RSS

चेपाङका घर-घरमा गोबरग्यांस

23 Aug

विनोद ढकाल, रेडियो गोरखा –

सरल ब्याजदरमा ऋण पाएपछि गोरखा मकैसीं गाउं विकास समितिका चेपाङका घरमा अहिले गोबरग्यांसमा खाना पाक्न थालेको छ । गोबरग्यांसका बारेमा केहि थाहा नपाएका चेपाङहरु अहिले त्यसमै खाना पकाउन पाउंदा दंग परेका छन् । स्थानिय कोलडांडा चेपाङ सामुदायिक वन उपभोक्ता समुहले उपभोक्ताहरुलाई सरल ब्याजदरमा ऋण दिएपछि ३१ घर उपभोक्ताले गोबरग्यांस प्लान्ट निर्माण गरेका छन् । तीमध्ये १५ घर चेपाङ रहेका छन् ।

निम्न आयस्तर भएका चेपाङहरुले मासिक रुपमा तिर्नेगरी ऋण पाएपछि गिटी बालुवा आफै जम्मा गरी गोबरग्यांस बनाएका हुन् । उनीहरुले गोबरग्यांस बनाउन ७ हजारदेखि १२ हजारसम्म ऋण लिएका छन् । जुन पैसा प्लान्टका लागि आवश्यक पर्ने सिमेन्ट र रड किन्न मात्र प्रयोग गरेका छन् । “बांकी काम सवैले छिमेकमा आलापालो गरेर गर्‍यौं” मकैसीं ३ जटारकी सुन्तली चेपाङले बताइन् । “बालुवा ल्याउन, गिटी कुट्न र खाल्डो खन्न आलोपालो गर्‍यौं पैसा खर्च गर्नु परेन” उनले भनिन् ।

गोबरग्यांस राखेपछि उनीहरुले मासिक किस्ता तिर्न तरकारी खेती र पशुपालन गर्न थालेका छन् । “पहिले दाउरा खोज्ने समय आजभोली तरकारी खेतीमा लगाएका छौं, किस्ता तिर्न सजिलो भएको छ ।” उनले भनिन् । वन समुहबाट लिएको ऋणको किस्ता तिर्न उनीहरुले मासिक ४ सय देखि ७ सय रुपियांसम्म तिर्नुपर्छ “हामीले तरकारी बेचेर किस्ता तिर्ने गरेका छौं” जटारकै वेलीमायां चेपाङले बताइन् । “गोबरग्यांस राखेपछि धुवांमा वस्न परेको छैन एकै छिनमा खाना पाक्छ भांडा माझ्न सजिलो भएको छ” उनले भनिन् । परम्परागत गाउंले घरहरुमा एकै ठाउंमा भान्सा, सुत्नेकोठा र केटाकेटी पढ्न हुंदा धुवाबाट सबै समस्यामा पर्ने गरेका थिए । गएको हिउंदमा गोबरग्यांस बनाएपछि केटाकेटीलाई पढ्न पनि सजिलो भएको स्थानिय शिक्षिका यानुमाया चेपाङले भनिन् । “पहिले धुवांमा वस्दा सास फेर्न पनि सकिदैनथ्यो अहिले धेरै सजिलो भएको छ” स्थानिय ७० वर्षिय रुन्चीमाया चेपाङले बताइन् । “भान्से भएको ५० वर्ष भयो यस्तो सजिलो हुन्छ भन्ने के थाहा ?” उनले प्रश्न गरिन् । 

शुरुमा पैसा खर्च हुन्छ भनेर राख्न सकिंदैन कि भनेर गोबरग्यांस राख्न डराएका चेपाङ समुदाय सरल किस्तावन्दी र गोबरग्यांसको फाइदाको विषयमा प्रष्ट्याएपछि राख्न सहमत भएका थिए । “पहिले कसैले मान्नुभएको थिएन पछि सबैजना उत्साहित हुनुभयो आउंदो वर्ष ३० घरले बनाउने भएका छन्” महासंघकी सहजकर्ता कविता अर्यालले भनिन् । “सरल ब्याजदरमा ऋण नपाएको भए वर्षौंसम्म गोबरग्यांस बन्न संभव थिएन” उनले भनिन् ।

सामुदायिक वन उपभोक्ता महासंघ मार्फत वन समुहले ऋण लिइ उपभोक्ताहरुमा लगानी गरेपछि उनीहरुले वायोग्यांस बनाएका हुन् । वायोग्यांसका फाइदाहरुको विषयमा पनि महासंघले सहजीकरण गरेको थियो । यसवर्ष महासंघको प्रोत्साहनमा जिल्लाका बिभिन्न गाउामा ४०० गोवरग्यांस प्लान्ट बनेको सचिव दीपक भट्टराईले बताए । महासंघले जिल्लाका बोर्लाङ, धावा, नारेश्वर, च्याङ्ली आरुचनौटे र गोरखा नगरपालिकाका बिभिन्न वडाका सामुदायिक वन समुहमा गोबरग्यांस संबन्धि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । दलित, जनजाति, विपन्न, अल्पसंख्यक रहेका वन समुहमा सचेतना कार्यक्रम सञ्चालन गरेको महासंघले जनाएको छ । महासंघको प्रोत्साहनमा बनेका गोबरग्यांस प्लान्टमा आधाभन्दा बढी दलित र जनजातिको घरमा बनेका छन् । “अरुले त आफै पैसा खर्च गरेर बनाउन सक्छन्, सहयोग चाहिने गरिब र आर्थिक हैसियत कमजोर भएकालाई हो, त्यसैले समुह छनोट गर्दा दलित जनजाति भएकालाई छनोट गरेका हौं” उनले भने ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 23, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: