RSS

मन्त्रीले सीडीओ कुट्ने नयाँ सुरक्षा नीति

19 Nov

-दिल साहनी

दुई/दुई ठाउँमा चुनाव हारेका माधव नेपालको नेतृत्वमा बनेको कठपुतली सरकारकी कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई कार्यकक्षमै गएर गालामा पाँच औंलाकै डाम पर्ने गरी चुटिन् । यसरी प्रजिअ भण्डारीका गालामा झापडको वर्षा गर्दा उनको चस्मासमेत फुट्न गएछ । मन्त्री बेगमले  यतिबेला प्रजिअमाथि लगाइरहेको आरोपको त कुरै नगरौं । किनभने, उनको आरोपको सिलासिला बल्ल सुरु भएको छ । मुद्दा चलेमा मुद्दा फत्ते नहुने बेलासम्म उनले अझ कति-कति आरोपको चाङ लगाउँदै जाने हुन् त्यसको कुनै लेखाजोखा छैन । तर, त्यतिबेला उनले लगाएको आरोप हो, उनको जिल्लामा सवारी हुँदा निज सीडीओले पुरानो गाडी पठाए । त्यो राज्यमन्त्री बेगमप्रतिको घोर अपमान थियो । त्यसैले उनले सीडीओलाई जिन्दगीभर नभुल्ने पाठ पढाउन गालामा पाँचै औंलाको डाम पर्नेगरी एकपछि अर्को थप्पडको वर्षा गरिन् । यसरी उनले आफ्नो हैसियत के हो सीडीओलाई बताइदिइन् । जिल्लाको शान्ति सुरक्षाको जिम्मा लिएर बसेका बिचरा सीडीओ त्यसरी कुटिंदा उनका अंगरक्षक राम हेरेर बसे, तमासा । राज्यमन्त्री बेगमको अगाडि मुलुकको जबर्जस्ती कार्यकारी अधिकार लिएर बसेका प्रधानमन्त्री त थरर कांप्छन् भने एउटा निरीह सरकारी कर्मचारी सीडीओका अंगरक्षकले के गर्न सक्छन् ?

 राज्यमन्त्री करिमा बेगमले यसरी स्वयं जिल्लाको शान्ति सुरक्षाको जिम्मा लिएर बसेका सीडीओलाई उनका गाला राता पार्ने गरी कुटेको समाचार पढ्नासाथ तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीका प्रिय पुत्र सञ्जय गान्धीले पश्चिम बंगालका कांग्रेस आईकै हनुमान बनेका मुख्यमन्त्री सिद्धार्थ रेलाई उनका गाला सुनिने गरी थप्पड लगाएको घटना स्मरण भयो । सञ्जय गान्धी कुनै पदमा थिएनन् । मात्र, उनी भारतीय प्रधानमन्त्रीका प्रिय पुत्र थिए । यसैले उनलाई मुख्यमन्त्रीलाई समेत कुट्न पाउने लाइसेन्स प्राप्त थियो । सञ्जय गान्धीले धेरै पुलिस अफिसरलाई पनि मुक्कै-मुक्का हानेर घाइते पारेका थिए । जे होस्, सञ्जय गान्धी शाक्तिशाली व्यक्ति भएकाले उनी कानुनभन्दा माथि थिए । उनीमाथि कुनै कानुन लाग्दैनथ्यो । पिटिएका मान्छे पिटिइरहन्थे । त्यस्तै, यतिबेला पर्साका सीडीओ भण्डारी कुटिएका-कुटिएकै हुने अवस्था सिर्जना भएको छ ।

सीडीओ यसरी कुटिएको समाचार पढेर एकजना व्यक्तिले प्रतिक्रियास्वरूप भने, ‘यस्ता मन्त्रीलाई सरकारले कारबाही गर्नुपर्छ ।’ मैले पत्युत्तरमा भनें, ‘करिमा बेगमलाई सरकारले कारबाही गर्न थाल्यो भने त सरकार नै ढल्न सक्छ । फेरि दुई/दुई ठाउँबाट चुनाव हारेका माधव नेपाल पूर्वजननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि होइनन् जसले नेपालको इतिहासमा कसैले पनि छुन नसकेको सेनापति समेतलाई कारबाही गर्ने हिम्मत राखेका थिए । जसले सेनापतिलाई कारबाही गर्ने आँट आफ्नो कुर्सीलाई समेत दाउमा राखेर गर्न सकेका थिए ।’

हुन पनि सीडीओलाई पिट्ने मन्त्री करिमा बेगमलाई कारबाही गर्नुपर्छ भन्ने व्यक्तिलाई जस्तो जवाफ दिएको थिएँ यथार्थ अहिले त्यस्तै देखिएको छ । राजामा बिन्तीपत्र चढाउँदा पनि प्राप्त गर्न नसकेका र एकबारको जिन्दगीमा कहिले पनि प्रधानमन्त्री हुन सक्ने सम्भावनासमेत नदेखेका माधवकुमार नेपालले बल्ल-बल्ल दुई/दुई ठाउँबाट चुनाव हार्दा-हार्दै  पनि  दाइजोको रूपमा प्रधानमन्त्रीको कुर्सी प्राप्त गर्ने सौभाग्य प्राप्त गरेकाले त्यही कुर्सीलाई नै बाजी थापेर करिमा बेगमलाई कारबाही गर्न सक्ने कुरै थिएन । र, भएन पनि । उनले सीडीओ पिट्ने मन्त्री करिमा बेगमलाई कारबाही गर्नु भनेको आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नु नै हो । करिमा बेगमलाई कारबाही गर्ने हिम्मत गरेको भए उनको सरकार अल्पमतमा पर्थ्यो र तुरुन्त ढल्न पुग्थ्यो । यस स्थितिमा माधव नेपाल माओवादीलाई के भनेर चुनौती दिने सुनौलो अवसर पाउने थिएनन् भने सडकमा रोएर होइन संसद्मा बहुमत सावित गरी मेरो सरकार ढालेर देखाऊ ।

वास्तवमा, माधव नेपाल अहिले अरूले बल्ल-बल्ल जुटाइदिएको कुर्सीमा बसेर जति बुरुक्क-बुरुक्क उफ्रे पनि उनको कुर्सीमाथि डेमक्लिजको तरबार हरहमेसा झुन्डिरहेको छ । यसैले उनी कुर्सीमा बसेको दिनदेखि नै कुर्सी बचाउन आफ्ना कुर्सीदाताको नुनको सोझो गर्छन् नै । डुबे डुबोस् देश तर माधव नेपालको कुर्सी जान हुँदैन । डुबे डुबून् जनता तर माधव नेपालको कुर्सी खोसिन हुन्न । यतिबेला प्रधानमन्त्री माधव नेपालले जानेको मन्त्र यही हो । जपेको मन्त्र यही हो । कुर्सी नै माधव नेपालको ‘गायत्री मन्त्र’ हो । यही कुर्सीका लागि उनले राजाका पाउमा दाम चढाएका थिए । यही कुर्सीका लागि उनले प्रतिगमन आधा सच्चियो भनेका थिए । यही कुर्सीका लागि उनले राजामा बिन्तीपत्र चढाएका थिए ।

प्रधानमन्त्री माधव नेपालका लागि कुर्सी प्राणभन्दा पनि प्यारो भएको हुनाले उनको सरकारमा सामेल भएको दलको कुनै मन्त्रीले कुनै सीडीओलाई कुटपिटमात्र होइन गोली नै ठोकेर मारेको भए पनि कारबाही गर्ने हिम्मत राख्दैनथे । उनी त बिचरा कठपुतली सरकारका कठपुलती प्रधानमन्त्रीमात्र न हुन् । कुनै अपराध गर्ने मन्त्रीलाई कुनै कारबाही गर्नै कि नगर्ने भन्ने कुराको आदेश पनि उनलाई विदेशी प्रभुहरूबाट नै आउँदो हो । करिमा बेगमलाई कारबाही नगर्नु उनलाई विदेशी प्रभुहरूको त्यस्तै आदेश मिलेको हो भन्ने अर्थमा हेर्नुपर्छ । बुझ्नुपर्छ । यही भएर होला कुनै पनि अपराध गर्ने व्यक्तिलाई आफ्नै पार्टीको मान्छे भए पनि त्यसै नछोड्ने र जुनसुकै हालतमा पनि कारबाही गरेर देखाउने हांको हाल्ने गृहमन्त्री भीम रावल यतिबेला सीडीओ कुट्ने मन्त्री करिमा बेगमसित बसेर भोज खाँदै थिए भन्ने खबर आएको छ । सायद, त्यो भोजभतेर मन्त्रीहरूले आफ्नै निरीह कर्मचारीलाई कुटेको उपलक्ष्यमा आयोजना गरिएको थियो ।

मन्त्री करिमा बेगमले सीडीओ कुट्दा पनि कुनै कारबाहीमा नपर्ने कुराले अरू मन्त्रीलाई पनि कुटपिटमा उत्रिने उत्साह प्राप्त भएको हुनुपर्छ । अर्कोतिर, कर्मचारीमा पनि कुन मन्त्रीको कतिबेला पिटाइ खानुपर्ने हो भन्ने आशंका बढेको होला । भयले सताएको होला । त्रास बढेको होला । यतिबेला सरकारमा भएका मन्त्रीहरूका हातबाट सारा कर्मचारीलाई उनीहरूको चाकरी पुर्‍याउन नसक्दा कतै पिटाइ खाइन्छ कि भन्ने भय त हुने नै भयो त्यसमा पनि सबभन्दा बढी भय त सीडीओहरूलाई भएको होला । नेपालमा सबभन्दा बढी मन्त्रीहरूको पिटाइबाट आतंकित हुनुपर्ने प्राणीका रूपमा सीडीओहरू दर्ज भएका होलान्, यतिखेर । जब, जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिन्छु भन्दै नयाँ सुरक्षा नीतिको डिंग हाक्ने गृहमन्त्री भीम रावलको राजमा खुदै शान्ति सुरक्षाको जिम्मा लिएका सीडीओ नै स्वयं मन्त्रीबाट कुटिन थाल्छन् भने आमजनताले आफूलाई कसरी सुरक्षित ठान्ने ? बल्ल बुझियो गृहमन्त्री भीम रावलको नयाँ सुरक्षा नीति ।

हामीले त सोचेका थियौं, देशमा यतिबेला लोकतान्त्रिक गणतन्त्र आएको छ । तर, यहाँ त राणाशासन पो आएको रहेछ । मन्त्रीहरू कुनै शमशेर बनेर जनतामात्र होइन, आफ्नै कर्मचारीसमेत कुट्दै हिंड्न थाले । सायद, यही होला माधव नेपालहरूको नागरिक सर्वोच्चता । बाइस दलको नागरिक सर्वोच्चता ।

कुटिने सीडीओकै कार्यालयमा मन्त्री करिमा बेगमविरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता भएको छ । मन्त्री करिमा बेगमको नाउँमा पक्डाउ पुर्जी पनि जारी भएको छ । तर, कठपुतली सरकारको दरबारमा सीडीओ कुट्ने मन्त्री करिमा बेगमको पक्डाउ पुर्जी बेवारिसे हुन पुगेको छ । बेपत्ता हुन पुगेको छ । प्रहरी प्रशासन मौन छ । मन्त्री करिमा बेगम शान्ति सुरक्षाको ठेक्का लिएर बसेका गृहमन्त्री भीम रावलसित बसेर बडो शान्तिपूर्वक भोज खाँदै छिन् । उता, कठपुतली सरकारका नायक माधव नेपालले उल्टै पिटिने सीडीओमाथि कारबाही चलाउने आदेश दिइसकेका छन् । दण्डस्वरूप उनको पर्सा जिल्लाबाट सरुवा हुँदै छ । खेल खत्तम ! नरहे बांस नबजे बांसुरी ! यही हो कानुनी राजको उत्तम नमुना । यही हो विधिको शासनको ज्वलन्त उदाहरण । यही हो स्वतन्त्र अदालतको किस्सा !

 
2 टिप्पणीहरु

Posted by on नोभेम्बर 19, 2009 in BLOG, GUEST

 

2 responses to “मन्त्रीले सीडीओ कुट्ने नयाँ सुरक्षा नीति

  1. CooL

    नोभेम्बर 19, 2009 at 9:45 बिहान

    अजव नेपालको गजव कहानि !
    हरूवा गोरूको छेरूवा दाउ, देख्नु भो त माकुनेको भाउ ?

     
  2. sagar pundit

    नोभेम्बर 19, 2009 at 10:47 बिहान

    Makune le kehi garna sakdaina bhanera ta ho ni begam maharani le hepeki. jabasamma makune saarkaaar ma basirahanchha yestai ho desh ko awastha.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: