RSS

के हो चर्चित पञ्चेश्वर परियोजना ?

25 Aug

प्रा.डा.गोपाल शिवाकोटी

माधव नेपालको भारत भ्रमणको उद्देश्य आफ्नो सत्ता टिकाउन भारतको आडभरोसाको खोजी गर्ने रहेकाले राष्ट्रघाती सन्धि सम्झौताको आशंका हुनु स्वभाविक नै हो । अझ यो भ्रमणप्रति भारतले देखाएको अत्यन्त बढी चासो र भ्रमणका सम्बन्धमा प्रधानमन्त्री तथा अन्य मन्त्रीहरूले गरेका जालझेलपूर्ण अभिव्यक्तिले त्यो आशंकालाई बल पुर्‍याउंछ । यो टिप्पणीमा पञ्चेश्वरमा कसरी राष्ट्रघातको सम्भावना छ भन्ने बारेमा चर्चा गर्ने काम भएको छ ।

 

पञ्चेश्वर परियोजना :

 यो महाकाली नदीमा ३१५ मिटर अग्लो बांध बांधी वर्षाको पानी सङ्कलन गर्ने र उक्त पानीबाट वर्षैभरी सिंचाइको व्यवस्था गर्ने, वर्षाको भेललाई बांध हालेर रोकी बाढी नियन्त्रण गर्ने, पञ्चेश्वर तथा रूपालगाढमा विद्युत् उत्पादन गर्ने र टनकपुरको विद्युत् उत्पादन क्षमता बृद्धि गर्ने योजना समाविष्ट आयोजना हो । तर, पञ्चेश्वर परियोजना भनी भ्रम पार्ने प्रयास भएको छ । यो परियोजना पञ्चेश्वरमात्र नभएर महाकालीको टनकपुर शारदा बांधसमेतको परियोजना हो ।

 

पञ्चेश्वरबाट हुने लाभ र गर्नुपर्ने लगानी :

 यस परियोजनामा ७५ प्रतिशत विद्युतबाट, २४.६ प्रतिशत सिंचाइबाट र ०.४ प्रतिशत बाढी नियन्त्रणबाट लाभ प्राप्त हुने सरकारी अनुमान छ । १२ वर्षअघि हिसाब गर्दा ८३ करोड, ५० लाख, ३५ हजार डलरको लाभको आंकलन गरिएको थियो । यसमध्ये विजुलीबाट प्राप्त हुने ७५ प्रतिशत लाभमा नेपाल र भारतलाई समान लाभ प्राप्त हुने, सिंचाइको २४.६ प्रतिशतमध्ये भारतले ४२.४ प्रतिशत र नेपालले ०.२ प्रतिशत तथा बाढीमा प्राप्त हुने लाभ ०.४ प्रतिशतमध्ये भारतले ०.३६ र नेपालले ०.०८ प्रतिशतमात्र लाभको बांडफांड गरिएको थियो । लागतको हिसाबमा कुल लगानीमध्ये नेपालले विद्युत्मा ५९.५० प्रतिशत, सिंचाइ र बाढी नियन्त्रणमा ४०.५ प्रतिशत लगानी गर्नुपर्ने अनुमान छ । यो लाभ र लगानी सन्धिको परिशिष्ट १ मा राखिएको छ ।

यो तथ्याङ्क प्रस्तुत गरे पनि पानी र जलाधार क्षेत्रको निर्णय नगरी र महाकाली नदीको स्थितिबारेमा प्रष्ट नगरिकन गरिएको यो व्यवस्था भ्रमपूर्ण र नेपालको विरुद्धमा रहेको छ । महाकाली नदीको शिर कुटीयाङ्दी हो र यो लिम्पियाधुराबाट शुरु भएको छ । तर, यो परियोजना भारतद्वारा कृत्रिम रूपमा निर्माण गरिएको कालीको मन्दिर र कुवाबाट कृत्रिम महाकाली नदी भनी महाकालीको शीरका आधारमा गरिएको व्यवस्था मात्र हो । यसले महाकालीको पानीलाई कसरी बांडफांड गर्ने भन्ने कुराको निर्क्योल गर्दैन । महाकालीको शिर लिम्पियाधुरा हो र यो क्षेत्र अहिले भारतीय कब्जामा रहेको छ । यो कालापानी अन्तर्गत ५४ हजार हेक्टर क्षेत्रफलमा रहेको छ । यो क्षेत्रफल नेपालको हो र कालापानी क्षेत्र नेपालको भएकोले महाकाली नदिमा नेपालको जलाधार क्षेत्रबाट ६२ प्रतिशत पानी आएको छ भने भारतीय पक्षबाट लगभग ३७ प्रतिशतमात्र रहेको छ । यस्तो स्थितिमा नेपालको ३/५ र भारतको २/५ भागमात्र हुनुपर्ने हुन्छ । नेपालको जलाधारबाट प्राप्त भएको पानीको हिसाबमा नै विजुली र सञ्चित पानीको हिसाब गर्दा नेपालको पानी भारतले सित्तैमा उपयोग गर्ने अवूथा रहेको छ । त्यसैले कालापानी क्षेत्रको जलको टुङ्गो नलागी गरिने यो परियोजनाको कार्यान्वयनले नेपालको पानी र बिजुलीको बांडफांड गर्दा नेपालको हितविरुद्ध राष्ट्रघाती काम हुनेछ र नेपालको पानी भारतलाई सुम्पिने काम यो परियोजना अगाडि बढाउंदा हुन्छ ।

 

वास्तविक लाभ कसलाई कति :

 यो पञ्चेश्वर परियोजना वास्तवमा भारतले १९२० मा गरेको शारदा बांध सम्झौता र यसबाट बनेको बांध जीर्ण भएको साथै यो सम्झौता असमान भएको हुंदा रद्द गर्नुपर्ने तथा नेपालको संसद्बाट अनुमोदन प्राप्त गर्न नसकेको टनकपुर बांधलाई मान्यता दिने र शारदा सम्झौतालाई ७५ वर्ष थप गर्ने कपटपूर्ण उद्देश्यबाट भएको राष्ट्रघाती कार्य हो । यसैले भारतले पञ्चेश्वरबाट असमान शारदा सन्धि ७५ वर्ष थप र टनकपुरलाई वैधता प्रदान गरी भारतको हितमा नेपालको राष्ट्रवादलाई आत्मसमर्पण गराउने काम गर्न खोजेको प्रष्ट देखिन्छ ।

शारदा बांधबाट नेपालले औसत १६.२५ क्यूसेक र भारतले औसत २४८ क्यूसेक पानी पाउनेछन् । टनकपुर बांधबाट १२० मेगाबाट विद्युत् उत्पादन हुन्छ । टनकपुर बांध निर्माणमा देब्रे तटबन्ध बनाउन नेपालको भूमि प्रयोग भएबापत १२० मेगावाटमध्ये ७ करोड युनिट विद्युत र सुख्खायाममा ८.५० क्यूसेक र वर्षामा २८.३५ क्यूसेक पानी नेपालले पाउनेछ ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युतमा नेपाल र भारत दुवै पक्षले बराबर लगानी र बराबर लाभ प्राप्त गर्ने प्रावधान छ । यसमा सन्धिको प्रावधान अनुसार नेपालको भागको एक हिस्सा भारतलाई बेच्नुपर्ने बाध्यता रहेको छ भने विद्युत्को मूल्य निर्धारण कसरी गर्ने भन्नेसमेत कुनै व्यवस्था छैन ।

आयोजना पूरा भएपनि पञ्चेश्वरबाट ५८२ क्युसेक, पञ्चेश्वरदेखि टनकपुरसम्म महाकाली नदीमा मिसिने खोलाहरूको पानीबाट बढ्ने पानी ११४ क्यूसेकसमेत टनकपुरमा उपलब्ध हुने महाकाली नदीको पानीको कुल परिमाण करिब ७२६ क्यूसेक पानीबाट नेपालले ९३ हजार हेक्टर र भारतले १६ लाख १० हजार हेक्टर जमिन सिंचाइ गर्ने छ । पञ्चेश्वर सम्पन्न भएपछि थप सञ्चित पानी ५६७ क्यूसेक मध्ये नेपालले ११८ क्यूसेक र भारतले ४४९ क्यूसेक पानीको उपयोग गर्नेछन् । यसरी हेर्दा पञ्चेश्वरबाट नेपालले जम्मा १ प्रतिशत र भारतले ९९ प्रतिशत सिंचाइको लाभ लिनेछन् । यो परियोजना पछि महाकाली नदीको ७२६ क्यूसेकमध्ये नदीको प्राकृतिक बहाब कायम राख्न छोडिएको १० क्यूसेक पानी छोडिएपछि बांकी रहेको ७१६ क्यूसेकमा नेपालले ४१ क्यूसेक र भारतले उपयोग अधिकारको नाममा २४८.४ क्युसेक उपयोग गर्दछ । कुल पानी ७२६ क्यूसेकमध्ये नेपालले २५.३० क्यूसेक र भारतले ४६१.७ क्यूसेक वा नेपालले ३५.५२ प्रतिशत र भारतले ६४.४८ प्रतिशत पाउने देखिन्छ । यसमा सिंचाइको भागलाई कटाउंदा नेपालको १३५.७८ क्यूसेक र भारतको १२.८१ क्यूसेक पानी बढी हुने देखिन आउंछ ।

सन्धिसंगै माघ १९, २०५२ को पत्रको बुंदा नं ३ (ख) ले नेपालको उपभोग नभएको महाकाली नदीको पानीको हिस्सा नदीमा बग्न दिई भारतलाई प्रयोग गर्न दिइने व्यवस्था गरिएको छ । यसबाट नेपालले उपयोग नगरेको १३५.७८ क्यूसेक पानी भारतले सित्तैमा उपयोग गर्न पाउनेछ । यी तथ्यले १९२० को शारदा सम्झौता १९९१ को टनकपुर सम्झौतामा जस्तै पञ्चेश्वर लगायतमा पनि नेपालको हितविपरीत कार्य भएको र ठगिएको छ । यो ठगिएको कुरालाई सुधार्नुको सट्टा हतारिएर भारतको पोल्टोमा महाकाली बुझाउन प्रधानमन्त्रीलाई किन आतुरी भयो बुझ्न सकिंदैन ।

 

सन्धिमा राष्ट्रघात :

 शारदा बांध टनकपुर र पञ्चेश्वर लगायतको महाकाली नदीको विकास सम्बन्धी २०५२ माघ २९ गतेको सन्धि महाकाली नदीको हैसियतको निर्धारण, पानीमाथि नेपालको हक स्थापना, शारदा बांधको सकिएको अवधि थप्ने काम, विद्यमान उपयोग्य उपयोगिताको सवाल, विद्युतको बजार र महशुल निर्धारण, दोधारा चांदनीका लागि पानी तथा किनाराबासीको व्यवस्थाजस्ता कुराहरू विवादित छन् । यसमा प्रमुख रूपले महाकाली नदीको मुहान, महाकाली नदीको हैसियतको निर्धारण, महाकाली नदीको पानीको बांडफांड र विद्युतको बजार तथा महशुलजस्ता कुरा मुख्य रहेका छन् ।

 

महाकालीको मुहान :

 पञ्चेश्वर परियोजना महाकालीको मूलको निर्धारण विना अगाडि बढाउनु भनेको महाकालीको मुहान् क्षेत्रको भूभाग भारतलाई सुम्पनु हो । महाकाली लिम्पियाधुराबाट निस्किएको कुटीयाङ्दी हो । भारतले यसभन्दा १९ किलोमिटर पूर्वमा कालीको मन्दिर बनाई कृत्रिम महाकाली नदीको मुहान खडा गरी कालापानी क्षेत्र कब्जा गरेको छ । लेपु लेकलाई पनि महाकालीको मुहान भन्ने भ्रम दिने काम भएका छन् । यो कुटियाङ्दीदेखिको पूर्वको ५४ हजार हेक्टर क्षेत्र नेपालको हो र यो क्षेत्रको विवाद छिनोफानो नगरी पञ्चेश्वरलाई अगाडि बढाउनु भनेको अहिले भारतले कब्जा गरेको क्षेत्रको अधिकार भारतलाई छोडिदिनु हो । दोस्रो कुरा यो क्षेत्र नेपालको स्थापित हुंदा महाकालीको पानीको जलाधार क्षेत्र ३८ प्रतिशत बढी नेपालको हुन्छ । यो ३८ प्रतिशत बढी जलाधार क्षेत्रबाट आउने नेपालको पानीको छिनोफानो नगरी विजुली आधा-आधा भन्नु र महाकालीमा थपिने पानीको हिसाब गर्नु भनेको नेपालको हितविरोधी काम हुन जान्छ । यो राष्ट्रिय अखण्डता र जलस्रोतमाथिको अधिकारको निर्धारण नगरी पञ्चेश्वर कुनै पनि हालतमा अगाडि बढाउनु भनेको भारतलाई राष्ट्रको ५४ हजार हेक्टर भूमिसमेत सुम्पिनु हुन्छ ।

 

महाकाली नदीको हैसियत :

 सन्धिले महाकालीलाई सन्धिका विभिन्न भाषाका प्रतीमा अलगअलग शब्द प्रयोग गरेको छ । महाकाली नदीलाई कहीं मुलतः सीमा नदी भनिएको छ भने कहीं यसलाई घुमाउरो पारामा सीमा नमानिएको पनि देखिन्छ । यसको मूलको विवादले नै महाकाली सीमा नदीको हैसियतको विवाद उत्पन्न भएको हुंदा महाकाली नदीको हैसियतको निर्धारण नगरी यसैमा सञ्चालन गरिने परियोजनाको सञ्चालन अगाडि बढाउनु भनेको महाकालीको सीमा नदीको हैसियत गुमाउनु हो र भारतलाई महाकाली नदी सुम्पनु हो । अहिले एकातिर पहिलेदेखि नै दोधारा चांदनीमा भारतले पानी दिने, टनकपुरमा खाली पूर्वी तटबन्धको ५७७ मिटरको बांधको लागि मात्र नेपाललाई क्षतिपूर्ति दिनेजस्ता कुराले भारतले महाकालीलाई आफ्नो भनी प्रयोग गरको अवस्था छ भने यस परियोजनावाट १८१६ को सन्धिले स्थापित गरेको महाकालीलाई सीमा नदी हो भन्ने सुगौली सन्धिको प्रावधानलाई समेत छोड्नु सरह हुन्छ । यसर्थ यो परियोजना राष्ट्रमाथि विदेशीको कब्जा स्वीकार गर्नुभन्दा अरु केहि हुने छैन ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: