RSS

जुन गोरुको सिङ छैन उसको नाम तिखे

01 Sep

हिरामणि दुःखी

सिङ नै नभएको गोरुको नाम तिखे, पुच्छर नै नभएकाको नाम चौंरे, दिनमा एक छाकमात्र पनि पेटभर खान नपाउने गरीबको नाम धनबहादुरजस्ता बेतुकका नाम राख्ने चलन नेपाली समाजमा व्याप्त छ । यो सामन्तवादको परिचायक हो । हाम्रो समाज लामो समयदेखि सामन्ती राजतन्त्रात्मक राज्य व्यवस्थाद्वारा सञ्चालित भयो । त्यसमा पनि हिन्दु धर्मावलम्वीहरूको ब्राह्मणवादी एकात्मक राज्यका रूपमा रह्यो । त्यसको प्रभाव देशका कुना कुनासम्मका गाउं-वस्तीहरूमा परिरह्यो । अहिले देश गणतन्त्रात्मक छ । राजतन्त्रको अन्त्य भएको छ । तर, सामन्तवादको अवशेष गाउंघरमा र सिङ्गो देशमा यथावत नै छ । त्यो सांस्कृतिकरूपमा जब्बर छ भने राजनीतिकरूपमा पनि स्थानीय तहसम्मम कायमै छ । ०१७ सालमा प्रधानपञ्च भएका र अहिले समाजमा प्रभावशून्य भएकाहरूलाई पनि प्रधानपञ्चज्यू भनेर स्वस्ती गर्ने प्रचलन गाउंघरमा यथावत नै छ । पञ्चायतकालमा माननीय भएका तर आजभोलि कुखुरापालन गरेर बसेकाहरूलाई पनि माननीयज्यू भनेर सम्बोधन गर्ने चलन कायमै छ । त्यस्तै गरी भू.पू. मन्त्रीज्यू, भू.पू. सिडियो र भू.पू. न्यायधिशलाई अहिले पनि श्रीमान् भन्ने चलन ज्यूं का त्यूं छ । यही हो जब्बर सामन्तवाद । यसरी सांस्कृतिकरूपले मान्छेका नसा-नसामा सामन्तवादी संस्कृतिको रक्तसञ्चार भइरहेको छ ।

माथिको प्रसङ्ग राजनीतिकरूपमा पनि देखा पर्दछ र परिरहेको छ । मैले यहां आफूलाई अब्बल दर्जाको प्रजातन्त्रवादी र प्रजातन्त्रका ठेकेदार ठान्ने पार्टीमा रहेको सामन्तवादको चर्चा गर्न खोजेको छु । सामाजिक सत्ताको प्रतिविम्वस्वरूप राजनीतिको जन्म भएको हो । मार्क्र्सवादले समाजको प्रतिविम्व पार्टी, राजनीति र विचारमा पर्दछ भनेर विश्वास गर्दछ । आखिर विचार कहांबाट आउंछ त भन्दा उत्पादन सम्बन्ध र उत्पादन प्रणालीमा आधारित समाज व्यवस्थामा हुने वर्गसंघर्ष र त्यसको वैज्ञानिक प्रयोगबाट आउने हो । हाम्रो समाज सामन्ती उत्पादन सम्बन्ध र उत्पादन प्रणालीमा आधारित भएकाले मान्छेका नसा-नसामा सामन्तवादी संस्कृतिले जरा गाडेर बसेको छ । त्यसको प्रतिविम्व हामीले अङ्गिकार गरेका राजनीतिमा पर्नु सर्वथा स्वभाविक छ । त्यसैले समाज जस्तो छ त्यसको प्रभाव पार्टीमा पर्नु र पार्टी जस्तो बन्छ सोही अनुरूपको राजनीतिक व्यवहार अपनाउनुमा द्वन्द्वात्मक सम्बन्ध रहेको हुन्छ । हामीले कम्युनिस्टहरूलाई उत्पीडित वर्गको पार्टी र विचार भन्दछौं भने अरु डेमोक्र्याट भनिएकाहरूलाई पुंजीपति वा सामन्त वर्गको पार्टी र विचार भनेर बुझ्दछौं । यसको कारण ती पार्टीहरूले अङ्गिकार गर्ने विचार, राजनीति र वर्गचरित्रले नै हो ।

हाम्रो देशमा कम्युनिस्ट पार्टीले उत्पीडित वर्गको पक्षधरतामा आधारित राजनीति गर्छन् भने कम्युनिस्ट इतरका काङ्ग्रेस, राप्रपा, आदिलगायतका सबै पार्टीहरूले सामन्तवाद र पुंजीवादकै पक्षधरताको राजनीति गर्दछन् । अहिले नेपालमा सञ्चालित पार्टीहरूका विचार सबै आयातित नै हुन् । कम्युनिस्ट विचार जर्मनबाट प्रतिपादित भएर रुस, पूर्वी युरोप हुंदै एशियामा फैलने क्रममा भारत हुंदै नेपालमा आयो भने पुंजीवादी राजनीतिक विचार पनि बेलायत, अमेरिका, युरोप हुंदै एशियामा प्रवेश गर्‍यो । नेपालमा आउंदा त्यो भारत भएर आयो । त्यसैले नेपालको कम्युनिस्ट पार्टी कलकत्तामा जन्म्यो भने नेपालको काङ्ग्रेस पार्टी पटनाबाट जन्मियो । कम्युनिस्टहरूले चारु हुंदै भगतसिंह र संशोधनवादमा जाने क्रममा ज्योति वसुहरूलाई आदर्श माने । त्यसैगरी काङ्ग्रेसले गान्धी, नेहरू हुंदै इन्दिरा, राजिव, चन्द्रशेखर र मनमोहन सिंहलाई आदर्श मानेर सञ्चालित छन् । त्यसका साथसाथै घरेलु सामन्तवादको प्रभाव पनि काङ्गे्रसमा जब्बररूपमा परेको छ । यसको कारण हो नेतृत्वमा रहेका बहुसङ्ख्यक नेताहरू सामन्ती जमिन्दार हुनु ।

कम्युनिस्ट पार्टीले नेता र नेतृत्वको जन्म वर्गसङ्घर्षको भट्टीबाट हुन्छ भन्ने कुरालाई विश्वास गर्दछ । विचार र नेतृत्वबीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । सङ्घर्षको मैदानमा जसले योजना निर्माण गर्न सक्छ, जसले सही विचारद्वारा कार्यकर्ता र जनतालाई कन्भिन्स गर्न सक्छ र जसले हरेक चुनौतीहरूसंग सामना गरेर कुशलतापूर्वक सङ्गठनलाई अघि बढाउन सक्छ त्यो नै सङ्गठन वा पार्टीको नेता बन्दछ । त्यहां परिवारवाद, नातावाद, कृपावाद र फरियावाद लागू हुंदैन । यदि त्यसो हुन थाल्यो भने त्यो पार्टी कम्युनिस्टका रूपमा रहनै सक्दैन । त्यहां कहीं न कहीं विचलनता आउंछ र त्यो क्रमशः नाम र झण्डा कम्युनिष्ट वर्गको राखे पनि त्यो संशोधनवादमा पतन हुन्छ । बुर्जुवा पार्टीहरूमा नेताको जन्म जसले पुंजी लडाउन सक्छ, जो महासामन्त वा महापुंजीपति हुन्छ, जसले दलाली, भ्रष्टाचार, कमिशनखोरी गर्न सक्छ जसले सत्ताको डण्डा चलाएर पार्टीभित्रैका र बाहिरकालाई कावुमा ल्याउन सक्छ त्यही नेता हुन्छ । अर्को कुरा बुर्जुवाहरूमा नेताको जन्म र विकास सत्ताको भर्‍याङबाट चढेरमात्र शीर्षमा पुग्न सक्छ । त्यसैले सत्तामा जसरी पनि पुग्नका लागि म्याराथुन दौड हुादै सयमिटरको दौडमा प्रतिस्पर्धा हुन्छ । जहां नातावाद, कृपावाद, फरियावाद, परिवारवादको सहारा लिनु अनिवार्य हुन्छ । जुन कुरा यतिबेला नेपाली काङ्ग्रेसमा चलिरहेको छ ।

उमेरले छ दशकमा प्रवेश गर्न थालेकी सुजाता कोइराला उर्फ जोष्टलाई ०५० सालसम्म पनि नेपाली समाजले चिनेको थिएन । स्वयम् काङ्ग्रेस पार्टीभित्र पनि उनको नाम कहीं कतै देखा पर्दैनथ्यो । त्यसैले केन्द्रीय नेतृत्वमा रहेका नेताहरूले गिरिजाप्रसादकी एउटी छोरी छन्, उनी जर्मन नागरिकसंग बिहे गरेर उतै घरजम गरेकी छन् भनेर चिन्नुसिवाय स्थानीय तहका नेता कार्यकर्ताहरूलाई गिरिजाप्रसादको परिवारको बारेमा केही पनि थाहा थिएन । थाहा पाउनेहरू शायदै थिए होला । ०५० साल पछिमात्रै गिरिजाप्रसादले सुजातालाई आफ्ना श्रीमानसंग छुटाएर जर्मनबाट नेपाल भित्र्याए, र कोइरालावंशमा पुनर्स्र्थापित गराई नेतृत्वका लागि म्याराथुन दौडमा कुदाए । त्यसको उद्देश्य आफ्नो उत्तराधिकारी बनाउनु नै थियो । काङ्ग्रेसका कुनै पनि नेता कार्यकर्ताहरूले त्यति गम्भीरतापूर्वक लिएनन् वा गिरिजाको सम्मुख परेर विरोध गर्ने आंट नै गरेनन् । भारतको काङ्ग्रेस आईबाट दीक्षा लिएर स्थापना भएको र दीक्षागुरु नै जवाहरलाल नेहरू, महात्मा गान्धी भएकाले नेपाली काङ्ग्रेसमा काङ्ग्रेस आईको प्रभाव पर्नु स्वभाविक थियो । भारतमा नेहरूको उत्तराधिकारी छोरी इन्दीरा गान्धी भइन् । इन्दीराको उत्तराधिकारी छोरा राजिव भए । राजिवको हत्यापछि अहिले उनकी श्रीमती सोनिया छिन् भने सोनियापछि छोरा राहुल गान्धीको नम्बर चढिसकेको छ । त्यसैगरी यहां पनि मातृकाको उत्तराधिकारी विपी भए भने विपीको गिरिजा बन्न पुगे । बीचमा कृष्णप्रसाद भट्टराई निमित्तका रूपमा देखा परे पनि भारतमा चन्द्रशेखरलाई उछुट्याएझैं यहां भट्टराईलाई उछिट्याइयो र गिरिजा शिखरमा चढे । अहिले गिरिजालाई आफ्नी छोरीलाई पार्टीको सभापतिमा नल्याई मर्न नपाए हुन्थ्यो भन्ने चिन्ता छ ।

माथि नै भनियो कि बुर्जुवा पार्टीमा नेता हुने भनेको सत्ताको भर्‍याङबाट मात्रै हो । त्यहां कुनै नीति, विचार र योजना चाहिंदैन । त्यहां क्षमताको र योग्यताको जरुरत नै पर्दैन । नत्र भने दमननाथ ढु्ङ्गाना, नरहरी आचार्य, प्रदिप गिरीजस्ता विचारकहरू पछि पर्नुपर्ने थिएन र पारिने पनि थिएनन् । त्यसैले अहिले गिरिजाले छोरी सुजातालाई उप-प्रधानमन्त्री बनाउंदै प्रधानमन्त्रीको लाइनमा बसाल्ने र पार्टीमा सभापति बनाएर आफूले नेतृत्वबाट विदा लिने योजना पूरा गराउन लागिपरेका छन् । यसकारण बाहिर जे जति मात्रामा सुजाताको विरोध गरे पनि गिरिजाको सामुन्नेमा परेपछि सबै काङ्ग्रेसी नेताहरू गरुढको छायांमा लत्रेको सर्पजस्ता बन्दछन् । अहिले सुशील कोइराला, देउवा, रामचन्द्र, आदि दोस्रो पुस्ताका जति नै नेताहरूले सभापतिको कुर्चीका लागि मुख मिठ्याएर बसे पनि त्यो मृग मरिचिकामै सिद्धिने छ । सभापति त सुजाता नै हुनेछिन् । यस्तो महासामन्तवादी पार्टीमा बसेर काङ्ग्रेसका नेता कार्यकर्ताहरूले प्रजातन्त्रको सपना देख्नु र प्रजातन्त्रवादी भएको आत्मरति लिनु सिङ नभएको गोरुको नाम तिखे भनेजस्तै हो । आफैभित्रै यति जब्बर सामन्तवाद हुर्केको पार्टीले जनतालाई प्रजातन्त्र दिन्छ भन्नु गोरु ब्याउने सपना बांड्नु र देख्नुजस्तै हो ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 1, 2009 in BLOG, GUEST

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: