RSS

दशा बन्दैछ दशैं

18 Sep

दशैंको नशाले विगत वर्षहरू जस्तै यसपाल पनि नेपालीको घर आंगनमा छोइसकेको छ । चाडपर्व हामी नेपालीका परिचयका आधारस्तम्भ हुन् अनि सांस्कृतिक परिचय पनि । तर पछिल्ला केही वर्षदेखि नेपालीका लागि दशैं दशाका रूपमा परिचित हुन थालेको छ । अनियन्त्रित बजारभाउका कारण आधारभूत वर्गका नेपालीहरू दशैं मनाउन नसक्ने अवस्थामा पुगेका छन् । फेरि चाडबाडको मौका छोपेर अकुत धनसम्पत्ति कमाउन पल्केका नाफाखोर व्यापारीहरूका कारण जनताले आहत महसुस गरिरहेका छन् । देशमा राज्य छ कि छैन, सरकार छ कि छैन भन्ने कुराको अनुभव कोही कसैले गर्न सकेका छैनन् ।

खाद्य तथा खाद्य पदार्थको बजारभाउ यसरी आकासिएको छ कि त्यसबाट सर्वसाधारण भोकभोकै मर्ने अवस्थामा पुगेका छन् । कालिमाटीमा विगत १२ वर्षदेखि भारी बोक्ने काम गर्दै आएका धादिङका खड्ग नेपालीले भने ‘दशैं त हामीजस्ता साना मान्छेले मनाउन नसक्ने भयौं, अब के गर्ने कसो गर्ने स्थितिमा पुगेका छौं । चाडबाड त हामीलाई ‘खाउं भने दिनभरीको शिकार, नखाउं भने कान्छा बाउको अनुहार’ भएको छ । बजारमा चिनी प्रतिकिलो ६५ रुपैयांभन्दा माथि पुगेको छ । दाल, चामल, तरकारीलगायतका खाद्यान्नको भाउ पनि त्यही अनुपातमा बढेको छ ।

कालाबजारीका कारण यसरी अत्याधिक मूल्यवृद्धि भइरहेको हो भन्ने कुरा सार्वजनिक भइरहंदा पनि सरकारी संयन्त्रहरू कानमा तेल हालेर सुतेको छ भन्दा फरक पर्दैन । सरकारले वाणिज्य सचिव पुरुषोत्तम ओझाको नेतृत्वमा बजार अनुगमन समितिको गठन गरे पनि त्यो निकाय कागजबाट बाहिर व्यवहारमा देखिन सकेको छैन । उद्योग वाणिज्य संघ तथा नेपाल चेम्बर अफ कमर्स जस्ता निकायहरूले बजारभाउ नियन्त्रण गर्न सघाउने भने पनि त्यसको प्रभवाकारिता देखिन सकेको छैन । किन यस्तो त भन्ने हाम्रो जिज्ञासामा उपभोक्ता अधिकारकर्मीहरू भन्छन्- ‘देशमा जनताले राज्य छ कि छैन भन्ने अनुभव गर्न नपाएपछि जहांसुकै, जतिबेला पनि, जसलाई जे मन लाग्यो त्यही गर्न छुट पाइहालिन्छ नि भन्ने अराजकताको शिकार भएका छौं हामी ।’ राज्यले केही गरिदेला कि भनेर आस गर्नुको साटो उपभोक्ताहरू आफै सचेत र जागरुप हुनुपर्ने उनीहरूको भनाइ छ । यसै सन्दर्भमा उपभोक्ता अधिकारकर्मी ज्योति बानियांको तर्क छ ‘बजार नियन्त्रण गर्न नसक्ने र उपभोक्तालाई मारमा पार्ने राज्यले आफ्नो नैतिकता र दायित्व कहां राखेको छ भन्ने कुराको खोजबिन उपभोक्ता स्वयंले गर्नुपर्ने भएको छ । उपभोक्ता स्वयं नै सचेत नभएसम्म न त कालो बजारी नियन्त्रण हुन सक्छ, न त उपभोक्ता अधिकारको संरक्षण नै हुन सक्छ ।’

पछिल्ला तीन वर्षको तुलनामा बजारभाउ ४५ प्रतिशतभन्दा बढी वृद्धि भएको बजार विश्लेषकहरूको भनाइ छ । यसबाट आम सर्वसाधारण, मजदुर, किसान भरिया र सिमान्तकृत समुदाय नै बढ्ता संकटमा परेका छन् । तिनीहरूको जीवन कष्टकर बन्दै गएको छ । केही दिन पहिले सार्वजनिक गरिएको विश्व आर्थिक प्रतिवेदनलाई नै आधार मान्ने हो भने पनि नेपालीहरूको अवस्थालाई सहजै अनुमान गर्न सकिन्छ । विश्वका करिब १३० वटा देशहरूमा नेपालको स्थान १ सय २० औं स्थानमा रहनुले पनि हामी कहां र कस्तो अवस्थामा रहेछौं भन्ने कुराको अनुभव जो सुकैले गर्न सक्छ ।

दशैं तथा तिहारका लागि अत्यन्तै अत्यावश्यक मानिने चिनी, चामल, मैदा चिउरा, दाल, लत्ता कपडामा अरु समयभन्दा २५ प्रतिशतले मूल्य वृद्धि भएको बजार विश्लेषकहरूको भनाइ छ । साल्ट ट्रेडिङ लिमिटेडले सस्तो बजार भाउमा उपलब्ध गराएको चिनी तथा खाद्यान्नमा व्यापारीहरूले आफूखुसी भाउ तय गरेर ब्रम्हलुट गरिरहेका छन् । नेशनल ट्रेडिङले ५२ रुपैयांमा उपलब्ध गराएको चिनी व्यापारीहरूले ६५ मा बेच्नुले त्यही कुराको खुलासा गर्दछ । थाइल्याण्डबाट पांच हजार मेट्रिक टन चिनी ल्याउने घोषणा गरेको सरकारले त्यो चिनी कहिले ल्याइपुर्‍याउला भन्ने कुराको कुनै ठेगान छैन ।

पैसा तिर्न सक्नेका लागि बजारमा जुनसुकै सामग्री पनि सहजै पाउन सकिन्छ भने नसक्नेका लागि कुनै पनि सामान पाउन सकिदैन यो विषम परिस्थितिले आम नेपालीका लागि दशैं केवल दशाको रूपमा चित्रित गरिदिएको छ । राम्रो तथा मिठो मसिनो खान चाडवाड नै कुर्नु पर्ने अनि एक जोर कपडा हाल्न चाडवाड नै पर्खनु पर्ने अवस्थामा रहेका आम नेपालीले दशैंलाई दशाका रूपमा लिनुपर्ने अवस्थाको नजरअन्दाज सरकार अनि सरकारका सम्बन्धित निकायले गर्न सक्छ ? पक्कै पनि सक्दैन । राज्यले नै कालाबजारी, घुसखोरी, कमिसनतन्त्रलाई बढावा दिइराखेको र यस्ता क्रियाकलाप गर्नेहरूउपर कुनै कारबाही नगरेकाले समस्या उत्पन्न भएको हो भन्न सकिन्छ । अघिल्लो वर्षको मात्रै तुलना गर्ने हो भने बजार भाउ ४० प्रतिशतको हाराहारीमा बढेको छ । त्यसको एउटा कारण कालोबजारी हो भने अरु कारण सरकारी निकायकै लाचारी पनि हो । सरकारले खाद्य तथा खाद्यान्नलगायतका सामग्रीहरूमा लगाएको भन्सार मात्रै खुला गर्ने हो भने सर्वसाधारणले सुपथ मूल्यमा खाद्य पदार्थ किनेर खान सक्थे तर विडम्बना सरकारले त्यतातिर सोच्नसमेत भ्याएको छैन ।

 

उस्तै छ पशुचौपायाको अवस्था

 

घोर्ले खसी ढालेर दशैं मनाउने ध्याउन्नमा बसेकाहरूका लागिसमेत खसी किन्न नसक्ने अवस्था सिर्जना भएपछि गरिब तथा विपन्नहरूका लागि त झन् मासु खानु आकासको फल आंखा तरी मर भएको छ । कालाबजारीकै कारण खसी बोकाको बजार भाउ बढेको कुरालाई नकार्न सकिन्न । त्योभन्दा बढ्ता खसी, बोका तथा पशुचौपायाहरू पाल्न छाडेको कुरालाई पनि भुल्न सकिन्न । यही अवस्थाको फाइदा उठाएर व्यापारीहरूले स्त्री चौपायाको व्यापार व्यवसायलाई अगाडि बढाएका छन् । कानुनतः स्त्री चौपायालाई मासु प्रयोजनका लागि बेच विखन गर्न नपाइने नियम भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

दशैंमा त झन् बाख्रा, भैंसीजस्ता स्त्री चौपायाको व्यापार व्यवसाय गर्न पाइन्न । तर यो कुराको सुनुवाई कोही कसैले गरेका छैनन् । पशु चौपायालाई मर्का पर्ने गरी एक अर्कामा ठोकिने गरी, पीडा दिएर ओसारपसार पनि गर्न पाइन्न । अन्तर्राष्ट्रिय रूपमा जारी भएको पशु अधिकारसम्बन्धी अभिसन्धिले पनि यस कुराको बन्दोवस्त गरेको छ । तर हामीकहां यस अभिसन्धिको पालना भएको छैन । भारतीय र नेपाली व्यापारीहरूको मिलेमतोमा दशैंका लागि भनेर भैंसीको ओसारपसार व्यापक मात्रामा गरिए पनि थानकोट तथा नागढुंगामा चेकपोष्टले प्रति ट्रक ४० हजार रुपैयां भन्दा बढी घुस लिएर छाड्ने गरेको भुक्तभोगीहरू बताउाछन् । दशैं शुरु हुनु हुंदैन दैनिक दस ट्रकभन्दा बढी भैंसी राजधानी भित्र्याइएका छन् । बिरामी पशुको मासु खान तथा बिक्री वितरण गर्न नहुने, स्वस्थ पशुको मात्रै मासु खान तथा बिक्री वितरण गर्न पाइने अन्यथा कडा कारबाही गरिने सरकारी नियमलाई राज्यकै सुरक्षाकर्मीले पालन नगरेको स्थिति छ । त्यसरी स्त्री चौपाया भित्र्याउन दिएवापत प्राप्त भएको रकम प्रहरी हेड्क्वाटरसम्म पुग्ने गरेको छ । गरेको आदेश हो हामीले काट्न मिल्दैन एक ट्रक भैंसी  बराबर ४० हजारदेखि ५० हजारसम्म लिने गरिएको छ ।

उता काठमाडौं उपत्यकामा मासु काट्ने तथा त्यसको उपयुक्त भण्डारण तथा व्यवस्थापन गर्ने निकायको समेत उचित प्रबन्ध हुन सकेको छैन । काठमाडौं महानगरपालिका त्यसको प्रबन्ध गर्ने बताए पनि आजको मितिसम्म त्यसले सार्थकता पाउन सकेको छैन । असुरक्षित पशु बधस्थलका कारण मानिसमा विभिन्न स्वास्थ्य समस्या उत्पन्न भएको चिकित्सकहरु बताउंछन् । ‘असुरक्षित स्थानमा काटिएको मासुका कारण झाडापखाला, आउं, फुडप्वाइजन लगायतका समस्याहरू देखिने खतरा रहन्छ’  रोग नियन्त्रण महाशाखाका चिकित्सक झम्क शर्मा भन्छन् ।

असुरक्षित स्थानमा काटिएका मासु खानु स्वास्थ्यका लागि हानीकारक छ, यसबाट सचेत रहनु अत्यन्तै आवश्यक छ । तर खसीको मासु प्रतिकिलो ४ सय ५० को हाराहारीमा पुगेको सन्दर्भमा मासुको कल्पना गर्नु केवल कल्पनामा नै सीमित हुने कुरालाई नकार्न सकिन्न । खाद्य संस्थानले उपलब्ध गराउने भनिएको खसी बोकाको मूल्य ज्युंदैमा २ सय ८० को हाराहारीमा तोकिएको सन्दर्भमा दशैंमा नै टन्न मासु खानुपर्ला भनेर आश गरेर बसेकाहरूलाई निराश नतुल्याउला भन्न सकिन्न । त्यसकारण आम गरिबका लागि दशै केवल दशा मात्रै बन्न पुगेको छ । के राज्यले सबैलाई चाडबाड मान्न पाउने अवस्थाको सिर्जना गर्न सक्ला त ?

महिमा साप्ताहीक / काठमाडौं

 
11 टिप्पणीहरु

Posted by on सेप्टेम्बर 18, 2009 in BLOG, SPECIAL

 

11 responses to “दशा बन्दैछ दशैं

  1. भि. Swipsoul

    सेप्टेम्बर 19, 2009 at 12:35 बेलुका

    हतियारको पुजा, बलीको औचित्यता, कालरात्रीको उपासना र यूद्धगाथाको पुन:स्मरणले यसलाई यूद्ध सास्कृतिक पर्ब जनुउछ । शक्तिको उपासनाको मुल महत्व नै दसैको अन्तरनिहत मर्म हो । थ्यसैले यो दशैंवाट मुलुकमा फेरि भिषण द्वन्द भित्रिने लक्षण देखिंदैछ ।
    यसैले गर्दा आम गरिबका लागि दशै केवल दशा मात्रै बन्न पुगेको छ ।

     
  2. Venilla

    सेप्टेम्बर 19, 2009 at 1:05 बेलुका

    so great article

     
  3. विक्रम

    सेप्टेम्बर 19, 2009 at 10:37 बेलुका

    ” वडादशैंको उपलक्ष्यमा शुभ कामना ”

    शरद सुबाश हररर फैलियोस गाउ – शहर – बस्तिमा
    चचहुइ चररर सररर भन्दै झुलुन सब जन मस्तिमा ।
    ~~
    हासी खुशी दङगभै उमङ्ग सङ्ग
    निल गगन मुनी उडाउन मनको चङ्गा ।
    ~~
    गुन्जियोस सबको मन छुन
    शुभ पर्बको सगुन मालाश्री धुन ।
    ~~
    पूजा आरती दिप दिपक झलमल्ल
    अक्षता फूलपातिमा सजियोस मन्दिर देबल ।
    ~~
    हरियो जमरा पहेलो केशरी रातो अछेता रङ्ग थरी थरी
    अहो ! खुशी त्यो झझल्कियोस फूलपात भरी
    ~~
    न रहोस् इख बिख शुद्द रहोस् हिर्दय पवित्र
    साथी इस्ट मित्र भाईचारा पलाओस सबको मन भित्र ।
    यहि नै मेरो तर्फवाट यसपालीको दशैंको हार्दिक मंगलमय शुभकामना !!!!!!!!!!!!!!!!!!!!

     
  4. हेमन्त रिजाल

    सेप्टेम्बर 19, 2009 at 10:39 बेलुका

    हिमालझैँ हाँस्नु सँधै, सगरमाथा झैँ अटल,
    छहारी भइ सितल दिनु, झराना झैँ चन्चल,
    नदी जस्तै सुस्ताउनु तिमी, सुर्य जस्तै उदाउनु,
    आफ्नो मात्रै होईन तिमी, दुखिको मन पनि बुझाउनु,

    घमन्ड छोड्नु, झुटो नबोल्नु,
    नेताको जस्तो धेरै कुरा नगर्नु,
    कुर्सिको आसमा देसै नबेच्नु,
    पैसाको आसमा ईज्जत नबेच्नु,

    अनि,
    सफल रहोस जिबन तिम्रो, उच्च तिम्रो भावना,
    बिजया दशमिको उपलक्ष्यमा यही छ मेरो सवैलाई शुभकामना !!!

     
  5. CooL

    सेप्टेम्बर 19, 2009 at 10:42 बेलुका

    प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, शेर बहादुर झैँ अनाडी नहुनु, सुर्य बहादुर झैँ सैतान नहुनु, ज्ञानेन्द्र झैँ लाचारि नहुनु, फोरम झैँ बिखण्डन कारी नहुनु, यहि नै नयां लोकतान्त्रिक गणतान्त्र नेपालका सम्पुर्ण जनमा विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना

     
  6. laxmiacharya

    सेप्टेम्बर 19, 2009 at 10:43 बेलुका

    पर्खीएर बस बीहानी भै उदाउला म ।

    बतास भै पच्छौ्री तीम्रो उडाउला म ।

    पदुकी भरी मेरो माया सँगलेर राख ,

    बनपात जादा लहर बनी अल्झाउला म ।

    दसैं तिहार आउँदा तगरोमा नजर राख ,

    चच हुइ र चरर हुइ सँगइ फर्कीउला म ।

     
  7. NABS व्रो

    सेप्टेम्बर 19, 2009 at 10:47 बेलुका

    हर्ष, उल्लास बोकी फेरी जिन्दगीमा आयो…… फेरी मुस्कुरा’को ओठमा नयाँ लाली छायो ….. पिर सारा भुलाइदियो खुशी मात्र ल्यायो ….. फेरी पनि दशै हाम्रो आँगनीमा आयो …… फेरी दशै हाम्रो घर-आँगनीमा आयो !! महान चाड बडादसै तथा दिपावली २०६६ हार्दिक मंगलमय को सुभकामना

     
  8. Resham

    सेप्टेम्बर 20, 2009 at 2:02 बेलुका

    राजनीतिक दल र नेताहरुलाई जनताको लागिमात्र सोच्न सक्ने बुद्दी देओस !!!
    सम्पूर्ण नेपालीमा एकताको भावना ल्याओस !!!
    जात-जातियता र व्यक्ती भन्दा देशको बारेमा सोच्ने शक्ती आओस !!!!
    पशुबलीको कु-संस्कारमा कमी ल्याओस !!!
    नेपाली भुमी टुक्र्याउन चाहनेहरूको कुबिचार अन्त्य होस् !!!
    नेपाली भाषा र संस्कृतीको जगेर्ना गरोस !!!
    नेपालीहरुको हिन्दी प्रेमको अन्त्य गरोस !!!
    नेपाली गीत संगीतमात्र घर घरमा बजोस !!!
    यहि नै यसपालिको दशैंको शुभकामना !!!

     
  9. sairah

    सेप्टेम्बर 21, 2009 at 11:45 बेलुका

    It is a real story of those poor Neplese family who is representing most of the population and passing through mesearable lifestyle.

     
  10. Josef kumar Malla

    सेप्टेम्बर 26, 2009 at 11:42 बिहान

    Dashain Dasha Nai Banne Bhayo Yes pal ko. खाउं भने दिनभरीको शिकार, नखाउं भने कान्छा बाउको अनुहार’ भएको छ ।

     
  11. simon

    सेप्टेम्बर 27, 2009 at 10:49 बिहान

    ‘बजार नियन्त्रण गर्न नसक्ने र उपभोक्तालाई मारमा पार्ने राज्यले आफ्नो नैतिकता र दायित्व कहां राखेको छ भन्ने कुराको खोजबिन उपभोक्ता स्वयंले गर्नुपर्ने भएको छ । उपभोक्ता स्वयं नै सचेत नभएसम्म न त कालो बजारी नियन्त्रण हुन सक्छ, न त उपभोक्ता अधिकारको संरक्षण नै हुन सक्छ ।’

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: