RSS

निरर्थक बन्दै गएको सहमतिको प्रयास

16 Oct

लामो समयदेखि अबरुद्ध राजनैतिक गतिरोधको अन्त्यका लागि देशका प्रमुख ठूला तीन दलहरु दशैं अघिदेखिबाट वार्ता र सम्वादको थालनी गरेको भएतापनि अहिलेसम्म सहमति हुने कुनै संभावना देखिएको छैन । बरु सहमति जुट्ने संभावना क्रमशः न्युन हुंदै जान थालेको देखिन्छ । सदनमा देखिएको गत्यावरोधलाई हटाउन सत्तामा रहेका प्रमुख दल कांग्रेस-एमाले गैरजिम्मेवार भएर राष्ट्रपतिको गलत कदमलाई सच्याउन नमान्दा सहमतिको कुरा जनतालाई आश देखाउने प्रयासमात्र हुन गएको छ ।

तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाल प्रकरणमा राष्ट्रपतिले चालेको असंवैधानिक कदमका विरुद्ध र नागरिक सर्वोच्चता बहालीका लागि एकीकृत नेकपा माओवादीले विगत ५ महिना अघिदेखि आन्दोलनरत रहंदै आएको छ । आन्दोलनसंगै दलहरुबीच बढ्दै गएको असमझदारीको दुरी र गत्यावरोधलाई अन्त्य गर्न माओवादीले सदनमा पेश गर्ने भनेको संकल्प प्रस्तावको विकल्पमा दलहरुको सहमति सहितको साझा संकल्प प्रस्तावमा जाने कुरामा सहमत हुंदै सहमति गर्ने प्रयासको थालनी गरेको हो । देशको अग्रगामी निकासका लागि आफनो लचकता प्रस्तुत् गर्दै एकीकृत माओवादीले राष्ट्रपतिको कदमलाई आपत्ति जनक ठान्दै त्यसको लागि राष्ट्रपतिले वक्तव्य वा अन्य कुनै विकल्पमा छलफल गरी सम्बोधन गर्न सकिने र नागरिक सर्वोच्चताको मुद्दालाई संविधान संशोधन गरेर किनारा लगाउने प्रयास गरेको हो । तर, कााग्रेस र एमालेले तयार पारेको साझा प्रस्तावमा राष्ट्रपतिको कदमबारे कुनै कुरा उल्लेख नभएपछि माओवादीद्धारा थालिएको सहमतिको प्रयास निरर्थक बन्दै गइरहेको छ । यद्यपी सहमतिका प्रयासहरु अझै टुङ्गिसकेका भने छैनन् । तर, राष्ट्रपतिको कदम सच्याउने कुरामा कांग्रेस-एमाले सहमत नहुंदासम्म सहमतिको कुरा निरर्थकमात्र हुने देखिन्छ । किनभने माओवादीले त्यही मुद्दालाई लिएर आन्दोलनको उठान गरेको छ र आन्दोलन जनतामा स्थापित भइसकेको छ । सबैलाई थाहा छ जननिर्वाचित सरकारले गरेको निर्णय राष्ट्रपतिले उल्टयाएर संविधान विपरित कदम चालेका हुन भन्ने कुरा । लोकतन्त्रमा नागरिक सर्वोच्चता नै ठूलो कुरा मानिने भएकाले राष्ट्रपतिले दलहरुको उक्सावट र सैन्य शक्तिको बलमा नागरिक अधिकारलाई दबाउन पुगेका छन् । त्यस कदमलाई सच्याउन सत्तासीन दलहरु न तयार छन् न माओवादीलाई सदनमा त्यो विषय छलफल गर्नका लागि संकल्प प्रस्ताव लैजान दिएका छन् । सत्तामा रहेका दलहरुले नै राजनीतिक निकासका सबै ढोकाहरु थुनेर माओवादीलनाई गाली गर्दै हिड्नु कत्तिको न्यायसंगत हुन जान्छ ? नागरिकको अधिकार बहाली नभएर बनाउन खोज्ने नयां संविधान कस्तो र कुन लोकतान्त्रिक विधीको हुन्छ ? जनताले छुट्याएर फैसला गर्नुपर्ने बेला आएको छ ।

सरकारमा रहेका दलहरुलाई संविधान बनाउने समय वित्न लाग्यो भन्ने चिन्ता र भन्दापनि आफ्नो कुर्सी संकटमा पर्न थाल्यो भन्ने चिन्ताले सताउन थालेको छ र सहमति खोज्ने तातो लागेको देखिन्छ । किनभने यो महिना पछि सरकारले खर्च गर्ने बजेट सदनमा नचल्दा सम्म पास हुने संभावना छैन । त्यही सदन खुलाउनलाई मात्र कांग्रेस-एमाले सहमतिको साझा संकल्प प्रस्तावमा आउन चाहेका हुन् त्यो पनि राष्ट्रपतिको कदम बारे केही नबोल्ने गरी । उनीहरुले सांच्चिकै निकास खोज्न चाहेको भए र संविधान लेख्ने पक्षमा रहेको भए त्यही गलत कदमको पक्षमा रही देशलाई बन्धक बनाइ राख्ने पक्षमा किन हुन्थे र ? जब एकीकृत माओवादीले राष्ट्रपतिको कदम नसच्याई सहमति नहुने कुरा दोहर्‍यायो त्यसपछि प्रधानमन्त्री नेपालले सहमति नभए असहमतिको बाटोबाट आफूहरु अगाडि बढ्ने धम्कीपूर्ण भाषाहरु बोल्दै  आफनो असली नियत र योजना प्रष्ट पारेका छन् । जनताको शक्तिबाट माओवादीलाई अलग्याउन विदेशी र स्वदेशी दलाल तथा नोकरशाही पूंजीपतिवर्गको आडमा अहिलेका सत्ताधारी दलहरुले माओवादीलाई सहमतिमा आउने भए आउ नत्र गोदाई दिन्छौ भन्ने तरिकाले कसरी समझदारी अगाडी बढ्न सक्छ र ? सरकारको यहि रबैयाका कारण पनि सहमतिको सम्भावना क्षीण बन्दै गइरहेको हो ।

अहिले देशमा देखिएको अन्यौलता र टकराव कुनै सरकार फाल्ने बनाउने र टिकाउने खेलको रुपमा मात्र बुझ्नु गलत हुन्छ । टकराव विचार, दृष्टिकोण सहित पश्चगामी चिन्तन र अग्रगामी चेतनाबीचको हो । जसको नेतृत्व एकातिर यथास्थितिवाद र अर्कोतिर अग्रगामी शक्तिले गरिरहेको छ । संसदीय प्रजातन्त्रको मूल्यमान्यता र संस्कारलाई खिल्ली उडाएर कांग्रेस -एमालले अहिले पनि त्यही सामन्ती चिन्तन बोकी नोकरशाही वर्गको प्रतिनिधित्व गर्दै पुरानो थोत्रो राजनीतिक प्रवृत्तिलाई देखाइरहेका छन् । नयां धार बोकेको माओवादी शक्ति भने बहुसंख्यक जनताको हकहित र अधिकार सुनिश्चित गराउनको लागि अग्रगामी परिवर्तनको धार र प्रवृत्ति बोकेर हिडिरहेको छ । पुराना शक्ति जसले अहिले उही पुरानै तरिका र शैलीले सरकारमा रही छलकपट, झुट र षड्यन्त्र गरी आफ्नो वर्गीय सत्ताको अस्तित्वलाई बचाईराख्न खोज्दैछन र परिवर्तनको धार बोकी हिड्ने शक्तिलाई असफल पार्ने कोशिस गरिरहेका छन् । त्यो कोसिसमा उनीहरुलाई विदेशी प्रभु र देश भित्रका प्रतिगामी र दलाल नोकरशाही वर्गले साथ दिइरहेको छ । त्यसैले राष्ट्रपतिको कुरा सिंगो वर्गको अस्तित्वसंग जोडिएको कुरा हुन पुगेको छ ।जसका कारण राष्ट्रपतिको उक्त गलत कदमलाई सच्याउन लगाउने वा अर्को शक्तिले त्यसै छाड्ने गरी सहमति र सम्झौता गर्ने स्थिति रहेको देखिदैन ।

त्यसो भए अब निकास के त ? दुई वर्गशक्तिबीचको अस्तित्वको लडाईमा अब सहमति र सम्झौताका नयां बुंदाहरु खोज्न र भेटाउन गाह्रो पर्छ । किनभने पुराना संसदिय दलहरु लोकतान्त्रिक गणतन्त्रलाई नै आफ्नो प्रमुख लक्ष्य बनाएर यहांसम्म आएका शक्ति हुन् । उनीहरु यो भन्दा अगाडि बढ्न चाहंदैन । जुन शक्तिले यसलाई बुर्जुवा वा नोकरशाही दलालवर्गको नेतृत्वमा रहने शासन र शक्ति ठान्दछ त्यो शक्ति अझ अगाडि जनताको सम्पूर्ण अधिकार सम्पन्न हुने राज्यव्यवस्थामा जान चाहन्छ । अब रह्यो नयां संविधान निर्माणको कुरा । दलाल नोकरशाही वर्ग जसले अहिलेको सत्तालाई आफ्नो हातमा लिएको छ, त्यसले जनताको पक्षमा हुने गरी भूमिसुधार लागू गर्न सक्दैन र आफ्नो अस्तित्व मेटाएर राज्यको पुनःसंरचना गरी जनतालाई अधिकार सम्पन्न गराउने संविधान लेख्न दिन्न र त्यो सम्भव देखिदैन । तसर्थ जनताहरु आफ्नो पूर्ण अधिकार र स्वतन्त्रताका लागि आफ्नो तागत र शक्तिलाई एकीकृत पारी आन्दोलन उठाउनुभन्दा स्थायी विकल्प अर्को छैन । बहुसंख्यक जनताको हितका लागि जनताको पक्षमा हुने विचार र नेतृत्वको हातमा सत्ता आउनु पर्ने हुन्छ । त्यको लागि अर्को वर्गसाग भिड्नु अनिवार्य हुन्छ । जसका लागि अब जनताको नेतृत्व गर्ने शक्ति वा पार्टीले सम्पूर्ण रुपले आफूलाई आन्दोलनका लागि तयारी राख्न आवश्यक छ । Naulojanaubhar Weekly,

 
१ टिप्पणी

Posted by on अक्टोबर 16, 2009 in BLOG, GUEST

 

One response to “निरर्थक बन्दै गएको सहमतिको प्रयास

  1. lokaraj

    नोभेम्बर 2, 2009 at 10:58 बिहान

    Yes, its happnng, but peoples are being aware about it. So, it can not happen more.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: