RSS

न औषधी न राहत, खै कहां छ सरकार ?

25 Aug

मेगराज खड्का/रुकुम

गोतामकोट-२ का रुपा जैसीका ८ वर्षीय छोरा टिकाराम जैसीको असार २ गते झाडापखालाले मृत्यु भयो । असार १ गते राति १२ बजेदेखि झाडापखालाले सताएपछि परिवारले १ घन्टा टाढाको स्वास्थ्य केन्द्रमा लैजान छिमेकीहरुलाई गुहार्दै थिए । एक छिमेकीले स्वास्थ्य केन्द्रमा औषधी नभएको बताएपछि उनको आशा निराशामा परिणत भयो । रातभरी घरेलु उपचार गरे, धामीझांक्री पनि गरे तर बचाउन सकेनन् । बिहान नहुंदै उनको ज्यान गयो । ‘गाउंको अस्पतालमा जीवनजल नभएका कारण मेरो छोराले ज्यान गुमायो ।’ रुपाले भने, ‘छोरालाई बचाउन सकिएन ।’ उनको मृत्यु भएको भोलिपल्ट गाउंमा झाडाबान्ता शुरु भएको स्थानीय देउकुमारीले बताइन् । सांझपख श्रीमान् गजे नेपाली र आफूलाई झाडाबान्ता भएको र बिहान ४ बजे श्रीमान्को मृत्यु भएको उनले बताइन् ।

असारको १७ गते ६८ वर्षीय श्रीमान्को मृत्यु भएपछि बिहान दश पन्ध्र जना मात्र छिमेकीहरु आए दाहसंस्कारको लागि । आधाभन्दा बढी झाडापखालाबाट थला परेका थिए । गजेको क्रियाकाज गरि नउत्रिदै उनकै परिवारका बले नेपालीको मृत्यु भयो । ‘बालाई राती दुई बजेबाट व्यथाले समात्यो ।’ बलेको छोरा शशिरामले भने ‘रातभरी बालाई कान्लातिर लैजान र ल्याउन ठिक्क भयो ।’ बिहान आठ बजेतिर बाको मृत्यु भयो ।’ गाउंमा औषधी नभएपछि पदम पौडेलले कतिले घरेलु औषधी प्रयोग गरेको त कतिले धामी झांक्रीको उपचारतिर लागेको स्थानीय पदम पौडेलले बताए । सोही दिन दिउंसो ११ वर्षीय जयमति विकको पनि मृत्यु भयो । उनको मलामी ५ जना मात्र गए । गाउंभरि सबै थला परेका थिए । गोतामकोट-४ का पांच वर्षीय ललित मल्लको पनि झाडापखालाका कारण मृत्यु भयो । बुवा गमबहादुर मल्ल भन्छन् ‘राती रोगले च्याप्यो बिहान भएपछि सदरमुकाम लैजाउंला भनेको बिहान नहुंदै मर्र्यो ।’ उनलाई रातीबाट पखाला र बान्ता एकैसाथ शुरु भएको थियो । ‘नजिकै अस्पताल र डाक्टर भएको भए छोरा खेर जांदैनथ्यो होला ।’ गमबहादुरले पीडा व्यक्त गरे । स्थानीय विद्यालयमा कक्षा १ मा पढ्दै गरेका ललितको मृत्युको  एक दिन नबित्दै गाउंका एकसय भन्दा बढी बालबालिका थलिएका थिए, अहिलेसम्म पनि उनीहरुको उपचार हुन सकेको छैन ।

करिब ६ हजार जनसंख्या रहेको गोतामकोट गाविसमा १ हजार बढी बिरामी परेका छन् । असार तेस्रो साता गोतामकोटमा रहेको प्रहरी चौकीबाट गाउंभरि रोग फैलिएको र ११ जनाको मृत्यु भइसकेको खबर सदरमुकाममा पठाइसकिएको थियो तर सरकारी निकाय मौन थिए किनकी मुसिकोटमा रहेका कार्यालयहरुलाई “माथिको आदेश” आइपुगेको थिएन । जिल्ला अस्पतालमा झाडापखालाको औषधी पनि थिएन ।

असारको २६ गतेमात्र नेपाली सेनाको हेलिकप्टरबाट दुई सय दश किलो औषधी पुग्यो गोतामकोटमा। औषधी पुगेको दिउंसो चिकित्सक विनोद गिरीसहित पांच जना स्वास्थ्यकर्मीको टोली गाउंमा पुग्यो, दुईजना भने गाउंमै थिए औषधीबिनाका । तर डा.विनोदको टोली भोलिपल्ट बिहानै फर्कियो । अहिलेसम्म गाविसभरि ३० जनाको मृत्यु भैसकेको छ भने करिब चौध सय बिरामी छन् । पांचसय अठार अलि जटिल खालका भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तीनजनाको स्वास्थ्यकर्मीको टोलीले गाउंमा उपचार गरिरहेको छ । अझै पनि औषधी नपुगेको स्थानीय बासिन्दा बताउंछन्। जिल्ला स्वास्थ्य कार्यालयले भने औषधी र स्वास्थ्यकर्मी पर्याप्त भएको दावी गरेको छ ।

गाउंमा फोहर खाना र दुषित पानीको प्रयोग नघटेकाले रोग थप फैलन सक्ने सम्भावना बढेको छ। केही संघसंस्थाले स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउन दर्जनौं स्वयंसेवकहरु परिचालन गरेपनि प्रभावकारी हुन सकेको छैन । प्रधानमन्त्री माधव नेपालले प्रभावित गाउंमा पुगेर झाडापखाला छिटो नियन्त्रण हुने आश्वासन दिएका थिए तर उनले भनेअनुसार औषधी र स्वास्थ्यकर्मी नपुगेको स्थानीय पदम पौडेल बताउाछन् । सरकारले दिने भनेको राहत पनि रुनु न हांस्नु बनेको छ आफन्त गुमाएकालाई । ‘छोरा बांच्न सकेन ।’ छोरा गुमाएका गमबहादुर भन्छन्, ‘दश हजारले के हुन्छ र हामीलाई, राहत दिनुभन्दा पहिल्यै उपचार गरेको भए छोरा बांच्ने थियो ।’ झाडापखालासंगै गाउंमा खाद्यान्न अभाव भएकोले थप समस्या उत्पन्न भएको छ । अन्न कम भएकोले बासी खानाको प्रयोग नघटेको उपचारमा संलग्न अहेव मनिराज शाहले बताए । ‘पानीको मुल सफा, खाद्यान्न आपूर्ति र उपचार सागसंगै भएमात्र नियन्त्रण छिटो हुन्छ ।’ जिल्ला सदरमुकाम आइपुगेका स्वास्थ्य मन्त्रालयका निर्देशक डा.जिडि ठाकुरले बताए ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 25, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: