RSS

बर्षातसंगै बेहाल मानबहादुरको मन

26 Aug

प्रकाश चौधरी/दाङ

बर्षातमा जब पानी पर्न थाल्छ तब मानबहादुरको मन अत्तालिन थाल्छ । कटुवा खोलाको छेऊमै घर भएका मानबहादुर खत्रीलाई एकातिर बाढीको डर छ भने अर्कोतिर पहिरोको ।

जंगलको छेउमा उनको सानो घर छ र घरछेऊबाटै गोरेटो बाटो । माथितिर अनकन्टार जंगल, तलतिर कटुवाखोला बग्छ । जब बर्षातको मौसम शुरु हुन्छ एकातिर कटुवा खोलाको बाढीले घरै बगाउने हो कि भन्ने डर, अर्कोतिर माथिबाट पहिरोले घरै पुरिने हो कि भन्ने डर । खोलामा बाढी पनि त्यत्तिकै बढेर आउंछ, माथिबाट वर्षेनी पहिरो पनि आइरहन्छ ।

सन्त्रासले गर्दा घोराही-६ कटुवाखोलाका मानबहादुरलाई आजभोलि रातमा निन्द्रा नै लाग्दैन रे । ‘रातभर निन्द्रै लाग्दैन, कहिले खोलातिर हेर्दै त कहिले कान्लामाथि हेर्दै रात बित्छ’ उनले भने, ‘कुन दिन पहिरोले पुर्ने हो था’छैन ।’ ७० वर्ष नाघिसकेका खत्री कहालीलाग्दो अवस्थाबाट जीवन गुजारा गरिरहेका छन् । दुईढुंगा बीचको तरुल भनेझैं एकातिर पहिरोले च्याप्ने र अर्कोतिर खोलाले बगाउने हो कि भन्ने भयले आतंकित छन् उनी । समस्या आइपर्दा सहयोग दिने कोही छैनन् उनका अगाडि । भन्छन्, ‘के गर्नु, एक्लो छु, वारिपारि न कोही छिमेकीको बास छ न हारगुहार माग्दा कसैले सुन्ने ठाउं छ ।’ जंगलको फेदमा एक्लो जीवन बिताउनु उनलाई निकै कठिन भइरहेको छ । ‘तर, के गर्ने सहारा दिने कोही छैन जसोतसो भएपनि जोखिमका साथ चित्त बुझाएर बस्नुपर्छ’ उनले दुखेसो पोखे ।

कटुवा खोलामा वर्षैपिच्छे वर्षातमा ठूल्ठूलो भेल उर्लिन्छ, भेलसंगै उर्लिदै बग्छन् मानबहादुरका मनका सपनाहरु पनि । केवल बांकी रहन्छन् त छातिभित्र दुःख, पीडा र व्यथाका अनगिन्ती लहरहरु मात्र ।

कहिलेकांही उनलाई लाग्छ, घरबास नै छाडेर हिडुं ? तर, घर छोडेर कहां जाने ? बसिरहुं त पहिरोले च्यापेर पो मरिने हो कि ? सम्पत्तिको नाममा भएका गाईबाख्रा पनि कसरी पाल्ने गाह्रो भएको छ उनीलाई ।

खत्रीका सन्तान नै नभएका भने होइनन्, भएका ६ भाई छोराहरु सबै मुग्लान पसेका छन्, पैसा कमाउन । ‘ख्वैं छोराहरु कहिले फर्किने हुन्, कुनै खोजखबरी छैन’ उनले भने, ‘आफू त जन्मे हुर्केको ठाउं छोड्न सकिने भै’न, कुन दिन यही घरमा पहिरोले पुरिएर मरिने हो कि खोलाले बगाएर ज्यान जाने हो ? था’छैन ।’

खत्रीकी ६५ बर्षीया श्रीमती मिना खड्का आफूले जीवनमा कहिल्यै पनि खुसीको अनुभूति गर्न नपाएको बताउंछिन् । कर्मै दुखारी भए के लाग्दोरै’छ र बाबु ?’ उनी भन्छिन्, ‘देशमा ठूल्ठूलो परिवर्तन भयो भन्छन्, के-के भयो भन्छन्, हाम्रा दिन त उस्तै हुन् ।’ उनले दुखेसो गर्दै अगाडि भनिन्, ‘आफू त आज हो कि भोलि कुन दिन यै पहिरोले च्याप्छ र खत्तम ।’

प्रकृतिले ठगेकै मान्छेलाई सबैले हेप्दा रै’छन्, माथि पहिरो र तल बाढीको डरले बांचिरहेका खत्री दम्पत्तिकै घरमा गत साल साउनमा चोरहरुले भएको सम्पत्ति सबै लुटेछन् । ‘हामी कर्महारासंग के हुंदो हो र लुट्न आएका होलान्, मिना भन्छिन्, ‘राती हामीलाई कोठामा थुनिदिएर घरका सबै सामान लुटे ।’ १ वर्षपहिलेको उक्त घटना अहिले पनि झलझल्ती आंखामा आइरहने मिना बताउंछिन् । ‘रातीको ११ बजेतिर १२/१५ जना चोरहरु घरमा आएर हामीलाई एउटा कोठामा थुनिदिए र भएजति धनमाल लुटेर लगे’ मिनाले भनिन् ।

विकास निर्माणप्रति बढी चासो राख्ने खत्री दम्पत्ति शहरबजारमा धेरै विकास भएपनि गाउंमा बाटोघाटो, विद्युत, सञ्चार लगायतका विकासका कामहरु नभएकोमा खिन्नता व्यक्त गर्छन् । गाउं र गाउंका किसान, गरिबहरुलाई सबैले ‘चाहिदाको भांडो, नचाहिदा ठांडो’को व्यवहार गर्ने गरिएको पनि उनीहरुको दुखेसो छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 26, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: