RSS

दशैंको, दशा र हाम्रा नियतिहरू

20 Sep

–      मंगल शर्मा

पहिले हाम्रो देश हिन्दुराष्ट्र थियो । अहिले हामी धर्मनिरपेक्ष राष्ट्रमा परिवर्तन भएका हौं । हिन्दु अधिराज्य भए पनि सबै धर्मावलम्बीहरूलाई मिलाएको दाबी गर्नेहरू सहिष्णुताको पाठ पढाउंदथे र धर्मिक सहिष्णुताको आदर्श ओकलिन्थ्यो । राजा हिन्दु, बहुसंख्यक पनि हिन्दुहरू नै । हिन्दुहरूको चाडपर्व विशेषरूपमा सरकारी तवरबाटै प्रोत्साहित दिइन्थ्यो । धर्म परिवर्तनका कडा कानुन थिए, मुलुकी ऐनमा अदलको महल भन्ने छुट्टै महल नै थियो । ऐन, कानुन पनि धेरैजसो हिन्दु धर्मबाटै प्रभावित थिए ।

वास्तवमा धार्मिक सहिष्णुता भुलभुलैया मात्र थियो । तर, पनि विभिन्न धार्मिक परम्परालाई बिरालो छोपी श्राद्ध गर्ने परम्पराको बिंडोको रूपमा मानिएका थिए ।

त्यसको प्रभाव वर्तमानसम्म कायमै छन् । तिनै चाडपर्व मध्येको दशैं अहिले हाम्रासामु उपस्थित छ । दशैं मनाउन घर फर्कने, भेटघाट गर्ने, राम्रो नयां लगाउन र खाने यो पर्वले कैयौं नेपालीलाई दशाकै रूपमा चरितार्थ गराउंछ कि भन्ने मनोविज्ञानले सधैं ग्रष्त बनाइरहेको पाइन्छ । हिन्दु राज्यका आदर्शलाई अगाडि सार्ने क्रममा असत्यमाथि सत्यको विजय भनी राग अलापेपनि गरिखाने र मेहनती जनतालाई कहिल्यै पनि यो पर्वले छुन सकेन । आदिम अवस्थामा तमाम श्रमजीवीवर्गलाई झुक्याउन रचिएको यस्ता कथनलाई शोषी खान पल्केका फटाहाहरूले बनाएका किंवदन्तीहरू न त जनताका कल्याणमा भए न त समाजका परेका बानी वा सूत्र बन्न सके । फगत निराशा, कुण्ठा र परनिर्भरताको भुलभुलैयामा कथित दैवी शक्तिका कित्ता विभाजन गराउन पुगे ।

हिन्दुहरूबाहेक अन्य धर्मावलम्बीहरू एउटै समाजमा रहंदा पार्ने प्रभावबाहेक दशैंसंग लिनु-दिनुको साइनो गांसिने कुरै भएन । हिन्दुहरूका केही पन्थबाहेक र जबर्जस्ती हिन्दु पभ्रावमा परेका बाहेक दशैं मनाउने हिन्दुहरूका हकमा पनि दशैं विशेषगरी हुनेखाने र जसरी पनि कमाउने तथा खर्च गर्ने वर्गले भव्यताका साथ मनाउने यो पर्व पछिल्ला दिनमा आएर अझ निराशाहरू थपिंदै गएका छन् ।

दुर्गाकवच, चण्डीपाठ, विभिन्न प्रकारका बलीहरू, टीकाटालो, भेटघाट, आवत-जावत यस पर्वका आफ्नै परिवेश हुन् भने ‘ऋणं कृत्वा धृतम् पिवेत्’ र ‘टका कर्म टका धर्मा टकाही परम् सुखम्’ भन्ने भनाइले दशैं अगाडि मागिने आर्थिक सहयोगका बान्की परेका निवेदनका भाका र भाषा तथा नदेखिने लिन दिनका अनगन्ती कथा-व्यथाले एउटा संस्कारको परिवेश निर्माण भइरहेको छ । अझ यस भित्रका आडम्बरी खोलहरू र दशैंसम्बन्धी दृष्टिकोणात्मक करनी र कथनीले पनि थाहा नै नहुने गरी कित्ता विभाजनका रेखाहरू कोरिरहेका पाइन थालेका छन् । यसरी विशेषगरी सामाजिक पर्वहरू मान्ने र मनाउनेमा न हांसको चाल छ न बकुल्लाको ।

नितान्त दैवीशक्तिसंग जोडिएको यो पर्व भौतिकवादीहरूले समेत चाहेर नचाहेर पनि केही न केही रूपमा मनाएको देखिन्छ । जसको कारणले मान्छेलाई दिशाभ्रमित हुने र उपलब्धिविहीन यस्ता पर्वहरूले कालान्तरसम्म निरन्तरता पाउने देखिन्छ । अतः मुखले धर्मलाई अफिमको संज्ञा दिने तर व्यवहारमा पुर्णरूपमा निषेध नगर्ने हो भने करणी र कथनी फरक पर्ने हुंदा जनताले विश्वास गर्दैनन् । हो यस्ता पर्व वा चाडको हजारौं वर्षदेखि हाम्रो साइनो गांसिएको हुंदा छोड्न कठिनाई पर्छ । त्यसैले राजनैतिक परिवर्तन जति छिटो गर्न सकिन्छ, सांस्कृतिक परिवर्तन त्यति सरल र सहज हुंदैन । तैपनि सुधार वा परिवर्तनको छनक आफैंबाट देखाउन र गच्छे अनुसारको भूमिकामा रहको अगुवाबाट अग्रसरता बढी हुनु आवश्यक पर्दछ । नवीन सोच र परिवर्तनका लागी केही अप्ठ्यारो पर्ने भए पनि त्यसमा केहि जोखिम उठाउनैपर्दछ ।

समाज रूपान्तरणको आशा र भरोसा गरेका मूर्धन्य व्यक्तित्वहरूले कसरी दशैं मनाउलान् ? के-के गर्लान् भनी जिज्ञासा हुनुलाई अन्यथा मानिंदैन । त्यस्ता व्यक्तित्वहरूको निजी मामिला भए पनि जनताहरूले चियोचर्चा गर्दा विगत वर्षहरूको तुलनामा भनाइअनुसार गराइयो, फरक नपर्ला भनी सकारात्मक सोच राख्न सकिन्छ । कसैलाई बाबुको बाध्यता, कसैलाई सासूको बाध्यता र कसैलाई आमाको बाध्यता भन्दै टीकाटालो भयो भने जनता के सोच्लान् ? यसबारेमा एउटा उपयुक्त सोच बनाउंदा राम्रो हुने हो ।

ग्रामीण बस्ती अनिकालले ग्रस्त छ, औषधिमूलो नपाएकाहरूको दुःख-दर्दले भावुकता बढाउला । शहर, बजारमा बस्ने सदावहार एउटा वर्ग र भुइंफुट्टावर्गले जेन तेन दशैं राम्रैसंग मनाउलान् । नयां संविधानसभाले निर्माण गरेका ६०१ जना सभासद, तिनका पिए र पिएका पनि पिए एवं जम्बो मन्त्रिमण्डलका भाइभारदारहरू कथित कुलिनवर्गीय र तिनका आसेपासे, श्रीपेचबिनाका भुरेटाकुरेहरू तथा नयां सामन्तहरू त्यस्तै उच्च पदस्थ नोकरशाह एवं विभिन्न राजदूतावासका हुन्डीबाट रमाएकाहरू र थोरै मात्र आफ्नै बलबुताको कमाईबाट बांचेका सीमितवर्ग बाहेकहरूले दशैंलाई दशाको रूपमा लिने गरेका छन् । ‘खाउं भने कान्छाबुबाको अनुहार नखाउं भने दिनभरिको शिकार’ आमजनताको लागि दशैंले यही भनाइरहेको छ । लामो सरकारी बिदा र १५ दिने दशैं जात्रामा कतिले सास्ती पाउंछन्, कतिले कष्ट पाउंछन् ? यही नियतिभित्र दशैं मनाउने नाममा आर्थिक सहयोगका निवेदनहरू सिंहदरबारभित्र विभिन्न मन्त्रालयहरूमा विशेषगरी गृह र अर्थमन्त्रालयका मन्त्रीज्यूको निजी सचिवालयदेखि ठूलाठूला प्रोजेक्ट संस्थाहरूमा तोक, आदेशको लागि घुमाइंदै होलान् । जसरी हिजो मण्डलेतन्त्र बचाउने भाकामा निवेदन लेखिन्थे, त्यसरी नै आज नयां नेपाल बनाउने भाकामा निवेदनका व्यहोरामा बान्की परेका होलान् । दशैं तिहारका सेरोफेरोमा वाषिर्क बजेट स्वाहा हुने पुरानै प्रवृत्ति दोहोरिने नियतिले अनिकाल र औषधिमूलो नपाएर छटपटिएका नेपालीहरूको अवस्थामा कुनै परिवर्तन देखिंदैन । सिर्फ एउटा छट्टुको सट्टा अर्को छटटुको दिन फिरेको अवस्थामा हाम्रा अनुत्पादक चाडपर्व हट्नुको सट्टा बोझ मात्र बढ्नेछ । मन, वचन, कर्मले हामी आफैं सुध्रनु पर्छ र सरल तरिकाले उपार्जन गर्ने बानी छाडेर भड्किलो रवाफ देखाउंदै जाने र सो अनुसार खर्च बढ्दै गयो भने सम्पन्न परिवारको बिग्रेको छोरोजस्तो बोझ मात्र हुने छ र हाम्रा चाडपर्व पनि टार्नैपर्ने बाध्यताबाहेक केही हुने छैन ।

 
१ टिप्पणी

Posted by on सेप्टेम्बर 20, 2009 in BLOG, GUEST

 

One response to “दशैंको, दशा र हाम्रा नियतिहरू

  1. धुर्मुसे राइंलो

    सेप्टेम्बर 20, 2009 at 1:49 बेलुका

    झलनाथको जालझेल केपीको बोली
    माधवको नेत्रृत्व सहानाको चोली
    फुट्नखोज्ने सधैं हाम्रा गौतम बाम
    खाने जति नेता जनता गर्ने काम
    बिद्याको सारी मदनको नाम
    सर्बहारा नेता ओली कै छ काम
    कम्युनिस्ट होइनन् यिनी कमाउनिस्टको निती
    कतिदिन पो देशलाई ढांट्लान लुकी लुकी
    दशैं आयो भन्छन् जनताको दशा
    भाग खानेभए वालुवाटार पस ।।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: