RSS

बिचल्लीमा पर्दैछन् विदेशीएका महिलाहरु

03 Nov

सुशीला आचार्य

 फुस्रो अनुहार, मानौं शरिरमा रगत नै छैन कि जस्तो । वैदेशिक रोजगारका लागि विदेश गएर घोराही नगरपालिका-१० बस्ने सीता केसी (नाम परिवर्तन) भर्खरै घर आइपुगेकी छिन् । आर्थिक अवस्था कमजोर भएकोले सानो उमेरमा पढ्न नपाएको गुनासो गर्ने सीता भन्छिन्- ‘धेरै मान्छेहरु विदेश गएको कुरा सुनेकी थिए, थोरै समयमा धेरै पैसा कमाउने सोचाईले मलाई पनि विदेशप्रतिको मोह जाग्यो ।’ कुन देशमा जान कति रकम लाग्छ ? के काम पाइन्छ केही पनि थाहा थिएन उनलाई । घरमा श्रीमान पनि सधैं जांडरक्सीमा नै मस्त रहने, घरको अवस्थाको कुनै मतलब नगर्ने बानीले सीतालाई निकै चिन्तित बनाएको थियो । ‘त्यही पीडालाई कम गर्न सकिन्छ कि भनेर विदेश गएं ।’ यहांको भन्दा पनि बढी दुःख पाएको कुरा गर्दा गहभरि आंशु लिएर वोल्दा वोल्दै रोकिन्छिन् ।

 घरेलु कामदारको रुपमा मलेसिया पुगेकी सीताका पीडा सुन्दा जो कोहीलाई पनि आंशु नझारी सुखै नहुने खालका छन् । उनी भन्छिन्- ‘दलालको फन्दामा परेर धेरै पैसा खर्च भयो, दुबईको लागि भिसा लगाएको त मलेसिया पुर्‍याएछ थाहै पाइन । राम्रो कामको प्रलोभन देखाएर मेरो धेरै पैसा दलालले खाइदियो ।’ कति दिन त सीतालाई भोकै पेट बस्नुपर्‍यो । गएको १५ दिनपछि एउटा घरमा बल्लतल्ल काम भेटिएको कुरा गर्दै सीता भन्छिन्- ‘स्वर्ग र नर्कको कथा सुनेकी थिए, सांच्चिकै नारकीय जीवन भोगेर आए । सानोतिनो गल्ती गर्दा पनि साहु साहुनीले पिट्ने गर्थे ।’ चर्पी सफा गर्नेदेखि लिएर साहुनीको खुट्टामा तेल लगाउने, बच्चाबच्ची स्याहार्नेजस्ता काम गरेर झण्डै दुई वर्ष जति बिताइसकेपछि पनि तलबको कुनै ग्यारेन्टी हुन सकेन उनको । साहुले मासिक रुपमा नेपाली नौ हजार तलब दिने बताएपनि उनले पैसा पाउन सकिनन् । जीवनको कुनै सुरक्षा पनि भएन उनलाई । जसरी हुन्छ नेपाल फर्कने झिनो आशमा भोंतारिंदा भोंतारिंदै बल्लतल्ल टिकटसम्मको व्यवस्था गरी घर फर्किएको उनले सुनाइन् ।

 वैदेशिक रोजगारकै रुपमा साउदी अरब पुगेकी घोराही नगरपालिका-११ बस्ने रमिला विकको अवस्था पनि सीताको भन्दा कम छैन । उनी पनि छोराछोरीलाई पढाउने र सजिलोसंग घर खर्च चलाउने रहर मनमा सांचेर साउदी अरब पुगेकी थिइन् । अरब पुगेकी पांच महिनामा नै उनी घर फर्किएर आइन् । अलिकति भएको खेत पनि बेचेर रमिलाले विदेश जाने पैसाको जोहो गरेकी थिइन् । उनले रुंदै कांपेको स्वरमा भनिन्- ‘अहिले मसंग न त पैसा छ, न खेत न जागिर नै छ । विदेशमा गएर धेरै पैसा कमाउने मोहले गर्दा अहिले मेरो अवस्था यस्तो भयो ।’

 दुई सन्तानकी आमा बनेकी रमिलाका श्रीमान्ले अर्की श्रीमती ल्याएपछि छोराछोरीलाई राम्रो लुगा लगाउन र मिठो खान दिने रहर पलाएर उनी विदेश गएकी थिइन् । छोराछोरीलाई माइतीघरमा छोडेर विदेशमा पुगेकी रमिलाको मनमा सोचेको जस्तो काम पाउने त परै जाओस् साहुको टोकसो र यातनाले गर्दा छोराछोरीको निकै याद आउन थाल्यो । भात खाने खेत सबै बेचेर गएकी रमिलालाई त्यहां बस्ने मन भएन । कामदारको रुपमा गएका एकजना नेपालीको सहयोगमा उनी घर फर्किन सफल भएकी छिन् । उनीसंग अहिले सांझ बिहान खाने खर्च पनि छैन । खेत बेचेको ३ लाख रुपैयां सबै दलालले खाइदियो, अहिले उनी ज्यालादारी गरेर छोराछोरी पाल्ने निर्णयमा पुगेकी छिन् ।

 सीता र रमिला त प्रतिनिधि मात्र हुन् । महिला होस् वा पुरुष वैदेशिक रोजगारीको लागि बाहिर जानेको सरकारसंग नै कुनै एकिन तथ्याङ्क छैन । भर्खरै मात्र ४ जना नेपाली महिलालाई माइती इण्डिया र माइती नेपालको सहयोगमा बन्धकमुक्त गरिएको छ । दिल्लीमा नारकीय जीवन बिताउन बाध्य पारिएका पूर्वी नेपालका महिलाहरुलाई विदेश पठाउने प्रलोभन देखाएर दिल्लीको एउटा घरमा थुनेको अवस्थामा उनीहरु मुक्त भएका छन् । विदेश पठाउने नाममा खोलिएका अधिकांश मेनपावरमा वैदेशिक रोजगारमा जानेहरुको भीड लागेको हुन्छ । तर, कहां जाने ? कुन देशमा जाने ? के काम गर्ने ? जस्ता कुराको कुनै ग्यारेन्टी नहुंदा विदेश गएका अधिकांश महिलाहरु यौन शोषणको चपेटामा परेका छन् । अर्कोतिर दलालहरू भने सोझासाझा बेरोजगारहरुलाई ठगेर दलालहरु रातारात करोडपति बन्दै गएका छन् ।

 यसरी आर्थिक अवस्था कमजोर भएको घरमा होस् अथवा धनी घरमा नै किन नहोस् । धनको दरिद्रता एकै खालको छ । नेपालीको वैदेशिक रोजगारका लागि विदेश जाने रहर घरैपिच्छे पलाएको छ । पछिल्ला दिनहरुमा विदेशीनेहरुको संख्या निकै बढेको छ । आफ्नो घरमा बसेर एक कप चियासमेत आफै पकाएर खान नसक्नेहरुले विदेशीको गल्ली सफा गर्दैछन् । आफ्नो देशमा सानोतिनो काम गर्न लाज मान्ने तर विदेशमा गएर चर्पी सफा गर्दा आफूलाई ठूलो मान्छे सम्झन्छन् उनिहरू अझै अरुलाई हेप्नसमेत पछि पर्दैनन् । अहिले यस्तै कुबुद्धिका बुद्धिजीवीहरु नै नेपालको आर्थिक विकासको तगारो बनिरहेका छन् ।

 वैदेशिक रोजगारीको ग्यारेन्टी र मान्छेहरुमा पलाएको विदेशप्रतिको मोहबारे जिज्ञासा राख्दा मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान दाङका अध्यक्ष निर्मल गौतम राज्यले वेरोजगारहरुलाई तुरुन्त रोजगार दिएर आत्मनिर्भर बनाउने र जथाभाबी रुपमा मेनपावर खोल्नबाट रोक लगाउनुपर्ने बताउनुहुन्छ । मेहनतका साथ काम गर्ने हो भने पेट पाल्नको लागि कसैले पनि विदेशिनु नपर्ने र स्वदेशको राज्यव्यवस्था परिवर्तनका साथै  नयां संविधान जनताको बन्न सकेमा नेपाली नागरिकका धेरै समस्या समाधान हुनसक्ने मानवअधिकारकर्मी गौतमको विश्लेषण छ । 

 
3 टिप्पणीहरु

Posted by on नोभेम्बर 3, 2009 in BLOG, NEWS

 

3 responses to “बिचल्लीमा पर्दैछन् विदेशीएका महिलाहरु

  1. sohel

    नोभेम्बर 3, 2009 at 7:36 बेलुका

    O ! How sad ! Whats the government doing ? There is some fault of those ladies who is going abroad without proper information.

     
  2. sharmila

    नोभेम्बर 4, 2009 at 12:52 बिहान

    dalal ko pachhi lagera jane mahil harulai k bhanne ra khai? Sarkar le tyo desh ma jana nisedh gareko chha bhanne thaha huda hudai arko desh bhanera jane haru, janajan bechiyeka cheli haru lai kasari siksha dine hola ma ta chhakka paari saken.

     
  3. anila

    नोभेम्बर 4, 2009 at 9:23 बेलुका

    yes barema mahila adhikarbadi haru kina kehi boldainan ? K nepali mahila haru lai gharelu kamdar ko rup ma bides jana agadi usko hak adhikar bhasha sambandhit deshko kanoon adi bare jankari dine nikaya banekai chhaina ra ? Yedi testo bhaye hami sabai milera aajai bata lagau na ta.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: