RSS

उत्तरी गोरखाको नुन वाटैमा अलपत्र

08 Sep

विनोद ढकाल, रेडियो गोरखा

उपल्लो गोरखामा वितरण गर्न लगिएको सयौं बोरा नुन बिगत तीन महिनादेखि विच वाटैमा अलपत्र अवस्थामा रहेको छ । नुन पुर्‍याउने जिम्मा लिएका ठेकेदारले भने सम्बन्धित ठाउंमा नुन पुर्‍याइसकेको मुचुल्का पेश गरेर रकम भुक्तानी लिइसकेका छन् । सरकारले अनुदानमा दिएको आयोडिनयुक्त नुन गाउंमा नपुगेपछि  हिमालपारिका सात गाविसका बासिन्दाहरु तिब्बतबाट ल्याएको आयोडिनरहित ढिकेनुन खान बाध्य भएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको भैरहवा डिपोवाट असारमा ल्याइएको सो नुन अहिलेसम्म आरुघाटको बंगैचामा अलपत्र परेको छ । तीमध्ये कैयौं बोरा नुन प्रयोग गर्न नमिल्ने गरी विग्रेको स्थानिय जानकारहरु बताउंछन् । जिम्मा लिएको ठेकेदारले नुन नबोकेपछि जिल्लाको हिमालपारि रहेको सामागाउं, छेकम्पार, बिहि, चुञ्चेत, ल्हो, प्रोक र सिर्दिबासका बासिन्दाहरुले तिब्बतबाट ल्याएको ढिके नुनले गुजारा गरिरहेका छन् । गोरखाको बिकट गाउंको लागि भारत सरकारले अनुदान दिएको ७७ हजार पांचसय किलो नुन साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत ठेकेदार धनबहादुर गुरुङले ढुवानी गर्ने जिम्मा लिएका थिए । सरकारले उत्तरी गोरखावासीलाई सुलभ दरमा नुन उपलब्ध गराउन कर्पोरेशन मार्फत प्रतिकिलो २८ रुपियां १० पैसाका दरले ढुवानी सहुलियत दिएको छ । जसमध्ये १० हजार दुईसय पचास किलो नुन अहिलेसम्म आरुघाट बगैंचामा आंपको रुखमुनि अलपत्र अवस्थामा रहेको छ । अरु नुन थुमी गाविसको सोती र केही छेपारे भीरमा अलपत्र परिरहेको स्थानीयहरुले बताएका छन् ।

सम्बन्धित गाविसहरुमा नुन नपुगे पनि फिलिम खाद्य डिपोका प्रमुख भरत खनिया, स्थानीय चौकीका प्रहरी सहायक निरीक्षक ठाकुरसिं आले, बुद्ध माविका शिक्षक राजन सापकोटा, एकीकृत माओवादीका रामकुमार गुरुङ नेपाली काङ्ग्रेसका सुनसिङ्ग गुरुङ, र समाजसेवी छैनी गुरुङ्गले मुचुल्कामा हस्ताक्षर गरेका छन् । पांचसय क्वीण्टल नुन भने सम्वन्धित स्थानमा पुगिसकेको भरत खनियांले बताए । ‘बांकी नुन पनि अवश्य पुग्छ भनेर सही गरिदिएका हौं’ उनले भने ‘अघिल्लो वर्ष पनि यसै गरी मुचुल्का गरेका थियौं गत वर्ष पुग्यो, गतवर्षको नुन पनि यो वर्ष पुग्ला भनेर सही गरेका हौं ।’ स्थानीय ठेकेदार भएकाले बिश्वासमा मुचुल्का गरेको उनले बताए । असार ३० गते नै मुचुल्का पेश गरी रकम भुक्तानीका लागि सिफारिस लगिसकेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीले जानकारी दिए । सम्बन्धित ठाउंबाट नुन बुझिलिएको मुचुल्का प्राप्त भयो, रकम निकासाका लागि सिफारिस गरिदिएं’, प्रजिअ वलीले भने ‘नुन पुगे नपुगेको बारेमा छानबीन शुरु गरिसकेका छौं’ । साल्ट ट्रेडिङ कर्पोरेशनका गिरेन्द्रदेव उपाध्याय ठेकेदारले सबै रकमको भुक्तानी दिइसकेको बताउंछन् । माथिल्लो गोरखाबासीलाई छुट्टयाइएको सातसय ७५ क्विण्टल मध्य ३२ क्विण्टल नुन भने साल्ट ट्रेडिङ आफैले राखेको छ । ठेकेदारसंगको सम्झौता अनुसार पांच प्रतिशत नुन आफैले राखेको कर्पोरेशनका गीरेन्द्रदेव उपाध्यायले स्वीकार गरे । मुख्य ठेकेदार धनबहादुर गुरुङ्गले नुन बोक्न माछाखोलाका कान्छा भनिने धनकुमार गुरुङ र सिङ्लाका तेजबहादुर गुरुङलाई जिम्मा लगाएका थिए । मागे जति पारिश्रमिकमा कुरा नमिलेपछि नुन ढुवानी नभएको उनीहरुले बताएका छन् । यस सम्बन्धमा जिज्ञासा राख्न खोज्दा ठेकेदार धनबहादुर गुरुङ सम्पर्कमा आउन चाहेनन् । गतवर्षको नुन सम्बन्धित ठाउंमा पुर्‍याउन नसकेका गुरुङलाई कर्पोरेशनले यो वर्ष पनि नुन ढुवानी गर्ने ठेक्का दिइसकेको छ । यसअघि पनि जिल्लाकै अति बिकट सामागाउंमा सरकारको सहुलियतको नुन कहिल्यै पनि नपुगेको स्थानीयवासीले दावी गरेका छन् । उनीहरु तिब्बतबाट आउने सिधेनुनमा निर्भर छन् । ‘तलबाट नुन गएको छैन,’ बिही गाविसका सोनाम डोल्मा लामाले भनिन् ‘तिब्बतकै नुन खाइरहेका छौं । नाकाबन्दी अझै खुलेन भने गाउंमा नुनको हाहाकार हुन्छ ।’ लामो समयदेखि सो क्षेत्रमा तिब्बतले गरेको नाकाबन्दी अहिलेसम्म कायम नै छ । बर्षौदेखि सरकारले आयोडिनयुक्त सहुलियतको नुन उपलब्ध गराउने गरेपनि नुन नपुगेपछि सदरमुकामबाट ५२ कोश टाढा रहेका सामागाउं, छेकम्पार लगायतका गाविसहरुका बासिन्दाहरुले अहिलेसम्म तिब्बतबाट ल्याइएको आयोडिनरहित ढिकेनुन मात्र खाने गरेका छन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 8, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: