RSS

कलाकारको उर्जा बनेको छ राप्ती रेकर्डिङ डिजिटल स्टुडियो

26 Aug

घोराही

राप्ती डिजिटल स्टुडियोले मानपुरकी देवा खत्रीको सानै उमेरदेखिको गीत गाउने रहर पूरा गरिदिएको छ । आफू सानो छंदा बुवाआमाले गीत गाएको सुनेपछि गाउने रहर लागेपनि आर्थिक अभावका कारण उनले रेकर्ड गरेर सबैलाई सुनाउन सक्ने अवस्थामा थिइनन् । देवाले भनिन्- ‘घोराहीमा स्टुडियो खुलेपछि गीत गाएर रेकर्ड गर्ने मेरो धोको मात्रै पूरा भएको छैन, गीत गाउन खोज्ने तर आर्थिक अवस्था कमजोर भएका अरूहरुको लागि उर्जासमेत बनेको छ ।’ उनीजस्तै विमला पुन भन्छिन्- ‘यो स्टुडियो नभएको भए काठमाण्डौ गएर गीती एल्वम निकाल्न सम्भव थिएन, यही स्टुडियो खुलेपछि हामीलाई हौसला मिलेको छ । रुकुम तकसेराकी जुनकुमारी बुढाले भनिन्- ‘सधैंभरि ग्वाला जांदा गीत गाउने गर्थें, अहिले स्टुडियोमै गाउन पाउंदा आफैलाई भाग्यमानी सम्झिएकी छु ।’ कहिलै पनि स्टुडियो नदेखेकी उनले अहिले आफै एउटा गिती एल्वम निकाल्ने जमर्को गरेकी छिन् ।

राप्तीमै पहिलोपटक रेकर्डिङ स्टुडियो खुलेपछि नयां कलाकारहरुमा खुसी छाएको छ । साधन श्रोतको कमी हुंदाहुंदै पनि सन्तुष्ट बनाउन सफल भएकोमा आफूलाई गौरवको महशुस भएको राप्ती डिजिटल स्टुडियोका रेकर्डिष्ट प्रज्वल खड्का बताउछन् । उनले स्टुडियोबाट दिने सम्पूर्ण सुविधा काठमाण्डौको तुलनामा सस्तो हुने भएकाले पनि क्यासेट निकाल्न चाहनेहरु खुसी भएको बताए । स्टुडियोमा सारङ्गी, मादल, बांसुरी, तबला, ढोल, गितारहरु उपलब्ध भएतापनि उत्कृष्ट म्युजिसिएन, डविङ र कभर छाप्नका लागि कलर प्रेस नभएकाले सबै काम यहां नै हुन नसकेको खड्काको अनुभव छ। २०६३ सालमा अखिल नेपाल जनसांस्कृतिक महासंघ र सिएन मिडिया प्रालिको संयुक्त लगानीमा घोराहीमा स्थापना गरिएको स्टुडियोमा हालसम्म २० वटा क्यासेट एल्वम र ५० बढी गीतहरु रेकर्ड गरिसकिएको छ ।

स्टुडियोमा लोकदोहोरी, आधुनिक, चलचित्र, थारु, लोकपप, देशभक्त तथा जनवादी गीतहरु रेकर्ड गरेको बताउंदै रेकर्डिष्ट खड्काले  डविङ र कभर डिजाइनका लागि भने काठमाण्डौं जानैपर्ने वाध्यता रहेको दुखेसो पनि गरे । उनले स्थापित कलाकारहरु काठमाण्डौमै जाने भएकोले नयां नयां प्रतिभाले मात्र स्टुडियोमा रेकर्ड गरिरहेको उहांले जानकारी गराए । उनले साधन श्रोतको कमीले गर्दा काठमाण्डौंको सुपर क्वालिटीलाई भेट्न नसकेता पनि क्वालिटीमा ह्रास आउन नदिने कुरामा सजग भएर काम गर्नेपनि वताए । स्टुडियोका एरेञ्जर प्यूठान मर्कावाङका जुनोदले गीतलाई कस्तो बनाउने भन्ने आफ्नै हात रहेको स्वीकार गर्दै क्षमताले भ्याएसम्म मेहनत गरिरहेको बताए। राप्ती अञ्चलमै पहिलोपटक खुलेको यस स्टुडियोलाई अझ स्तरीय बनाउन सके राप्तीको कलाकारिता क्षेत्रमा थप टेवा मिल्ने थियो कि ?

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 26, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: