RSS

विराटनगर जुटमिलमा फेरी आन्दोलन

16 Aug

पेशागत सुरक्षाको मागलाई लिएर लामो समयदेखि आन्दोलनरत विराटनगर जुट मिलका मजदुरहरू गत साउन १८ गतेबाट पुनः आन्दोलनमा उत्रिएका छन् । विगत दुई दशकदेखि कहिले बन्द हुंदै त कहिले खुल्दै आएको यस उद्योगको सवालमा सरकारले स्पष्ट दृष्टिकोण बनाउन नसक्दा मजदुरहरु निराश मात्रै बनेका छैनन्, आगामी भदौ १५ गतेदेखि अनिश्चितकालीन आम हड्ताल गर्ने जस्ता कार्यक्रम लिएर आन्दोलनमा उत्रिन वाध्य भएका छन् ।

आन्दोलनरत मजदुर कर्मचारीहरूले ‘ले अफ’ समय अवधिभरको तलव भत्ता र सुविधा भुक्तानी गर्नुपर्ने, बन्द जुटमिल तुरुन्त सञ्चालन गर्नुपर्ने माग राख्दै आन्दोलनको शुरुवात गरेका छन् । जुटमिलभित्र अस्तित्वमा रहेका प्रायः सबै ट्रेड युनियन सम्बद्ध मजदुर कर्मचारीहरूले अहिले संयुक्त रूपमा संघर्ष समिति बनाएर तेस्रो चरणको आन्दोलन शुरु गरेका हुन् ।

गएको असारदेखि नै आन्दोलनमा उत्रिएका मजदुरहरूलाई जुटमिल अध्यक्ष अशोक पोखरेलले आर्थिक वर्ष २०६६।०६७ को बजेट भाषणसम्म आन्दोलन स्थगित गर्न आग्रह गरेपछि मजदुरहरूले आन्दोलन स्थगित गरेका थिए । अध्यक्ष पोखरेलले मन्त्रालयबाट ३ करोड ७ लाख ७८ हजार स्वीकृत भइसकेको र मिलको भविष्यका बारेमा छिट्टै निर्णय हुने पत्र पठाएपछि असारमा हामीले आन्दोलन स्थगित गरेका थियौं । आन्दोलन संयुक्त संघर्ष समितिका सदस्य एवं अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य गंगा थापाका अनुसार आश्वासन वापतको बजेट निकाशा भएपनि बजेट भाषणमा जुटमिलका विषयमा केही पनि उल्लेख नभएपछि मजदुरहरुले फेरी आन्दोलन सुरु गरेका हुन् ।

७३ वर्षअघि स्थापना भएको यो उद्योगमा १ हजार ४६ जना श्रमिकहरू स्थायी रूपमा कार्यरत भए पनि उनीहरूले अहिले काम गर्न पाएका छैनन् भने उद्योग पूर्ण रूपमा बन्द छ । गएको जेठ अन्तिम साता नै उद्योग सञ्चालन गर्न नसकिने र मजदुरहरूलाई निष्काशन गर्न पाउनु पर्ने मागसहितको फाइल जुटमिल सञ्चालक समितिले श्रम विभागमा दर्ता गराएको थियो । सञ्चालक समितिका अध्यक्ष अशोक पोखरेल अब थोरै लगानीले उद्योग सञ्चालन हुनै नसक्ने ठोकुवा गर्छन् । उनी भन्छन्, सरकारले छिटोभन्दा छिटो उद्योगको सवालमा स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्छ ।

पूर्वाञ्चलका जनताको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको यो कारखानामा यदि ताल्चा लाग्ने हो भने सबैभन्दा बढी त्यहां कार्यरत मजदुरहरू प्रभावित हुनेछन्, कैयौंको जीवन आधार नै चुडिने छ । नेपालमा सरदर १ जना श्रमिकको आम्दानीले ५ जनाको परिवार पालिंदै आएको छ । यस्तो अवस्थामा जुटमिल बन्द हुने हो भने १ हजार ४६ जनाले रोजगारी त गुमाउने नै छन् । उनीहरूको आम्दानीबाट आश्रीत ५ हजार २ सयभन्दा बढी मानिसहरू समेत प्रत्यक्ष प्रभावित हुने छन् ।

तीन दशकभन्दा लामो उर्जाशील समय उक्त उद्योगमा बिताइसकेका श्रमिक आइतबहादुर तामाङका अनुसार सरकार परिवर्तन पिच्छे नै हुने गरेका राजनीतिक नियुक्ति, जुट उद्योग र कृषकका समस्यालाई सरकारले पहिचान गर्न नसक्दा उद्योग धाराशयी हुन पुगेको छ ।

विराटनगर जुट मिलको विगत केलाउने हो भने यस उद्योगले राजनीतिक र आर्थिक दुवै क्षेत्रमा इतिहास बोकेको छ । राणा शासन विरोधी स्वतन्त्रता आन्दोलनको सुरुवातदेखि नेपालका सिद्धहस्त राजनीतिक नेताहरू गिरिजा प्रसाद कोइराला, मनमोहन अधिकारी आदिले यसै उद्योगबाट राजनीतिको शुरुवात गरेका थिए । तर २०४६ सालदेखि पटक-पटक सरकारको चाबी समातेका कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला समेतले यस उद्योगको समस्या समाधानका लागि ध्यान नदिंदा अहिले उद्योगले यो अवस्था भोग्नुपरेको मजदुरहरू बताउंछन् । मजदुर आइत बहादुर तामाङ भन्छन्- सरकारले उद्योग सञ्चालनका लागि वर्षेनी केही रकम छुट्याउने र रकम छउन्जेल उद्योग चल्ने, रकम सिद्धिएको भोलिपल्टवाट उद्योग बन्द हुने अवस्था अहिले उद्योगले भोगिरहेको छ ।’

जुटमिल रोजगारमुलक, कृषि र निकासीजन्य तथा वातावरणमैत्री उद्योगको रूपमा परिचित भए पनि जुट उद्योग र कृषकलाई सरकारले वेवास्ता गर्दा समस्या निराकरण हुनुको साटो बढ्दै गएको जानकारहरूको भनाइ छ । विश्वमा नेपालसहित भारत, बंगलादेश र म्यानमारमा मात्र जुटको खेती हुन्छ । उद्योग पनि नेपाल, भारत र बंगलादेशमा मात्र सीमित छ । नेपालको विराटनगर, सुनसरी करिडोर क्षेत्रभित्र मात्रै ११ वटा जुटमिल छन् । तर ती मध्ये अहिले आधाजसो बन्द अवस्थामा छन् ।

जुट मिलमा कार्यरत मजदुर कर्मचारीहरूलाई विगत १० महिनादेखि व्यवस्थापनले कहिले लेअफ त कहिल पेअफमा राखेको छ । श्रम कानुनअनुसार श्रमिकहरूलाई ले अफमा राखिंदा कामै नगरे पनि आधा तलब दिनुपर्ने र तीन महिनाभन्दा बढी राख्न पाइने छैन । गएको फागुनदेखि नै ले अफमा राखिएका श्रमिकहरूको उक्त अवधि बैशाख २९ मा सकिईसकेको छ । जसका कारण अहिले स्वयं जुटमिल सञ्चालक समिति नै श्रमिकहरूलाई के गर्ने भनेर अन्योलमा छ ।

श्रमिकहरूका भनाईमा उद्योग वचाईराख्नु नै नेपालको पनि प्रतिष्ठाको विषय हो । तर यदि सरकारले उद्योग सञ्चालन गर्न नै सक्दैन भने छिटो भन्दा छिटो अन्तिम निर्णय सार्वजनिक गर्नुपर्छ ।  मजदुर आइतबहादुर भन्छन्- कि काम देउ होइन भने नियम कानुनअनुसार बिदा देउ भनेर अहिले हामीहरू आन्दोलनमा छौं । सरकारले यदि मजदुरहरूलाई बिदा गर्ने निर्णय गरे पनि यसले सरकारलाई ठूलो व्ययभार पर्ने निश्चित छ । उद्योग बन्द हुंदा पनि कर्मचारीलाई मासिक तलव र भत्तावापत ५० लाख खर्च ब्यहोर्दै आइरहेको सरकारले मजदुरहरूलाई बिदा गर्ने निर्णय गरेमा ५० करोड रुपैयां क्षतिपूर्तिका लागि मात्रै छुट्टयाउनुपर्ने हुन्छ ।

यसैविच अखिल नेपाल ट्रेड युनियन महासंघले मजदुरहरूको तलव, ज्याला र महँगी भत्ता वृद्धिको माग गर्दै संघर्षका कार्यक्रमहरू घोषणा गरेको छ । घोषित संघर्षका कार्यक्रम अनुसार साउन २४ गतेदेखि ३२ गतेसम्म प्रतिष्ठानस्तरमा मागपत्र पेश गर्दै वालपेन्टिङ, पर्चा वितरण, झण्डा ब्यानर राखेर प्रचार-प्रसार गर्ने, भदौ १ गतेदेखि १७ गतेसम्म मजदुर व्यावसायीहरूसँग छलफल, अन्तर्क्रिया र कोणसभा गर्ने, भदौ १८ गते देशका मुख्य सहरहरूमा मजदुरहरूको विरोध र्žयाली तथा सभा गर्ने र भदौ १९ गतेबाट क्रियात्मक संघर्षका कार्यक्रम गर्ने लगायतका छन् ।

अहिले अन्य समुदायको तुलनामा नेपाली मजदुरहरू सबैभन्दा बढ्ता उत्पीडनमा परेकाले मजदुरहरूको तलव, ज्याला र महँगी भत्ता वृद्धिको मागसहित आन्दोलनमा उत्रनुपरेको अखिल नेपाल ट्रेड युनियन महासंघले स्पष्ट गरेको छ । वर्तमान सरकार राष्ट्रिय मजदुर आयोगको गठन, नयाँ श्रम ऐन निर्माण, मजदुरहरूको सामाजिक सुरक्षा लगायतका विषयमा मौन वसेर उल्टै न्यून ज्याला र तलवमा काम गर्ने मजदुरहरूसँग कर लिने निर्णयमा पुगेको कारण पनि आफुहरू आन्दोलनमा उत्रनुपरेको महासंघले जनाएको छ। ‘मजदुरहरूको सामाजिक सुरक्षाको योजना विना मजदुरहरूसँग कर लिन नदिने कुरा घोषणा गर्न चाहन्छौं’- अध्यक्ष जम्मकट्टेलले जारी गर्नुभएको वक्तव्यमा उल्लेख गरिएको छ । स्मरणीय छ, अखिल नेपाल ट्रेड युनियन महासंघले साउन ८ गते सरकार तथा उद्योगी ब्यवसायीहरूसँग मजदुरहरूको तलव, ज्याला र महँगी भत्ता वृद्धिको माग गरेको थियो ।

–          महिमा साप्ताहीक

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 16, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: