RSS

ह्विलचेयरको भरमा गुडिरहेको जीवन

25 Aug

सुशिला केसी/दाङ

सानै छंदा दुवै खुट्टा नचल्ने भएपछि उनको जीन्दगीको सहारा बनेको छ ह्विलचेयर । बाटोमा ह्विलचेयर गुड्छ र उनी आफ्नो गन्तव्य तय गर्छिन् अनि त्यही ह्विलचेयरमाथि गुडिरहेको छ उनको जीन्दगी पनि । उमेरले भर्खरै २३ वर्षमा टेकेकी डामकुमारी भण्डारी शारीरिकरुपमा अशक्त छिन् तर जीवनप्रतिको उनको उत्साह निकै स्रहानीय छ । उनका दुबै खुट्टा कुंजो भएका छन्, ह्विलचेयरको धीमा गतिसंग उनको जीवनयात्रा पनि बिस्तारै गुडिरहेछ । नियतिको क्रुर सजाय भोग्दै गर्दा उनले जीवनमा धेरै आरोह-अवरोह पार गरिसकेकी छिन् । शारिरीक अपाङ्ग भएर पनि उनी जीवनप्रति निराश छैनन्, आंटेपछि अवश्य केही गर्न सकिन्छ भन्ने उत्साहसहित उनी घोराहीमा स-सानो खुद्रा पसल राखेर जिविका चलाइरहेकी छिन् ।

अपाङ्ग भएकै कारण स्कूलको आंगन टेक्न नपाएकी उनले प्रौढ शिक्षा पढेपछि साक्षर बन्ने मौका पाएको बताउंछिन् । ‘बल्लतल्ल आफ्नो नाम लेख्न सक्छु ।’ -मुस्कुराउंदै उनले भनिन् । लक्ष्मीपुर-९ मा बुवा चन्द्रमणि र आमा हुमा भण्डारीका तीन सन्तानमध्ये पहिलो छोरीको रुपमा जन्मिएकी डामकुमारीले ९ महिनाको बच्चा छंदै पोलियो रोग लागेपछि दुवै खुट्टा गुमाउनुपर्र्यो । सामान्य उपचारले निको नभएको र आर्थिक अवस्थाका कारण ठूलो अस्पतालमा लिन नसकेपछि आफ्नो यस्तो हालत भएको उनले दुखेसो पोखिन् । ‘घरमा आर्थिक अभाव थियो, गाउंको सामान्य उपचारले निको भएन, सिंगो जीवन अपाङ्ग भएर बांच्नुपर्ने भयो ।’

अहिले उनि आफूजस्तै अपाङ्ग बिना चौधरीसंग मिली ऋण खोजेर घोराहीमा सानो खुद्रा पसल गरेर जिविका चलाइरहेकी छन् । तरकारी र केही सामान राखेर सानो ढेब्रीमा पसल गर्न थालेकी डामकुमारीले अहिले दिनमा कम्तिमा ५ सयदेखि १२ सयसम्म कमाई हुने बताउंछिन् । घरपरिवारबाट सहयोग नभएपनि आफै केही गर्न सक्छु भनेर निरन्तर लागिरहेकोपनि बताउंछिन् । ‘तैले दुःख पाउाछेस् घरमै बस बाहिर ननिस्के भनेर घरपरिवारले सम्झाउंथे’-उनले अगाडि भनिन्- ‘हुन त परिवारले मलाई अपाङ्ग छे, दुःख पाउंछे भनेर नै भनेका हुन् ।’ तर उनी अपाङ्गहरुलाई दयाको पात्र हैन अवसर दिनुपर्ने बताउंछिन् । उनी भन्छिन्, ‘अपाङ्ग भनेर छोराछोरीलाई घरभित्रै नराख्नुस् उनलाई बाहिर निस्कन दिनुहोस् अपाङ्गले पनि सपाङ्गजस्तै प्रगति गर्न सक्छन् ।’

डामकुमारीजस्तै हिरा यादव पनि सानो ढेब्रीमा तरकारी पसल गर्दै आएकी छिन् । श्रीमान् रामशंकर यादवको सहयोगमा तरकारी पसल गर्दै आएकी उनले पनि अपाङ्गलाई अवसर दिनुपर्ने बताउंछिन् । उसो त श्रीमान् रामशंकर पनि सरकारले राज्यका हरेक संयन्त्रमा अपाङ्ग कोटा छुट्याउनुपर्ने र अपाङ्गहरुलाई विशेष शिक्षाको अवधारणा ल्याउनुपर्ने बताउंछन्।

 

सरकारी सहुलियत पाएनन् अपाङ्गहरुले

निशानदाजु भट्टराई/दाङ

सरकारले अपाङ्गहरुलाई तेस्रो दर्जाको रुपमा हेरी सरकारी निकायबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन पुगेका छन् । पहिलेको तुलनामा अपाङ्गहरुमा केही परिवर्तनको अनुभूति भएपनि राज्यबाट पाउनुपर्ने सेवा सुविधा नपाएको अपाङ्गहरु बताउंछन् । नेपाल अपाङ्ग संघ स्वर्गद्वारी आश्रम अपाङ्ग पुनःर्स्थापना कार्यक्रम झिंगौराका अनुसार दाङमा लगभग १५ हजार अपाङ्गहरु रहेपनि सीमित मात्रामा अपाङ्गहरुले सेवा पाएको र अन्यको जीवन कष्टकर बन्दै गइरहेको जनाएको छ । धेरैजसो दशवर्षे द्वन्द्वका क्रममा शरीर अंगभंग भएका अपाङ्गहरुमा वृद्धि भएको अपाङ्ग पुनर्स्थापना केन्द्र झिंगौराका सचिव केशव पौडेल बताउनुहुन्छ । उहांका अनुसार केन्द्रले अपाङ्गहरुलाई शिक्षा, स्वास्थ्य सेवा, अप्रेशन, ह्विलचेयर, बैशाखी, सहयोगी सामग्रीहरु, व्यवसायिक तालिमजस्ता सामग्रीहरु निःशुल्क उपलब्ध गराइरहेको छ ।

शारिरीक अपाङ्गहरु खिमा थापा, रेवती श्रेष्ठ, जुठीराम घर्तीलगायतले व्यवसायिक रुपमा काम गर्न पाउंदा अपाङ्ग पुनःस्थापना केन्द्र झिंगौराप्रति सन्तुष्ट रहेको बताउंछन् । सौडियार-७ सौडियारकी अपाङ्ग ननीता चौधरीले पीडित उपेक्षित अपाङ्गलाई सरकारले केही सहयोग गर्न सके देश विकासको लागि केही गर्न सक्ने बताउंछिन् । अपाङ्ग संघ झिंगौराले आगामी दिनमा अपाङ्गलाई संगठित गरी अगाडि बढाउने र विभिन्न निकायहरुमा रोजगारीको व्यवस्था मिलाउने तयारी गरिरहेको बताएको छ ।

 

सहकारीबाट सीप र सहुलियत पाएपछि सर्वसाधारण हर्षित

गोविन्द खड्का/दाङ

दशैं तिहार नजिकिंदै गर्दा दाङका सहकारी पसलहरु आफ्ना दैनिक उपभोग्य वस्तु उपभोक्तासम्म सजिलै पुर्र्याउन प्रतिस्पर्धामै उत्रिएका छन् । उनीहरुले ठूला अक्षरमा मूल्यसूची राखेर अरु पसलहरुलाई चुनौति दिदै आफूले खाएको नाफासमेत उपभोक्तालाई सुनाएर सहकारीप्रति आकर्षण बढाउन थालेका छन् । उसो त सेवाग्राहीहरु पनि सहकारीबाट सस्तो र सहज सुविधा पाएपछि हर्षित हुन थालेका छन् ।

गत असार १९ गते लमहीमा खुलेको संगम स्मृति उपभोक्ता सहकारीले पसल खोल्ने समयसमेत बोर्डमा लेखेको छ भने भित्ताभरि मूल्यसूची राखेको छ । आफूले लिने सामान सूचीबाटै छुट्याउन सकिन्छ । उनीहरुले उपभोग्य वस्तुमात्र राखेका छन् । ६५ जना सदस्यले १ हजारदेखि ११ हजारसम्म शेयर संकलन गरेर पसल स्थापना गरिएको संस्थाका अध्यक्ष दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । २ लाख लगानीमा स्थापना गरिएको सहकारी पसलमा दाल चामल अन्यत्रभन्दा ५ रुपैयां कममा पाइने र अन्य सामान पनि कम मूल्यमा पाइन्छ ।

बजारभाऊ अनियन्त्रित र ग्राहक हेरेर मूल्य गर्ने पसलले गर्दा गाउंका सोझा उपभोक्ता मर्कामा परेकोले पनि सहकारीको महत्व भएको अध्यक्ष श्रेष्ठको भनाई छ। शेयर सदस्य गंगा खड्का पनि ठूला व्यापारीले लगानी गरेर शोषण गरेको बताउंछिन् । त्यसका विरुद्ध अरु लडाई होइन छरिएको टुक्रे पूंजीलाई एकैठाउंमा जम्मा गरेर आफ्ना उपभोग्य वस्तु सजिलै पाउने व्यवस्था गर्नुपर्छ भन्ने उनको धारणा छ । त्यसैले गर्दा सहकारीमा आकर्षित भएको गंगाको भनाई छ ।

यस्तैगरी लावाजुनी संकलन तथा बिक्री केन्द्रले पनि पछि परेका सीपलाई अगाडि ल्याएको छ । संस्थाले कम्लहरी भएर मालिकका घरमा पीडा झेलेकी चेलीलाई सीप र कला भएकी समाजकी गहनाका रुपमा परिणत गर्न सफल भएको छ । बोर्ड सदस्य एवं बिक्री केन्द्रकी मैयां नेपालीका अनुसार पढ्न मन नलगाउने कम्लहरीहरुले अहिले पसल चलाएका छन् । उनीहरुले निकै आकर्षक टोकरीहरु तयार गरेर पसलमा राखेका छन् । एक महिनाअघि खोलेको पसलमा दुना, टपरी, अगरबत्ती, फोटो फ्रेमलगायतका वस्तु बिक्रीका लागि राखिएको छ ।

पोखराबाट आएको नेष्ट संस्थाले तालिम दिएपछि बांसजन्य वस्तु बनाउनका लागि ६ जना, अन्य सामान बनाउन ५-५ जनाको समूह छुट्याइएको नेपालीले जानकारी दिइन् । सीप सिकेपछि उनीहरुले अहिले लमही कान्छी रोडको एउटा सटर भाडामा लिएर सामानले पसल खचाखच भरेका छन् । सहकारी नभएको भए आफूहरुले न कोठा भाडामा लिन सक्ने न त सीप सिकेर वस्तु उत्पादन गर्न र बिक्री गर्न नै सक्ने थिए ।

यसैगरी छोटै समयमा डेढ करोड बराबरको पूंजीको विकास गरेको बताउने कमल बहुउद्देश्यीय सहकारी संस्थाले सस्तो पसलका सामानमा सबै मालिक बनेको दावी गर्छन् । एउटा व्यक्ति धनी नबन्ने भएकाले पैसा कमाउने प्रतिस्पर्धा नहुने अध्यक्ष तेजबहादुर कार्की बताउंछन् । यसरी सबैको सामुहिक उत्तरदायित्व हुने हुंदा सबैलाई मालिकको महशुश हुने, आफ्नो बारीको उत्पादनजस्तै सामान खरिद गर्ने वातावरण सहकारीले स्थापना गरेको कार्कीको भनाई छ । करिब साढे ९ सय शेयर सदस्य रहेको संस्थाको रकमबाट हरेक वस्तु राख्न सकिने भएपनि दशैं तिहारलाई मध्यनजर गरेर खाद्यवस्तुमा जोड दिएको कार्कीले बताए । बजार भाऊभन्दा हरेक सामानमा कम्तिमा ५ रुपैयां कम मूल्यमा बेच्ने गरेको अध्यक्ष कार्कीले बताए । चामल मोटो मसिनो, दाल, चिनी, तेल, नुनलगायतका दैनिक उपभोग्य खाद्यवस्तु राखिएको छ । बजारभाऊ बुझेर सामानको मूल्य घटाउने बढाउने गरेको पनि अध्यक्षले जानकारी दिए ।

सहकारीहरुले कृत्रिम अभाव एवं बहानाबाजी गरेर मूल्य बढाउने पसलेहरुको पोल खोल्ने काम गरेको सहकारी सञ्चालकहरु दावी गर्छन् । उनीहरुका अनुसार सामान लुकाएर अभाव सिर्जना गरी मूल्य बढाउनेहरुलाई सहकारीको सामुहिक सल्लाहअनुसार मात्रै त्यसो गरिने हुंदा कसैको चाहनामै सामान लुकाउने र मूल्य बढाउन नसकिने उनीहरु बताउंछन् । त्यतिमात्र होइन, उपभोक्ताले आफ्ना आवश्यक पर्ने उपभोग्य सामान सानोपूंजी संकलन गरेर सबै समस्या हल गर्न सक्ने भएपछि आफ्नो श्रम पसिना कसैले खान नपाउने पनि उनीहरुको भनाई छ । हामी एक्लैले सानो पूंजी लगानी गरेर समस्या हल गर्ने अवस्था थिएन अब त सबै साथी मिलेर समस्या समाधान गर्ने आंट सहकारीले दिएको सञ्चालकहरु बताउंछन् ।

साम्यवादसम्म पुग्ने बाटोको रुपमा लिएको सहकारी प्रथा माओवादी नेतृत्वको प्रथम गणतान्त्रिक सरकारले गाउं गाउंमा सहकारी घरघरमा रोजगारीको नारा दिएर प्रत्येक सहकारीलाई रु १ लाख सरकारी अनुदान दिएपछि यसमा सबैको आकर्षण बढेको हो । उक्त रकमले यसवर्ष रासायनिक मल र किटनाशक औषधि खरिद गरेर किसानहरुले राम्रो लाभ लिएका थिए। श्रम र पसिना आफ्नै लागि उपयोग गर्ने वातावरण सहकारीले तयार गरिदिएको छ। एक्लैले गर्न नसकिने काम सहकारीबाट सजिलै हुन थालेपछि सर्वसाधारण उत्साहित बनेका छन्।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 25, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: