RSS

आजको सन्दर्भमा पुराना चाड-पर्वको महत्व

16 Oct

– अनिल शर्मा ‘विरही’

 

दसैंको रौनक सकिंदा-नसकिंदै तिहार र छठलगायतका पर्वहरू हाम्रा अगाडि आएका छन् । पुराना परम्परागत रूपमा मनाउँदै आएका चाड-पर्वहरू हाम्रो नियमित जीवनका संस्कार बन्दै गएका छन् । संस्कार परिवर्तन गर्न सजिलो हुँदैन । आँटिला, विवेकी र अग्रगामी मान्छेहरूले मात्रै त्यसको नेतृत्व गर्न सक्छन् । त्यसैले दसैं, तिहार या छठ पर्वहरू कसरी र किन मनाउने वा नमनाउने भन्ने सन्दर्भमा छलफल गर्न खोजिएको छ ।

 

मानव जाति सामूहिक रूपमा बस्न र सामूहिक श्रममा भाग लिन थालेपछि मनोरञ्जनका साधन र प्रक्रियाको खोजी हुन थालेको देखिन्छ । शुरुमा श्रमलाई सहज बनाउने र त्यसलाई उत्प्रेरित गर्ने प्रक्रियाका रूपमा देखिन्छ । धरतीको सबैभन्दा पुरानो कविता ‘लोरी’ नारीहरूले नै गाएका थिए । साना नानीहरूलाई लययुक्त लोरी गायनद्वारा बच्चाहरूलाई सुताउने गरिन्थ्यो । श्रममा परिवर्तन र विकाससँगै मानव जातिका आवश्यकता र चेतनामा समेत परिवर्तन हुँदै आयो । त्यस प्रक्रियामा नै चाड-पर्वहरू पनि बदलिंदै आएका छन् ।

पुराना चाड-पर्वको कुरा गर्दा कतिपयले विकल्प नदिइकन पुराना चाड-पर्वहरू छोड्न नसकिने बताएका छन् । तर यो तर्क यथास्थितिवादको पक्षपोषण गर्ने तर्क मात्र हो । किन कि पहिलो विकल्प रहेको छ । नारी दिवस, मई दिवस आदी नयाँ पर्वहरू छन् । यी नयाँ र अग्रगामी सारतत्वसहितका पर्वहरू पुराना पर्वहरूभन्दा महत्वपूर्ण कारणबाट पैदा भएका हुन् । तर यी नयाँ पर्वको पक्षधर शक्ति सत्तामा नरहेका कारण स्थापित हुन नसकेका हुन् । सञ्चारका साधन स्थापित व्यक्तिहरू, उच्च प्रशासक र नेताहरूले जे गर्छन् समाजमा त्यसैको प्रभाव स्थापित हुन्छ । ईन्द्रजात्रा राजाले चलाएको हुनाले स्थापित भएको हो । अरु कसैले अथवा सामान्य जनताले चलाउन खोजेको भए चल्ने थिएन । त्यसैले सत्तारुढ वर्गको संस्कृति नै समकालीन समाजको सत्तारुढ संस्कृति हुन्छ । हामी आफूलाई कम्युनिष्ट भन्नेहरूले नै सत्तारुढ वर्गको विचार र स्वार्थ बोकेको बुर्जुवा संस्कृति बोकेर हिंडिरहेका छौं । समस्या विकल्पको होइन, हाम्रो पक्षधरताको हो । दोस्रो, विकल्प छन् र त्यसलाई सचेत प्रयत्नद्वारा मात्र स्थापित गर्न सकिन्छ ।

हामीले सैयौं, हजारौं पुराना चाड-पर्वहरू मनाइरहेका छौं । तिनको औचित्य घट्दै मात्र गएको छैन । त्यसले पर्याप्त मात्रामा मनोरञ्जन दिन असक्षम भएका छन् । विज्ञान र प्रविधिको विकासले विश्व एउटा सानो गाउाका रूपमा संकुचन भएको छ । हाम्रा अगाडि संसारभरिका संसारका विभिन्न जाति, धर्म र सम्प्रदायका जनताका चाड-पर्वहरूको प्रभावबाट अलग रहन अब सम्भव छैन । ती सबै पर्वहरू मनाउँदै जान पनि सम्भव छैन । त्यसैले केही छोड्न र कुनै ग्रहण गर्न समाज बाध्य छ । पुराना चाड-पर्वहरू मध्ये कतिपय पर्वहरूको सारतत्व जनविरोधी रहेको छ र कतिपयको सारतत्व प्रगतिशील छ । उदाहरणका लागि गठेमंगल पर्वको जनविरोधी सारतत्व छ भने नेवार समुदायले नै मनाउने नयाँ वर्षको प्रगतिशील सारतत्व देखिन्छ । जनविरोधी सारतत्व बोकेका पर्वहरू भन्दा प्रगतिशील सारतत्व बोकेका पर्वहरू मनाउनु उचित हुन्छ । जुन कारण चाड-पर्वहरूको जन्म भएको थियो त्यही कारण अर्थात् मनोरञ्जन, श्रमको सहजीकरण, यात्रा, रात्री क्लब, टेलिभिजन, कम्प्युटर, खेल, गीत-संगीतजस्ता थुप्रै आधुनिक मनोरञ्जका विकल्पहरू तयार भएका छन् । जसको कारण अब पुराना चाड-पर्वहरूको औचित्य समाप्त हुँदै गएको छ । लोरी र असारे गीत वा धान नाचको पनि जरुरी छैन । त्यसैले तीनको अस्तित्व संकटमा परेको छ । मेसिनले खेती गर्ने स्थिति भएका कारण गीत गाएर रोपाहार र बाउसेलाई उराल्नु पर्दैन । पुराना चाड-पर्वको सबैभन्दा बढी अस्तित्वको कारण शक्तिको आराधना थियो । हिजो काली, दुर्गा, अल्लाह, क्रिसमस, सूर्य, चन्द्र, पिपल, नदी आदीलाई शक्तिका रूपमा मान्दथे । विज्ञान र प्रविधिले गर्दा शक्तिका स्रोत बदलिएका छन् र शक्ति केन्द्र पनि बदलिएका छन् । अब शक्ति केन्द्र दुर्गा र काली होइन, हु जिन्न्ताओ, ओबामा वा मनमोहनसिंह हुन सक्छन् । नेपालमा शक्तिको आराधना गर्ने हो भने गिरिजा, झलनाथ वा प्रचण्डको गरे हुन्छ । यसर्थ पुराना चाड-पर्वले आÏनो ऐतिहासिक सान्दर्भिकता गुमाएका छन् । त्यसैले त्यो पुराना चाड-पर्वरूपी मुढो घिसार्न आजको सचेत मान्छे बाध्य छैन ।

पुराना चाड-पर्वमा रहेका प्रगतिशील पक्षलाई समृद्धिकरण गर्नुपर्छ । तिनमा रहेका प्रतिगामी, जनविरोधी पक्षहरूलाई हटाउने वा न्यूनीकरण गर्नुपर्छ । चाड-पर्वमा रहेका सामन्ती, आडम्बर र पुँजीवादी विकृतिलाई हटाउन आवश्यक छ । हटाउन नसक्ने स्थितिमा न्यूनीकरण गर्न सकिन्छ । हामी आफूलाई कम्युनिष्ट भन्नेहरूले पुरानो समाज व्यवस्था र विचारको प्रतिनिधित्व गर्ने चाड-पर्वहरू परित्याग गर्ने र त्यसो गर्न नसके सुधार गर्नुपर्छ । यो भनेको क्रान्तिपूर्ण सुधारका कामहरू गर्ने,  अर्थवादी सुधार भनेझैं हो । पुराना सबै चाड-पर्वहरूलाई जनपक्षीयकरण गर्ने सोच सुधारवादी सोच हो भने विकल्प दिन नसकुञ्जेल जति सकिन्छ त्यति प्रगतिशीलकरण गर्नु सुधार हो । त्यसो गर्नु आजको क्रान्तिकारी कदम हो । यहाँ सुधार र सुधारवादको अन्तर रहेको छ । एउटै पर्वमा रहेका प्रगतिशील र जनविरोधी पक्षहरूलाई पनि एउटै आँखाले हेर्नु हुँदैन । इतिहासमा सिर्जना भएका पर्वहरूमा प्रतिगामी र शोषक वर्गले आÏनो पक्षमा तान्दै आएको छ । त्यसमा जनविरोधी पक्ष थप्दै विकृत र जनविरोधी, कुरुप बनाउँदै गएको छ । तर जनताले आफ्नो पक्षमा प्रगतिशीलकरण गर्दै गएको छ ।

प्रेमका लागि संघर्ष र त्यागको उत्कर्षको पर्व तीजलाई प्रेम र जातीय प्रेमका रूपमा श्रमिकजनले मनाउँदै आयो भने शोषक वर्गले पुरुषवादको सेवक वर्गका रूपमा विकृतिकरण गर्दै गएको देखिन्छ । चाड-पर्वहरूका सन्दर्भमा पनि सत्ताको छिनाझपडीको चित्र देख्न सकिन्छ । भौतिक सत्ताको जस्तो वैचारिक सत्ताको छिनाझपडी गोचरणीय र अल्पकालीन हुन सक्दैन । मई दिवसलाई सुरुमा पुँजीपति वर्गले पूरै अस्वीकार गरेको थियो । तर अस्वीकार गर्न असम्भव भएपछि अहिले जोडतोडका साथ गैरसरकारीकरण (NGO) गर्ने, त्यसको श्रमिक मुक्तिको पक्ष, वर्ग संघर्षको पक्षलाई अस्वीकार गर्ने र विशुद्ध सांस्कृतिक तथा निवर्गीय चरित्र र स्वरूपमा गिराउने धुमधामको प्रयत्न भइरहेको छ ।

सर्वहारा वर्गले संघर्ष र उत्पादनका लागि भएको संघर्षका क्रममा नयाँ चाड-पर्वहरूको सिर्जना गरेको छ । नारी दिवस, मई दिवस, जनयुद्ध दिवस, माओ दिवस, श्रमिक वर्गका महान् पर्वहरू हुन् । यी पर्वहरूलाई उत्सवका रूपमा मनाउन, स्थापित गर्न आवश्यक छ । यी पर्वहरूलाई कर्मकाण्डीय रूपमा झारा टार्ने पर्वका रूपमा होइन रस-रंगका पक्षहरू समेत थपेर समृद्ध गरिनुपर्छ । नयाँ चाड-पर्वहरू सार र रूप दुवै पक्षमा सुन्दर हुनु आवश्यक छ । पुराना चाड-पर्वहरू कसरी मनाउने भन्ने विषयमा बहसहरू चलिरहेका छन् । हरेक विषयलाई जनवादीकरणको पगरी गुथाएर यथास्थितिलाई निरन्तरता पनि भनिरहन्छौं । तर आचरण र व्यवहारमा पुराना विचारका मान्छेहरू भन्दा एकरति पनि फरक देखिंदैनौं । मई दिवस, नारी दिवस, माओ दिवसमा हामी रमाउन सक्नुपर्दछ र त्यसप्रकारको परिस्थिति सिर्जना गर्न-गराउन बल गर्नुपर्दछ । त्यसैले अब हामीले नयाँ ढंगले लड्न जरुरी छ । भौतिक सत्ताका लागि मात्र हामीले आजसम्म लडिराखेका छौं । अब वैचारिक सत्ताको लागि पनि संघर्ष र क्रान्तिको प्रक्रियालाई महत्व दिनु आवश्यक छ । वैचारिक सत्तामा हस्तक्षेप नगरिकन न भौतिक सत्ता प्राप्त गर्न सम्भव छ न त टिकाउन नै सम्भव छ । पुराना चाड-पर्वहरूमा आंशिक रूपमा प्रगतिशील पक्षहरू रहेका हुन सक्छन् । तर आजको सन्दर्भमा ती असान्दर्भिक र जनविरोधी हुन पुगेका छन् । पुरानो समाज  व्यवस्थाको आवश्यकताले पैदा भएका चाडपर्वहरूले पुरानो समाज व्यवस्थाकै  विचारको प्रतिनिधित्व गरेका हुन्छन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अक्टोबर 16, 2009 in BLOG, GUEST

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: