RSS

पहिरो गयेको गयै छ, मानिस जाने ठाउं कतै छैन

06 Aug

संजय भण्डारी, खांदबारी

बसेका ठाउंमा रात दिन अजंगका ढुङ्गा बर्सिन्छन् । पहिरो जाने क्रम रोकिएको छैन । एक साताअघि देखि परेको मुसलधरे बर्षा रोकिएको छैन, जाने ठाउं कतै छैन । बसेको ठाउंबाट तल बगेको संखुवा खोलाको आवाजले झन विरह थपेको छ । संखुवासभा जिल्लाको ताम्कु गाविस ९ सिक्दिङका विस्थापित ६२ बर्षिय बृद्ध कत्तु शेर राईले यो पिडा सुनाए ।

उनको चार जनाको परिवार विस्थापित भएर नजिकको माझखर्कमा गएको छ । राईले भने, पहिरोले लैजान लाग्यो, जाने ठाउं कहीं छैन । ज्यान र धन सम्पत्तीलाई जोखिममा राखेर पहिरोको विचमा बांची रहेका छौं । बुढेसकालले आंखा नदेख्ने यी बृद्धको पिडा सुन्दा त्यहां पुग्ने जो कोहि भावविह्वल हुन्छन् ।

यी बुद्धलाई घर पहिरोले बगाउन लाग्यो भन्ने पिडा मात्र छैन । त्यो भन्दा बढि अर्को पिडा छ । गत सोमबार (एक साता अघि) सिक्दिङ गाउंमा गएको पहिरोले उनको छोरा, बुहारी, नातीनातीना गरेर पांच जनालाई बगाएर बेपत्ता बनाएको छ । आफ्नो लागी जिवनकै ठूलो पिडा यो घटना भएको सुनाउछन् उनि ।

आंखा नदेखिकन भएपनि ती बृद्ध आफन्त, छिमेकी, सेना र प्रहरीको सहयोगमा छोराको परिवारको खोजि कार्यमा लागेको पनि नौ दिन वितिसक्यो । तर न त सास भेटे न लाश नै । पहिरो बढ्ने क्रम जारी रहेको र बर्षा समेत नरोकिएको कारण अवका दिनमा खोजेर पनि भेट्न सक्ने आशपनि मरेको छ, आंखाबाट आंशुको भेल बगाएर भक्कानिदै उनले भने ।

बृद्ध राईले, आंखामा आंशु नरोकिंदै पुनः सम्हालीएर भने, खान नपाएको पांच दिन भन्दा बढि भयो सुत्न पनि पाईएको छैन । रातभर जाग्रम बस्नुपर्छ । पिरले भोक र निद्रापनि लाग्दैन बुढेसकालको मुहारलाई झनै खुम्च्याएर उनले भने । तर उनि त्यहां पुग्ने जो कोहीसंग आफुलाई सुरक्षित स्थानमा लैजान भन्दा पनि छोरोको परिवारको खोजि गरिदिन आग्रह गर्छन् । उनलाई सुरक्षित स्थानमा जानका लागि सल्लाह दिन उनि बसेको ठाउंमा पुगेका सेना र प्रहरिको टोलिलाई समेत उनले उद्धार कार्य तिव्र बनाउन आग्रह गर्दै आएको उद्धारका लागि खटिएको सेनाले जनाएको छ ।

उनी मात्र हैन त्यहांका नरमाया राई, आशकुमार राई लगायत दर्जनौ स्थानीय बासिन्दाहरुले उद्धार कार्य तिव्र बनाउन माग गर्दै आएका छन् । उनीहरुले उद्धारका लागि गएका प्रहरी र सेनालाई आफ्नो समस्याका बारेमा माथिल्लो निकायमा तत्काल जानकारी गराएर सवैको सुरक्षामा विशेष जोड दिन आग्रह गरेका छन् ।

त्यस्तै पहिरोले स्थानीय लक्ष्मी प्रसाद राईका चार जना छोरा छोरीलाई पनि बगाएर बेपत्ता बनाएको छ । छोरा छोरीसंगै पहिरोमा परेका लक्ष्मी प्रसादलाई भने सेना र प्रहरीको टोलिले मृत फेला पारिसकेपनि उनका छोराछोरीको अवस्था भने अज्ञात छ । यो दुखद् घटनाले गाउंनै शोकमग्न भएको छ । आफन्त, छिमेकी र सवै गाउंलेका आंखा साउनमा आकाशबाट बर्षा भए जत्तिकै छ ।

सो पहिरोमा परेर चार जनाको मृत्यु भई सकेको छ भने अन्य नौ जना अझै बेपत्ता छन् । पहिरोले ४० घर परिवारका दुई सय २५ जना विस्थापित भएका छन् । सो गाउं आसपासका सयभन्दा बढि घर पहिरोको निक्कै जोखिममा रहेका छन् । चारैतिरबाट पहिरोले घेरेकोले गाउंनै खतरामा परेको छ । पहिरोमा परि बेपत्ता हुनेहरुको अवस्था अज्ञात रहेको जिल्लाका प्रहरी नायव उपरिक्षक पोषराज पोखरेलले बताउनु भयो । प्रहरी र सेनाको टोलिले हराएकाको खोजि कार्य तिव्र बनाएपनि कसैलाई अझैसम्म फेला पार्न नसकेको अमरदल गुल्मका गुल्मपति सेनानी रामचन्द्र खत्रीले बताउनु भयो । पहिरोमा परेर बेपत्ता भएको लामो समय भई सकेका कारण उनीहरुलाई जिवित भेट्न सक्ने सम्भावना नरहेको उद्धारकर्मीहरुले बताएका छन् ।

राहतको माग गर्दै पहिरो पिडित सदरमुकाममा

संजय भण्डारी, खांदबारी

मुसलधरे बर्षापछि संखुवासभा जिल्लाको ताम्कु गाविस ९ सिक्दिङमा गएको पहिरोबाट पिडित बनेका स्थानीय बासिन्दा राहतको माग गर्दै सदरमुकाम खांदबारी आईपुगेका छन् । दुई दिनसम्म लगाएर सदरमुकाम खांदबारी आएका पिडितहरुले आाफुहरुले भोगेको प्रत्यक्ष समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद गौतम, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र सिग्देललाई जानकारी गराएका छन् ।

तुलाबहादुर राईको नेतृत्वमा आएको स्थानीय युवाहरु र महिला सम्मिलित पिडितहरुको समुहले जिल्ला प्रशासन कार्यालयमा सात बुंदे मागपत्र समेत पेश गरेका छन् । पिडितहरुका तर्फबाट दीपेन्द्र राईले मागपत्र पढेर सुनाउादै प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद गौतमलाई हस्तान्तरण गर्नु भयो ।

मागपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद गौतमले पहिरो पिडित परिवारहरुलाई राहत वितरण देखि लिएर अन्य कुरामा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहांले विस्थापितलाई उचित पूनर्वास देखि लिएर विस्थापित बालबालिकाहरुको गास, बास, शिक्षा र स्वास्थ्यमा समेत ध्यान दिने बताउनु भयो ।

राहतको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको ३० जना पहिरो पिडितहरुको समुहले पहिरोका कारण आाफुहरु निक्कै समस्यामा परेको बताए । उनीहरुले पहिरोबाट विस्थापितलाई उचित पूनर्वासको व्यवस्था, मृतकका परिवारलाई क्षतिपूर्ति, पर्याप्त राहत वितरण हुनु पर्ने, पूनर्वास गराउंदा गास, बास, शिक्षा स्वास्थ्य र कम्तिमा एक घर एक रोजगारको व्यवस्था मिलाउनु पर्ने, विस्थापितलाई नियमित स्वास्थ्य उपचार सेवा र खानेपानीको व्यवस्था गरिनु पर्ने, प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई निशुल्क शिक्षाको व्यवस्था गरिनु पर्ने समेतका मागहरु अघि सारेका छन् ।

सो ठाउंका पहिरो पिडितहरुका लागि यसअघिनै नेपाली सेनाको हेलिकोप्टरबाट चामल, चिउरा, चाउचाउ, औषधी, कम्वल, त्रिपाल समेतका प्रारम्भिक राहत सामग्री घटनास्थलमा पुर्‍याएको थियो । जिल्लाका प्रहरी नायव उपरिक्षक पोषराज पोखरेलका अनुसार राहत सामग्री अपुग भएको र राहत मात्र वितरण गरेर केही नहुने भन्दै आफुहरुको समस्याका बारेमा जानकारी गराउन तथा समस्याका अन्य पक्षलाई समेत ध्यान दिन आग्रह गर्दै पहिरो पिडित परिवारहरु सदरमुकाम आएका हुन् ।

संखुवासभाको ताम्कु गाविसमा एक साता अघि गएको पहिरोमा परेर चार जनाको मृत्यु भएको छ भने अझै नौ जना बेपत्ता भई रहेका छन् । पहिरोले सो स्थानका ४० घर परिवारका दुई सय २५ जना सर्वसाधारण विस्थापित हुनुका साथै सयौं रोपनी खेतियोग्य जमिन समेत बगाएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र सिग्देलले बताउनु भयो ।

पहिरोका कारण स्थानीय चन्द्रबहादुर राईको नौ जनाको परिवार, तुलाबहादुर राईको चार जनाको परिवार, जगरबहादुर राईको नौ जनाको परिवार समेत सो ठाउंका दुई सय २५ जना विस्थापित भएका हुन् । विस्थापित हुनेहरु मध्ये २५ जना बृद्धबृद्धा, ८० जना बालबालिका र ११ जना सुत्केरी महिलाहरु रहेका छन् ।

ताम्कु ९ को खुंगा गाउं, मुलगाउं, देविथान, मरीखुटोल, तीतीला समेतका गाउंहरु पहिरोका खतरामा परेका छन् । ताम्कुको ९ नम्वर वडामा मात्र ५१ ठाउंमा पहिरो गईसकेको छ । पहिरोले त्यहां लगाएको मकै, कोदो, आलु समेतका खाद्य बालीहरु बगाएर नष्ट गरेको स्थानीय बासिन्दा तथा पहिरो पिडित मोतिबहादुर राईले बताउनु भयो ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 6, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: