RSS

यसकारण म दशैं मान्दिन

27 Sep

हिरामणी दुःखी hiramani dukhi

आदरणीय बाबा-आमा,

अभिवादन तथा प्रणाम !

तपाईंहरूले भन्नुहोला कि यतिखेर त शान्तिकाल छ, त्यसैले अब त दशैं-तिहार मान्न छोरो आएपनि त हुन्थ्यो, किन आउंदैन होला । छरछिमेकीहरूले पनि त्यसै भन्छन् होला ‘हो त नि सांची तपाईंहरूका छोरा किन आउंदैनन् ?’ आफ्नो वरिपरिका पार्टी कार्यकर्ताहरूलाई देखेर तपाईहरूलाई लाग्दो होला कि अरु त सबै घर जान्छन्, टीका लाउंछन् हाम्रो छोराले मात्रै किन त्यसो गरेको होला ? यस्तै यस्तै तर्कनाहरू खेल्छन् होला मनमा । यस विषयमा केही कुरा गर्नु उचित ठानेर दशैंका बारेमा यस चिठीमार्फत् चर्चा गर्न गइरहेको छु ।

 

दशैंको शुरुवात :- आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं पर्व मनाइन्छ । त्यसमा पनि विशेष गरी दशमी तिथिसम्म बडादशैंको रूपमा मनाइन्छ भने एकादशीदेखि पूर्णिमासम्म कोजाग्रतको रूपमा मनाउने चलन छ । यो चाड मनाउने प्रचलनको कुनै लेख्य इतिहास त छैन तर पनि यसका केही पौराणिक मान्यताहरू रहिआएका छन् । तिनै मान्यतामा रहेर हरेक बर्ष हिन्दू धर्मावलम्वीहरूले विजयको प्रतीकको रूपमा शुभपर्वको रूपबाट हर्षोल्लासपूर्ण ढंगले मनाउंदै आएका छन् । यो पर्वलाई वर्तमान संविधान पूर्वका सबै संविधान, नियम कानूनअनुसार राष्ट्रिय चाडको रूपमा राष्ट्रले मानेको हुनाले अहिले धर्मनिरपेक्ष राज्य भएतापनि हिन्दू धर्मकै बाहुल्यता भए जसरी यसलाई जबर्जस्त राष्ट्रिय चाडको रूपमा मानिएको छ ।

पौराणिक कथनअनुसार शुर र अशुरहरूको लडाईंमा शुरहरूले अशुरहरूमाथि विजय प्राप्त गरेको अवसरमा यसलाई विजयादशमी भनेर मनाउने गरिन्छ । अर्थात् देवगण र दैत्यगणहरूको लडाईंमा महाकाली देवीले महिषाशुरलाई नाश (बध) गरेको दिनको रूपमा विजयादशमी पर्व मनाउने गरिएको हो । दैत्यहरूले देवगणलाई हायलकायल पारेर हराएपछि देवगणले गुहार मागेर देवी (चण्डी, दूर्गा)लाई विभिन्न हात-हतियार दिएर महिषाशुर र उसका गणलाई खतम गर्न युद्धमैदानमा पठाए । त्यसपछि दूर्गादेवीले माहाङ्कालको रूप धारण गरेर युद्धमैदानमा गइन् र महिषाशुरलगायत चण्ड, मुण्डजस्ता बलिष्ठ विपक्षीहरूलाई काटेर युद्ध जितिन् । त्यही विजयलाई देवगणले आफ्नो वर्गको विजयको रूपमा हर्षोल्लासपूर्ण तरिकाले मनाए । त्यो प्रचलन नै अहिले मनाउने विजयादशैं हो । पछि राम र रावणको लडाइंमा पनि रामपक्षका फौजले लङ्कामा रावण र उसका फौजलाई यही विजयादशमीको अवसरमा हराएर विजय प्राप्त गरी सीतालाई फिर्ता ल्याएको कथन पनि जोडिएको छ । जेहोस् यी पौराणिक किम्वदन्तीहरू हुन् । यसको सत्यतथ्य खोजविन गर्ने कार्य न त कुनै इतिहासकारले गरेको छ, न त यी कुनै भौतिकवादी द्वन्द्वात्मक तथ्य नै हुन् । तर हिन्दू सम्प्रदायमा मनाउंदै आएका यी र यस्ता मिथकहरू प्रशस्तै छन् । जसमा कुनै वैज्ञानिक सत्यता पुष्टि गर्ने आधार छैनन् । यसरी पौराणिक कहानीकै आधारमा पनि दशैंपर्व विजयी पर्वको रूपमा मनाएको भेटिन्छ ।

 

अहिलेको संस्कार र यसको सामाजिक प्रभाव :- वर्तमान समयमा यो विजयादशमीलाई सकि नसकी हिन्दू समुदायका जनताले मनाउंदै आएका छन् । बर्षदिनको सबैभन्दा ठूलो चाडको रूपमा मनाइने भएकाले यो चाडलाई पारिवारिक मिलनको रूपमा पनि मनाइन्छ । देश विदेश गएका आफन्तजनहरू जहांबाट जसरी भएपनि घरमा आउने, गाउाले दाजुभाइ, इष्टमित्र एकजुट हुने र नाचगान गर्ने, पिङ खेल्ने ठूलाबडा भनिएकाहरूबाट टीका जमरा थापेर आर्शिवाद माग्ने प्रचलन छ ।

हरेक वस्तुका सकारात्मक र नकारात्मक पक्ष भएजस्तै यो पर्वका पनि दुवै पक्ष रहेका छन् । घर बाहिर देश-विदेश गएका आफन्तजनहरू जमघट हुने अवसर मिल्नु, वर्षैभरि काम गर्दा लागेको थकाई मेटिने, सबै परिवार, नाताकुटुम्ब भेला भएर सुख-दुःखका भावना साटासाट गर्ने अवसरको रूपमा यसलाई सकारात्मक मान्न सकिन्छ । तर यो संस्कारले समाजमा सामन्तवाद र दास मनोवृत्तिलाई पनि संरक्षण प्रदान गरेको छ । पहिलो त यी र यस्ता सबै धार्मिक परम्परा अन्धविश्वासमा आधारित भएकाले मान्छेलाई वैज्ञानिक चेतना दिनुको साटो आद्यात्मिक रुढी थोपर्ने भएकाले समाजमा सामन्तवाद मौलाउने अवसर मिल्दछ । अर्को कुरा ठूलाबडा र मान्यजन भन्ने नाममा ठूलो केलाई मान्ने ? कसैको उमेरलाई मात्र मान्दा त वृद्धवृद्धाहरूको सम्मान होला, तर सामन्तवादी सोंच, चिन्तन र व्यवहार भएका मान्छे जति नै उमेरले वृद्ध भएपनि त्यसलाई मान्नु कति नैतिक र औचित्यपूर्ण हुन्छ ? यो भन्दा पनि अझ अर्को पक्ष भनेको यसले संरक्षण गर्ने सामन्तवादी राज्यसत्ता र सनातनी संस्कृतिको कुरा हो । हिन्दू परम्परामा राजालाई दैवीय अवतार भनेर शक्तिको रूपमा मान्ने चलन छ । त्यसैले राजा महाराजाको हातको टीका थाप्ने, गाउंका मुखिया, जिमुवाल, बडघर, महतौंहरूबाट टीका थाप्न जाने (यद्यपि अहिले त्यो लोप हुंदै गएको छ) जस्ता प्रचलनले सामन्तवादको संरक्षणमात्र नभई त्यो नै अपरिहार्य हो भन्ने संस्कारको विकास गराएको छ ।

अर्को पक्ष भनेको गरिबीभित्रको बाध्यताले निम्त्याउने सामाजिक अपराध, कुसंस्कार, शक्ति प्रदर्शन, आडम्बरजस्ता अपराध मनोवृत्तिको विकास हो । नेपालीहरूको गरिबीको चरम अवस्था, सरकारले गरेको असमान विकास प्रक्रियाले उत्पन्न आर्थिक अभाव, पछौटे संस्कृति र सामाजिक उत्पीडनले गर्दा विपन्न वर्गलाई दशैं दशा भएर आउने गरेको छ । मान्छेको हरेक संस्कार र संस्कृति उसको आर्थिक अवस्थाले निर्धारण गर्दछ । वरपर छिमेकमा भएका इनेगिने सम्भ्रान्त परिवारको प्रभावले पार्ने नकारात्मक असरले गर्दा सकि नसकी प्रतिस्पर्धा गर्न बाध्य बनाउने गरेको छ । जसले गर्दा बर्षदिनमा आउने चाडपर्व मनाउनकै लागि अलिअलि भएको घरबारीसमेत बन्धकी राख्नुपर्ने, ऋण गरेर ल्याएको धनपैसा फजुल खर्चमा उडाउनुपर्नेजस्ता कारणले जनता गरिबीको चपेटामा पर्दै जान बाध्य भएका छन् ।

यसैगरी मिश्रीत समाजमा एउटा धर्म संस्कृतिको तडकभडकले अर्को धर्म संस्कृतिका समुदायमा पार्ने नकारात्मक प्रभावले गर्दा साम्प्रदायिकता भड्काउने गरेको पाइन्छ । त्यसले सामाजिक सद्भावलाई समेत खलल पुर्‍याउने गरेको छ । देशका बहुसंख्यक जनताको घरमा बिहान बेलुका चुलोमा आगो पनि नियमित बल्न सकेको छैन । कमाइकाज गर्न विदेशमा गएर कुल्ली, चौकीदारी र भांडा माझ्नेजस्ता काममा लाखौं युवा जनशक्ति डुबिरहेको छ । त्यसले बर्षदिनसम्म गुलामी गरेर पनि दुईचार सय रकम घरमा ल्याउन सक्दैन । गाउंमा काम गर्ने ठाउं छैन । ठूलाबडा भनिएका शोषक सामन्तहरूको शोषण, दमन, अत्याचार ज्यूं का त्यूं छ । देशले एउटा राजनीतिक निकास दिन सकेको छैन । अग्रगामी र पश्चगामी दलहरूबीचको द्वन्द्व यथावत् छ । यस्तोबेला मुठ्ठीभरका शासक र सामन्तहरूको पछि लागेर अन्धविश्वासी चाड मनाउनुको के अर्थ छ ? फेरि पौराणिक कथालाई आधार मान्ने हो भने पनि यो दैत्य र दानवहरूको राज चलेको बेला मेहनतकस श्रमजीवी जनताले विजयादशमी मनाउनुको के अर्थ रहन्छ ? जहां आफ्नो वर्गको विजय भएकै छैन ।

 

चाडपर्वलाई कसरी बुझ्ने ? :-  दशैं होस् वा तिहार अथवा अन्य कुनै पनि हिन्दू चाडपर्वहरू र संस्कारहरूलाई मार्क्सवादीहरूले मान्दैनन् । मार्क्सवाद भनेको भौतिकवादी विज्ञान हो । धर्म, संस्कार र चाडपर्वहरू भनेका आध्यात्मवादी विचारका तत्वहरू हुन् । आध्यात्मवादले वस्तुजगतलाई असत्य ठान्छ भने ईश्वरीय शक्तिलाई सत्य ठान्दछ । जुन कुरा विज्ञानको विकासले सोह्रै आना गलत सावित गरिसकेको छ । धर्म, चाडपर्व र संस्कारहरू पौराणिक मिथक हुन् । जस्को कुनै प्रमाणिक आधारहरू छैनन् । कविलाई अवस्थाका मानिसले अल्पचेतनाका कारण तात्कालिक परिवेशमा प्रकृतिसंग जुध्न कल्पनाको सहारा लिएर लीलाको कल्पना गरे । त्यहि श्वैरकल्पनामा आधारित लिलालाई एकपछि अर्को पुस्ताको मानिसले श्रुतिस्मृतिको रूपमा सुन्दै र पछ्याउंदै जांदा संस्कृतिको रूप लिएको हो । पछि गएर शाषकहरूले धर्मको रूपमा प्रचार गरे । त्यसको उद्देश्य थियो, जनतालाई अन्धविश्वासमा रुमल्याएर आफ्नो शाषनसत्ता टिकाउनु । अहिलेको भौतिकवादी विज्ञानले त्यो मिथकलाई उदङ्ग्याएर छर्लङ्गै पारिदिइसकेको छ । त्यसैले म आफू भौतिकवादी हुनुको नाताले यस्ता अन्धविश्वासी कुराहरूलाई नमानेको हुं ।

जहांसम्म हाम्रै पार्टीभित्रका केही अरुहरूले किन मान्छन् त भन्ने कुरा छ, त्यसको दुईवटा कारण छ जस्तो मलाई लाग्दछ । पहिलो कारण हो उनीहरूमा भौतिकवादी ज्ञान चेतनाको कमी हुनु । जसले गर्दा उनीहरूले धर्म, संस्कार, संस्कृति, चाडपर्व आदिका बारेमा बुझ्न र विश्लेषण गर्न सक्तैनन् । त्यसपछि उनीहरू छरछिमेकी, नातागोता, परिवारका सदस्यहरू आदिको प्रभाव र दबाबमा पर्छन् र मान्दछन् । उनीहरूमा पनि चाडपर्व, धर्म संस्कारप्रतिको विश्वास पूरै हटिसकेको हुादैन । पार्टी नेता-कार्यकर्ता हुनु र भौतिकवादी हुनु फरक कुरा हो । एउटा मान्छे वैचारिक ज्ञानसिद्धान्तको अध्ययनले भौतिकवादी हुन सक्छ, तर पार्टीका सबै कार्यकर्ता र नेता भौतिकवादी नहुन पनि सक्छन् । त्यसैले त्यस्ता मान्छेहरूले चाडपर्व र परम्परावादी धर्म मान्दछन् ।

अर्को कारण हो चुनावी राजनीति । संसदीय व्यवस्थामा चुनावी भोट बैंकको महत्वपूर्ण स्थान हुन्छ । चाडपर्व, धर्म-दर्शन र परम्परावादी संस्कार मान्ने जनताको मन जित्न र आफूप्रति जनतालाई आकर्षित गर्न पनि जनताले जे गर्छन् त्यो मानिदिनुपर्छ भन्ने तर्कका आधारमा यस्ता मिथकहरूलाई मान्ने गरेका छन् । यो त चुनावी अवसरवाद हो । एउटा अग्रगामी विचार अङ्गालेको पार्टीका नेता-कार्यकर्ताले चुनावी रणनीतिभित्र भौतिकवादी चेतनालाई समर्पण गर्न हुन्छ कि हुंदैन ? समाज परिवर्तन अग्रगामी विचार फैलाएर हुन्छ वा यथास्थितिवादी संस्कृतिको पछि लागेर हुन्छ ? यदि भौतिकवादी विचारलाई स्पस्टैसंग बुझि-बुझिकन पनि आध्यात्मवादी विचारलाई मान्दै जाने हो भने कसरी पुरातनवादी विचारमा परिवर्तन आउंछ ?

यसर्थ मलाई चुनावी राजनीतिमा भौतिकवादी चेतनालाई तिलाञ्जली दिनु छैन । मेरो ब्रह्मले त्यो कुरालाई कदापी स्वीकार गर्न सक्तैन । त्यसैले म यतिखेर पनि चाडपर्व मान्न आउन चाहिन । यस विषयमा बाबाआमाहरू र मेरा इष्टमित्रहरूले कुनै चिन्ता वा गुनासो गर्नु आवश्यक छैन । जतिबेला मैले भौतिकवादी विज्ञानलाई राम्रोसंग बुझेको थिएन, त्यतिबेला मैले मान्ने गरेको थिएं । अहिले म यस विषयमा स्पष्ट छु । अहिलेलाई म यति नै कुरा राखेर यो पत्र बन्द गर्न चाहन्छु ।

०६६/६/१, पाल्पा

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 27, 2009 in BLOG, GUEST

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: