RSS

धर्म र चाडपर्वबारे एक टिप्पणी

27 Sep

पाण्डव थापा

धर्म र चाडपर्वबारे हाम्रो समाजमा खासै चर्चा र बहस नै हुंदैन । चाहे कम्युनिष्ट विचारका समुदाय हुन् वा गैरकम्युनिष्ट विचारका समुदाय हुन् । सबैले चाडपर्वको समय आयो भने खुरुखुरु परम्परागत शैली र प्रचलन अनुसार मान्दै आएका छन् । नेपाली हिन्दु आर्यन समुदायमा विशेष गरि श्रावण शुक्ल पञ्चमी देखि चाडपर्वहरुको शुरुवात हुन्छ । जसलाई नागपञ्चमी भनिन्छ । त्यसपछि जनैपूर्णिमा, कृष्णष्टमी, तीज, ऋषिपञ्चमी, सोह्रश्राद्ध, नवदुर्गा हुंदै विजयदशमी र भाइटिका (तिहार) सम्म आउंदा हिन्दुहरुका महत्वपूर्ण चाडपर्वहरु सकिन्छन् ।

 त्यसैगरी माघे संक्रान्ति, बसन्त पञ्चमी, फागूपूर्णिमा, चैत्राष्टमी र रामनवमीसम्म पुग्दा करिव एकवर्षका चाडपर्व समाप्त हुन्छन् । यसबाहेक अन्य संस्कारगत धार्मिक परम्पराहरु पनि मनाइ राखिएका हुन्छन् । अन्ततः यी सबै धर्म र संस्कार वा चाडपर्व आध्यात्मिक दर्शनमा आधारित छन् । त्यसै पनि आजको युगलाई वैज्ञानिक युगको रुपमा लिने गरिन्छ । विज्ञानले ठुल्ठुला क्रान्ति सम्पन्न गरिसकेको छ । मान्छेले भगवान वा ईश्वरको रुपमा पूजाअर्चना गरिने चन्द्रमामा समेत पाइला टेकेर त्यसको बारेमा पनि बृत्तान्त जानकारी लिइसकेको छ । मान्छे लगायत सम्पूर्ण चराचर प्राणीहरु पृथ्वीमा कसरी उत्पत्ती भए र कसरी यिनको जीवनचक्र चलिरहेछ भन्ने विषयमा पनि मान्छेले वैज्ञानिक ढंगबाट खोज अनुसन्धान गरिसकेको छ । अझै यसको सुक्ष्मतम अध्ययनमा तल्लिन छ । साथै प्राणीको जीवनचक्रको अध्ययनबाट अब उसले सिङ्गो ब्रह्माण्डका अनेकौं सौर्य मण्डलका बारेमा जानकारी लिन प्रयोगशालामा व्यस्त छ । यति हुंदाहुंदै पनि त्यही मान्छेले आफ्नो प्रयोगशालामा पस्नु भन्दा पहिले ईश्वरका नाममा प्रार्थना गर्दछ । कति असङ्गति पूर्ण छ यो कुरा । हाम्रो समाजमा पनि साइत हेरेर नयां कामको थालनी गर्ने गृह प्रवेश, कार्यालय प्रवेश आदिमा पूजाआजा गरेर प्रवेश गर्ने प्रचलन यथावत नै छ । प्रधानमन्त्री भएर कार्यकक्ष प्रवेश गर्दा चरु हवन गर्ने र कालो बोको काट्ने कम्युनिष्ट नेतापनि हाम्रो समाजमा विद्यमान छन । यो सबै किन ? किन आवश्यक छ संस्कार धर्म र चाडपर्वको यसमा के कुराको सत्यता छ ? आदि प्रश्नको जवाफ खोज्नतिर होइन कि हो मा हो मिलाएर वा परम्परा हो भन्ने नाममा हाम्रा भौतिकवादी नेता कार्यकर्ताहरुले पनि यस्ता मिथकहरुलाई मान्दै आएका छन् । कम्युनिष्ट विचार भनेको मालेमावादी विचार, दर्शन अंगाल्ने राजनीति हो, जहां मार्क्स एगेल्सले प्रतिपादन गरेको द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दर्शनलाई आत्मसात गरिएको हुन्छ त्यो भनेको पदार्थ र चेतनामा पदार्थलाई नै सत्य ठान्ने दर्शन हो । त्यसैले वस्तुले चेतना पैदा गर्छ र अग्रगामी चेतनाले वस्तुको आकार र स्वरुपमा परिवर्तन गर्छ भन्ने कुरालाई स्वीकार गरिन्छ । धर्मसंस्कार, परम्परा, चाडपर्व आदि पनि कविलाई चेतनाका मानिसमा प्रकृतिसंग संघर्ष गर्दा पैदा भएका परिकल्पना हुन् । यसमा पदार्थको गति प्रक्रियामा कुनै सम्बन्ध छैन् । त्यसैले यसलाई मिथक भनिएको हो । कम्युनिष्टहरु भौतिकवादी हुनुको नाताले मिथकलाई विश्वास र स्वीकार गर्दैनन र गर्नु पनि हुंदैन । तर हाम्रो समाजमा त त्यस्तो छैन । मान्नेहरुले त मानिरहेका छन् । नेपालका कम्युनिष्टहरुमा सबै भन्दा अग्रगामी कम्युनिष्टहरु भनेका माओवादी हुन् । माओवादी नेता कार्यकर्ताहरुलाई पनि त चाडपर्व, धर्म, संस्कारले प्रभावित गरिरहेको छ । किन त्यसो भयो भनेर चर्चा गर्नु र बहसको उठान गर्नु जरुरी छ ।

चाडपर्व धर्म र परम्पराहरुले हरेक धर्मावलम्बीहरुमा संस्कृतिको रुप लिइसकेको छ । संस्कृति परिवर्तन गर्नु भनेको ब्लडक्यान्सर भएको रोगीको शरीरबाट पूरैका पूरै रगत फेरेर उसलाई नयां जीवन दिनु जत्तिकै जोखिमपूर्ण कार्य हो । मार्क्सले यसलाई अफिमको नशा भनेर टिप्पणी गर्नु भएको छ । जब एक मान्छेले अफिमको नशासेवन गर्दछ तब उसलाई निरन्तर अफिम पिउने आदत बस्दछ । धर्म, संस्कार, चाडपर्व र परम्परा पनि त्यही अफिमको नशा नै हो । अफिम खराब हो भन्ने जान्दा जान्दै पनि उसले पिइरहेको हुन्छ । जस्तो कि कक्षा कोठामा विद्यार्थीहरुलाई खैनी, चुरोट सेवन गर्नु हुंदैन भनिरहंदा शिक्षक आफूले मुखमा खैनीसुर्ती च्यापिरहेको हुन्छ । डाक्टरले विरामीलाई चुरोट नपिउन सल्लाह दिन्छ तर आफूले पिइरहेको हुन्छ । त्यस्तै हाम्रा कम्युनिष्ट नेता, कार्यकर्ताहरुले पनि भौतिकवादी दर्शनको बारेमा घण्टौ प्रशिक्षण दिन सक्छन् तर आफैले धर्म, चाडपर्व र संस्कारलाई पछ्याइरहेका हुन्छन् । यसका कारण संस्कारगत नशा नै हो । नशा छोड्न उनीहरुलाई गाह्रो भइरहेको छ । त्यसमा पनि अहिलेको संसदीय प्रणालीमा त झनै जनताको भोट आकर्षण गर्न पनि जनतालाई चिढाउनु हुंदैन भन्ने तर्क पनि दिन थालिएको छ । अर्को कारण यसको विकल्प नहुनु पनि हो । संस्कारकै रुपमा विकल्पको विकास गर्नु निकै कठिन कार्य हो । फेरि त्यो संस्कार आम वा ठूलो हिस्साका मानिसलाई स्वीकार्य हुनुपर्यो । संस्कार यहि नै मनाउनु उचित हुन्छ भन्ने पनि कुनै वैज्ञानिक तर्क र आधार छैन ।

जबर्जस्त संस्कारको निर्माण गरिने कुरापनि होइन । त्यसले तत्काल भन्दा वितिकै नयां विकल्प दिन सकिने कुरापनि भएन । तर विकल्प दिन सकिदैन भनेर एउटा भौतिकवादी विचारमा विश्वास गर्नेले आध्यात्मिक संस्कार मान्नु भनेको आफैप्रति अविश्वास गर्नु र पाखण्ड प्रदर्शन गर्नु हुन्छ । त्यसैले मानव समाजले सम्पन्न गरेका वैज्ञानिक कार्यहरुको सम्झना गर्ने र विजय मनाउने संस्कारको विकासगर्दै क्रमशः पुरातनपन्थी संस्कार र परम्पराहरुलाई छोड्दै जानु नै उत्तम कार्य हो ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 27, 2009 in BLOG, GUEST

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: