RSS

सांस्कृतिक रुपान्तरण र समन्वयवादी प्रवृत्ति

27 Sep

सुशील गौतम

अहिले नेपालीहरु त्यसमा पनि हिन्दुहरुको चाडपर्वको मौसम आएको छ । यसैसंग परम्परागत चाडपर्वहरुलाई हेर्ने दृष्टिकोण, संस्कृति र सांस्कृतिक रुपान्तरणको प्रश्न पनि स्वभाविकरुपले टड्कारो रुपमा जोडिएको छ । यो प्रश्नको उत्तर खोज्न नेपालमा खासगरी प्रगतिशील सांस्कृतिक रुपान्तरणका पक्षपातीहरु विगत ६ दशकभन्दा बढी समयदेखि कृयाशील छन् । तथापि व्यवहारिकरुपमा अझ यो प्रश्नमा केही अन्यौलताहरु जारी छ । नेपालको प्रगतिशील सांस्कृतिक रुपान्तरणको सन्दर्भमा देखिने समन्वयवादी चिन्तनले यी अन्यौललाई थप गरेको छ ।

संस्कृति र सांस्कृतिक रुपान्तरणको प्रश्नको प्रारम्भ संस्कृति के हो र यो कहांबाट शुरु हुन्छ भन्नेवारे अझै पनि धेरैको बुझाई एकाङ्की वा भ्रमपूर्ण छ । कतिपयले संस्कृति भनेको परम्परागत चाडपर्व, धार्मिक संस्कार, नाचगान र भेषभुषा आदिमात्र हुन् भनेर संस्कृतिलाई संकुचित अर्थमा हेर्ने गर्छन् । वास्तवमा संस्कृतिको अर्थ व्यापक छ । समाजको आर्थिक, सामाजिक सम्बन्ध, उत्पादन प्रणाली, स्वभाव, दृष्टिकोण, प्रवृत्ति र चरित्र आदि कुरा संस्कृतिसंग जोडिएका हुन्छन् । त्यसैले त सामन्ती समाजमा सामन्ती संस्कृति, पूंजीवादी समाजमा पूंजीवादी संस्कृति र समाजवादी समाजमा समाजवादी वा जनवादी संस्कृति हुने गर्दछ ।

तथापि चाडपर्व र तिनलाई मनाउने आधार र तरिकाले पनि त्यो समाजको संस्कृतिलाई प्रतिविम्बित गर्दछ । त्यसैले प्रगतिशील संस्कृतिका पक्षपातीहरुले यी विषयमा बहस चलाउंदै आएका छन् । तथापि यस प्रश्नमा अहिले पनि केही हदसम्म अन्यौल कायम छ । नेपालको प्रगतिशील वामपन्थी आन्दोलनमा यस विषयमा कहिले अतिवादी र कहिले समन्वयवादी चिन्तन हावी हुंदै आएको छ । नेपालमा प्रगतिशील सांस्कृतिक आन्दोलन प्रारम्भ भएको साठी बर्षपछि पनि यही गलत प्रवृत्तिले हामीलाई झण्डै घुम्दैफिर्दै रुम्जाटारको स्थितिमा पुर्याउने खतरा उत्पन्न गरेको छ र यसले कतिपय सांस्कृतिक प्रश्नमा हामी थप ओरालो त लाग्दै छैनौं भन्ने आशंकासमेत उत्पन्न गराइरहेको छ ।

राजनैतिक रुपमा अहिले पनि स्वाभाविक रुपले समस्याहरु छंदैछन् तथापी खासगरी जनयुद्ध र जनआन्दोलनको बलमा मुलुकमा युगान्तकारी परिवर्तन वा रुपान्तरण भएका छन् । यति विशाल उपलब्धिपछि प्रगतिशील राजनीतिक आन्दोलनको एउटा अभिन्न अंग प्रगतिशील सांस्कृतिक रुपान्तरणको क्षेत्रमा पनि सोहीअनुसारको प्रगति हुनुपर्ने थियो । तर, त्यसको विपरित नेपालको प्रगतिशील वामपन्थी आन्दोलनमा अहिले प्रतिध्रुवीय संस्कृतिलाई तुष्टिकरण गर्ने समन्वयवादी संस्कृति कायमै रहेको छ ।

चाडपर्व पूजाआजालगायतका क्षेत्रमा समन्वयवादी वर्णशंकर प्रवृत्तिले हाम्रो सांस्कृतिक रुपान्तरणको आन्दोलनलाई गम्भीर अवरोध सिर्जना गरेको छ । यसले सिद्धान्त र व्यवहार दुवैमा अन्यौल थप्ने काम गरेको छ । आजभन्दा साठी बर्ष अघिको कठोर सामन्ती बन्द समाजमा जातिपाती, जातभात लगायतका क्षेत्रमा विद्रोह गरेर शुरु भएको प्रगतिशील सांस्कृतिक आन्दोलन ओरालो त लागेको होइन ? भन्ने परिदृष्यहरु देखापरेका छन् । विरोध र विद्रोहको साटो मानिदिए के हुन्छ ? चलिआएको चलन हो भन्ने समन्वयवादी प्रवृत्ति बढ्दै छ र त्यो प्रवृत्ति मुलुकका वामपन्थी शक्तिहरुमा समेत देखा पर्नु चिन्ताको विषय हो । यस प्रवृत्तिलाई बेलैमा सच्याउन सकिएन भने प्रतिध्रुवीय संस्कृतिलाई स्वीकार गर्ने प्रवृत्ति बढ्दै गएर हालसम्मका उपलब्धि गुम्ने खतरा रहन्छ । यस्तो प्रवृत्ति बढ्दै गएको छ भन्ने कुरा केही वर्षअघि मोदनाथ प्रश्रतिले चरुहोम गर्दा भएको विरोधको तीव्रता र अहिले झण्डै त्यस्तै परिदृष्य देखिदा सांधिएको मौनताले सांस्कृतिक रुपान्तरणको आवाज कमजोर भएर विस्तारै समन्वयवादी प्रवृत्ति हावी हुंदै गएको संकेत गर्दछ ।

कम्युनिष्टहरुको आधारभूत चरित्र भौतिकवादी हो । त्यसैले उनीहरुले कुनैपनि रुपमा वा अंशमा धर्म वा ईश्वर र त्यससाग जोडिएका संस्कृतिलाई अस्वीकार गर्दछ । यदि हामीले परम्परागत संस्कृति, चाडपर्व मान्ने नै हो भने पनि त्यसलाई धर्मसंग सम्पूर्ण रुपमा विच्छेद गरेर मान्नुपर्दछ । यसबारे कुनै सम्झौता वा समन्वय गर्नु भनेको आफ्नो आधारभूमिबाट चिप्लिनु हो । तर, अहिले त्यस्ता परिदृष्य जताततै देख्न सकिन्छ । यो प्रवृत्तिले अन्ततः विसर्जनवादतर्फ पुर्याउंछ र त्यसले प्रगतिशील राजनीतिक आन्दोलनलाई समेत दिशा भ्रमित पार्दछ । बिर्सनै नहुने सत्य के हो भने सांस्कृतिक स्खलनको अनिवार्य प्रभावबाट मुलुकको राजनीतिक आन्दोलन मुक्त हुन सक्दैन ।

यसै सन्दर्भमा कतिपय कम्युनिष्ट वा वामपन्थी नेता कार्यकर्ताहरुले व्यक्तिको निजी विचार वा स्वतन्त्रताको कुरा गर्दछन् । आम जनताका सन्दर्भमा यो कुरा स्वभाविकरुपले लागू हुन्छ किनभने धर्म निरपेक्ष राष्ट्रमा आम जनतामा त्यसको स्वतन्त्रता प्राप्त हुन्छ । तर, कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता, शुभेच्छुकमा त्यस्तो स्वतन्त्रताको कुरा गर्न मिल्दैन । यसले त अन्यौल र अराजकतामात्र बढाउंछ । ‘सबैको प्रिय हुन’ ‘जनतालाई खुसी पार्न, ‘धार्मिक तप्कालाई पनि आफ्नो पक्षमा लिन’ वा भोटको राजनीतिमा यस्तो गर्नैपर्ने हुन्छ भनेर सांस्कृतिक रुपान्तरणका आधारभूत प्रश्नमा सम्झौता वा समन्वय गर्नु प्रगतिशील सांस्कृतिक आन्दोलनका लागि मन्दविष हुन्छ भन्ने कुरामा बेलैमा सतर्क भएर यसबारे चिन्ता, चासो र प्रतिक्रिया नदेखाएर मौन बस्ने संस्कृतिले हामीलाई अन्ततः पुर्याउने भन्ने ठाउं विचलन र पलायन नै हो ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 27, 2009 in BLOG, GUEST

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: