RSS

थारु मुक्ति आन्दोलनको अबको दिशा

25 Aug

जानकी चौधरी

इतिहासको कालखण्डमा प्राकृतिक प्रकोप, ठूलठूला महामारी, औलो र जङ्गली हिंस्रक जनावरहरुसाग संघर्ष गर्दै इमान्दार, कर्मठ, मेहनती र लडाकु स्वभावका थारु जातिले दङ्गाली भूमिलाई मानव बस्तीयोग्य र खेतीपातीयोग्य जमीन बनाएको कुरा सर्वविदितै छ । जसले दंगाली भूमिलाई सु-सम्पन्न बनाउन अथक संघर्ष गर्यो, त्यही थारु कोही सुकुम्बासी बनाइएका छन् भने कसैलाई कम उत्पादन हुने ठाउंमा बस्न बाध्य पारिएको छ । आदीम समयतिर सामुहिकतामा आधारित खेतीप्रणाली गर्दै आएको थारु समुदाय आदिबासी भूमिपुत्रको रुपमा परिचित थियो, तर पछि बिस्तारै भूमिबाट वञ्चित गरियो । अन्यत्रबाट आएका खस उच्च अहंकारवादी शाहवंशीय राजा रजौटाहरुले भूमिमात्र खोसेनन्, गणप्रथात्मक राज्यमाथि प्रभुत्व पनि जमाए। यसरी थारु समुदाय भूमिहीन मात्र भएनन्, राज्यविहीन अवस्था बांच्न विवश भए। १२औं शताब्दीभन्दा पछाडि राज्यसत्ताबाट पूर्ण उपेक्षित र दोस्रो दर्जाका नागरिकको रुपमा गनियो । चतुर, जालीझेली सामन्ती वर्गले थारु समुदायलाई शोषण, दमन गरी भूमि र सत्तामा आफ्नो हैकम जमाइसकेपछि रजाई गर्न थाले । कोहीलाई दाङबाट उठिबास बनाइयो । कोही कमैया कम्लहरि, हरुवाचरुवा बनाइयो, कतीले जमिन्दारसंग संघर्ष नै गर्नुपर्यो । विना अर्थ लगाइएका सदियौं देखिका सौकी, अंकुशका कारण जमिन्दारको खेती अधियां लगाउन बाध्य पारियो । पटक-पटक किसान आन्दोलन भए तर तत्कालिन राज्यले नरसंहारकारी बेलुवाबञ्जाडी हत्याकाण्ड नै मच्चायो । निर्दोष किसानको कत्लेआम गरियो । कति जेल जीवन भोग्न बाध्य भए, कति घाइतेसमेत भए । यसरी इतिहासदेखि वर्तमानसम्म उत्पीडन र दमनको प्रतिरोध गर्दै थारु जातिले अहिले आफ्नो मुक्तिमार्ग सुनिश्चित गरिसकेको छ । त्यसको पछिल्लो कडी जनयुद्ध र १९ दिने जनआन्दोलनमा थारु जातिको सहभागिता, क्रियाशीलता र बलिदान नै हो । ‘जुन उत्पीडित जाति हतियार उठाउन तयार छैन उपायहरुलाई खोजी पनि गर्दैन त्यो सधैं दास बन्न लायक हुन्छ ।’ भन्ने लेनिनको भनाईलाई आत्मसाथ गर्दै थारु समुदाय सधैंभरी दास बनेर बस्न सकेन र मुक्ति या मृत्युको कसम खांदै महान् जनयुद्धमा होमियो । नयां नेपाल निर्माणको निम्ति हजारौंको बलिदानी भयो, सयौं अंगभंग भए र कयौं बेपत्ता पारिए । लाखौंको त्याग, तपस्या र बलिदानी एवं अनगिन्ती घुम्तीमोड पार गर्दै अहिलेको स्थिति सिर्जना भएको हो ।

क्रान्तिको यो निरन्तरतामै आफूलाई कम्युनिष्ट भन्ने देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुको आडभरोसामा चल्नेहरु अहिले थारु समुदायलाई “फुटाउ र राज गर”को नीति अख्तियार गर्दै थारु समुदायलाई विखण्डन गर्न लागिपरेका छन् । तिनीहरु कहिल्यै पनि समाजलाई सुमार्गतिर होइन, कुमार्गतिर दौडाइरहेका छन् । चर्कोरुपमा जातीयताको मात्र नारा उठाउनेहरुलाई जानकारी होस् कि उत्पीडित जाति, वर्ग, क्षेत्र र लिङ्गको सवाल कसले कहिलेदेखि उठायो ? जतिबेला माओवादीले जनयुद्ध शुरु गर्यो र विकास गर्दै अघि बढ्यो अनिमात्र समाजमा वर्गीय, जातीय, लिङ्गिय जागरण आएको हो । र, सम्पूर्ण पछि पारिएका उत्पीडित समुदायमा महिला, दलित, जनजातिमा नयां चेतनाको विकास भयो । अधिकार मागेर होइन, लडेर र खोसेर पाइन्छ भन्ने चेतनाको विजारोपण भयो ।

अग्रगामी विचारसहित माओवादी पार्टीमा जातीय स्वायत्तता हुनुपर्छ भनेर सबभन्दा बढी मगर, थारु, दलित, महिलालगायत थुप्रै जनजातिहरुले जनुयद्धको क्रममा बलिदान गरेका छन् । यस बलिदानीको अर्थ त्यो होइन कि जसरी एमाले कांग्रेसभित्रका दुईचारजना थारुहरु चर्कोरुपमा जातीयताको नारा दिएर सिंगो थारु समुदायलाई गुमराहमा पार्ने र जातीय दंगा फैलाउने चालबाजी गर्दैछन् । तर, यसो भन्दैमा यो भन्न खोजिएको पनि होइन कि – नेपाली जनताको छोराछोरीको रगतलाई कुल्चेर भाग्ने भगौडा थरुहटद्वारा फैलाइएका चिप्ला र भ्रमपूर्ण नाराहरु हुन्। वास्तवमा उनीहरु कहांबाट परिचालित छन् र कस्तो पार्टीको पक्षपोषण गरिरहेका छन् भन्ने कुरा हामीलाई स्पष्टै छ, कोही विस्तारवाद र साम्राज्यवादद्वारा निर्देशित छन् भने कोही जसले थारु समुदायलाई जमिनबाट बेदखल गरायो, जुन पार्टीले थारुहरुलाई हरुवा, चरुवा, कमैया, कम्लहरी, बनाए तिनैलाई पालन पोषण गरिरहेको एमाले कांग्रेसजस्ता जमिन्दार, सामन्तका पार्टीबाट सञ्चालित छन् । बाहिर थारु कल्याणको लेप लगाउने, थारु समुदायको उत्थानका गफ फलाक्ने तर थारु समुदायलाई सधैंभरि जमिन्दारकै नोकरचाकर बनाउन चाहनेहरुले बाहिर चारहात उफ्रेर जातीय मुक्तिका कुरा गर्छन्, तर भित्र तिनैले बढ्ता शोषण गरिरहेका छन् । त्यसकारण अहिले आएर जतिसुकै चिच्याएपनि वास्तविक नारा कसले जन्मायो भन्ने प्रष्टै छ । त्यसैका निम्ति सबभन्दा बलिदानी गर्नुपरेको इतिहास पनि हाम्रा सामु छ । यसले गणतन्त्र, संघीयता र राज्य पुनःसंरचनाको लागि सबभन्दा धेरै रगत पसिना खर्चिने माओवादीकै नारा बङ्ग्याएर थारु समुदायलाई भ्रमित पार्न कसैले खोज्छ भने वास्तविक पिडीत वर्गलाई त्यो कदापी मान्य हुने छैन । स्पष्ट विचारबिना हचुवाकै भरमा भ्रामक नाराले थारु समुदायलाई गुमराहमा पारियो भने वास्तविक थारु समुदायप्रतिको दायित्व हुने छैन, त्यो अन्तरघात र धोका हुनेछ ।

आजको दुनियांमा कोही पनि स्वतन्त्र हुन छैन । राजनीतिको रङ्गले सबैलाई छोएको छ । सवाल सही र गलत छुट्याउने मात्र हो । कुन पार्टीको लक्ष्य, उद्देश्य र दिशा के हो कसले देश, दुनियां र सबै उत्पीडित समुदायको पक्षमा छ र को विपक्षमा छुट्याउनु पर्ने बेला हो । त्यसैले सहीलाई सही र गलतलाई गलत भन्न सकौं, कसले सांचो अर्थमा थारु समुदायको मुक्तिको लागि लडिरहेको छ चिन्न सकौं यही नै वास्तविक थारु समुदायको दायित्वबोध हुनेछ ।

जबसम्म हामीले २१औं शताब्दीको नयां र सही विचार माक्र्सवादी सिद्धान्तलाई आफ्नो वैचारिक मार्गदर्शन बनाउन सक्दैनौं, हामी असफल हुने निश्चित छ । वैज्ञानिक विचारबिनाका कयौं जातीय मुक्ति आन्दोलनहरु असफल भएको इतिहास हाम्रैसामु छ । वर्गीय समाजमा विचार दृष्टिकोण प्रवृत्ति पनि वर्गीय हुन्छन् । समाजमा विद्यमान वर्ग अस्तित्व र वर्ग स्वार्थका कारण वर्गीय अन्तरविरोधहरु निरन्तर रहिरहन्छ । वर्ग अन्तरविरोधले नै वर्गसंघर्षको जन्म दिन्छ । वर्गसंघर्षबाटै समाजका कुनै पनि समुदाय अछुतो रहनै सक्दैनन् । शाषक र शाषित, धनी र गरीब, पूंजीवादी र सर्वहारा, शोषक र शोषित यी दुई विपरित स्वार्थ भएका वर्गहरुबीच लडाई चलिरहन्छ । यसको प्रभाव उत्पीडित जनजातिहरुमा स्वतः पर्दछ । त्यसकारण वर्गीय मुक्तिविना जातीय मुक्ति असम्भव छ । अतिरञ्जित तरिकाले जातीय नारा उछालेर साम्प्रदायिकता फैलाउने, जातीय मुठभेड निम्त्याउने जातिवादीहरुको आन्दोलनले थारु समुदायको मुक्ति सम्भव छैन न त डलरको खेती गर्ने एनजिओ/आइएनजिओहरुको हर्कतले नै सम्भव छ । थारु समुदायको मुक्ति, भूमिमाथिको अधिकार समाजको वर्गीय विभेद अन्त्य नभई सम्भव छैन । अतः सम्पूर्ण उत्पीडित जाति, जनजाति, वर्ग, क्षेत्र र लिङ्गका समुदाय वर्गीय संघर्षमा होमिनु नै यतिबेलाको समयको माग र आवश्यकता हो ।

 
१ टिप्पणी

Posted by on अगस्ट 25, 2009 in BLOG, GUEST

 

One response to “थारु मुक्ति आन्दोलनको अबको दिशा

  1. bandu

    मार्च 24, 2010 at 4:53 बेलुका

    Janki j tapaiko lekh ramro lagyo tara nepal ma jatiy mukti bina k hi hunewala 6ain.tapaiko parthi ma kati jana tharu mager post ma 6 tha6?

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: