RSS

हामी संघर्षलाई बीचमा रोक्दैनौं : डा. बाबुराम भट्टराई

07 Aug

० भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले लिएको निर्णहरूका बारेमा प्रस्टाइदिनुहोस् न ?

– हालै सम्पन्न हाम्रो केन्द्रीय समितिको बैठक यथार्थमा निकै ऐतिहासिक रह्यो । किनकी हामी नेपाली क्रान्तिको निर्णायक मोडमा छौं । यतिबेला पार्टीभित्र अन्तरसंघर्ष, बहस, छलफल चल्नु स्वाभाविक हुन्छ ।  राजनीतिक बहस र छलफललाई अस्वस्थ बनाएर पार्टी टुटफुटतिर लिएर जाने खतरा देखापरिरहेको बखत् प्रतिक्रियावादीहरूले पनि खेल्ने प्रयत्न गरेका थिए । तर त्यो प्रवृत्ति र षड्यन्त्रलाई परास्त गर्दै हाम्रो पार्टी एक ढिक्का भएर अगाडि आएको छ । त्यसको साथसाथै हामीले नेपालको जनवादी क्रान्तिलाई आफ्नै मौलिकतासहित अगाडि बढाउने सन्दर्भमा जसरी प्रश्नहरू उठेका थिए त्यसको पनि एउटा वस्तुनिष्ठ हल खोजेर जनताको संघीय गणतन्त्रलाई हामीले मूल कार्यनीति बनाएर अगाडि बढ्ने निर्णय गरेका छौं । त्यसलाई पूरा गर्नको निम्ति शान्ति, संविधान, नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय संयुक्त सरकारको जुन कार्यनीतिक नारा हामीले अगाडि सारेका छौं, त्यसले अहिलेको वस्तुगत स्थितिसंगै पूरै मेल खान्छ । त्यसैका अधारमा जनतालाई गोलबन्द गरेर नेपालको जनवादी क्रान्तिलाई अगाडि बढाउन सकिन्छ । त्यस अर्थमा यो बैठक कार्यदिशाको विकासको हिसाबले र पार्टीभित्र एकता कायम गर्ने हिसाबले पनि निकै महत्वपूर्ण र ऐतिहासिक रह्यो भन्ने लाग्छ ।

० बहुचर्चित चुनवाङ बैठकले गरेको निर्णय गणतन्त्र प्राप्तिका लागि महत्वपूर्ण रह्यो भने अहिलेको केन्द्रीय समितिको बैठकले नेपालको कम्युनिष्ट आन्दोलनमा कस्तो प्रभाव पार्छ भन्ने लाग्छ ?

– कम्युनिष्ट आन्दोलनका खासखास मोडका बैठक र निर्णयहरू निकै महत्वपूर्ण हुने गरेका छन् । त्यस हिसाबले अहिलेको एकीकृत माओवादी र तत्कालीन माओवादीले  ०५२ सालमा जनयुद्धको थालनी गर्ने निर्णय गर्नु एउटा महान् ऐतिहासीक कदम थियो । जनयुद्ध एउटा राजनीतिक प्रत्याक्रमणको चरणमा पुगिसकेपछि चुनवाङ बैठकमा जुन कार्यनीतिक शृंखला र लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा अगाडि सारियो त्यो अर्को मोड थियो । त्यसले नेपालमा जनयुद्ध र जनआन्दोलनको बलमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कार्यभार पूरा गर्‍यो । लोकतान्त्रिक गणतन्त्र विधिवत रूपमा स्थापना भइसकेपछि अब त्यो गणतन्त्रलाई मुठ्ठीभर हुने खाने वर्गको यथास्थितिवादी गणतन्त्र बनाउने कि बहुसंख्यक गरीखाने वर्गको वास्तविक अग्रगामी गणतन्त्र बनाउने भन्ने विषयमा स्वाभाविक रूपमा पार्टीभित्र र बाहिर बहस चल्नु उपयुक्त नै हुन्थ्यो ।

त्यस हिसाबले हामीले चुनवाङ बैठकमै भनेका थियौं- लोकतान्त्रिक गणतन्त्र प्राप्त भइसकेपछि त्यो गणतन्त्रलाई यथास्थितिमै कायम राख्ने कि अगाडि बढाउने भन्ने विषयमा संघर्ष चल्छ । त्यही भनाइअनुरुप नै अहिले पार्टीभित्र र बाहिर बहस चलेको छ । त्यही कुरालाई केन्द्रमा राख्दै अहिले हाम्रो केन्द्रीय समितिको बैठकले लोकतान्त्रिक गणतन्त्रलाई जनताको संघीय गणतन्त्रमा विकास गरेर लैजानुपर्छ भन्ने निर्णय गरेको छ । त्यही कुरा प्राप्त गर्नका लागि हामीले कार्यनीतिक र सांगठनिक योजनाहरू अगाडि सारेका छौं । त्यस अर्थमा चुनवाङ बैठकपछि अहिलेको बैठक अर्को ऐतिहासिक बैठक हो भन्दा अन्यथा हुंदैन ।

० तपाईंहरूको अहिलेको यो बैठकले बहुपदीय प्रणालीमा जाने निर्णय गर्‍यो, अझै पनि क्रान्ति पूर्ण नभइसकेको अवस्थामा नेतृत्व केन्द्रीकरणको झनै जरुरी हुने हुंदा बहुपदीयले प्रणालीले आन्दोलनलाई अगाडि बढाउन सहयोग पुर्‍याउंदैन भनिन्छ नि ?

– बहुपद र एकपद भन्ने कुराले केन्द्रीकरण हुने र नहुने भन्ने कुराको निर्णय गर्दैन । मूलरूपमा कम्युनिष्ट आन्दोलनमा दुई थरीका पदीय प्रणाली हुने गरेका छन् । एउटा महामन्त्रीय प्रणाली जुन रूसमा प्रयोग गरियो र अर्को अध्यक्षात्मक प्रणाली जो चीनमा प्रयोग गरियो । महामन्त्रीय प्रणाली एक पदीय हुने गर्छ । तर त्यो पनि कमिटी प्रणाली मातहत रहने भएको हुनाले सामुहिकताकै केन्द्रिकृत अभिव्यक्ति हुन्छ । अध्यक्षतात्मक प्रणाली पनि मुलतः कमिटीको मातहत रहने भएकाले त्यहां अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायत अन्य पद हुने गर्छन् । त्यसकारण बहुपद हुंदैमा त्यो बहुलवादी भन्ने अर्थमा बुझ्नु हुंदैन । वास्तवमा यी दुवै जनवादी केन्द्रीयताका अर्थमा सामुहिक नेतृत्वको केन्द्रिकृत अभिव्यक्तिका फरक-फरक नमूनाहरू मात्र हुन् । त्यस हिसाबले हामीले २०५७ सालमा अध्यक्षात्मक प्रणालीमा जाने निर्णय गरेका थियौं, त्यसैको विकसित रूप मात्रै अहिले हो । त्यसैले यो सैद्धान्तिक हिसाबले खासै नौलो निर्णय होइन । व्यवहारिक तरिकाले मात्रै नेतृत्वलाई अझ मजबुत बनाउने तथा  कार्यविभाजनलाई अझ चुस्त बनाउनको निम्ति मात्रै हामीले बहुपद कार्यान्वयन गरेका हौं । सैद्धान्तिक रूपले त हामी २०५७ सालमै त्यो प्रणालीमा गइसकेका हौं ।

० कम्युनिष्ट आन्दोलनमा नेतृत्वको प्रश्न असाध्यै महत्वपूर्ण हुने गर्छ । मूलतः रुसमा स्टालिनको मुत्युपछि त्यहां प्रतिक्रान्ति भयो, चीनमा पनि माओको मृत्युपछि प्रतिक्रान्ति भएको छ । तर त्यसो हुन नदिन कम्युनिष्ट आन्दोलनको नेतृत्वको शृंखलाबद्ध रूपमा विकास गर्ने कुरा पहिला पनि तपाईंहरूले गर्नुभएको थियो, तर त्यसको बारेमा ठोस कार्यक्रमहरू केही पनि आएन नि ?

– त्यो त हामीले २०६० सालमा पारित गरेको एक्काइसौं शताब्दीमा जनवादको विकास भन्ने प्रस्तावमा सैद्धान्तिक रूपले अगाडि सारिसकेको विषय हो । त्यसैलाई नै व्यवहारिक रूपमा हामी क्रमशः लागू गर्दै र परिमार्जन गर्दै गइरहेका छौं । जहांसम्म अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको नेतृत्वको अवशानपछि प्रतिक्रान्ति भएको उदाहरण तपाईंले ल्याउनुभयो, त्यो एउटा गम्भीर प्रश्न हो । ती कुराहरूलाई ध्यानमा राखेर नै हामीले एक्काइसौं सताब्दीको जनवादको विकास भन्ने कुरा ल्याएका हौं । त्यसमार्फत नेतृत्वको अटुट श्रृंखला निर्माण गरिराख्नु पर्छ ताकि एउटा नेतृत्वको अवशानपछि उत्तराधिकारीहरूले क्रान्तिलाई निरन्तर अगाडि बढाइरहन सकून् । त्यही सोचका साथ त्यो अवधारणा आएको हो । त्यसमा हाम्रो पार्टी सचेत छ । नेतृत्व र विचार भन्ने कुरा आपसमा अन्तरसम्बन्धित हुन्छन् । नेतृत्व विचारकै सांगठनिक अभिव्यक्ति हो । त्यसैले विचार र नेतृत्वको बीचमा अन्तरविरोध पैदा भयो भने त्यहां क्रान्तिलाई सम्पन्न गर्न र निरन्तरता दिन गाह्रो हुन्छ । हाम्रो सन्दर्भमा नेपाली क्रान्ति यो ढंगले विकास भएर आउनुको पछाडि विचार र नेतृत्वको एउटा सुन्दर संयोजन हुनु नै हो । त्यसै कुरालाई हामीले मध्यनजर राख्दै हामीले नेतृत्वको शृंखलालाई अझै परिमार्जित र विकसित गर्ने प्रयत्न गरेका छौं । मूल रूपमा हाम्रो प्रणाली सही छ भन्ने कुरा घटनाक्रमले पनि पुष्टी गरिरहेको छ ।

० कम्युनिष्ट आन्दोलनका बैठक र छलफलहरूबाट असाध्यै जनपक्षीय र सुन्दर निर्णयहरू हुन्छन् तर कार्यान्वयनमा जांदा ती निर्णय व्यवहारमा रूपान्तरण नहुने समस्या देखिएका छन् । अहिले पनि तपाईंहरूले आचारसंहिता लगायत पार्टी सर्वहाराकरण गर्ने जुन निर्णय गर्नुभएको छ त्यसलाई कार्यान्वयन गर्ने विधि के हुन्छ ?

– वर्गीय समाजमा वर्गका प्रभावहरू कम्युनिष्ट पार्टीभित्र पनि परिराख्छन् । त्यसो हुादा त्यहां दुई लाइन संघर्ष चल्छ नै । सर्वहारावादी प्रवृत्ति र गैर सर्वहारावादी प्रवृत्तिको बीचमा निरन्तर संघर्ष चल्छ । त्यो नै मार्क्सवादी-भौतिकवादी मान्यता हो । त्यसअनुरुप पार्टीभित्र गैरसर्वहारा वर्गीय विचारको प्रवृत्तिले समस्या उत्पन्न हुन्छन् । त्यसलाई सफा गर्नको निम्ति निरन्तर रूपमा एउटा संघर्ष चलाइरहनु पर्दछ । निरन्तर शुद्धीकरण अभियान चलाउनु पर्छ भन्ने एउटा माक्र्सवादी मान्यता हो । त्यसै अनुरुप हाम्रो पार्टीले पनि वर्गसंघर्षको सापेक्षतामा शुद्धीकरण र सर्वहाराकरणको अभियान चलाउन लागिरहेको छ । तर अहिलेको खुल्ला परिवेशमा जसरी शान्तिपूर्ण राजनीति हामीले गरिरहेका छौं र यस्तो बेला विभिन्न विजातीय तत्वहरूको प्रभाव पर्ने खतरा बढेर गएको छ । यतिबेला पार्टीभित्र सुद्धीकरण र सर्वहाराकरणको अभियानलाई अलि विशेष महत्वका साथ अगाडि बढाउनु पर्छ भन्ने हामीलाई लागेको छ । त्यसै अनुरुप नै अहिले हामीले केन्द्रीय समितिको निम्ति भनेर १५ बुंदे आचारसंहिता घोषणा गरेका छौं । त्यसलाई कडाइपूर्वक लागू गरेर जानुपर्छ । तर यो प्रारम्भ मात्रै हो । किनभने हामी छिट्टै महाधिवेशनमा जादैछौं । महाधिवेशनकै क्रममा यसलाई प्रारम्भिक छलफलमा लगेर थप विकास र कार्यान्वयन गर्छौं । तर हामीलाई अनावश्यक आशंका गरी हाल्नु हुंदैन । कमी कमजोरी विगतमा भएका छन् । त्यसबाट सिकेर अगाडि बढ्नु नै क्रान्तिकारिता हो । हामीलाई लाग्छ हाम्रो जस्तो १० औं हजार शहीदहरूको भार बोकेको पार्टीले शुद्धीकरण अभियानलाई दृढतापूर्व लिन्छ र लिनुपर्छ ।

० तपाईंहरुको पार्टीले एकातिर आन्दोलनको घोषणा र अर्कोतिर महाधिवशेनको मिति पनि एकैसाथ  तय गरेको छ, आन्दोलनसंगै महाधिवेशन आवश्यकता किन भयो ?

– सामान्यतयाः हाम्रो पार्टीको महाधिवेशन नभएको निकै भइसकेकोले त्यसलाई हामीले गर्नै पर्थ्यो । अहिले महाधिवेशनको मितिको घोषणा र संघर्षको कार्यक्रमको घोषणा जसरी हामीले एकै साथ गरेका छौं त्यसलाई अन्यथा मान्नु हुंदैन । किनकी वर्गसंघर्ष र अन्तरसंघर्ष एक आपसमा जोडिएका हुन्छन् । वर्गसंघर्षको प्रक्रिया संगैसंगै पार्टी निर्माण र संगठनात्मक संरचना निर्माणलाई पनि अगाडि बढाएर लैजानु पर्छ । त्यसो भएको हुनाले यी दुईवटा प्रक्रियालाई संगसंगै लाने कोशिश गरेका हौं । यसमा अन्तरविरोध होइन ती एक अर्काका पुरक नै हुन्छन् भन्ने हामीलाई लाग्छ ।

० वैचारिक रूपमा थोरै असहमति हुंदा पनि पार्टीमा विभाजन आउने जस्ता नकारात्मक विरासत कम्युनिस्ट आन्दोलनमा देखिदै आएको छ, यसको प्रभाव नेपालको कम्युनिष्ट आन्दोलनमा किन बढी पर्‍यो होला ?

– हाम्रो समाज असाध्यै निम्न पुंजीवादी आधार भएको समाज हो । त्यसकारण निम्न पुंजीवादी वर्गको बाहुल्य भएको समाजमा त्यो प्रवृत्ति कम्युनिष्ट पार्टीभित्र पनि घुसेर दुई लाइन संघर्ष स्वस्थ नबन्ने र त्यसले एकता, संघर्ष र रुपान्तरणको दिशातिर जानुको साटो एकता, संघर्ष र फुटतिर जाने प्रवृत्ति देखिएको हो । तैपनि त्यो वस्तुगत कुरालाई हामीले आत्मगत प्रयासले रोक्न सक्नुपर्छ र हाम्रो पार्टी अहिले कम्युनिष्ट आन्दोलनमा उदाहरणीय रूपमा स्थापित भएर आएको छ । यसको इतिहास हेर्नुभयो भने यसमा टुटफुटको होइन धुव्रीकरण र एकताको इतिहास नै रहेको पाउन सकिन्छ । माओवादी पार्टी स्थापना भए यता त्यस्तो उल्लेखनीय फुट यो पार्टीमा कहिल्यै पनि भएको छैन । एकाध तत्वहरू कारबाहीमा परेका छन् । त्यसले पार्टीलाई फुटमा लगेको छैन । त्यसयता विभिन्न समूहबाट माओवादी ध्रुवीकृत र एकीकृत हुने प्रक्रियामै अगाडि बढेको छ । त्यसै क्रममा नै यो पार्टी अहिले एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को रूपमा विकास भएर आएको छ ।

० तपाईंकै नेतृत्वमा अहिले संयुक्त जनआन्दोलन समिति पनि बनाइएको छ, यसको आवश्यकता र औचित्यको बारेमा बताइदिनुहोस् न ?

– आमरूपमा हाम्रो मान्यता के हो भने जनवादी क्रान्ति पूरा गर्नको निम्ति तीनवटा हतियार चाहिन्छ । त्यो भनेको पार्टी, जनताको फौजी शक्ति र व्यापक जनसमुदायबीचको संयुक्त संस्था । यी तीनवटा साधनले नै क्रान्ति सम्पन्न गर्छ भन्ने शास्त्रीय, मार्क्सवादी र माओवादी मान्यता हो । त्यो अनुरुप नै हामीले विविध रूपमा संयुक्त मोर्चाको अभ्यास हामीले पहिलेदेखि नै गर्दै आएका हौं । जनयुद्ध पहिले एउटा अभ्यास थियो- संयुक्त जनमोर्चाको रूपमा, जनयुद्धकालमा क्रान्तिकारी जनपरिषद्को रूपमा एउटा अभ्यास थियो भने अहिलेको यो खुल्ला परिवेशमा नयां ढंगले संयुक्त मोर्चालाई अगाडि बढाउन हामीले आवश्यक ठान्यौं । त्यसो भएको हुनाले हामीले अहिले संयुक्त राष्ट्रिय जनआन्दोलनको रूपमा संयुक्त मोर्चाको निर्माण गरेका छौं ।

यसमा सर्वहारा वर्गको नेतृत्वमा सबै सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिहरूलाई एकताबद्ध गर्ने एउटा रणनीति प्रकारको संयु्क्त मोर्चाको रूपमा यसलाई हामीले विकास गर्न चाहेका हौं । यसको प्रारम्भिक खाका मात्रै तयार भएको छ । छिट्टै हामीले राष्ट्रिय भेला गरेर यसको विस्तृत नीति, कार्यक्रम, नियमावली र नेतृत्व हामी निर्माण गछौं । यसले आगामी दिनमा देशमा जुन किसिमको व्यापक जनआन्दोलनको आवश्यकता छ त्यो आवश्यकता पूर्ति गर्न सहयोग पुर्‍याउंछ भन्ने हामीलाई लागेको छ ।

० अहिले संयुक्त राष्ट्रिय जनआन्दोलन समितिले घोषणा गरेको आन्दोलनका उद्देश्य र लक्ष्यहरू के हुन् ?

– तत्काल त हामीले देशमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध देशी विदेशी प्रतिक्रियावादीहरूले जसरी षड्यन्त्र गरेका छन्, त्यसमा रुमलिएर यथास्थितिवादमा देशलाई पुनः फर्काउने जुन खतरा बढेको छ, त्यसलाई रोक्नका लागि सम्पूर्ण प्रगतिशील, अग्रगामी, सामन्तवाद र साम्राज्यवादविरोधी शक्तिहरूलाई एकताबद्ध गरी अग्रगमनको प्रक्रियालाई अगाडि बढाउने नै यसको लक्ष्य हो । ठोस रूपमा भन्नुपर्दा वैशाख २० गते मध्यरातमा राष्ट्रपतिले चालेको असंवैधानिक कदमले नित्याएको एक ढंगको ‘कू’ पछि देशमा सैनिक सर्वोच्चताको बादल मडारिरहेको छ । त्यसलाई अन्त्य गरेर देशमा नागरिक सर्वोच्चता कायम गर्ने र गणतन्त्रलाई संरक्षित गर्दै थप विकिसत गर्ने दिशामा लानको निम्ति हामीले यो संघर्षका कार्यक्रम घोषणा गरेका हौं । त्यस अतिरिक्त राष्ट्रिय स्वाधीनताको प्रश्न, राज्यको संघीय ढांचामा पुनर्संरचनाको प्रश्न, जनताका तत्कालीन आवश्यकता र जनजीविकाको प्रश्नलगायतका विषयलाई लिएर संघर्षलाई अगाडि बढाउनु पर्छ भन्ने हामीले ठानेका छौं । त्यसको निम्ति हामीले ‘शान्ति, संविधान, नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधीनता र माओवादी नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार’ भन्ने मूल नारा बनाएर संघर्ष अगाडि बढाउने सोचेका छौं ।

० आन्दोलन उत्कर्षमा पुग्नै लाग्दा सम्झौतामा गएर टुंगिने प्रक्रिया विगतमा पनि देखिदै आएको छ, अहिले पनि त्यस्तै नियति दोहोरिने आशंका छ नि ?

– माओवादीको हकमा त्यस्तो छैन । २००७ सालदेखिको पटक-पटकको जनताप्रति गरिएको धोकाको इतिहास पहिले कांग्रेस र पछि एमालेले दोहोर्‍याएको हो । त्यो संगै सम्बन्धविच्छेद गर्दै माओवादीले जनताका अधारभूत माग पूरा नभएसम्म कहिले पनि प्रतिक्रियावादी र अवसरवादी शक्तिहरूसागै सम्झौता गरेको छैन । अहिले पनि देशमा स्थापीत गणतन्त्रका विरुद्ध जुन षड्यन्त्रहरू भइरहेका छन् त्यसका विरुद्ध संघर्ष गरेर गणतन्त्रलाई सांच्चै जनताको संघीय गणतन्त्रमा रुपान्तरण गर्न हामीले संघर्षको थालनी गरेका छौं । त्यसकारण हामीले हाम्रा न्यूनतम मागहरू पूरा नभएसम्म यो संघर्षलाई हामी बीचमा छोड्दैनौं, यसमा सबै ढुक्क भए हुन्छ ।

० तपाईंहरूले उठाउंदै आउनुभएको  राष्ट्रिय संयुक्त सरकारको स्वरुप र योजना चाहिं कस्तो हुनेछ ?

– राष्ट्रिय संयुक्त सरकार भनेको नागरिक सर्वोच्चताका पक्षधर अथवा सैनिक सर्वोच्चताका विरोधी, राष्ट्रघातका विरोधी अग्रगमनकारी शक्तिहरूलाई नै समेटेर हामीले राष्ट्रिय संयुक्त सरकार बनाउने कुरा गरेका हौं । त्यसैले जो नागरिक सर्वोच्चता विरोधी छन् अथवा राष्ट्रिय स्वाधीनता विरोधी छन् त्यस्ता तत्वहरूसंग मिलेर हामी सरकार बनाउने पक्षमा छैनौं । जसले नागरिक सर्वोच्चताको पक्ष लिन्छन्, राष्ट्रिय स्वाधीनताको पक्ष लिन्छन् त्यस्ता शक्तिहरूसंग अझ ठोस रूपमा भन्नुपर्दा जसले राष्ट्रपतिको असंवैधानिक कदमको विरोध गर्छन् ती शक्तिहरूसंग मिलेर नै राष्ट्रिय संयुक्त सरकार बनाउनु पर्छ भन्ने हामीले ठानेका छौं । संविधानसभा निर्वाचनमा व्यक्त भएको नेपाली जनताको जनमत भनेको माओवादी पार्टीले नै शान्ति र संविधान मिर्माण प्रक्रियाको नेतृत्व गरोस् भन्ने हो । अहिले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले षड्यन्त्र गरेर जसरी माओवादीलाई बाहिर राख्ने र उही पुरानै यथास्थितिवादी, प्रतिक्रियावादी शक्तिहरूको कठपुतली गठबन्धन सरकार निर्माण गर्ने जुन काम गरेका छन् त्यो नेपाली जनता र राष्ट्रको हितमा पटक्कै छैन । जनताको यो आह्वान र मागलाई पूरा गरेको निम्ति पनि हामीले राष्ट्रिय संयुक्त सरकार निर्माणको नारा अगाडि सारेका हौं । यो संघर्षको बलमा नै स्थापित हुनेछ र यसले नेपाली जनताको आवश्यकता पूरा गर्नेछ भन्ने हामीलाई लागेको छ ।

० नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताका कुरा तपाईंहरूले उठाइराख्नु भएको छ, यो दुई मुद्दामध्ये अहिले खास महत्वको चाहिं कुन हो ?

– होइन, यो खासखास अवस्थामा जोडिएरै आएका हुन्छन् । अहिले नेपालमा नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताको प्रश्न एक अर्कामा जोडिएरै आएको छ । त्यसै भएर यसलाई प्रमुख र गौण भन्नुभन्दा पनि यी दुवै मुद्दालाई आपसमा जोडेरै अगाडि बढाउनुपर्छ भन्ने हामीलाई लाग्छ ।  mahimanews@gmail.com

 
१ टिप्पणी

Posted by on अगस्ट 7, 2009 in HOME

 

One response to “हामी संघर्षलाई बीचमा रोक्दैनौं : डा. बाबुराम भट्टराई

  1. विश्व

    अगस्ट 8, 2009 at 9:03 बिहान

    Good ! Andolan ko mausam feri aayo ramailo hune bhayo. dhunga mudha tyre etc……

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: