RSS

विकास निर्माण र विस्तारमा तीव्रता पाउंदैछ- शहीदमार्ग

09 Sep

प्रकाश चौधरी/दाङ

सशस्त्र द्वन्द्वको समयमा नेकपा माओवादीले घोराहीदेखि रोल्पाको थवाङसम्म जोड्ने बाटोलाई शहीदमार्गको नाम दिएर निर्माण कार्यको थालनी गरेको थियो । युद्धमा होमिएको पार्टी ध्वंसको प्रकृयासंगै निर्माणको रुपमा अगाडि सारेको शहीदमार्गलाई दहवनदेखि तिलासम्म जोडेको थियो । जनयुद्धको समयदेखि नै शुरु गरिएको शहीदमार्ग निर्माण कार्य र विस्तारको कार्यले अहिले पनि तीव्रता पाइरहेको छ । सशस्त्र जनयुद्धको उद्गम थलो अर्थात् रोल्पाली जनताको त्याग र बलिदानको प्रतिफल शहीदमार्ग निर्माण कार्यले नेपालको मात्रै होइन विश्वकै ध्यान आकर्षित गर्‍यो र शहीदमार्ग निर्माण अभियान सफल पार्ने कार्यमा राष्ट्रदेखि अन्तर्राष्ट्रिय स्तरका जनताको समेत सहभागिता रहन पुग्यो ।

०६१ साल मंसिर ५ देखि रोल्पा दहवनदेखि शुरु भएको शहीदमार्ग निर्माण कार्यले विकासको उच्च रुप लिदै सबैको ध्यान केन्द्रित गर्न पुग्यो । सर्वहारा वर्गको मुक्तिको निम्ति जनयुद्धको थालनी गरेको पार्टीले विकास निर्माणको थालनी गरेपछि देशविदेशका मानिसको ध्यान रोल्पामा पर्‍यो र माओवादीको विकास अभियान हेर्न लावालस्कर नै लाग्न थाल्यो । रोल्पाली जनताको लागि शहीदमार्ग महिना दिनको अभियान बन्यो भने बाहिर जिल्ला र विदेशी पाहुनाहरुको लागि १० दिने अभियान बन्यो । माओवादीलाई सधै युद्ध गर्नेहरु भनेर प्रचार गर्नेहरुलाई समेत यसले ठूलो प्रहार गर्न पुग्यो । श्रमप्रति आस्था राख्ने श्रमजीवी जनतामा यसले खुसीको बहार ल्यायो । एकातिर माघ १९ मा शाही ज्ञानेन्द्रले नेपाली जनतामाथि गरेको ‘कू’ र अर्कातिर दुश्मनले गर्ने दमनलाई पनि चुनौति दिदै जनता शहीदमार्ग निर्माण गर्न लामबद्ध भए । अन्ततः यो मार्ग निर्माण अभियानले नयां किर्तिमान कायम गर्न पुग्यो र विकासको क्षेत्रमा नयां बहसको शुरुवात गर्न पुग्यो ।

त्यतिवेला दैनिक १ हजारदेखि ३ हजारसम्मको संख्यामा जनपरिचालन गरि पहिलो वर्षमा १३ करोड र दोस्रो वर्षमा १० करोड बराबरको लगानीमा होलेरीदेखि टिलासम्मको मोटरबाटो निर्माण भएको थियो । त्यसो त उक्त शहीदमार्गको सडक निर्माणमा जनताको पसिनामात्र नभई धेरैको रगत बगेको घटनाहरु तथ्यपूर्ण छन् । प्रत्यक्षरुपमा आफ्नो जीवन बलिदानी गरेका छन् । ती वीरयोद्धाको रगतले झन् बढी प्रेरणा पाएको छ शहीदमार्गले । युद्धकालमा विद्रोही पार्टीले शुरु गरेको शहीदमार्गले पहिलेको जस्तो गुणात्मक फड्को मार्न नसकेपनि निरन्तरता भने पाइरहेको छ । अहिलेसम्म ९० किलोमिटर मोटरबाटो निर्माण कार्य पूरा भएको छ । युद्धकालमा माओवादी नेतृत्वको सरकारले ०६४/०६५ को आर्थिक वर्षमा योजनालाई स्वीकृत गरी अगाडि बढेको थियो । दाङको घोराहीमा शहीदमार्गको कार्यालय खोलेर निरन्तर योजना कार्यान्वयनको प्रकृया चलिरहेको छ भने आर्थिक वर्ष ०७०/७१ भित्रमा योजना सम्पन्न हुने देखिन्छ । अहिले रोल्पा घर्तीगाउंदेखि ७ किलोमिटर बाटो निर्माण गरी सिस्नेरीसम्म पुग्ने लक्ष्य लिएको शहीदमार्गका निमित्त योजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभएको छ । उक्त योजना सम्पन्न भएपछि निरन्तररुपमा दाङ घोराहीदेखि होलेरी, नुवागाउं, टिला हुंदै घर्तीगाउं, सिस्नेरी, खरीबोट, थवाङ, रुकुमकोटसम्म यातायात चल्नेछ । तर, माओवादी नेतृत्वको सरकारले गरेका निर्णय खारेज गर्दै अगाडि बढेको एमाले नेतृत्वमा गठित सरकारले शहीदमार्ग निर्माणको लागि ०६६/०६७ को बजेटमा कम रकम विनियोजन गरेकोले यो वर्ष घर्तीगाउंदेखि सिस्नेरीसम्म करिब ६ किलोमिटर बाटो निर्माण हुने अवस्था छ । ८ करोड रकमले मात्र नपुग्ने भएपछि यसवर्षका थप ४ करोड बजेट माग गरेको कार्यालयले जनाएको छ । ८ करोडमध्ये ७ करोडको टेण्डर भइसकेको र बांकी रकमबाट कल्भर्ट ह्युमपाइपहरु निर्माण गर्ने निमित्त प्रमुख अधिकारीले जानकारी दिनुभयो । अहिले पहिरो गएका ठाउंहरुमा मर्मत पहिरो नियन्त्रण गर्ने कार्यहरु भइरहेको छ ।

सांच्चिकै रुपमा विकास निर्माणप्रति रोल्पा रुकुमका जनताको इच्छा, आकांक्षालाई मध्यनजर गरी सरकार बफादार बनी शहीदमार्गलाई प्राथमिकतामा राखेर विकास निर्माणमा जोड दिने हो भने रोल्पा, रुकुमलगायतका दुर्गम क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने मात्र होइन, त्यहांका सर्वसाधारणको जीवनस्तरमा समेत सकारात्मक परिवर्तन अवश्य हुने थियो ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 9, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: