RSS

कुसुन्डाको भाषा लोप हुने खतरामा

04 Sep

– गणेश ओली, दाङ

नेपालको मध्यपश्चिममा रहेका लोपोन्मुख जाति कुसुण्डाको भाषा लोप हुने अवस्थामा पुगेको छ । हाल दाङमा दुई घर परिवार कुसुण्डा फेला परेका छन् । तीमध्ये घरका मूलीबाहेक कसैलाई पनि आफ्नो भाषा बोल्न आउंदैन । नेपाली भाषा, साहित्य र संस्कृतिलाई थप धनी बन्न सहयोग पुर्‍याउने ठानिएको यस भाषा बोल्ने ती दुर्लभ कसुण्डाको मृत्युपछि कसैले खोजेर पनि पाउने छैनन् ।

वनवासी कुसुण्डाहरू आफैमा लोपोन्मुख अवस्थामा पुगेको बेला भाषा संरक्षणमा लागिदिन उनीहरूले भाषाविद्हरू समक्ष आग्रह पनि गरेका छन् । ७६ वर्षीय वृद्ध प्रेमबहादुर कुसुण्डाले दाङको विकट जंगल र पहाडी क्षेत्रमा खोज्ने हो भने अझै धेरै कुसुण्डा जाति हुनसक्ने दाबी गरेका छन् । ‘सरकारले हाम्रा सन्तान खोज्ने हो भने म सहयोग गर्न तयार छु, मलाई पनि मेरो सन्तान मासिन लागेकोमा चिन्ता छ’ उनले भने- ‘हाम्रो भाषा त हाम्रै जातिले समेत बोल्न छोडिसके, हामी मर्‍यौं भने सबै हराउंछ ।’

दाङ, प्युठान, तनहुं गोरखा लगायतका क्षेत्रमा छरिएर रहेको यो जातिका मानिसहरू वन छाडेर गाउंमा छरिएर बस्न थालेपछि उनीहरूको भाषा पनि लोप हुने अवस्थामा पुगेको हो । आफ्नो संख्या घट्दै जांदा जनसंख्या अभावका कारण उनीहरूले अन्य जातिका मानिससंग समेत विवाह गर्न थालेपछि झन् भाषानै लोप हुने खतरामा पुगेको कुसुण्डाहरुको भनाइ छ । उसो त दाङका कुसुण्डाहरू अध्ययनमा लागे पनि आफ्नो भाषाको संरक्षणमा भने खासै चेतना जागेको पाइदैन । हलवारका विष्णु कुसुण्डा अहिले उच्च शिक्षाको अध्ययन थालेका छन् तर, भाषा अध्यनको बारेमा उनमा उतिसारो चासो देखिदैन । भाषा संरक्षण गर्न सके त राम्रै हुन्थ्यो विष्णुले भने- ‘सरकारले नै यसबारेमा सोच्नु पर्छ ।’ उनले आफूलाई पनि कुसुण्डा भाषा खासै नआउने बताउंदै भने- ‘केही बचेखुचेका बूढा कुसुण्डाहरू छँदै यसबारेमा ध्यान दिनुपर्छ ।’

१९ औं शताब्दीमा जर्मन मानवशास्त्री राइनहार्ट र जापानी भाषाशास्त्री तोबाले  कुसुण्डाको बारेमा अनुसन्धान गरेको र कुसुण्डा भाषासम्बन्धी जानकारी र शब्दसमेत प्रकाशित गरेको बताइन्छ । तर त्यसलाई आवश्यक मात्रामा विकास र निरन्तरता कसैले नदिएको नेपाली साहित्यका शिक्षक टीकाराम उदासी बताउँछन् । कुसुण्डा भाषा र संस्कृतिको उत्थान गर्न सकेमा नेपाली वाङ्मयमा यो कोसेढुंगा साबित हुनसक्ने बताउंदै शिक्षक उदासी भन्छन्- ‘यसको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो ।’

दाङको हलवार र घोराहीमा गरी  करिब पांच घरमात्र कुसुण्डा रहेको वताईन्छ तर, उनिहरुमा भने यो भन्दा वढिको संख्यामा रहेको हुनसक्ने अनुमान छ । कुसुण्डाहरू आप\mनो वंश नाश हुन थालेकोमा चिन्ता व्यक्त गर्छन् । ‘मेरै पालामा दुई दर्जन जति थियौं, अहिले उनीहरू कहाँ छन् हामीलाई केही थाहा छैन । अहिले अन्य जातिसँग विवाह गरेर हाम्रा सन्तान सकिए’ प्रेमबहादुरले भने- ‘अर्को जातिसंग विवाह गरेपछि त्यसलाई हामी आफ्नो सन्तान मान्दैनौं ।’ तर अन्य केही कुसुण्डाहरू भने आफ्नो जातलाई समाजले अपहेलना गर्ने र सरकारले पनि बेवास्ता गर्ने भएकाले अर्कै जातमा पनि जान तयार रहेको बताउँछन् ।

पहिले वनजंगलमा वस्ने, कन्दमुल खाने, शिकार गर्ने कुसुण्डाहरूले स्थानीय गाउँमा आएर अन्न साट्ने गर्दथे । हलवार गाविसकी स्थानीय बासिन्दा कुन्ता भण्डारीका अनुसार कुसुन्डा जातिका बूढाबूढीमा केही फरक आचरण, व्यवहार पाइए पनि युवाहरूमा भने अन्य जातिजस्तै सामान्य आचरण, व्यवहार तथा भाषा देखिने गरेको छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 4, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: