RSS

भाषा विवाद र सत्ताको चास्नी

01 Sep

नरबहादुर अधिकारी

यो साता उपराष्ट्रपति झाको सपथ प्रकरण र संविधानसभा समितिको सभापति निर्वाचनसम्बन्धी विषयले राष्ट्रिय राजनीतिमा अलि बेशी नै चर्चा परिचर्चा पायो । यति सम्म कि साताको अन्त्यमा आइपुग्दा शपथको भाषासम्बन्धी विवादले राष्ट्रिय राजनीतिको समीकरणमा फेरबदल मात्र होइन संविधान निर्माण प्रक्रियामै अर्को अनिष्ट आइपर्ने सम्भावना प्रबल भएर गएको जानकारहरुले विश्लेषण गरिरहेका छन् । उपराष्ट्रपति झाले संविधानतः नेपाली भाषामा खानुपर्ने शपथ आफूखुसी हिन्दी भाषामा अनुवाद गरेर मनपरी गरेको भन्दै तत्काल त्यसको विरोध सडकदेखि सदनसम्म पुग्यो । आजभन्दा ठिक एकवर्ष अगाडिको उक्त घटनालाई तत्काल समाधान गरिनुपर्नेमा आलटाले नीतिले त्यो विवादलाई निपटारा नगरी परपर सार्ने काम ठूला दल दलहरु र सर्वोच्च अदालत स्वयंले गर्‍यो । एक वर्षपछि आएर अदालतले पुनः नेपाली भाषामै शपथ खानुपर्ने नत्र उनी उपराष्ट्रपति भएको वैधानिकता समाप्त हुने भन्ने प्रकारले सर्वोच्च अदालतले एक हप्ताको समयावधी तोकेर सत्ताधारी गठबन्धन र स्वयम् उपराष्ट्रपतिलाई आदेश जारी गर्‍यो । उता उपराष्ट्रपति झा र प्रायः सबै मधेशवादी दलहरुले पुनः नेपाली भाषामा शपथ खान नहुने बरु उपराष्ट्रपति पद नै त्याग्नुपरे पनि पछि नहट्ने अड्डी लिएर बसेका छन् । यो प्रकरण परिणामतः फेरि पहाडी र मधेशीका बीचमा फाटो सृजना गर्ने, भाषिक हस्तक्षेपको विरोधको नाममा मधेशवादीहरु पुनः एकाकार भई आन्दोलनमा जाने, सरकार अल्पमतमा पर्ने, एक मधेश एक प्रदेशको माग फेरि उठ्ने र त्यसले संविधान निर्माण प्रकृयामा जटिल समस्या पैदा गर्ने स्थिति नजिकै आइपुगेको सहजै अनुमान गर्न सकिन्छ ।

जहांसम्म शपथको भाषा विवादको कुरो हो । उपराष्ट्रपति जस्तो गरिमामय पदमा आसिन व्यक्तिले अन्तरिम संविधानले तोके बमोजिमको भाषामै शपथ खानुपर्थ्र्यो । त्यसो हुन नसके विषय अदालतमा पुग्नेबित्तिकै सर्वोच्च अदालतले तुरुन्त निर्णय दिन सक्नुपर्दथ्यो । शपथको भाषा यो नै हुनु पर्दछ भनेर संविधान लेखिनु ठीक थियो वा थिएन त्यो अलग विषय हो । यदि ठीक होइन भने त्यो संशोधन गरेर आगामी दिनका लागि यस्तो समस्याबाट पार पाउने बाटो अपनाउन सकिन्थ्यो । अर्कोतिर नेपाली भाषामा शपथ लिन नचाहे आफ्नो मातृभाषामा शपथ लिन पाउने संवैधानिक व्यवस्थालाई उपराष्ट्रपति झाले कुन कारणले उपयोग नगरी हिन्दी भाषामा सपथ लिन पुगे यो अर्कै रहस्यको विषय छ । किनकि उपराष्ट्रपति झाको मातृभाषा हिन्दी नभई मैथली हो । आफ्नै जीवनको ठूलो अंश बिताएको सर्वोच्च अदालतको आदेश उपराष्ट्रपतिले नमान्नु एकआपसमा पानी बाराबार भएका उपेन्द्र यादव, विजय गच्छेदार र महन्त ठाकुर आदि जस्ता मधेशी नेताहरु यस विषयमा साख्खै हुन पुग्नु आदिले विषयको गम्भीरतालाई अझ रहस्यात्मक बनाएको छ भने शपथको भाषामा टसको मस गर्न नसक्ने अदालत, नेपाली कांग्रेस र एमालेका धारणाले कथित् मण्डले राष्ट्रवादको हस्को पनि आइरहेको छ ।

कुनै अन्ध राष्ट्रवाद र उग्रजातिवादले देश, जनताका समस्या समाधान गर्न सक्दैन भन्ने कुरा पाकिस्तान, अफगानिस्तान एवं खाडी मुलुकका राजनैतिक दुर्दशाले हामी नेपालीलाई शिक्षा दिनुपर्ने हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्न तम्सेका हामी नेपाली जीवनभर समाप्त नहुने जातीय र भाषिक विवाद, उन्माद र दंगामा रुपान्तरण त हुने होइनौं ? सेना समायोजन, संविधान निर्माण, राज्यको वैधानिक संघीय स्वरुपको निरुपणसहितको शान्ति प्रक्रियाको तार्किक निष्कर्षको लक्ष्य हाम्रो निम्ति आकाशको फल हुने त होइन ? यी यक्ष प्रश्नहरुको जवाफ शान्ति र परिवर्तनकामी जनतालाई राष्ट्रका जिम्मेवार पक्षबाट सन्तोषजनकरुपमा दिन नसके जनतामा रहेका निराशाले अझ सघन रुप लिने छ । देशीविदेशी प्रतिक्रियावादी वर्गले चाहेको पनि त्यही हो । जनतामा उत्पन्न घोर निराशा नै प्रतिक्रियावादी, साम्राज्यवादी वर्गको उत्थान र स्वाभिमानी जनता एवं राष्ट्रको पतनको शुरुवात हो ।

जनताको सबभन्दा ठूलो हिस्साको प्रतिनिधित्व गर्ने शक्तिलाई सेनाको बलमा राष्ट्रपतिले असंवैधानिक कदम चालेर सरकार छोड्न बाध्य पारेपछि नागरिक सर्वोच्चताको निम्ति आन्दोलन उठिरहेको बेला शपथको भाषाको प्राविधिक विषयलाई दुबै पक्षले राजनीतिको स्तरमा उठाई झन् पछि झन् जटिलतातर्फ धकेल्न खोज्नु र नागरिक सर्वोच्चताको विषयलाई संवैधानिक समितिको सभापतिको पदसंग कांग्रेस, एमाले र वर्तमान सत्ताधारीले व्यापार गर्ने धृष्टता गर्नुले यो विषय कतै प्रतिगमनकारी र यथास्थितिवादी एवं पहिरनदेखि भाषासम्मको गुलाम बनाउन चाहने दक्षिणतिरका कथित् प्रभुहरुको एकीकृत योजनाअनुरुप त आएको छैन ? प्रचण्डले टाइसुट पहिरदा नाक खुम्च्याउने, बोली, भाषा र दौरा सुरुवालमा मात्र राष्ट्रवाद देख्ने पञ्चायतपछिका दौरा सुरुवालधारीहरुले सत्ताको चास्नीभन्दा अलि माथि उठेर यस विषयमा सोच्नुपर्ने होइन र ?

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 1, 2009 in BLOG, GUEST

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: