RSS

नागरिक सर्वोच्चताको सुनिश्चितताको लागी …

03 Nov

सर्जन गौतम

 मुलुक तिव्रताका साथ मुठभेडको दिशातर्फ प्रवेश गरिरहेको छ । लामो समयदेखि मुलुकमा प्रमुख राजनीतिक दलहरुका शीर्ष नेतृत्वको बीचमा कायम गर्न खोजिएको सहमति प्राप्त हुन नसक्दा मुलुक मुठभेडको दिशातर्फ प्रवेश गरेको हो । माओवादीका नेताहरुलाई थुनेर बजेट पारित गर्ने, माओवादीलाई पेलेर भएपनि ठीक गर्ने धम्कीहरु सरकारी मन्त्रीहरुबाट आइरहंदा एकिकृत नेकपा माओवादी सम्बद्ध संयुक्त क्रान्तिकारी जनपरिषद्ले निर्णायक प्रकारका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि मुलुकको राजनीति वार कि पारको स्थितिमा प्रवेश गरेको छ ।

 हालसम्म अघि बढाइएका सहमतिका प्रयत्नहरुमा एकीकृत नेकपा माओवादीले हदैसम्म लचिलो बन्दै विभिन्न प्रकारका मध्यमार्गी विकल्पहरु अगाडि सार्दै आएको छ । तर, सत्ताधारी गठबन्धनले सबै प्रकारका प्रस्तावहरुलाई अस्वीकार गर्दै आएको छ । समस्या बल्झिनुको प्रमुख कारण यही हो । राष्ट्रपतिको कदम असंवैधानिक कदम हो भन्ने कुरा विभिन्न कारणहरुले पुष्टि हुंदाहुंदैपनि यो खुल्ला सत्यलाई सत्ताधारी गठबन्धनले स्वीकार्न नसक्दा नेपाली राजनीतिका संकटहरु गहिरिन पुगेका हुन् ।

 राष्ट्रपतिको कदम कसरी असंवैधानिक थियो ? यसलाई  विभिन्न तर्कहरु एवम् प्रमाणहरुद्वारा पुष्टि गर्न सकिन्छ । प्रथमतः अन्तरिम संविधान २०६३ अनुसार नेपालमा राष्ट्रपतिको हैसियत सेरेमोनियल हो । अन्तरिम संविधानले सम्पूर्ण कार्यकारी अधिकार मन्त्रिपरिषद्मा निहित गरेको कुराबाट यो कुरा प्रष्ट हुन्छ । सेरेमोनियल राष्ट्रपतिले कुनै पनि प्रकारको कार्यकारी कदम अगाडि सार्नु संविधान र कानुनको बर्खिलाप हुन्छ । स्वयम् राष्ट्रपतिले आफ्नो कदम १८ राजनीतिक दलको अनुरोधमा चालिएको राजनीतिक कदम भएको जानकारी सर्वोच्च अदालतलाई दिइसकेका छन् । यसरी स्वयम् राष्ट्रपतिले आफ्नो कदम असंवैधानिक भएको स्वीकार गरिसकेका छन् । त्यसप्रकारको असंवैधानिक कदम सच्चाएर नै लोकतन्त्रलाई बलियो पार्न सकिन्थ्यो । तर, संसदमा छलफल समेत गर्न नदिएर सत्ताधारी गठबन्धनले हदैसम्मको अलोकतान्त्रिक चरित्र प्रदर्शन गरिसकेका छन् ।

 राष्ट्रपतिको कदमको बारेमा न्यायिक निरुपण गर्ने एउटा बाटो निश्चित रुपमा बचेको छ । तर, राष्ट्रपतिले आफ्नो कदम राजनीतिक भएकाले सर्वोच्चको क्षेत्राधिकारमा नपर्ने जवाफ दिएर यस मुद्दामा हात नहाल्न सर्वोच्चलाई चेतावनी दिएका छन् । नेपालको सर्वोच्च अदालतले राजनीतिक प्रकारका मुद्दाहरुको निर्णय राजनीतिको हावा हेरेर मात्र गर्ने गरेको परम्परा छ । अहिले राजनीतिक हावा राष्ट्रपति, वर्तमान सत्ता गठबन्धन र विदेशी शक्तिहरुको पक्षमा देखिएको छ । वर्तमान सत्ताधारी गठबन्धनको पक्षमा फैसला गर्न सर्वोच्च अदालतले यस कारणले सकिरहेको छैन कि राष्ट्रपतिको कदमको कुनै संवैधानिक वा कानुनी आधार छैन् । आफ्नो कदममा उनले कुनै पनि प्रकारको संवैधानिक वा कानुनी दफाको प्रयोग गरेका छैनन् । त्यसको विपक्षमा फैसला गर्न राजनीतिक हावा अनुकूल नभएकाले त्यसका लागि सम्भव छैन ।

 यसप्रकारको अवस्थामा राजनीतिक सहमति नै सबैभन्दा उपयुक्त विकल्प हुन सक्दथ्यो । तर, राष्ट्रपतिको ‘र’ पनि उल्लेख गर्न नहुने सत्ताधारीहरुको हठको कारण सम्पूर्ण प्रकृया अबरुद्ध हुन पुग्यो । संसारमा यथास्थितिवादी र प्रतिक्रियावादीहरुले सधै यस्तै चरित्र देखाउने गर्दछन् । यसैका कारण सत्ताधारीहरुलाई नागरिक सर्वोच्चता फिर्ता गर्नका लागि बाध्य पार्न एकीकृत नेकपा माओवादीले आन्दोलनको घोषणा गरेको हो । एकीकृत नेकपा माओवादीले घोषणा गरेका संघर्षका कार्यक्रमहरुमा बन्द जस्ता सर्वसाधारणले नै बढी सास्ती पाउने खालका कार्यक्रमहरु छैनन् । तरपनि आन्दोलनका कार्यक्रमहरु निर्णायक प्रकृतिका छन् । जिल्ला प्रशासन कार्यालयदेखि सरकारको मुख्यालय रहेको सिंहदरबार घेराउसम्मका कार्यक्रमहरु यसमा समावेश गरिएका छन् । यी कार्यक्रमहरुको सफलताले नै नागरिक सर्वोच्चताको सुनिश्चितता गर्न सक्छ । यसको सफलताको लागि आवश्यक तीन तत्वहरु छन् । एक-व्यापक जनपरिचालनमा पार्टीपंक्तिको सक्रियता, दुई-आन्दोलनका कार्यक्रमहरु चुस्त दुरुस्त रुपमा सम्पन्न गर्न पार्टी पंक्तिको छरितो परिचालन र तीन- एक्लै होइन नागरिक समाज र समाजका विभिन्न हिस्साहरुलाई साथमा लिएर हिड्ने कुरामा पार्टीको सुझबुझपूर्ण नीति । यी कुराहरुलाई अघि बढाउन सकियो भने नागरिक सर्वोच्चतालाई पुनः बहाली गर्न सकिन्छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 3, 2009 in BLOG, GUEST

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: