RSS

वर्तमान राजनैतिक परिदृश्यमा सरकार र नागरिक सर्वोच्चता

16 Nov

श्यामकुमार बुढा ‘चिन्तन’

 नेपाली समाज यतिखेर प्रतिगमन र अग्रगमनको एजेण्डामा केन्द्रित भएको छ । अग्रगमनको एजेण्डा नागरिक सर्वोच्चतामा र प्रतिगमनको एजेण्डा राष्ट्रपतिको कदमलाई वैधता दिने सवालमा केन्द्रित हुन पुगेको छ । फलस्वरुप यतिबेला देशका राजनैतिक शक्तिहरु पनि आ-आफ्नो वर्गचरित्र अनुसारको एजेण्डामा केन्द्रित भएको स्थिति छ । यतिबेला अग्रगमनको एजेण्डा नागरिक सर्वोच्चता र प्रतिगमनको एजेण्डाको रुपमा राष्ट्रपतिको ‘कू’ बन्न पुगेको छ । यहां विचारणीय पक्ष के छ भने अग्रगमनको पक्षधर एजेण्डा पनि आमुल परिवर्तनकारी अथवा क्रान्तिकारी नभएर साधारण सुधारमुखी कार्यक्रम नै हो । यद्यपी, आश्चर्यलाग्दो कुरा के रहेको छ भने आफूलाई लोकतान्त्रिक शक्ति भन्दै कुर्लने राजनैतिक दलहरु जो अहिलेको सरकार चलाइरहेका छन् ती सबैले नागरिक सर्वोच्चताको विषयलाई प्रश्रय दिने गरि राष्ट्रपतिको कदमको बारेमा समेत सदनमा छलफल गर्नै मानिरहेका छैनन् । यसरी देशका जनताले नचाहंदा नचाहंदै पनि देशको राजनीतिको बागडोर सम्हालेका दलहरुको कारण देश अहिले मुठभेडको स्थितिमा पुग्दैछ ।

    यसरी हेर्दा यो सबै विषयबारे स्पष्ट हुन वर्तमान राजनैतिक घटनाक्रमको सानो पृष्ठभूमिमा पस्न जरुरी हुन्छ । नेपाली समाजको वर्गीय, क्षेत्रीय, जातीय र लिंगीय असन्तुलन वर्गयुद्घको स्तरमा पुग्यो । हजारौंको बलिदान भयो । एक सय चालिस वर्षसम्म शासन चलाउंदै आएको एकात्मक प्रकारको सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्था धरासायी बन्न पुग्यो । तर, यो लडाईमा सामन्तवादको छत्रछहारीमा शासन चलाउंदै आएका राजनैतिक दलहरु विभिन्न रुप र बहानामा देशको राज्यसत्ताको केन्द्र जनता होइन, अमुख शक्तिलाई बनाउने र सैनिक सर्वोच्चता कायम राख्नतिर उद्दत रहदै आएका छन् । ०६२/६३ को जनआन्दोलनमा जनताको बलले बल्लतल्ल घिस्रिदै आन्दोलनमा आएका राजनैतिक दलहरुको कालो मनसाय एकपछि अर्को गर्दै जनताले परास्त गर्दै गए । परम्परागत यथास्थितिमा रमाउन चाहने संसद्वादी दलहरुले नचाहंदा नचाहंदै पनि जनताको जबर्जस्ती दबाबका कारण संविधानसभाको चुनाव गराउन बाध्य भए । तर, संसद्वादी दल र प्रतिगामी मनसाय राखेका राजनैतिक शक्तिहरुको अपेक्षाविपरित जनताले अग्रगमन पक्षधर नेकपा माओवादीको पक्षमा मत दिएर संसद्वादी यथास्थितिलाई लल्कारे । संसदवादी दलहरुलाई यो जनअभिमत पचाउन साह्रै कठिन भयो ।

अनेक आनाकानीका बाबजुद बल्लतल्ल संविधानसभाको सबैभन्दा ठूलो दल नेकपा माओवादीलाई सरकार बनाउन दिइयो । तथापि माओवादी सरकारमा गएको ती दलहरुलाई पटक्कै मन परेको थिएन । यसैकारण माओवादी सरकारमा गएकै क्षणबाट यसलाई ढलाउन घेराबन्दी गर्ने, असहयोग गर्ने र यो सरकारलाई गिराउने दाउ खेल्ने क्रम चलिरहेको थियो । सरकारको हरेक निर्णय लागू हुन नदिने मात्र होइन अनेकौं अवरोधको सामना गर्दै माओवादी सरकार नौ महिनासम्म टिक्यो । यो नौ महिनाको सरकारलाई गिराउने उत्कर्ष बनेर प्रस्तुत भयो- तत्कालिन सेना प्रमुख रुक्माङ्गत कटवाललाई सरकारले गरेको कार्वाही राष्ट्रपतिले नेपालको अन्तरिम संविधान उलंघन गरेर ज्ञानेन्द्र शैलीमा यथास्थितिमै रहन दिएको  निर्देशन । जसको कारण राष्ट्रपतिले नागरिक सर्वोच्चता उल्लंघन गरी सैनिक सर्वोच्चतालाई प्रश्रयता दिएको भन्दै माओवादी सरकारले सरकारबाट राजीनामा दिई सदन र सडक आन्दोलनको घोषणा गर्‍यो । त्यसपछि जो सरकार बन्यो त्यो जनआन्दोलन र संविधानसभाको चुनावमा अभिव्यक्त जनमतको उपहास गर्दै बन्यो ।

संविधानसभाको चुनावमा दुई/दुई ठाउंबाट हारेका र आफ्नै पार्टीको राष्ट्रिय महाधिवेशनमा उनी समर्थित नेताले समेत चुनाव हारेर नैतिक पराजय बेहोरेका माधवकुमार नेपाल अप्रत्यक्षरुपमा देशीविदेशी प्रतिकृयावादीहरु र प्रत्यक्षरुपमा देशका प्रतिकृयावादीहरुका साथै राष्ट्रपतिको शुभ आशिर्वाद एवम् कटवालको कोशेली लिएर देशको प्रधानमन्त्री बने । ०६२/६३ को जनआन्दोलन नचाहने, त्यसलाई तुहाउन अनवरत प्रयत्न गर्ने र प्रतिगमन रुचाउने प्रतिनिधि पात्रहरु यो सरकारको मन्त्रिमण्डलमा सहभागी भए । यसरी यो देश र देशको सरकार देशीविदेशी प्रतिक्रियावादीहरुको मिलिभगतमा प्रतिगामी र यथास्थितिवादीहरुको क्रिडा थलो बन्न पुग्यो र देशको राजनीतिले प्रतिगमनकारी मोड लियो । त्यस यताको यो पांच महिनासम्म लगातार नागरिक सर्वोच्चताको आवाज उठाउंदै माओवादीले सदन चल्न दिएको छैन भने दुई चरणको सडक आन्दोलन पनि सम्पन्न गर्दैछ । यस बीचमा सहमति र वार्ताका अनेकौं प्रयास भएपनि सरकारी गठबन्धनमा संलग्न राजनैतिक दलका नेताहरु कुनै हालतमा पनि सदनमा राष्ट्रपतिको ‘र’ सम्म पनि उच्चारण गर्न नदिन कटिबद्घ रहंदै लोकतान्त्रिक मूल्यको खिल्ली उडाइरहेका छन् । यो हठले के स्पष्ट गर्दछ भने यो सरकार जनअभिमतको कदर गर्ने र स्वविवेकले चल्ने खालको नभई कसैको बैसाखी टेकेको कठपुतली चरित्र र प्रतिगामी सत्तालिप्सा प्रष्ट हुन्छ ।

हामीलाई थाहा छ, कुनै पनि कुराको जिवाणु सानै जीवाष्माबाट हुर्कन्छ । कुनै भयानक दुर्घटनाको कारण त्यत्तिकै ठूलो हुंदैन, जति घटित घटनाको परिणाममा देखा पर्दछ । घटनाको प्रकृयामा जो भुल हुन्छ र लापरवाहीको मात्रा बढ्दै जान्छ त्यो समय छंदै नसच्चाइएमा त्यसबाट विकसित अकल्पनीय दुर्घटनाको कसैले पूर्वानुमान गर्न सक्दैन । ठीक त्यसैगरि राजनैतिक दुर्घटनाको जिवाणु पनि प्रारम्भमा अपत्यारिलो नै लाग्दछ तर समयमै त्यसलाई नसच्याएको खण्डमा समयको अन्तरालमा त्यसको प्रभाव र आकारको विकसित रुपलाई तीस वर्षे पञ्चायतलाई सत्र सालकै महेन्द्रले चालेको कदमकै दिन देख्न सकिदैन्थ्यो । कोत पर्वमा जंगबहादुरले मच्चाएको हत्याकाण्ड एक सय चार वर्षे राणा कालको बीउ मात्र थियो । त्यस्तै, सतचालिसको संविधानमा भएको सानो त्रुटिको विकसित रुप ज्ञानेन्द्रको शाही ‘कू’ मा विकसित भयो । दरबार हत्याकाण्डको मनसाय बुझ्न ज्ञानेन्द्रको शाही कदमसम्म कुर्नुपर्‍यो । तर, यदि ती घटनाहरुलाई समयमै सच्याउन एकजुट भएको भए त्यो सहजै सच्याउन सकिन्थ्यो र त्यसको कुप्रभाव नेपाली जनताले झेल्नुपर्ने थिएन । यी घटनाहरुमा अघिल्लो दुई घटना जनचेतना र जागरुकताको कारण सम्भव नभएपनि ०४७ साल यताका राजनैतिक घटनाहरुमा भने खराबीहरुलाई तत्कालै सच्याउन सम्भव थियो । तर, राजनैतिक पूर्वाग्रहका कारण राजनैतिक दलहरुले ती गलत कदमहरुलाई साथ दिनाले पछिल्ला दुर्दशा देशले झेल्नु परेको यथार्थ यसबेला भुल्नुहुंदैन ।

राष्ट्रपतिको वर्तमान असंवैधानिक कदमलाई पनि समयमै सच्याउन नसक्ने हो भने फेरि अर्को प्रकारको सैनिक निरंकुशता देशले झेल्ने कुरा निश्चित छ । यसर्थ यो समयमा माओवादीले उठाएको नागरिक सर्वोच्चताको मुद्दालाई वेवास्ता गरेमा यसबाट नयां प्रकारको तानाशाहको जन्म हुनेछ । यसर्थ अहिले राष्ट्रपतिको कदमलाई सच्चाउन संघर्षमा होमिनु आजको ज्वलन्त आवश्यकता हो । यसको लागि राष्ट्रपतिको यो कदम सच्याउन सबै तह र तप्काका जनता संघर्षमा उत्रनु समयको नितान्त सामयिक सवाल हो । यसर्थ सबैले आवाज उठाऔं, नागरिक सर्वोच्चता -कायम गर ।

नागरिक सर्वोच्चता- जिन्दावाद ।  

 
3 टिप्पणीहरु

Posted by on नोभेम्बर 16, 2009 in Analysis, GUEST

 

3 responses to “वर्तमान राजनैतिक परिदृश्यमा सरकार र नागरिक सर्वोच्चता

  1. harihar

    नोभेम्बर 17, 2009 at 10:17 बिहान

    Yo Nagarik sarvochhata ko mudda le pani hairanai paryo.

     
  2. buddha

    नोभेम्बर 18, 2009 at 12:55 बेलुका

    aba prachanda singapur bata farkera aaye pachi nagarik sarvochchata kayam garchhan ki ?

     
  3. simana

    नोभेम्बर 18, 2009 at 11:33 बेलुका

    nagarik sarvochchata – jindabad !

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: