RSS

एमालेले दुखायो सल्लाहकारको चित्त

06 Nov

हालैका दिनहरूमा एमाले नेतृत्वले एकिकृत नेकपा -माओवादी विरुद्ध देखाएको रवैया र कम्युनिस्ट आन्दोलन विरोधी चिन्तनलाई लिएर एमालेका सल्लाहकारहरू चिन्तित भएका छन् । सूर्यबहादुर थापा र पशुपतिशमशेर राणाजस्ता घोर दक्षिणपन्थी र जनविरोधी तत्त्वलाई शिरमा राखेर एमाले नेतृत्व पार्टिभित्रका प्रगतिशील शक्तिलाई सिध्याउन लागिपरेको भन्दै उनीहरूले एमालेबाट इमानदार कार्यकर्ताहरूले विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् । एमालेका केन्द्रीय सल्लाहकार रामचन्द्र अधिकारीले एमाले दक्षिणपन्थीहरूको गोटी बनेको बताउदै यस्तै चाल रहिरहे केही वर्षमै एमाले सिद्धिने बताए ।

माओवादीले नागरिक सर्वोच्चताका विषयमा उठाएकारो मुद्दा जायज रहेको तर्क गर्दै यस मुद्दालाई सम्बोधन गर्नु सट्टा आन्दोलनमा उत्रे दमन गर्छु भन्नु नाजायज भएकोसमेत अधिकारीले बताए । वामपन्थी आन्दोलनको ध्वंस गर्ने काम एमालेले गरेको आरोप लगाउंदै अधिकारीले भने – प्रतिक्रियावादीहरूले एमालेको कांधमा बन्दुक राखेर माओवादीविरुद्ध पड्काउंदासमेत ऊ आंखा चिम्लेर बसिरहेको छ । यसले कम्युनिस्ट आन्दोलन र मुलुक दुवैलाई भड्खालोमा हाल्ने स्थिति सिर्जना गरेको छ । राष्ट्रपतिलाई नयां राजा बनाउने अभियानमा एमाले लागेको बताउंदै अधिकारीले इमानदार र क्रान्तिकारी कार्यकर्ताहरू बेलैमा सचेत हुनुपर्नेमा जोड दिए । अधिकारीले सेनापतिको सन्दर्भमा राष्ट्रपतिले चालेको कदम नाजायज र गैरसंवैधानिक भएको बताए । एमालेले यस विषयमा गम्भीर गल्ती गरेको छ । राष्ट्रपतिको कदमका बारेमा संसद्मा छलफल गर्न पाइनुपर्छ, यो संवैधानिक अधिकार भएको अधिकारीको भनाइ छ । माओवादी आन्दोलनलाई माधव नेपालले गुन बिर्सिएर दमन गरे एमाले प्रजापरिषद्जस्तै पार्टीमा परिणत हुनेसमेत उनले खुलासा गरे ।

यसैगरि एमालेका अर्का सल्लाहकार लक्ष्मीभक्त उपाध्यायले पनि एमाले दक्षिणपन्थी तत्त्वको शिकार भएको बताएका छन् । राष्ट्रपतिको कदमविरुद्ध आमनागरिक आन्दोलनमा उत्रनुपर्ने बेलामा एमाले त्यसको बाधक बनेको र यस्तै स्थिति रहे एमालेको भविष्य नरहेकोसमेत उनको ठोकुवा छ । एमाले साम्राज्यवाद र विस्तारवादको गोटी भएको बताउंने उपाध्यायका अनुसार कांग्रेसकै लहैलहैमा लागी सबै विकल्प बन्द गरेर माओवादीलाई आन्दोलनमा जान बाध्य पारेकोमा आम जनता असन्तुष्ट रहेका छन् । माओवादी बाध्य भएर आन्दोलनमा गएको हो, यसबाट निस्कने परिणामको जिम्मा माधव नेपालले लिनुपर्छ ।

दुई-दुई ठाउंबाट चुनाव हारेका नेपाललाई माओवादीले सदासयता देखाएर संविधानसभामा भित्र्याएको बिर्सेर माओवादीमाथि दमन गरिए, त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने एमाले सल्लाहकारहरू बताउंछन् । रामवरणलाई राजा बनाउन पाइन्न, यो काम तुरुन्त बन्द गरियोस्, सहमति र सहकार्यको विकल्प नरहेकोसमेत उनीहरूको भनाइ छ । एमालेका केन्द्रीय सल्लाहकार परिषद्का संयोजक नरबहादुर खांडले माओवादीलाई एक्ल्याएर होइन, सहमतिका साथ अगाडि बढ्नुपर्ने बताउंदै भने, ‘सहमति र सहकार्यको विकल्प छैन ।’

यी भनाइहरूबाट के बुझिन्छ भने एमाले आफ्ना सल्लाहकारको सल्लाहलाई मान्न छाडेर विदेशी प्रभुहरूका सामु घुंडा टेकेको छ, र माओवादीविरुद्ध मोर्चाबन्दी गरिरहेको छ । अर्का एक सल्लाहकारले नाम नलेख्ने शर्तमा भने, ‘केपी ओली, माधव नेपालजस्ता भारतीय दलालहरूले संविधान बन्न पनि दिने भएनन् । स्थायी शान्ति स्थापनाको लक्ष्यलाई समेत पूरा गर्न दिने भएनन् । यी प्रवृत्तिका विरुद्ध संघर्ष गर्नु आवश्यक छ ।’ एमालेले माओवादीविरुद्ध खेलेको भुमिकालाई लिएर रामचन्द्र अधिकारी, लक्ष्मीभक्त उपाध्याय, गौरीभक्त प्रधान, शालिकराम भण्डारी, नरबहादुर खांडलगायतका अधिकांश सल्लाहकार रिसले आगो भएका छन् । कम्युनिस्टहरू मिलेर जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने बेलामा एमाले नै कम्युनिस्ट आन्दोलनको विरुद्ध उभिएकोमा उनीहरूको चित्त दुखाइ रहेकोछ ।

  

एमालेले हाम्रो सल्लाह मानेन

– लक्ष्मीभक्त उपाध्याय केन्द्रीय सल्लाहकार नेकपा -एमाले

हामीले नेपालमा कम्युनिस्टहरूको सत्ता कायम होस् भनेर २००८ सालदेखि कम्युनिस्ट पार्टीमा काम गरेको हो । नेपालमा अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवादको शोषणलाई मुक्त गराउंदै नेपालमा सामन्तवाद र नोकर शाही पुंजीवादको अन्त्य गरेर नयां जनवादी गणतन्त्र स्थापना गर्ने भनेर हामीले पार्टीसाग कसम खायौं । अहिलेसम्म हामीले देखेका छौं पांचजना भएर स्थापना गरेको कम्युनिस्ट पार्टी नेपालभरि नै छन् । तर पनि, नेपालका कम्युनिस्ट नेताहरूको अहमता, व्यक्तिपूजा, नेतृत्वको भोका र व्यक्तित्वको खोजीले गर्दा मुलुकभरि कम्युनिस्ट नै कम्युनिस्ट भए पनि कम्युनिस्ट पार्टीले सत्ता हासिल गर्न सकेन । दुर्भाग्य भन्नुपर्‍यो । २००८ सालदेखि उठाइएको संविधानसभाको नारा अहिले आएर २०६३ सालमा आएर पूरा गरिएको थियो । अब संविधानसभामार्फत संविधान बनाउने काममा छौं । यो संविधान जनमुखी बनाउंदै जनगणतन्त्र घोषणा गर्ने बेला हो । नेपालमा नयां जनवादी गणतन्त्रका लागि पुंजीवादी क्रान्ति सम्पन्न गर्दै जनवादी व्यवस्था घोषणा गर्ने बेला हो । कम्युनिस्टहरू एकजुट भएर जानुपर्ने ठाउंमा यहांका प्रतिक्रियावादी, साम्राज्यवादी, भारतीय विस्तारवाद लगायतका शक्तिहरू लागेर नेपालका कम्युनिस्टहरूलाई छिन्नभिन्न पारेका छन् । नेपालका कम्युनिस्टहरू आपसमा बाझेर हिंडेका छन् । एउटाले अर्कोलाई तालाई देख्लास् भनेर उफ्रन्छन् । यो दुर्दशा देख्दा हामी कम्युनिस्ट पार्टीमा काम गर्ने मान्छेलाई, असाध्यै दुःखदायी घटना, दुर्भाग्यकै रूपमा देख्छु ।

सामन्त, दलाल नोकरशाहहरूको बचेखुचेका सामन्तवादी शक्तिहरू, यहांका विदेशी इसारामा नाच्ने तत्त्वहरू नै हुन् । साम्राज्यवादका दलालहरू नेपालमा प्रशस्त देखिन्छन् । तिनले कम्युनिस्टहरूलाई मिल्न दिंदैनन् । कम्युनिस्टका नेताहरू हरबखत विदेशी शक्तिका सामु झुक्न थाले र उनीहरूबाट किनिन थाले । त्यसले गर्दा मुलुकको दुर्दशा भयो । कम्युनिस्ट पार्टीको भविष्यलाई खत्तम पार्दै गयो । तात्कालिक घटना जुन राष्ट्रपतिको विषय छ । राष्ट्रपति ईश्वर होइन । मान्छेले गल्ती गर्छ । गल्ती नगर्ने मान्छे होइन । राष्ट्रपतिले चालेको कदमलाई ज्ञानेन्द्रको पालामा शेरबहादुरको सरकारलाई फाल भनेर एमाले र कांग्रेसले बिन्ती चढाए राजालाई । राजाले त्यही आडमा ‘कु’ गरे । त्यहीखालको कदम चाल भनेर हाम्रा साथीहरू राष्ट्रपतिकहां पुगे । राष्ट्रपतिको कदम नचाहिंदो कदम हो । सेनापति फाल्नु ठीक थियो, थिएन त्यो भिन्न विषय थियो । उत्तिखेर राष्ट्रपतिले कदम चालेर सरकारले गरेको निर्णयमाथि प्रहार गर्नु राम्रो थिएन । त्यो एकखालको दुर्भाग्य थियो । यो मुलुककै लागि दुर्भाग्य हो । अहिले जनताको ठूलो स्थान भनेको संसद हो । संसद्ले जे पनि गर्न सक्छ । संसद्मा राष्ट्रपतिका बारेमा बोल्न पाइन्न भनियो भने हिजो राजाका बारेमा संसद्मा बोल्न पाइन्न भन्नेजस्तै भयो ।

दुई कम्युनिस्ट पार्टीको बीचको मिलनबिन्दु भनेको छलफल र वार्ता नै हो । चुनाव वा क्रान्ति दुवै हाम्रालागि उपयुक्त देखिन्छ । चुनावबाटै नै हामीले दुईतिहाइ बहुमत ल्याउन सक्छौं । त्यस्तो सुनौलो सम्भावना हुादाहुादै हामी प्रतिक्रियावादीहरूसाग गठबन्धन गरेर मिलेर जानु राम्रो थिएन । कम्युनिस्ट शक्तिबीच सरसल्लाह गर्ने, पार्टीलाई एकता गराएर लाने, काममा लाग्नुपर्थ्यो । कम्युनिस्टहरू मिल्नूस्, झगडा नगर्नुस् भनेर हामीले भनेका भन्यै छौं । हाम्रो झन्डा एउटै हो, दर्शन एउटै हो । हाम्रा शत्रु एउटै हुन्, मित्र एउटै हुन् । शान्तिपूर्ण नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक हो भनेर सबैले भनेपछि त्यो बारेमा किन नमिल्ने ?

सबै मिलेर जानुपर्छ । संविधानको निर्माण गर्नुपर्छ । सरकार जोसुकैको बनोस् फरक पर्दैन । संविधान नै बनाउनुपर्छ अहिले भन्नेछन् एकथरि । हाम्रो पार्टीभित्र फेरि होइन भन्ने पनि छन् अर्काथरि । हरेक दलमा दुईमत देखापर्‍यो । कसले खेलायो बुझ्न सकिएन । संसद्मा संकल्प प्रस्तावमा बहस गर्ने ठूलो कुरा थिएन । यो ठूलो कुरा नै होइन, माओवादीले हारे पनि स्वीकार गर्छु भनेका छन्, तर त्यहां बहस गर्न त पाउनुपर्‍यो, किन मानेका छैनन् यति सानो विषयमा मैले बुझेको छैन ।

हामी सल्लाहकारले भनेको कुरा एमालेले मानेन । राष्ट्रपति बनाउने बेलामा पनि हाम्रो कुरा सुनिएन । वामपन्थी मिल र दक्षिणपन्थी गठबन्ध तोड भनेर हामीले भन्दा उनीहरूले सुनेका छैनन् । अहिले पनि हामीले त्यही भनेका छौं । साम्राज्यवाद, विस्तारवाद, देशका नोकर शाह पुंजीपतिविरुद्ध, जनताको पक्षमा जनवादी गणतन्त्रको पक्षमा नयां जनवादी संविधान बनाउनका लागि कम्युनिस्टहरू मिल्नुपर्छ ।

आन्दोलन माओवादीका लागि बाध्यता भयो । राष्ट्रपतिको कदम र संसद्मा संकल्प प्रस्तावमा बहस गर्न पाएको भए ठीकै थियो, उहांहरूले मान्नुहुन्थ्यो होला । यो कुरा नमानेपछि एउटा पार्टीले संसद् बहिष्कार गर्नु स्वाभाविक हो । हिजो हामीले पनि गिरिजाप्रसादको पालामा संसद् चल्न दिएनौं । राष्ट्रपतिको कदम सच्याउनतर्फ सोच्नुपर्छ । संकल्प प्रस्तावमा छलफल गर्न पाउनुपर्छ । धेरै भन्नु पनि पर्दैन जतिबेला र जुन काम गरियो, आवेशमा आएर गरियो । त्यसले मुलुकका लागि हित गरेन । त्यस्तो कुनै शब्द राखेर भन्नेबित्तिकै सदन चल्छ । त्यति कुरा नमानेर माओवादीलाई आन्दोलनमा पठाउनु ठीक थिएन । यो राम्रो लागेको छैन । आन्दोलन नगर्नुस् भन्न पनि मिलेन । नाजायज छैन । एउटा कम्युनिस्ट पार्टीले गरेको आन्दोलन दबाउन अर्को कम्युनिस्ट पार्टीले तयारी गर्दैछ । यो दुर्भाग्य छ । रूस र चीनको कारणले भियतनाममा भएको झगडा सम्झिरहेको छु । एउटा आन्दोलनमा अर्को सरकारमा छ । उसका लागि पुलिस लगाउनुपरेको छ । यो दुर्भाग्य छ । हामी नयां जनवादी गणतन्त्रका लागि हिंडेका छौं । मदन भण्डारीले बहुदलीय जनवादमा के लेखेको छ भने जनताको जनवादी अधिनायकत्व लेखेको छ । नयां जनवादी गणतन्त्रको कुरा भनेको छ । त्यो प्राप्त गर्नका लागि बल प्रयोग हुन सक्छ भनेका छौं । कम्युनिस्टको बीचमा लडाइं गरेर होइन मिलेर हुन्छ । अहिले सुनौलो मौका हो । कांग्रेसको बुई चढेर कांग्रेसको बाटो हिंड्नु दुर्भाग्य छ । बयान गरी साध्य छैन ।

 
2 टिप्पणीहरु

Posted by on नोभेम्बर 6, 2009 in HOME

 

2 responses to “एमालेले दुखायो सल्लाहकारको चित्त

  1. Nitu Bhutani

    नोभेम्बर 7, 2009 at 12:46 बिहान

    पछिल्लो समय नेपाली राजनितीका केन्द्रमा खेल्न चाहने कम्युनिष्ट नामधारि गद्दारहरूले भारतको कुटील चालवाजीमा फसेर नेपाल र नेपाली जनतामाथी निकै ठुलो विश्वासघात गरेको छ तर यसकत्र फल यसले अव निकट भविश्यमै पाउनेछ र हामी सवै यसकत्र लागी प्रतिक्षारत रहे हुन्छ ।

     
  2. anima tuladhar

    नोभेम्बर 9, 2009 at 12:58 बिहान

    makune ra uml le sood bahek aru kaslai chitta bujhayeko chha ra ?

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: