RSS

जनताको मुक्तिका लागि जस्तोसुकै कष्ट भोग्न तयार

05 Nov

हुमप्रसाद बस्याल / दहवन, रोल्पा

 बृहत शान्ति सम्झौता अनुसार विगत ३ वर्षदेखि क्यान्टोनमेन्टमा बस्दै आएका जनसेनाहरु अझैं पनि थुप्रै समस्या र जटिलताका दिन बिताइरहेका छन् । टिन र त्रिपालले बेरेका चिसा घरभित्र ओढ्ने ओछ्याउने र लगाउने लत्ता कपडाहरुको अभाव कायमै छ, हिउंदयामको चिसो बढ्न थालेपछि जनसेना कसरी चिसोबाट बच्ने चिन्तित भएका छन् । चिसो बढिसक्दा पनि कुनै व्यवस्था  नगरिएकाले जीर्ण बनेका त्रिपाल र पुरानै कपडाहरु प्रयोग गर्न उनीहरु बाध्य भएका छन् ।

बसोबासको लागि आवश्यकभन्दा थोरै घरहरु बनेकोले जनसेनाहरु अझै पनि शिविर स्थापना गर्दा वितरण गरेका पुराना त्रिपालहरु प्रयोग गरिरहेको बताउंछन् । ‘पुराना त्रिपालहरु च्यातिएकोले पानी चुहिने मात्र हैन अब त शीतले पनि निथ्रुक्कै भिजाउने बेला भइसक्यो’, जनसेनाका एक जवानले भने, ‘कि त छिटो सेना समायोजन गर्नुपर्‍यो हैन भने तत्काल न्यानो लत्ताकपडाहरुको व्यवस्था गर्नुपर्‍यो ।’ प्रति व्रिगेड ४५ वटा घर चाहिने भएतापनि शिविर व्यवस्थापन समितिले ३५ वटा घरका लागि मात्र रकम उपलव्ध गराएको थियो । प्रत्येक व्रिगेडमा १०/१० वटा भवनको कमी भएकोले सबै जनसेनाको मासिक तलब र राशन भत्ता कटौती गरेर आवास निर्माणमा लगाउनु परेको व्रिगेड सह-कमाण्डर टार्जनले बताउनु भयो ।

विभिन्न संघ संस्थाको सहयोगमा डिभिजन कार्यालयका लागि खानेपानी ट्याङ्की बनाइएको छ तर त्यसले मात्रै नपुगेको वटालियन कमाण्डर विक्रमले जानकारी दिनुभयो । ‘मोर्टरबाट  खोलाको पानी डांडामा तानेका छौं, विद्युत् लाईनको खराबी भयो वा लामो समय लोडसेडिङ भयो भने व्यारेकमा खानेपानीको हाहाकार नै हुन्छ’ बटालियन कमाण्डर विक्रमले भन्नुभयो, ‘मोर्टरले काम नगरे खानेपानी ल्याउनका लागि एक घण्टा टाढा पुग्नुपर्छ ।’ जाडोको समयमा पानीको कम प्रयोग भएतापनि गर्मीयाममा समस्या हुने उहांको भनाई छ ।

पुस्तकालय विभागका सदस्य विश्वासका अनुसार पानीको अभावका कारण डेढ घण्टा हिडेर भांगाबारी, सखी वा चारधारा गएर नुहाउनुपर्ने बाध्यता रहेको छ, ‘नुहाउने योजना बनाइयो भने दिनभरिको काम स्थगित गर्नुपर्ने हुन्छ’ उहांले बताउनुभयो । 

खानेपानीको समस्या मात्रै हैन, हालसम्म टेलिफोन लाइनको व्यवस्था पनि नहुंदा कार्यालय सञ्चालन र व्रिगेड, बटालियन-बटालियनमा सम्पर्क गर्न, बाहिर फोन, फ्याक्स गर्न र ईमेल, इन्टरनेट चलाउन निकै समस्या भएको जनसेनाहरु बताउंछन् । सञ्चारको यो युगमा पनि सञ्चार सुविधाबाट वञ्चित हुनुपर्दा दैनिक कामकाज कठीन भएको डिभिजन कार्यालयको भनाई छ । शिविर व्यवस्थापन गर्दा प्रत्येक बटालियनमा एक/एक वटा सिडिएमए सेटहरु वितरण गरिएको भएपनि नेटवर्कको खराबीका कारण कतिपय व्यारेकमा ती सेटहरु प्रयोग नै हुन सकेका छैनन् भने प्रयोग भएका सेटहरु पनि प्रायः बिग्रिसकेका छन् । पछिल्लो समयमा केही सदस्यहरुले आफ्नै मोबाइल सेटहरु राखेकोले एक आपसमा फोन, खबर आदान प्रदानमा सहज भएको टार्जनको भनाई छ । उहांका अनुसार नेपाल टेलिकमले व्यारेक नजिकै चोरपानीको डांडामा बनाएको सिडिएमए टावर सञ्चालनमा आएपछि अन्य सबै सेट बन्द हुने र टावरको सेवा बन्द गरियो भने अन्य नेटवर्कले काम गर्ने गर्दछ । टेलिफोन नेटवर्कमा आएको यस्तो समस्याले गर्दा पनि सबै फोन सुविधामा अप्ठ्यारो उत्पन्न भएको छ । चोरपानीको टावर र टेलिकमको टावरमा आएको खराबी के हो त्यसबारेमा टेलिकमले पनि थाहा नपाएको टार्जनले बताउनुभयो ।

खानेपानी र टेलिफोनको जस्तै एकै ठाउंमा ठूलो संख्यामा बसोबास गर्नुपर्दा अहिले दाउराको समेत अभाव हुन थालेको छ । खुल्ला पहाडमा पातलो जंगल हुने भएकाले काठ दाउराको अभाव हुने र स्थानीय सामुदायिक वनबाट सहजै दाउरा आपूर्ति गर्न नसकिने अवस्थाले गर्दा समस्या उत्पन्न भएको एकजना वि्रगेड कमाण्डरले बताउनुभयो । ‘सामुदायिक वनमा दाउरा ल्याउनलाई हात जोड्नुपर्छ, साह्रै गाह्रो छ’ उहांले बताउनुभयो । दाउराको लागि राज्यले सरकारी जंगलबाट व्यवस्था मिलाइदिए सहज हुने उहांको भनाई थियो ।

राशन भत्ताका लागि भनेर सरकारले सुगम क्षेत्रमा ७२ रुपैयां र दुर्गम क्षेत्रमा १ सय १० रुपैयां दिएको छ । तर, त्यसैबाट दाउरादेखि सम्पूर्ण राशनका सामग्रीहरु खरिद गर्नुपर्ने भएकाले उक्त रकमले नपुग्ने जनमुक्ति सेनाको भनाई छ । राज्यले उपलव्ध गराउनुपर्ने लजिस्टिक, आवास, पानी, सञ्चार, कार्यालयका लागि मसलन्द, सैन्य तालिमका लागि प्रयोग हुने उपकरणहरु केही पनि नपाएको डिभिजन कार्यालयले जनाएको छ । कोही विरामी पर्‍यो र शिविरमा उपचार सम्भव भएन भने बाहिर जानुपरेमा विभिन्न विभागका सिफारिस चाहिने भएकोले अत्यन्त जटिल व्यवस्था भएको व्रिगेड सह-कमाण्डर टार्जनले बताउनु भयो ।

व्यवस्थापनका विविध समस्याहरु आइपरेको भएतापनि जनमुक्तिसेना शान्ति सम्झौतामा उल्लेख भएका आचारसंहिता अनुरुप व्यारेकमा बसिरहेको छ । पांचौ डिभिजनका सचिव अविनाशको भनाई अनुसार जनताको मुक्तिका लागि मृत्यु स्वीकार गरेका जनमुक्ति सेनालाई व्यवस्थापकीय कठिनाई भोग्न केही आपत्ति छैन तर पनि सम्झौताअनुरुप राज्यले उपलव्ध गराउने सुविधाहरुमा आफूहरुलाई सौतेलो व्यवहार गरेकोमा गुनासो रहेको भन्दै उहांले राज्यको यस्तो व्यवहारप्रति आपत्ति जनाउनुभयो । उहांले भन्नुभयो ‘हामी जनताको मुक्तिका लागि लडेर आएकाले नेपाली जनताको हितका लागि जस्तासुकै कष्टहरु सहनपनि तयार छौं तर जनताको चाहना विपरितको कार्य सरकारवाट नहोस् भन्ने हामि चाहन्छौं ।’

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 5, 2009 in GUEST, SPECIAL

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: