RSS

आन्दोलनको उठान गर्नुपर्ने आवश्यकता र शर्तहरु

03 Nov

– विश्वराज न्यौपाने

 सन् १९९० को दशकतिर संसारमै कम्युनिष्ट नदेख्नेहरु दोस्रो जनआन्दोलनपछि नेपालमा समेत कम्युनिष्ट साफ भएको सपना देख्न थाले । विश्वमै प्रजातन्त्रमात्र देखिरहेकाहरुले चुनवाङ बैठकपश्चात् नै भन्न थाले नेपालको माओवादी शक्तिले पनि अब कांग्रेसको बाटो लियो, एमालेको बाटो लियो र चिल्ला गाडीमा हिड्न सिक्यो, जनतालाई ढांट्न जान्यो आदि आदि । १० बर्षसम्म अविरल र अथकरुपले जनयुद्ध सञ्चालन गरेको पार्टी किन र के का लागि प्रजातन्त्रभित्र अवतरण गर्‍यो भन्नेतर्फ सोच र विमर्श नै नगरी जनतासामु अफवाह फैलाउंदै हिड्नु प्रतिक्रियावादीहरुको नियत हो र यसबाट प्रष्ट हुनु जनताको कर्तव्य पनि हो ।

साम्राज्यवादी षड्यन्त्रभित्र दुई चारवटा देशमा कम्युनिष्ट सत्ता जांदैमा संसारबाटै कम्युनिष्ट सखाप हुंदैनन् । कम्युनिष्ट सखाप पार्नलाई समाजभित्र अन्तर्निहित वर्गीय खाडल समाप्त पार्नुपर्दछ । समाजभित्र रहेका वर्ग सखाप पार्नुपर्दछ । जबसम्म वर्ग रहन्छ त्यहां वर्गीय द्वन्द्व भई नै रहन्छ । त्यस युद्धमा प्रतिक्रियावादीहरु मुठ्ठीभर शोषक र सामन्तहरुको पक्षपोषण गरिरहन्छन् । कम्युनिष्टहरु शोषित, पीडितहरुको पक्षमा जनआवाज बुलन्द पारिरहेका हुन्छन् । यो कटु यथार्थ नबुझी वा बुझेर पनि बुझपचाई कसैले दिग्भ्रमित पार्न खोज्दछन् भने यसभित्रको षड्यन्त्र हामीले बुझ्नुपर्छ र त्यस प्रकारको षड्यन्त्रको जालो जनतामाझबाटै च्यात्दै जानुपर्दछ । यो कटु यथार्थ हो, हिजोको इतिहास हो र साम्राज्यवादी चाल पनि हो ।

१० बर्षे जनयुद्ध लडेका हाम्रो पार्टीका सामु बहुदलीय प्रजातन्त्रका लागि शान्तिपूर्ण अवतरण गर्नु असम्भव थियो । लक्ष्य विपरित थियो, संघर्षको योजनाविरुद्ध थियो । यो अभिव्यक्ति प्रतिक्रियावादीहरुले पेश गर्ने दलिलभित्र मात्र ठीक थियो । जनतालाई भ्रम छर्न र किंकर्तव्यविमुख पार्नलाई प्रतिक्रियावादी दृष्टिकोण थियो । यथार्थता के हो भने गाउंदेखि शहर घेर्ने उद्देश्य लिई दशबर्षे जनयुद्ध हामीले सञ्चालन गर्‍यौं । मेचीदेखि महाकालीसम्मका ग्रामीण इलाकाभित्र आधारक्षेत्र र संगठन विस्तार गर्न अभूतपूर्व रुपले हामी सफल भयौं । आन्दोलनको सफलता र संगठन विस्तारका लागि अर्को चरणको कार्यक्रम विस्तार गर्नुपर्‍यो । चर्को बहस र अविरल मन्थनपश्चात् लक्षित कार्ययोजना र विस्तारका लागि शान्तिपूर्ण अवतरणमा उद्यत रह्यौं । करिब ३ बर्षको अवधिभित्र हामी निष्क्रिय बसेका छैनौं । देशभरिका शहरहरुमा हामीले बलियो संगठन निर्माण गरेका छौं । कुनै पनि राजनैतिक पार्टीको भन्दा हाम्रो जनाधार बलियो छ र सशक्त छ । शोषित, उत्पीडित र सर्वहाराका पक्षमा वकालत गर्दै हिडेका हाम्रा योजना र कार्यपत्रहरु आम जनताले स्वीकार गरिसकेका छन् । देशका ७५ जिल्लामध्ये ५९ जिल्लामा हामीले विजयपताका गाडिसकेका छौं । यी जिल्लाका जनताहरुले हाम्रो लक्ष्यलाई अंगिकार गरिसकेका छन् । बांकी जिल्लामा पनि हामी सशक्त रुपबाट गइरहेका छौं । त्यहां हाम्रो जनबल नभएको हैन, प्राविधिक रुपले कमी देखाइएको हो । सो पूर्तिका लागि हामी लागिराखेका छौं । जसको ज्वलन्त उदाहरण उपनिर्वाचन हो । सदियौंदेखि जरा गाडेको राजतन्त्र विरुद्ध जाइलाग्नु कम चुनौति मान्नु हुंदैन । दयाको हनुमानहरुको सहयोग बिना ग्रामीण जनयुद्धबाट मात्र राजतन्त्र उन्मुलन गर्नु असम्भव प्रायः भएकाले नै हामीलाई शान्तिपूर्ण संक्रमण गर्नु परेको थियो । देशमा गणतन्त्र स्थापना भयो । यसलाई जनताको गणतन्त्रतर्फ कसरी अभिमुख गर्ने ? हालको हाम्रो चुनौति हो । राजतन्त्र जरैबाट उन्मूलन भइसक्यो, अब नेपालमा संवैधानिक वा बेबी किङ कसैको पनि सम्भावना छैन । यदि कसैले सम्भावना देख्छ भने त्यो जनविरोधी हो, राष्ट्रविरोधी हो, देश विरोधी र देशबासी विरोधी पनि । फगत इतिहासका ठेली टुलुटुलु हेर्नुबाहेक अर्को विकल्प छैन ।

यसप्रकार देश र जनताको पक्षमा हिड्दा यथास्थितिलाई चिर्दै अग्रगामी परिवर्तनमा जानु अनिवार्य छ । सुस्त-सुस्त भइरहेका यी परिवर्तनसंग झस्किएका साम्राज्यवाद र सामन्तवादका मतियारहरु अनेक बहानाले हामीसंग सहकार्य नगर्न तम्सिएका छन् । राष्ट्रपतिको असंवैधानिक कदम नै यसको ज्वलन्त उदाहरण हो । १८ दल या २२ दलको जति नाम दिएपनि पूर्व संसदवादीहरुको हामी विरुद्धको गठजोड हो । हामी जनताको पक्षमा बोल्छौं । उनीहरु भने जनविरोधी अभिव्यक्ति दिन्छन् । हामी संघीयताको वकालत गछौं, उनिहरू प्रतिक्रियावादीहरु केन्द्रीयताको बहस गर्दछन् । यी फुटलाई प्रश्रय दिन्छन्, सम्झौतालाई अंगिकार गर्दछन् तर हामी नयां नेपाल निर्माणका लागि आमूल परिवर्तन चाहन्छौं । यिनीहरु यथास्थितिवाट अघि वढ्न चाहंदैनन्, हामी देश र जनताका आवाज बुलन्द पार्न चाहन्छौं । प्रतिक्रियावादीहरु व्यक्तिगत स्वार्थमा देशलाई अल्मल्याउन चाहन्छन् यि व्यक्तिवादतर्फ केन्द्रित छन् र त्यसमै आत्मरती लिन्छन् तर, देशभित्रका घटनाहरुलाई द्वन्द्ववादी दृष्टिकोणबाट हेरिनुपर्दछ भन्ने हाम्रो अभिप्राय हो र यसमा हामी दृढ पनि छौं । सारांशमा भन्नुपर्दा शान्तिपूर्ण संक्रमणपश्चात् एकपछि एक गर्दै हाम्रा योजनाहरु सुस्त-सुस्त जनतासामू उद्देलित भइरहेको परिप्रेक्ष्यमा प्रतिक्रियावादीहरु सतर्क भई कुनै प्रकारको परिवर्तन हुन नदिने र हामीलाई जनताको पक्षमा कुनै कार्य गर्न नदिने मनसायले एकजुट भएका छन् । सत्ता प्राप्ति हाम्रो अभिष्ट होइन यो साधनमात्र हो । यसबाट जनता र देशका लागि केही गर्न सकिन्छ भने हामीलाई स्वीकार्य छ तर देश र देशवासीविरुद्धको पक्षपोषण गरिने हो भने कदापी स्वीकार्य हुन सक्दैन । आजभोलि सत्तावादीहरु सहमतिको रट लगाएर गोहीका आंशु झार्दै हिडेका छन् । तर, हामीलाई थाहा छ गोहीका आंखा २४ सै घण्टा रसिला हुन्छन् ।

यसर्थ, यदि सत्तासिनहरु सहमति खोज्दछन् भने निम्न कुरामा सहमत हुन आवश्यक छ :-

१. नयां जनवादी संविधान तयार गर्न ।

२. जनमुक्ति सेनालाई स-सम्मान समायोजन गरी शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउन ।

३. स्थापित गणतन्त्रलाई संरक्षण र जनताको पक्षमा सम्बर्द्धन गर्न ।

४. राष्ट्रपतिको कुकृत्यलाई पर्दाफास गर्दै देशमा नागरिक सर्वोच्चता कायम गर्न ।

५. जनतावाट वहुमत प्राप्त दल तथा नेताहरुको नेतृत्वमा सरकार गठन गर्न र स्थानीय स्वायत्त गणराज्यहरुको घोषणा गर्न ।

अभ्यन्तर गठबन्धनलाई परित्याग गर्ने नियम कानुन, विधान, सहमति र सम्झौताका बुंदाहरुलाई परोक्षमा आफू खुसी व्याख्या गर्ने र राज्यसत्तालाई अपुताली सम्झने प्रवृत्तिविरुद्धको यो अभिमत हाम्रो राष्ट्रिय अभिमत हो । देशीय र वर्गीय विश्लेषण द्वन्द्ववादी हुनुपर्दछ । विरोध र सहमति द्वन्द्वात्मक हुनुपर्दछ । सिद्धान्त र दृष्टिकोणका आधारमा गरिएको विरोध एकताका लागि हुन्छ भने गैरसैद्धान्तिक विरोधले व्यक्तिवादलाई प्रश्रय दिन्छ । यि यावत तथ्य-कारणहरूलाइ नियालेर देशीय वस्तुस्थितिको सुक्ष्म विश्लेषण गर्दा वर्गसंघर्ष अपरिहार्य देखिन्छ, त्यसैले यसमा हामी दृढ संकल्पित रहौं ।

 
4 टिप्पणीहरु

Posted by on नोभेम्बर 3, 2009 in BLOG, GUEST

 

4 responses to “आन्दोलनको उठान गर्नुपर्ने आवश्यकता र शर्तहरु

  1. Vikey

    नोभेम्बर 4, 2009 at 12:44 बिहान

    १. नयां जनवादी संविधान तयार गर्न ।
    २. जनमुक्ति सेनालाई स-सम्मान समायोजन गरी शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउन ।
    ३. स्थापित गणतन्त्रलाई संरक्षण र जनताको पक्षमा सम्बर्द्धन गर्न ।
    ४. राष्ट्रपतिको कुकृत्यलाई पर्दाफास गर्दै देशमा नागरिक सर्वोच्चता कायम गर्न ।
    ५. जनतावाट वहुमत प्राप्त दल तथा नेताहरुको नेतृत्वमा सरकार गठन गर्न र स्थानीय स्वायत्त गणराज्यहरुको घोषणा गर्न ।
    Jayaj Mag haaru.

     
  2. sohel

    नोभेम्बर 4, 2009 at 1:25 बिहान

    good article

     
  3. GYANU

    नोभेम्बर 4, 2009 at 6:22 बेलुका

    १. नयां जनवादी संविधान तयार गर्न ।
    २. जनमुक्ति सेनालाई स-सम्मान समायोजन गरी शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउन ।
    ३. स्थापित गणतन्त्रलाई संरक्षण र जनताको पक्षमा सम्बर्द्धन गर्न ।
    ४. राष्ट्रपतिको कुकृत्यलाई पर्दाफास गर्दै देशमा नागरिक सर्वोच्चता कायम गर्न ।
    ५. जनतावाट वहुमत प्राप्त दल तथा नेताहरुको नेतृत्वमा सरकार गठन गर्न र स्थानीय स्वायत्त गणराज्यहरुको घोषणा गर्न ।
    YATI MATRAI TA HOINA HOLA ……

     
  4. garjan

    नोभेम्बर 4, 2009 at 9:31 बेलुका

    Very good article. Thanks for the view. Go ahead, i’m with U.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: