RSS

माओवादीप्रति भारतको दोहोरो मापदण्ड

27 Sep

दीपक गजुरेल

सर्वहारा वर्गको अधिनायकवाद स्थापना गर्ने लक्ष्य राखेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीले भारत सरकारलाई चिन्तित तुल्याएको छ । माओवादीको गतिविधि क्रमैसंग बिस्तार हुंदैगएको कुरा भारतका प्रधानमंत्री मनमोहन सिंह स्वयंले स्वीकारेका छन् । मूलरुपमा ग्रमीण क्षेत्रमा सरकारी निकाय समेतलाई प्रभावहीन बनाउंदै लगेको माओवादीलाई भारत सरकारले ‘नियन्त्रण’ गर्न नसकेको वास्तविकता प्रधानमंत्री सिंहले गत हप्ता बताए । 

माओवादी विस्तार :-

प्रहरी प्रमुखहरुको एउटा सम्मेलनलाई राजधानी नयां दिल्लीमा संबोधन गर्दै प्रधानमंत्री मनमोहन सिंहले माओवादीलाई आतंककारी मात्र भनेनन्, उनीहरुले गरिराखेको राज्य विरुद्धको गतिविधि ‘भारतको आन्तरिक सुरक्षाका लागि सबै भन्दा गम्भीर खतरा’ भएको समेत बताए । ‘गत पांच वर्ष देखि हामीले गरेको प्रयाश अपेक्षा अनुरुप सफल भएको छैन’ भन्दै प्रधानमंत्री सिंहले भने ‘माओवादी आतंक बिस्तार भैराखेको छ, र हामी यसलाई नियन्त्रण गर्न असक्षम भैराखेका छौं’ ।

भारतका विभिन्न उग्रवादी कम्यूनिष्ट घटकहरु एकजुट भएर सन् २००५ मा गठन भएको भारतीय कम्यूनिष्ट पार्टी माओवादीले सरकारी सुरक्षा निकाय र आम नागरिक लगायत विरुद्ध सशस्त्र आक्रमण बढाउंदै लगेको छ । त्यसो त, चार दशक अघि देखि भारतका विभिन्न समूह तथा पार्टीका नाममा साम्यवादी शासन स्थापनाको लक्ष्य लिएर अनेकौं हिंसात्मक कारवाही हुंदै आएका हुन् । तर माओवादी पार्टीले चाहिं पहिलेका भन्दा कडा, व्यवस्थित र सशक्त चुनौति खडा गरेको छ, भारत सरकारका सामू ।

माओवादीको सशक्त उपस्थिति भारतको कूल भूभागको झण्डै एक तिहाइ क्षेत्र (प्रान्तका हिसाबले अझ वढी, २९ मध्ये २० प्रान्त) मा फैलिसकेको जानकारी कतिपय भारतीय विशेषज्ञहरुले दिएका छन् । सरकारले आतंककारी घोषणा गर्दै तीन महिना अघि, जून २००९ मा, प्रतिबन्ध लगाएको माओवादीको प्रभाव बिस्तारबारे प्रधानमंत्री सिंहले अर्को एउटा गम्भीर जानकारी दिए, गत हप्ता आयोजित सुरक्षा निकायका प्रमुखहरुको एउटा महत्वपूर्ण भेलामा, ‘माओवादीको प्रभाव विद्वत् वर्ग, नागरिक समाज र युवा वर्गमा समेत वढ्दै गएको छ’ । प्रभावित क्षेत्रका गरिब जनता र आदिवासी समुदायमा माओवादीको प्रभाव पहिला देखि नै रहेको यथार्थ सिंहले स्वीकारे ।

युवा र विद्वत् वर्गमा समेत माओवादी प्रभाव वढ्दै गएको जानकारी प्रधानमंत्री स्वयंले दिनु भनेको भारतीय माओवादीको बिस्तार शहरी क्षेत्रमा समेत वढ्दै जानु हो भन्ने स्पष्ट हुन्छ । यही तथ्यलाई ध्यानमा राखेर भारत सरकारले माओवादीलाई ‘राष्ट्रिय सुरक्षामा सबै भन्दा ठूलो खतरा ठानेको बुझिन्छ । यो ‘खतरा’ संग जुझ्न भारतले अहिलेसम्म प्रहरी प्रयोग गरि आएकोमा अब सेना समेत खटाउने निर्णय गरेको सूचना भारतीय सञ्चार माध्यमहरुले दिएका छन् । आउंदो अक्टूबर महिना देखि माओवादी विरुद्ध सेनाले वृहत्त सुरक्षा कारवाही गर्ने वताइएको छ ।

नेपालबाट सहयोग ?

भारतीय भूमिमा माओवादी गतिविधि बिस्तार हुनुमा यो संगठनलाई प्राप्त बाहिरी सहयोग पनि महत्वपूर्ण रहेको वताउछन्, भारतीय अधिकारीहरु । माओवादीलाई नेपाल समेतबाट सहयोग प्राप्त भैराखेको आरोप भारतीय प्रधानमंत्रीले लगाएका छन् ।

नेपाली भूमिबाट कसले, कुन स्तरमा, कसरी र के-कस्तो सहयोग गरिराखेको छ भन्ने चाहिं भारतीय सरकार प्रमुखले प्रहरी प्रमुखहरुको सम्मेलनलाई बताएनन् । नेपाली भूमिबाट भारतीय माओवादीलाई राज्य विरुद्ध हिसात्मक गतिविधि गर्न सहयोग भैराखेको जानकारी राख्ने भारतीय सरकार प्रमुखलाई त्यस्तो सहयोगको बिस्तृत जानकारी पनि हुनैपर्छ । त्यस्तो सूचना विस्तृत रुपमा सार्वजनिक नगरिनु र आरोपित देशलाई त्यसबारे जानकारी नदिनु भनेको आतंकवादलाई प्रश्रय दिनु हो । यस सन्दर्भमा भारत सरकार स्वयंले आतंककारी भनिराखेको माओवादीलाई प्रोत्साहन गर्दैछ भन्ने प्रष्ट हुन्छ ।

नेपाल सरकारका तर्फबाट यो भारतीय आरोपका बारेमा कुनै प्रतिक्रिया आएको छैन । प्रधानमंत्री स्तरमा लगाइएको यस्तो आरोपबारे हाम्रो सरकार केही नबोल्नु गम्भीर कुरा हो ।

दोहोरो मापदण्ड :-

भारतीय कम्यूनिष्ट पार्टी माओवादीले भारतका कूल २९ मध्ये २० प्रान्तमा हिसात्मक उपस्थिति देखाएको छ । कुनै प्रान्तमा सामान्य गतिविधि गरिराखेको यो उग्रवादी संगठनले थुप्रै प्रान्तमा सरकारलाई नै आच्छु-आच्छु पारेको छ । दशौं हजारको संख्यामा प्रशिक्षित सशस्त्र लडाकू रहेको भनिएको यो संगठनको प्रभाव भारतका वुद्धिजीवी वर्ग र नागरिक समाजमा समेत बढ्दै गएको कुरा त्यहांका सरकार प्रमुखले नै स्वीकारेका छन् ।

यस्तो अवस्था भनेको माओवादी आम नागरिक माझ ‘लोकप्रिय’ बन्दैछ भन्नु हो । यस्तो ‘लोकप्रिय’ सिद्धान्त र व्यवहार अंगाल्ने ‘राजनीतिक’ संगठन विरुद्ध सैनिक परिचालन गरी त्यसलाई निमिट्यान्न पार्छु भन्नु सही मान्न सकिन्न ।

भारतीय माओवादी संगठनसंग ‘घनिष्ट’ सम्बन्ध रहेको ठानिएको नेपालका माओवादीले पनि अहिले भारतीय माओवादीले गरे जस्तै काम कारवाही नेपाल राष्ट्र तथा नेपाली नागरिक विरुद्ध गरेका हुन् । त्यसवेला भारत सरकारले नेपाली माओवादीलाई आतंककारी घोषणा गरेको हो । र आज पनि नेपाली माओवादीलाई भारत सरकारको आतंककारी संगठनको सूचिबाट हटाइएको छैन ।

आफैंले आतंककारी ठहर गरेको नेपाली माओवादीलाई ‘शान्तिपूर्ण मूलधार’ मा पठाउने काम भारत सरकारले गरेको हो । आरम्भमा अस्वीकार गरे पनि केही पछि भारतका कार्यवाहक प्रधानमंत्री भएका बेला प्रणव मुखर्जीले अल जजीरा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा, माओवादी र संसदवादी दलहरुबीच १२ बुंदे संझौता आफ्नो पहलमा गराइएको बताएका हुन् ।

नेपाली राजनीतिमा माओवादीप्रति भारत सरकारले लिएको नीति र उसले आफ्नो देशका माओवादी प्रति अपनाएको नीतिमा दोहोरो मापदण्ड प्रष्ट भएको छ । नेपालमा हिंसात्मक काम गर्ने माओवादीका माग अनुरुप यहांका मूलधारका राजनीतिक दलहरु भारतले कोरिदिएको मार्गचित्र बमोजिम १२ बुंदे सम्झौता गरी, संविधान सभाको चुनाव गर्दै गणतन्त्रसम्म गए । ठीक त्यही सिद्धान्त अंगालेर उस्तै हिंसात्मक कारवाही गर्ने भारतीय माओवादीलाई भारत बन्दूकले नियन्त्रण गर्न खोज्दैछ ।

भारतलाई सुझाव :-

माओवादी विरुद्ध भारत सरकारले सेना समेत परिचालन गर्ने नीति लिएको छ । भारतीय कम्यूनिष्ट पार्टी माओवादीलाई आतंककारी ठहर गर्दै प्रतिबन्ध लगाएको भारत सरकारले नेपाली माओवादीलाई पनि अझै सम्म आतंककारी मानिराखेको छ । तर नेपाली माओवादीसंग नयां दिल्लीले औपचारिक रुपमा ‘राजकीय’ तथा राजनीतिक व्यवहार गर्दै आएको छ ।

साम्यवादी शासन चाहने नेपाली माओवादीप्रति जस्तै भारतले अब आफ्नो देशका माओवादीलाई पनि व्यवहार गर्नु राजनीतिक इमान्दारी ठहर्छ । भारतीय माओवादीसंग भारत सरकारले वार्ता गरेर नेपालीका लागि गराइदिए जस्तै १२ बुंदे वा त्यस्तै केही बुंदे सम्झौता गर्नु उपयुक्त हुन्छ । नेपालमा शासनमा आउन हुने साम्यवादी सिद्धान्त बोक्ने माओवादी भारतको सत्ता तथा मूलधारको राजनीतिमा जान नहुने हुन सक्तैन ।

नेपालको माओवादीद्वारा सिर्जित हिंसात्मक समस्या बन्दूकले समाधान गर्न सकिन्न, उनीहरुलाई मूलधारको राजनीतिमा ल्याउनु पर्छ भन्ने भारतले आफ्नो देशका माओवादीप्रति हिंसात्मक तथा आक्रामक व्यवहार गर्नु तर्कसंगत हुंदैन ।

त्यसैले, भारतका प्रमुख राजनीतिक दलहरुले माओवादीसंग अब सम्झौता गर्नु उपयुक्त हुन्छ । त्यस्तो सम्झौतामा माओवादी संगठनले चाहेको जस्तो शासन प्रणाली भारतमा ल्याउन मिल्ने गरी संविधान सभाको चुनाव गर्ने, त्यस सभाले नयां संविधान बनाउने, भारतको हालको, माओवादीले भन्ने गरेको, ‘प्रतिक्रियावादी’ शासन व्यवस्था अन्त्य गर्ने, संविधान सभाको चुनावमा माओवादीले चाहिं बन्दूक बोकेरै भाग लिन पाउने, उनीहरुले गर्ने सबै खाले हिंसा र बल प्रयोगलाई बैधानिकता दिने जस्ता शर्तहरु राख्नु आवश्यक हुनेछ । किनभने त्यसो गरिएन भने ‘शान्ति प्रक्रिया’ बिथोलिने खतरा हुन सक्छ, ‘नयां भारत’ निर्माणमा बाधा पुग्छ र भारतमा माओवादी अझ व्यापक तथा सशक्त बन्न सक्छ ।

आफ्नो घरमा सर्प आयो भने लखेट्ने तर सर्पलाई दुध ख्वाएर, पालेर छिमेकीको घर भित्र पसाइदिने दोहोरो मापदण्ड अपनाउने दिल्लीले माथिका सुझाव मनन गर्ने संभावना त्यति देखिन्न । तर पनि यस सन्दर्भमा दिल्लीका शासकहरुले गम्भीर चिन्तन गर्नु चाहिं पर्छ । र नेपाल लगायतका देशबाट ‘आतंककारी’ लाई सहयोग भैराखेको छ भनी स्वीकार्ने भारतका शासकहरुले यसरी बाहिरी सहयोग पाउने आतंककारीले भविष्यमा अरु कहां-कहांबाट, के-कस्ता ‘सहयोग’ वा ‘साथ’ पाउलान् र त्यसको परिणाम के-कस्तो हुनेछ भन्ने पक्षलाई बेलैमा ध्यान दिनु बुद्धिमानी हुनेछ ।

deepakgajurel@gmail.com

गजुरेल त्रिभूवन विश्वविद्यालयमा राजनीतिशास्त्रका उपप्राध्यापक हुनुहुन्छ ।

 
4 टिप्पणीहरु

Posted by on सेप्टेम्बर 27, 2009 in BLOG, GUEST

 

4 responses to “माओवादीप्रति भारतको दोहोरो मापदण्ड

  1. Bishal Nepal

    सेप्टेम्बर 28, 2009 at 10:29 बिहान

    sachchai India ko yo dohoro niti kina bhanne kura sankaspad chha .आफ्नो घरमा सर्प आयो भने लखेट्ने तर सर्पलाई दुध ख्वाएर, पालेर छिमेकीको घर भित्र पसाइदिने दोहोरो मापदण्ड nai ho yo.

     
  2. simanta

    सेप्टेम्बर 28, 2009 at 11:02 बिहान

    माओवादीको सशक्त उपस्थिति भारतको कूल भूभागको झण्डै एक तिहाइ क्षेत्र (प्रान्तका हिसाबले अझ वढी, २९ मध्ये २० प्रान्त) मा फैलिसकेको छ । त्यसैले, भारतीय माओवादीसंग भारत सरकारले वार्ता गरेर नेपालीका लागि गराइदिए जस्तै १२ बुंदे वा त्यस्तै केही बुंदे सम्झौता गर्नु उपयुक्त हुन्छ ।

     
  3. sohan

    सेप्टेम्बर 28, 2009 at 11:07 बिहान

    yo lekh nepal ko maobadi prati purbagraha rakhera lekheko ho ki Indian maobadi ko support garera? maile ta kehi bujhnai sakina.

     
  4. anil bomjan

    सेप्टेम्बर 28, 2009 at 11:27 बिहान

    j hos article ramro chha.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: