी तीन गुणहरू देखि माथि उठेर त्रिगुणातीत हुनुपर्दछ । माता, पिता र आचार्य यी तीन गुरू हुन् यी तीनै जनाको आदर, सम्मान र सत्कार गर्नु पर्दछ ।

जनै र ‘गायत्री’ को परस्पर घनिष्ट सम्बन्ध छ । यससंगै परमेश्वर(परमाणु)को सर्वश्रेष्ठ नाम ‘ओम्’ मा अक्षर पनि तीन छन् अ, उ र म् । महाव्याहुति पनि तीन नै छन् ‘भूः भुवः स्वः’ र गायत्री मन्त्रमा पाद पनि तीन नै छन् ‘तत्सवितुर्वरेण्यम्’  ‘भर्गो देवस्य धीमहि’  ‘धियो यो नः प्रचोदयात’ ।

शरीरमा ‘वात’ ‘पित्त’ र ‘कफ’ धातुहरू पनि तीन नै छन् । यिनलाई सम राख्नु पर्छ, समराख्नु स्वास्थ्य हो विषम राख्नु रोगी हुनु हो । शरीर पनि ‘स्थूल’ ‘सूक्ष्म’ र ‘कारण’ तीन नै छन् । यिनको विवेक गरेर आत्मालाई जान्नु पर्दछ । दुःख वा ताप पनि तीन प्रकारकै छन् ‘आध्यात्मिक’, ‘आधिदैविक’ र ‘आधिभौतिक’ । यी तीन दुःखबाट निवृत्ति हुनु पर्दछ । यिनबाट निवृत्तिको नाम नै परमपुरूषार्थ अथवा मोक्ष हो ।

‘ज्ञान’, ‘कर्म’ र ‘उपासना’ तीन साधन छन् । यी तीन साधनको रहस्य बुझेर तदनुसार आचरण गरी परमात्मा (तत्वज्ञान) प्राप्त गर्नु पर्छ ।

जनैका तीन सूत्रले एक अर्को पनि संकेत दिई रहेका छन्  त्यो यो हो कि संसारमा तीन प्रकारका ऐश्वर्य छन् ‘सत्य’, ‘यश’ र ‘श्री’ जनैधारी मनुष्यले यी तीन मध्येबाट कुनै एकलाई छान्नु पर्दछ ।

जनैका तीन सूत्रले परमात्मा जीवात्मा र प्रकृति यी तीन अनादिसत्ताको सम्यक ज्ञान प्राप्त गर्ने संकेत पनि दिन्छन् । जनै धारण गरेका व्यक्तिले परमात्मा के हो त्यसको स्वरूप कस्तो छ त्यसको प्राप्ति कसरी हुन सक्दछ इत्यादि कुराहरूलाई जान्ने सतत प्रयत्न गर्नु पर्दछ । यसैगरी म को हुं, कहांबाट आएको हुं, मलाई कहां जानु छ र मेरो जीवनको लक्ष्य के हो ? इत्यादि  आत्मज्ञान सम्बन्धि समस्याहरू सुल्झाउन निरन्तर प्रयत्नशील रहने संकेत पनि यसवाट मिल्दछ । प्रकृति के हो यसबाट उपयोग लिएर मानव जीवनलाई कसरी सुखी तुल्याउन सकिन्छ आदि सनातन प्रकृतिको विविध ज्ञान प्राप्त गर्नु पर्दछ यस रहस्यलाई हृदयंगम गरी जनै धारण गर्दछ भने त्यस व्यक्तिको जनै धारण गर्नु सार्थक हो भन्ने सन्देशपनि दिई रहेको छ ।

जनैका तीन सूत्रहरूको एक अर्को साह्रै महत्वपूर्ण कुराको रहस्य समेत लुकेर रहेको छ, जसको यहां समुद्घाटन गर्नु उपयुक्त छ । प्रत्येक मनुष्यलाई जन्मदै देखि तीनवटा ऋण लागेका हुन्छन् ‘पितृऋण’, ‘देवऋण’ र ‘ऋषिऋण’ प्रत्येक यज्ञोपवीत धारी व्यक्तिले यी तीन ऋणबाट मुक्त हुने वा उऋण हुने निरन्तर प्रयत्न गर्नुपर्दछ । माता-पिताले जन्म दिएर लालन-पालन गरी सन्तानलाई हुर्काउछन् । उनिहरूको सेवा सुसार गरेर यो ऋण केही अंशसम्म तिर्न सकिन्छ । यसै कारण उपनिषदका ऋषिहरूले ‘मातृदेवो भव’ र ‘पितृदेवो भव’ भनेर उपदेश गरेका छन् ।

वायु, अग्नि, जल, पृथ्वी, सूर्य, चन्द्र आदि देव हुन् । ‘देव यज्ञ’ गरेर यिनलाई ( वातावरणलाई ) शुद्ध गरी देवऋणबाट उऋण हुनुपर्छ । ‘अग्निवै मुखं देवानाम्’ अर्थात् अग्नि सम्पूर्ण देवहरूको साझा मुख हो । अग्निलाई खुवाउनाले (संरक्षण गर्नाले) सबै देवताहरू तृप्त हुन जान्छन् । यसको एक अर्को अभिप्राय पनि छ- इन्द्रियहरूलाई पनि ‘देव’ भनिन्छ । अतः समस्त इन्द्रियहरूको सदुपयोग जानेर तिनलाई दृढ बनाउनु र तिनको ठीक प्रयोग गर्नु पनि ‘देवऋण’ तिर्नु हो ।

 

जनै वैज्ञानिक र वैधानिक चिन्ह हो ।

सामान्य रूपले ‘देव’को अर्थ ईश्वर हो तर इश्वर प्राप्ति कहां र कसरि हुन्छ भन्ने सवाल अष्पष्ट पारिएको छ । करूणामय ज्ञानमा ईश्वरत्वको असीम अनुकम्पा लुकेको हुन्छ । समाजिक रुपान्तरण र जनहीतप्रति ईमानदार रहेर नित्यनियम र ध्यानपूर्वक कार्य गर्नु, चिन्तन गर्नु र उपासना गर्नु ‘ब्रहृमयज्ञ’ कहलाउंछ यसैलाई ‘देवयज्ञ’ पनि भनिन्छ । यसरि समाज र राष्ट्रप्रति जिम्मेवार रहेरपनि देवऋणबाट उऋण हुने प्रयास गर्नुपर्छ । जो मनुष्य उपकार गर्नेको उपकार मान्दैन त्यो कृतघ्न कहलाउंछ। कृतघ्न मनुष्यको राम्रो गति हुदैन । अतः ब्रहृमयज्ञ / देवयज्ञ गरेर कृतघ्नताको दोषबाट सदाका लागि मुक्त हुनुपर्छ । यो जनैको वैज्ञानिक रहस्यपनि हो ।

ब्रहृमादेखि महर्षि जैमिनि र दयानन्द सम्मका सच्चा त्यागी-तपस्वी र वीतराग ऋषि-महर्षि तथा विद्वानहरू जसले शाश्वत वैदिक संस्कृति र सभ्यतालाई हामीसम्म सफलतापुर्वक ल्याईपुर्‍याएका छन् यसले आधुनीक समयमा पनि हामीलाई मार्गदर्शन गरिरहेका छन्, अवको हाम्रो कर्तव्य भनेको उनीहरूले दिएको विद्या पढेर, वेदहरूको स्वाध्याय गरेर समय सापेक्ष ढंगवाट प्रचार-प्रसार गरी ज्ञानगङ्गालाई प्रवाहमान राख्नु र ‘ऋषिऋण’ बाट उऋण हुने कार्य गर्नु हो ।

त्यसैगरि, जनैका तीन डोरा ब्रहृमग्रन्थि अथवा शिखाद्वारा परस्पर बांधिएका हुन्छन् । यसले के बोध गराउंदछ भने मनुष्यका लागि ज्ञान, कर्म र उपासना यी तीन साधन ईश्वरत्व प्राप्तिका आधारहरु हुन् । जनै धारण गरेर मनुष्य कामना गर्दछ कि म ज्ञान, कर्म र उपासनाद्वारा ईश्वरत्व प्राप्त गर्न सकुं, म जागृत, स्वप्न र सुषुप्ति अवस्थालाई पार गरेर तुरीय अवस्थामा व्रहृमसंग मेल गर्न सकुं र जीवनको उद्देश्य पूरा गरुं ।

म ठूला, साना र आफू बराबरीहरूका संग यथायोग्य व्यवहार गर्नेछु । अर्थात् ठूलाको आदर सम्मान, बराबरीहरूकासंग प्रेम र साना माथि दया माया र ममता प्रदर्शन गर्नेछु । यस्ता अनेकौं महत्वपूर्ण कुराहरूको दिव्य आदर्श जनैले प्रस्तुत गर्दछ । यस प्रकार जनैका तीन डोरा विज्ञानमय भै भरिएको छ ।

त्रिसूत्ररूप जनैका एक- एक डोरामा तीन-तीनका क्रमले ३×३=९ वटा मसिना-मसिना सूक्ष्म डोरा हुन्छन् ।

जनैका ९ वटा सूक्ष्म डोराको रहस्य के छ ? जनैका पवित्र ९ तन्तुमा नौ देवहरू अवस्थित रहन्छन् । जस्तैः-

ओङ्कारः प्रथमे तन्तौ द्वितीयेग्निस्तथैवच ।

तृतीये नागदैवत्यं चतुर्थे सोमदेवता ।।

पञ्चमे पितृदैवत्यं, षष्ठे चैव प्रजापतिः ।

सप्तमे मरूतश्चैव अष्टमे सूर्य एवं च ।।

सर्वे देवास्तु नवमे इत्येतास्तन्तु देवताः ।।  ( सामवेदीय छान्दोग्य सूत्र परिशिष्ट)

पहिलोमा ओंकार, दोश्रोमा अग्नि, तेश्रोमा अनन्त, चौथोमा चन्द्रमा, पाचौंमा पितृगण, छैटौंमा प्रजापति, सातौंमा वायु, आठौमा सूर्य र नवौ सूत्रमा सबै देवता प्रतिष्ठित छन् ।

जनै धारण गर्ने व्यक्तिले जनैका सूत्रहरूमा स्थीत नौ देवहरू संग सम्वन्धित रहेका निम्न लिखित गुणहरूलाई आफू भित्र धारण गर्नुपर्दछः

          ओंकार     -एकत्वको प्रकाश, ब्रहृमज्ञान ।

          अग्नि       -तेज, प्रकाश, पापदहन ।

          अनन्त     -अपार धैर्य र स्थीरता ।

          चन्द्रमा    -मधुरता, शीतलता र सर्व पि्रयता ।

          पितृगण            -आशिर्वाद, दान र स्नेह ।

          प्रजापति  -प्रजापालन, प्रेम र सौहार्द ।

          वायु        -पवित्रता, बलशालिता र धारण शक्ति ।

           सूर्य       -गुण ग्रहण, नियमितता, प्रकाश, अन्धकारनाश र मल शोषण ।

      सर्वे देवता  -दिव्य र सात्विक जीवन ।

जसले जनैका यी पावन गुणहरूलाई स्मरण गरेर यिनीहरूबाट प्रेरणा प्राप्त गर्दछ । त्यसको जीवन उच्च, महान, यशस्वी र कान्तियुक्त रहन्छ ।

नौ सूत्रको एक अर्को रहस्य पनि छ, “अष्टचक्रा नवद्वारा देवानां पूरयोध्या” (अथर्ववेद काण्ड १० । सूः २ । मन्त्र ३१) आठ चक्र र नौ द्वार भएको एक नगर छ, त्यो नगर हो मानव-देह । यज्ञोपवीतका नौ सूत्रले हामीलाइ एक सुन्दर सन्देश दिईरहेका छन् — प्रत्येक द्वारमा एक-एक प्रहरी नियुक्त गर जसबाट कुनै पनि दुर्गुण हामी भित्र प्रवेश गर्न नसकोस् । यी नौ द्वार मध्ये दुई आंखा, दुईकान, दुई नासिका छिद्र र एक मुख यी सात भए । यिनीहरूका लागि वेदमा भनेको छः “सप्त ऋषयः प्रतिहिताः शरीर” (यजुर्वेद ३४।५५) हाम्रा शरीरमा सात ऋषि (सप्तऋषि)हरू बसेका छन् । हामीले ज्ञानद्धारा मात्र यिनीहरूलाई ऋषि बनाउन सकिन्छ । यी अङ्गहरु ऋषि बने भने जीवनको कल्याण हुनेछ तर यी राक्षस वन्न पुगे भने जीवनको विनाश हुन्छ । बांकी दुई द्वार हुन् मल-मूत्र विसर्जन गर्ने छिद्र । यस प्रकार मानव देहमा नौवटा द्वार छन् । 

हामी हाम्रा आंखाले राम्रा दृश्य हेरौं, प्रकृतिका सुन्दर रचनाहरुको सौन्दर्य अवलोकन गरौं, तिनीहरुको संरक्षण र संवर्द्धन गरौं,  नराम्रा मन, कर्म र शरीरलाई हानि पुर्‍याउने खालका दृश्यहरु नहेरौं । हाम्रो दृष्टि यस्तो होस् भनिएको छ :

          मातृवत् परदारेषु परद्रव्येषु लोष्टवत् ।

          आत्मवत् सर्व भूतेषु यः पश्यति स पश्यति ।।

परनारीहरूलाई माताका समान, अर्काको धनलाई माटाको डल्ला समान र सबै प्राणीहरूलाई आफ्नै समान हेरौं किनकी यस्तो देख्ने नै वास्तवमा देख्ने हो ।

कानले हामी असल ज्ञानदायक कुराहरुमात्र सुनौं । यज्ञोपवीतधारी जीवन वेदमय हुनुपर्छ । वेदले पनि -“भद्रं कर्णेभिः श्रृणुयाम … ”  (यजुः२५।२१) अर्थात हामी कानले उत्तम कुरा सुनौं भनेको छ । यस्तै प्रकार नाकले उत्तम् दिव्य गन्धनै सुघौं, ‘ओ३मंको जप गरौं’ ( यो जप नाकबाटै हुन्छ ) । विषय वासनाको गन्धमात्र नसुंघौं ।

जिहृवाले सधै मिठो मधुर र शुद्धवाणी बोलौं । कटुभाषण, मिथ्या भाषण र बेकामे गफ नगरौं । अभक्ष भक्षण गरेर जीवन बर्वाद नगरौं ।

उपसथ र गुदालाई पनि संयममा राखौं, सच्चा, सदाचारी वनौं र ब्रहृमचार्य पालना गरौं । यही नै जनैको नौ सूत्रीय विज्ञान हो ।

 

        पञ्चशिखाको रहस्यः

जनैमा पांच गांठा हुन्छन् जसलाई ‘शिखा’ भनिन्छ । पञ्चशिखाले पञ्चमहायज्ञ गर्ने तर्फ संकेत गरिरहेछन् । पितृऋण, ऋषिऋण र देवऋण चुक्ति गर्नका लागि यी यज्ञहरू गर्नु अनिवार्य मानिएको छ ।

हरेक गृहस्थ व्यक्तिले प्रतिदिन गर्नुपर्ने भनिएको पञ्चमहायज्ञ यी हुन् –

          १) ब्रहृमयज्ञ          -सन्ध्या र स्वाध्याय ।

          २) देवयज्ञ                -अग्निहोत्र र विद्वानहरूको मान-सम्मान ।

          ३) पितृयज्ञ               -जीवित माता-पिता पितामह-पितामही मातामह-मातामही र घरका अन्य वयोवृद्ध व्यक्तिहरूको सेवा सुश्रुषा र सम्मान गरेर सदा प्रसन्न राख्नु तथा उनीहरूवाट आशिर्वाद प्राप्त गर्नु पितृयज्ञ गर्नु हो ।

          ४) बलिवैश्वदेवयज्ञ      -घरमा जुन भोजन बन्दछ त्यसमध्ये बाट केही निकालेर अमिलो, पीरो, नुनिलो आदि पदार्थ नहाली काग, कुकुर, कीट पतङ्ग आदीलाई दिनु, असक्त विकलाङ्ग, रोगी वा असहायहरुलाईर् आफ्नो भोजनबाट कटाएरै भएपनि भाग दिनु बलिवैश्वदेवयज्ञ हो ।

          ५) अतिथियज्ञ  -पुर्वसूचना बिनानै संयोगवश घरमा आईपुगेका विद्वान्, उपदेशक, तथा राष्ट्रभक्त व्यक्तिहरूको आदर सम्मान गर्नु ।

 

जनैका पञ्चग्रन्थीहरुले मानव शरिरका पञ्चकोशतर्फ पनि संकेत गरिरहेका छन् । अन्नमयकोश, प्राणमयकोश, मनोमयकोश, विज्ञानमयकोश र आनन्दमयकोश । यिनीहरूलाई वियोग गरेर आत्मालाई यिनीहरूबाट पृथक सम्झनु पर्दछ ।

पांच गांठाहरूको एक अर्को पनि अभिप्राय छ । प्रत्येक मनुष्यमा काम, क्रोध, लोभ, मोह र अहंकार रूपी पांच गांठाहरू छन् । जनैका यी पांच ग्रन्थीहरूले जनैधारीलाई यो स्मरण गराउंदछ कि उसले यी गांठाहरू वाट मुक्त रहन सक्नुपर्दछ ।

जनैमा चारगांठाहरु शिखाका केही तल हुन्छन् र एक गांठो माथि धागामा जोडिएको ठांउमा हुन्छ । मनुष्यलाई ज्ञान चाहिन्छ  अतः ज्ञान प्राप्तिका लागि मानवले प्रशष्त अध्ययन गरोस् । ज्ञान प्राप्तिका लागि परमात्मा – परमाणु वुझ्नु पर्दछ, । परमाणु र ज्ञानको श्रोत ‘ब्रहृम’ -ब्रहृमाण्ड भएकाले जनैको माथ्लोगांठालाई ब्रहृम ग्रन्थीपनि भनिन्छ ।

 

जनै बनाउंदा हातका चार औंलामा ९६ फन्का लपेटिन्छ । यसक्रमले जनैको परिमाण ९६ अंगुल हुन्छ । यो ९६ अंगुल नै किन हुन्छ ? यसवारे पनि विचार गरौं –

प्रत्येक व्यक्ति आफ्ना अंगुलबाट ९६ अंगुलको उचाईमा हुन्छ । ९६ अंगुलका जनैले हामीलाई यो स्मरण गराउंदछ कि जनै कांधबाट कटिप्रदेश सम्ममात्र छैन  अपितु शरीरका अङ्ग  प्रत्यङ्ग र प्रत्येक रोम-रोममा अनुवन्धित छ ।

छान्दोग्य परिशिष्टमा यस प्रश्नको समाधान गर्दै यसो भनिएको छः

          तिथिवारं च नक्षत्रं तत्ववेदगुणान्वितम् ।

          कालत्रयं च मासाश्च ब्रहृमसूत्रं हि षष्णवम् ।।

अर्थात् १५ तिथि, ७ वार, २७ नक्षत्र, २५ तत्व, ४ वेद, ३ गुण, ३ काल र १२ महिना । यिनीहरूको कुल जोड ९६ हुन्छ ।

मानवमान ८४ अंगुल र देवमान ९६ अंगुलको हुन्छ । जनै धारण गरेर देवव्रत र ब्रहृमव्रतको अनुष्ठान गरी मनुष्यलाई देवत्व र अन्तमा ब्रहृमत्व प्राप्त होस् भन्ने हेतुले जनै देवमान् अर्थात् ९६ अंगुलको बनाइन्छ ।

 

जनै कम्मर सम्ममात्र किन ?  

बाम स्कन्ध (देव्रे कांध) बाट धारित यज्ञोपवीत अर्थात् जनै हृदय र बक्षस्थलको माथि हुदै कटिप्रदेश (कम्मर) सम्म पुग्दछ । यसमा पनि रहस्य लुकेको छ । प्रत्येक मनुष्यमाथि तीन प्रकारका बोझ अथवा भार हुन्छ र भारी उठाउने शक्ति विशेष गरि कांधमा हुन्छ  यसकारणले जनैलाई कांधमाथि राखिन्छ  । संसारमा भारी त्यसैले बोक्न सक्दछ जो कटिबद्ध छ, जसको कमर कसिएको छ, यसकारण जनै कटिप्रदेश वा कम्मरसम्म झुण्डिएको हुन्छ ।

प्रत्येक जनैधारी आफ्नो समाज, राष्ट्र र जनताको उन्नतिका लागि, सभ्यता र संस्कृतिको प्रचार प्रसार तथा जगेर्नाका लागि कटिवद्ध रहोस् यस हेतुले यो जनै कटिप्रदेशसम्म झुण्डिन्छ ।

 

जनै देब्रे कांध माथिनै किन ?

तीनवटा-ऋण एवं यज्ञलाई हृदयदेखि स्वीकार गरिन्छ । हृदय वामभागमै हुन्छ, यसकारण यो यज्ञोपवीत देब्रे कांध देखि हृदय हुंदै दाहिने भागतर्फ धारण गरिन्छ । संसारमा सफलता त्यसैले पाउन सक्दछ, जसले आफ्नो लक्ष्यलाई अगाडि राख्दछ । अरू लक्ष्य त्यसै व्यक्तिका अगाडि रहन सक्दछ जसले कुनै काम हृदयदेखि नै गरोस्, यसै हुनाले जनै हृदय माथि रहन्छ ।

जव मानिस देव बन्दछ, जब उसले संन्यास लिन्छ तव जनैलाई फुकाल्दछ । जनैका सम्बन्धमा दुई कुरा अरू स्मरणीय छन् पैलो यो हो कि प्रत्येक व्यक्तिले एक समयमा एक मात्र जनै लाउनुपर्दछ, एक जोर होइन ।आजकल जनै विभिन्न रंगमा पाइन्छन् तर यज्ञोपवीत (जनै) सेतो रंगकै हुनु पर्दछ, किनकी मन्त्रमा यसलाई “शुभ्रम्” भनिएको छ, जसको अर्थ सेतो भन्ने लाग्दछ ।

 

मातृशक्तिहरूलाई पनि जनै लाउने अधिकार छ

मध्ययुगमा कुनै कठिनाइहरूले गर्दा हो या शाषकहरुको सामन्ति प्रवृत्तिले गर्दा हो मातृशक्तिलाई अर्थात् नारीहरूलाई यस पवित्र एवं महत्वपूर्ण संस्कारबाट वञ्चित गरिएको थियो । प्राचीन ग्रन्थहरूको अवलोकन गर्दा थाहा हुन्छ कि प्राचीन कालमा पुरूषहरू सरह स्त्रीहरूलाई पनि जनै लगाउने अधिकार थियो । अध्ययन अध्यापनमा कुनै भेद-भाव थिएन । ‘यम संहितांमा लेखेको छः

          पुराकल्पेतु नारीणां मौञ्जीबन्धनमिष्यते ।

          अध्यापनं च वेदानां सावित्री वाचनं तथा ।।

अर्थात् प्राचीन समयमा नारीहरूको उपनय वा व्रतबन्ध संस्कार हुन्थ्यो तथा उनीहरूलाई वेद पढ्ने र गायत्री जप गर्ने पनि आज्ञा थियो । महर्षि दयानन्द सरस्वतीले आफ्नो एक प्रवचनमा भन्नु भएको थियो “पहिले स्त्रीहरूलाई पनि विद्या सम्पादनको अधिकार थियो र त्यसैका अनुकूल यिनीहरूको पूर्वमा व्रतबन्ध गर्दथे ।” (उपदेश मञ्जरी सातौं व्याख्यान)

अर्थको अष्पष्टता, अज्ञान  र विभिन्न दुरुपयोगहरुका कारण हाम्रो समाजमा यस पवित्र परिधानलाई निम्न दृष्टिले हेर्न थालिएको छ । व्रतबन्ध गरेका केटाहरूले पनि २-४ दिनमै जनै निकालेर फ्यांकिदिने गरेको समेत देखिन्छ । अभिभावक माता-पिताले पनि यस कुरामा खासै ध्यान पुर्‍याएको देखिदैन । यो बडो चिन्ताको विषय हो । यद्यपी, यस लेखले हामीलाई जनैका बारेमा केही जानकारी र महत्व दर्शाएको छ भन्ने आशा छ, साथै अभिवाकहरूले आफ्ना बाल-बालिकाहरूलाई निश्चयनै यस सम्बन्धमा अवगत गराउनु नै हुने छ भन्ने पुर्ण आशा राखेको छु ।                                               

                    — — इति — —

          कमला कान्त आत्रेय – आर्य समाज, काठमाण्डौंको सहयोगमा

 
6 टिप्पणीहरु

Posted by on अगस्ट 5, 2009 in HOME

 

6 responses to “जनैको महत्व

  1. Bishal

    अगस्ट 5, 2009 at 1:16 बेलुका

    ooooohooooooo yo janai ta nikai mahatwa po rahechha ta balla bujhiyo. thanks alot.

     
  2. क्रेजी

    अगस्ट 5, 2009 at 1:18 बेलुका

    very good article. Bahun bhaneko bahun nai ho k natra yesto article kahan bata aauthyo ? haina ? any way very very thanks.

     
  3. राज कोहली

    अगस्ट 5, 2009 at 1:19 बेलुका

    Thanks alot . very nice article. keep on writing.

     
  4. purushottam

    अगस्ट 6, 2009 at 7:58 बेलुका

    This artical should be help full to those who doesn’t have any faith on yagyopabit.

    Thanks a million to the writer for opening the eyes.

     
  5. zunky

    अगस्ट 6, 2009 at 11:21 बेलुका

    Its a very good article of bivas. Thanks alot.

     
  6. Kazi

    अगस्ट 13, 2009 at 11:46 बिहान

    thank u for good information.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: