RSS

हुनेलाई दशैं तिहार नहुनेलाई … … …

20 Sep

प्रकाश चौधरी/दाङ

समनी विक-६३ बिहान घाम लाग्दा नलाग्दै डोको बोकेर नातिसंगै कटुवाखोलाको छेउमा पुगिसकेकी हुन्छिन् । दिनभरजसो उनी त्यही खोलाकै बगरमा बिताउंछिन् । उनलाई लाग्छ, जिविकोपार्जनका लागि बगरको ढुंगा जम्मा गर्नु र गिट्टी कुट्दै दिन बिताउनु आफ्नो कर्म हो, भाग्य हो । र, दिनदिनै आफ्नै भाग्यलाई सराप्दै उनी गिट्टीसंगै आफ्नो जीन्दगी नै कुटिरहेकी छिन् । ‘मरुं काल आउंदैन, बांचु मनमा सन्तोष छैन’ उनले भनिन्, ‘कपडा च्यातिएको लगाएपनि केही हुंदैन तर पेटले मान्दैन बाबु के गर्ने ? यही बगरको गिट्टी फोडेर जिविका चलाइरहेका छौं ।’

रोल्पा जेदवाङकी समनीको परिवारलाई ०५९ सालमा माओवादीको आरोपमा प्रहरीले उठीबास लगाएपछि उनी दाङ झरेकी हुन् । दाङ झरेपछि जिविकोपार्जनका लागि गिट्टी कुट्न थालेकी उनले झण्डै ८ वर्ष कटुवाखोलामै बिताइसकेकी छिन् । दशैंतिहारको रमझमले सबैतिर खुसीयाली छाइरहदा उनलाई भने दुःख र पीडाले झनै सताउन थालेको छ । ‘हामीलाई दशैं न तिहार सधैभरि यही बगरको बास प्यारो भइसक्यो । एकछाक खाना जुटाउन समस्या छ, उसैमा चाडपर्वले झन् ठूलो ऋणको भारी थप्छ ।’ उनले भनिन्, ‘भाइ र छोराहरु इन्डियामा छन् बुहारीहरु घरकै काममा व्यस्त हुन्छन्, बाजे बज्यै र नातिसंग गिट्टी कुट्दै पेट भर्ने जोहो गरिरहेका छौं, हामी गरीबका लागि चाडपर्व कुनै नआओस् ।’

समनीमात्रै हैन, फुलबारी-८ बराखुटीकी सरस्वती खत्रीको हालत पनि उस्तै छ । उनी शारीरिक रुपमा अपाङ्ग छिन्, दुबै खुट्टा राम्रोसंग चल्दैनन् तर बिहानदेखि सांझसम्म गिट्टी नकुटी सुखै छैन । हातभरी फोका उठाएर उनी दिनभर गिट्टी कुटि्छन् । ‘ज्यान हेरी यो काम मैले नगर्नुपर्ने हो तर के गर्नु अरु पेट पाल्नलाई अरु कुनै उपाय नै छैन ।’ उनले दुखेसो पोखिन् । अपाङ्ग भएर पनि राज्यबाट कुनै सुविधा नपाउंदा आफू दुखित भएको उनले बताइन् । ‘अहिलेसम्म नागरिकता नै बनेको छैन, अपाङ्ग भएर पनि के गर्नु, नागरिकता नभएपछि सरकारले पनि केही नदिने रहेछ, उनले भनिन्, नागरिकता बनाउन कति दुःख गरिसके तर यो पापीहरुको दुनियांमा मैले जे गरेपनि नागरिकता नपाउने भए ।’

दशैंतिहार आएपछि झनै दुःख वषिर्ने उनको धारणा छ । ‘चाडबाड मनाउने हो ऋण कसैले दिदैन, कसैले दिएपनि साहुको ऋणले कति दिनसम्म मनाउने ?’ उनले आफै प्रतिप्रश्न गरिन् । उनीसंगै उनका श्रीमान् धर्मबहादुर खत्री पनि बुढेसकालमा बेहाल जीन्दगी बिताइरहेका छन् । जवानीमा रिक्सा चलाएर जिविका चलाएका खत्री बुढेसकाल लागेपछि खोलाको गिट्टी कुट्न बाध्य भएका छन् । दिनभर काम गरेका वेला २ जनाले बल्लतल्ल २ सयजति मुस्किलले कमाउंछन् तर महंगीको मारले ४ जनाको परिवार पाल्न कसरी सम्भव हुन्छ र उनीहरुलाई ? दशैं तिहार घरआंगनमै आइपुगेको छ, गाउं शहर झिलिमिलि हुंदैछन्, सबै घरहरु रंगिदैछन् तर समनी, सरस्वती र धर्मबहादुरको जीवनको रंग झन् धुमिल हुंदैछ । अरुको दशैं उनीहरुका लागि दशा पो हुन थालेको छ । दशैंतिहारको आगमनसंगै ११ वर्षदेखि बगरको ढुंगा र गिट्टीसंग बितिरहेको उनीहरुको जीवनमा के खुसीयालीको दिन आउला ?

 
१ टिप्पणी

Posted by on सेप्टेम्बर 20, 2009 in NEWS

 

One response to “हुनेलाई दशैं तिहार नहुनेलाई … … …

  1. aftab

    सेप्टेम्बर 27, 2009 at 10:47 बिहान

    this is all poor thing for poor people. It is Religious counterfare for people by the kingship.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: