RSS

नयाँ दुर्घटना देखि सावधान

03 Nov

–      मंगल शर्मा

हाम्रा राजनैतिक पार्टीहरूमा समयमै काम नगर्ने र फुर्सदमा पछुताउने रोग पहिले देखिको हो । उनीहरू स्वदेशी हुन् या विदेशी वार्ता छलफल आदिमा प्रायः गृहकार्यको कमी भएको भन्ने गरिन्छ । झट्ट हेर्दा सहभागीहरूको कमीकमजोरी देखिए पनि वास्तवमा त्यस्ता सहभागी व्यक्तिहरू वास्तविक रूपमा स्वतन्त्र हुंदैनथे । तर अहिलेको परिवेशमा त्यस्तो नहुनुपर्ने हो । विशेषगरी शान्ति सम्झौता देखि अहिलेसम्मको अवधिलाई मात्र मूल्याङ्कन गर्ने हो भने पार्टीहरूले समयमै गर्नुपर्ने निर्णय एवं कार्यहरू यथा समयमै हुन नसकि हतारमा लतार प्रकारले निर्णयहरू गर्ने र हतारमा गरेका कार्यले ल्याउने कमीकमजोरीहरूबाट पन्छाउनुपर्ने अवस्था सृजना भएको देखिन्छ । त्यो रोग यति व्याप्त छ कि आफ्ना निहित स्वार्थ देखि दलहरू माथि उठ्न सकेको देखिएन । वर्तमानको सदन गतिरोध त्यसैको पुनरावृत्तिमात्रै हो ।

सदनको दुई तिहाई समर्थन सहयोग नभएमा नयां संविधान बन्न नसक्ने हुंदा हुंदै सदनको झण्डै आधा हिस्सा ओगटेको दललाई तह लगाउने सोच राखेर वर्तमानको समस्याले निकास पाउने देखिंदैन । सदनको प्रस्तावलाई छलफलमै ल्याउन नदिने निरंकुश शैलीवाट कांग्रेस एमाले गठवन्धनको नियत हात्तीका दांतजस्तै एक थोक बोल्ने र अर्कै थोक गर्ने देखिएको छ, जनताले त्यसलाई सुक्ष्म रूपमा नहेर्ने कुरै भएन । ०४६ को परिवर्तनपछि देश हांकेको दम्भ बोकेकाहरूको पुरानो मानसिकताले अव देश अगाडि वढ्न सक्दैन, अझै पुरानै पाराले शाषन चलाउंछौं भनी दम्भ देखाउने हो भने वर्तमानको बदलिएको परिस्थितिमा न नयां संविधान बन्छ न शान्ति प्रक्रियाले सार्थकता पाउंछ । नयां संविधान भनेको विगतको भन्दा प्रगतिशील संविधान हुनु पनि हो ।

यिनै राजनैतिक परिदृश्यमा लामो समयसम्म सदन अवरोध हुंदा सत्ता पक्षले त्यसको निकास खोज्नुको सट्टा बलेको आगोमा घ्यू हाले जसरी शान्ति प्रक्रिया नै खलबलिने गरी आएका जिम्मेवार मन्त्रीका अभिव्यक्तिहरुले प्रतिपक्षलाई झस्काउनु स्वभाविकै हो । हिजोदेखि शुरु भएको प्रतिपक्षको आन्दोलनमार्फत सत्तापक्षको निरंकुशता र जनविरोधी क्रियाकलाप विरुद्ध सडक जति तातियो शान्तिप्रक्रियाले गति नपाउने त्यति नै निश्चित छ अझै त्यसबाट निस्कने दुस्परिणामको जिम्मेवारी कसले लिने भन्ने प्रश्न टड्कारो रूपमा खडा भएको छ । वर्तमानको माग भनेको तोकिएकै समयमा नयां संविधान बन्नु र वर्तमान अराजक समयको अन्त भई देश विकाशले गतिलिने वातावरण निर्माण हुनु हो । तर जिम्मेवार भनिएका पार्टीहरूले यी कुराको बोध नगर्दा २२ दलीय गठबन्धनको दम्भले देश कता पुग्ने हो या पुर्‍याउने हुन् त्यसैभन्न सक्ने स्थिति देखिंदैन । प्रतिपक्षले उठाएका आवाजहरूलाई वार्ता छलफल आदिबाट निकास दिन खोज्दा के बिग्रन्थ्यो र ? त्यस्तो वातावरण सृजना गर्नुको सट्टा जसरी पनि बजेट पास गर्ने नीति अख्तियार गर्दै रजाई गर्ने दिवास्वप्नालाई जनआन्दोलनको आंधीवेहेरीले परास्त गर्‍यो भने बल्ल तिनिहरूको होस खुल्नेछ ।

अहिलेको प्रतिपक्षले विगतमा जनयुद्ध गर्दा यिनै तत्वहरूको साथमा देशी विदेशी शक्तिहरूले हदैसम्मको प्रपोगण्डा गरी माओवादी नेताहरूको टाउकोको मूल्य तोकेको थियो । तर, तिनिहरूको वहुलठ्ठिपन देखि तात्कालीन राजा ज्ञानेन्द्रको महत्वाकांक्षा  चुलिंदा नागरिक भुट्नको लागि ल्याइएका हतियारहरू र कमिशनमा चुर्लुम्म भएका स्वनामधन्य नेताहरूको कस्तो हरिविजोग भएको थियत्र र त्यसबेला माओवादीलाई कसरी गुहारिएको थियो । यदि त्यो शान्तिवार्ता र सहमति नभएको भए रक्षामन्त्रीको रूपमा विद्या भण्डारीले अनेकथरिका विषवमन गर्न पाउने थिइन कि थिइनन् ? यति कुराको हेक्का नराख्ने विद्या भण्डारी अहिले माओवादी विरूद्द सेना उतार्ने समेत कुरा गर्दैछिन् । यो बोली उनको आफ्नै हो कसको हो ? सहमतिको वातावरण धमिल्याएर किन निहुं खोज्दैछ सत्ता पक्ष । यसको सोझो आशय हो नयां संविधान बन्न नदिने र ०४७ सालको संविधानलाई फेरि व्यूंताउने षडयन्त्र । यस्तै षड्यन्त्र हुंदै गयो भने नेपाली जनताले त्यसको सजाय कसकसलाई दिने हुन् त्यसबारेमा बढी बोल्न उपयुक्त नहोला ।

वर्तमान प्रतिपक्षलाई हिजो आतङ्ककारी नजरबाट हेर्नेहरूले माओवादी संसद्को ठूलो शक्ति मात्र हैन उसंग रहेका विभिन्न जनवर्गीय संगठन देखि शुभेच्छुक शुभचिन्तकहरूको लाखौं लाखको लस्करलाई नजर अन्दाज गरियो भने त्यसले ल्याउने परिणामलाई हल्का किसिम वा लहैलहैमा मूल्याङ्कन गरियो भने के होला कल्पनै गर्न सकिंदैन । प्रधानसेनापति मामलामा राष्ट्रपतिलाई उक्साउने त्यही शक्तिले पुनः राष्ट्रपतिलाई शाषन सञ्चालन गर्न उक्साई रहेको छ कि सोच्नुपर्ने बेला भइसकेको छ । मन्त्रालयको संख्या बढाउंदै भीमकाय मन्त्रिमण्डलको गठन देखि राष्ट्रका जल्दाबल्दा समस्या ज्यूंका त्यूं भएको वर्तमानको संक्रमणकालमा जनताबाट पराजितहरूको समूह एकत्रित गरी शान्तिवार्तालाई भांड्ने प्रायोजित कार्यबाट जनताले केही दुःख कष्ट भोग्नु पर्ला तर एकदिन न एकदिन त्यो शक्ति पानीको फोकाजस्तै हराउने निश्चित प्रायः देखिन्छ ।

शान्तिसम्झौता पछिका दिनमा बोलिएको नयां नेपाल यस्तै अराजकताको लागि परिकल्पित थिएन । सांच्चै नयां नेपाल निर्माण गर्ने नै हो भने नेपाली समाजमा रहेका विभिन्न प्रकारका शोषण अन्याय अत्याचारलाई निर्मूल पार्नै पर्दछ । त्यसको लागि लम्पसार परेर त्वं शरणम् गरेर नयां नेपालको निर्माण हुन नदिने स्वदेशी ताकतले हर प्रयास गरिरहेका छन् । अतः विगतभन्दा नयां नेपालको लागि राष्ट्रवादी नेपालीहरूले अझै बलिदानी गर्नुपर्ने अवस्था आइरहेको देखिन्छ । त्यो भनेको नयां संघर्ष हो । जनताको समर्पण हो । संलग्नता हो । यदि त्यसो गरिएन भने हाम्रा अगाडि अर्को दुर्घटना हुंदैछ । त्यसको लागि सावधान हुनै पर्दछ । सावधान नेपाली जनताहरू !!!

 
१ टिप्पणी

Posted by on नोभेम्बर 3, 2009 in BLOG, GUEST

 

One response to “नयाँ दुर्घटना देखि सावधान

  1. juni

    नोभेम्बर 9, 2009 at 5:53 बिहान

    aasha chha yo durghatana tarera jawas.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: